नेपालमा स्टार्ट अप: यी १० गल्ती गरेर पछुताउँछन् युवाहरू !

जीविको २०८० असार १९ गते ८:३०

प्लस टु, ब्याचलर अनि मास्टर्स सक्काएपछि नेपालका अधिकांश युवाहरूको दिमागमा तीन कुराले डेरा जमाउँछ । पहिलो विदेश जाने दोस्रो जागिर खाने अनि तेस्रो चाहिँ उद्यम व्यवसाय गर्ने । 

यी तीन विकल्प मध्ये पहिलो छनोटमा पर्छ विदेश, पछिल्ला दिनहरूमा विदेशिने युवाहरूको सङ्ख्या गुणात्मक रूपले बढ्दो छ । २०८० साल असार १७ सम्ममा ७ लाख ४० हजार ८३९ जनाले वैदेशिक रोजगारीलाई गन्तब्य बनाएका छन् । केही वाध्यताले त केही रहरले नेपालमा नै जागिरे हुने गरेका छन् भने एकदमै न्यून संख्या उद्यम सुरुवात गर्न लागिपरेका छन् ।

तर, यसरी युवा उमेरमा केही रकम लगानी गरेर उद्यम व्यवसाय थाल्ने ९० प्रतिशत बढी चाहिँ सफल बन्न सकेका छैनन् र हतोत्साही हुँदै विदेशिने गरेका छन्  । 

केहीलाई उद्यम व्यवसायको सैद्धान्तिक ज्ञान थाह छ तर व्यवहारिक वस्तुस्थिति थाह छैन । कोहीले बजार बुझेका छन् तर व्यवसायिक सिद्धान्तको अध्ययन पट्टकै छैन ।यतिसम्म कि बिजनेश पढ्ने युवाहरूले नै गरेका उद्यमहरू पनि अधिकांश सफल बन्न सकेका छैनन् । केही झटपट मुनाफा खोज्दा चिप्लिन्छन् त कोही लगानी मात्र सफलताको आधार भन्ने धारणा राख्दा फेल खान्छन् ।

यस लेखमा हामी नेपालमा युवा जोसका साथ सुरु भएका स्टार्टअप के-कस्ता कुरा ख्याल नगर्दा सफल हुन सकिरहेका छैनन् भन्ने बारे युवा उद्यमीहरूसँग नै कुराकानी गरेर त्यसको सार यहाँ प्रस्तुत गरेका छौं :

……

पीचेज द वाक्स बार कि संस्थापक निशा अर्याल भन्छिन्, अक्सर स्टार्टअपले ट्रेन्डिङ पछ्याउने तर ट्रेन्डको ट्रिक नबुझ्ने गर्दा असफलता ब्यहोर्नु परेको छ । त्यस्तै युवामा बिजनेश भोक नहुँदा उद्यम योजनाहरू अगाडि बढ्न सकेका छैनन् ।

पीचेज द वाक्स बारका निशा अर्याल र कविता शाह, फोटो: पुष्कल श्रेष्ठ/जीविको

१. ट्रेण्डिङ पछ्याउने, ट्रेण्डको ट्रिक नबुझ्ने

कसैले चिया पसल खोल्यो पसल हिट खायो भने हाम्रा युवाहरू सोचिहाल्छन्, चियापसल गर्नुपर्ने रहेछ । यही ट्रेन्डिङ पछ्याउने मानसिकता तपाईंको लगानी डुबाउने पहिलो कारण बन्छ भन्छिन्, पिचेच द वाक्स बारकी संस्थापक निशा अर्याल । जसले व्यवसाय सफल बनाएको देखासिखी गरेर हामी पनि त्यसै गर्न खोज्छौँ त्यतिबेला उसले व्यापार स्थापित गर्न गरेका संघर्षहरू, प्रयोग गरेका व्यापारिक टेक्निक बारे हामी बुझ्न खोज्दैनौँ र नाफा मात्र देख्छौँ जसको कारणले उद्यमको जग खुस्किन सक्छ । 

ट्रेन्डको भरमा बिजनेश गर्दा कुरो बिग्रिन्छ ।  पहिला आफ्नो तागत र दक्षता अनुरूपको व्यापार रोज्ने, त्यसको सम्भावित अध्ययन गर्ने, बजारलाई केलाउने गर्दा व्यापार सफल बन्न सक्छ ।

२. बिजनेश भोक नहुनु 

प्रायशःः उद्यम अभावबाट सुरुवात हुन्छ । नेपालमा अरुबाटो बन्द भयो भने विदेश नै युवाहरूको विकल्प बन्छ, व्यापार गर्न ठूलो लगानी नै चाहिन्छ भन्ने गलत मानसिकता पनि युवामाझ देखिन्छ । उद्यम सुरुवात गर्न सानो लगानी गर्न डर लाग्ने, अभावलाई तागत बनाउन नसक्ने प्रवृत्ति छ जसले गर्दा लगानी लगाउन कर्जा लिन हामीलाई डर लाग्छ । यदि तपाईंसँग राम्रो उद्यम आइडिया छ र अध्ययन गर्नुभएको छ भने जोखिम बहन गर्न सक्नुपर्छ । लगानी बढाउन वा कर्जा लिनै परे लिनलाई पनि आत्तिनु हुँदैन । तर, नेपालमा बीउ पूँजीबाटै उद्यमलाई ठूलो बनाउने भन्ने मात्र कल्पना हुन्छ जो सँधै सम्भव हुँदैन । त्यसैले थप लगानीको अभावमा उद्यम फस्टाउन सक्दैन र त्यस्ता उद्यमहरु एउटै गतिमा चलिरहन्छ ।  

यदि तपाईंसँग जोखिम मोल्ने आँट छ भने तपाईंको आधाबाटो खुलिसक्छ । तर, नेपालमा उद्यम गर्ने आँट नदेखाउनु, उद्यम सुरुवात गरेता पनि त्यसलाई बिस्तार गर्न जोखिम बहन गर्न नसक्नु चाहिँ सफल उद्यम बनाउन नसक्ने कारण हो ।

……

काभ्रे पनौतीमा ताजा कृषि फार्म सञ्चालन गरिरहेका पदमराज अवस्थी भन्छन्, बिजनेश इकोसिस्टम बनाउन नसक्नु अनि फाइनान्सियल सपोर्ट सिस्टमको पहिचान गर्न नसक्नाले सुरुवात गरेका उद्यमहरू धराशायी बन्ने गरेका छन् ।

ताजा फार्ममा काम गर्दै पदम

३. बिजनेश इकोसिस्टम बनाउन नस्कनु 

नेपालमा उद्यम गर्दा सबैभन्दा ठूलो समस्या यसको उद्यम इकोसिस्टम बलियो बनाउन नसक्दा आउँछ । उदाहरणका लागि हामी उत्पादन गर्यौँ भने उत्पादन मात्र सोच्छौँ त्यसको प्रभावकारी खपतका लागि बजार सोच्दैनौँ । कृषि उद्यम गर्नेहरुले उत्पादन सोच्छौँ तर बीउको जोहो मलखादको जोहो कसरी गर्ने भन्ने बारे सोच्दैनौँ भन्छन् पनौतीमा ताजा फार्म सञ्चालन गरिरहेका पदम ।

विशेषगरी कृषि उद्यमको कुराकानी गर्दा सरकारसँगको परनिर्भरता सबैभन्दा ठूलो समस्या अनि जोखिम हो । 

ज्ञान पनि हुने, उत्पादन राम्रो गर्न सक्ने खुबी पनि राख्ने युवाहरू सरकारले मलखाद अनि बीउ बिजन देला, बजार बनाइदेला भनेर बस्नुहुन्छ जसले समस्या निम्त्याउँछ । उद्यम मैत्री सरकार नहुँदा सरकारसँगको परनिर्भरता आफैँमा समस्याको जड हो ।

त्यसैले ठूलो युवा वर्ग जो उद्यम गर्न खोज्नुहुन्छ उहाँहरूले परनिर्भरता त्याग्ने प्रयास गर्नुपर्छ नभए हन्डर खाइन्छ । 

कृषि उद्यमको कुरा गर्दा मूल बीउबाट बीउ उत्पादन गर्न सिक्ने, प्राङ्गारिक मलखाद बनाउन सिक्ने, सरकारी लगानीमा मात्र भर नपर्ने र बजार आफैँले खोज्दै जाने गरे त्यति अप्ठ्यारो पर्दैन । 

४. फाइनान्सियल सपोर्ट सिस्टमको पहिचान नहुनु

उद्यममा सरकारी लगानी नहुँदा सुरुवातमै आफैँले आर्थिक चाँजोपाँजो मिलाउन सक्नुपर्छ । तपाईंको लगानी कति हुन्छ, कति पूँजी जोखिमका लागि भनेर सञ्चय गर्नुपर्छ, सुरुवातमै ज्ञान हुनुपर्छ ।

उद्यम सुरुवात गर्दा कोही बेला सोचेभन्दा बढी लगानी लाग्न सक्छ । यदि परियोजना ठूलो सोच्नुभयो तर आर्थिक चाँजोपाँजो कमजोर छ भने तपाईंको उद्यम सुरुवात नै नगरी ढल्न पनि सक्छ । त्यसैले आर्थिक चाँजोपाँजो बलियो बनाउने । सहायता कहाँ कहाँबाट जुटाउन सकिन्छ भनेर सुरुवातमै आधार तयार गर्ने गरे उद्यम केही सहज हुन्छ ।

नेपालको सन्दर्भमा चाहिँ अपरिपक्व तवरले व्यापार सुरुवात गर्ने गरेको पाइन्छ । आफ्नो लगानी अनुसार परियोजना निर्माण गर्न नसक्दा धेरै उद्यम व्यवसायहरू धराशायी बन्ने गरेका छन् ।

……

सरकारी नोकरी छाडेर कृषि पेसामा होमिएका इलाम सन्दकपुरका तारामणि खतिवडा भन्छन्, उद्यमीहरूमाझ सहर केन्द्रित उद्यम मात्र सफल हुने गलत मानसिकता हुनु र प्रविधि बारे जानकार हुँदाहुँदै पनि यसलाई उद्यमसँग जोड्न नसक्नुले उद्यममा समस्या ल्याउने गर्छ।

सरकारी नोकरी छाडेर कृषि पेसामा होमिएका इलाम सन्दकपुरका तारामणि खतिवडा

५. सहर केन्द्रीत उद्यम मात्र सफल हुने गलत मानसिकता 

नेपालमा स्रोत र साधनहरु धेरै छन् त्यसको उच्चतम सदुपयोग गर्न भने हामीले जानेका छैनौँ । जमिन छ तर के फलाउन सकिन्छ भन्ने बारे जानकारी छैन । अनि विशेषगरी व्यापार चाहिँ सहरमा मात्र हुन्छ भन्ने गलत धारणा नेपाली युवाहरू बीच हुँदा व्यापार फस्टाउन पाउँदैन भन्ने विचार राख्छन् सर्वोच्च अदालतमा सुब्बाको जागिर छाडी इलाममा किवी खेती गर्ने तारामणि खतिवडा ।

गाउँमा उपलब्ध स्रोत साधनलाई प्रयोग गर्दा ठूलै बिजनेश बन्न सक्छ । एक उदाहरण नै हेर्नुहोस् गाउँमा जमिन टन्न छ तुलसी जताततै उम्रन्छ त्यसको तेल बनाउन सके सहजै बिक्री गर्न सकिन्छ । धान रोप्दा निर्वाहमुखी भए त्यहाँ नयाँ प्रविधिका प्रयोग गरेर फलफूल फलाउन सकिन्छ । तर हाम्रो मानसिकता चाहिँ गाउँमा त्यही धान, गहुँ त फल्छ नि अरू के नै हुन्छ भन्ने खाले छ । त्यहाँको हावापानी सुहाउँदो के गर्न सकिन्छ भन्ने ध्यान प्रायलाई हुँदैन र सहरलाई मात्र व्यापारिक थलो देख्दा उच्च प्रतिस्पर्धाका कारण युवाहरूले उद्यम व्यवसाय सफल बनाउन सक्दैनन् ।

तारामणि भन्छन्, “म आफैँले मकैमात्र पाक्ने बारीलाई किवी फल्ने बनाएँ, अहिले लाखौँ कमाउँछु, परम्परागत खेतीबाट निक्लिएर हावापानी सुहाउँदो खेती गाउँमा गरेँ अनि सफल भएँ । तर हाम्रा युवाहरू गाउँको सुन फल्ने जमिनलाई सदुपयोग गर्न नजान्दा फेल हुन्छन् ” 

उद्यम सफल नभएका अधिकांश उदाहरणहरू सहरमा देखिन्छन् । गाउँमा नाफा कमाएका उदाहरण धेरै छन् अलि प्राविधिक ज्ञान भएका युवाहरूले अध्ययन गरेर ग्रामीण भेगलाई नै उद्यमको आधार बनाउँदा धेरै युवा नेपालमा नै अट्न सक्छन् ।

६. युवा उद्यमी : प्रविधीबारे जानकार, प्रविधीको व्यवसायिक प्रयोगबारे अञ्जान 

तारामणिकै बुझाई छ, नेपाली युवाहरू प्रविधिसँग त जानकार छन् तर सदुपयोग भने जान्दैनन् र उद्यम सफल बनाउन सक्दैनन् ।

प्रविधि मार्फत आफूले सुरुवात गरेको उद्यमलाई कसरी ब्रान्डिङ गर्ने, कसरी क्रिएटिभ सामाग्री निर्माण गर्ने ?

प्रविधिमार्फत मार्केटिङ गर्दा कति बजेट छुट्याउने ? आफ्नो व्यवसाय अनुरूपका ग्राहकमैत्री प्रविधि कुन हो कुन ? कुन प्राविधिक मञ्चमा आफ्नो उत्पादन वा सामाग्रीको बजारिकरण गर्नुपर्ने हो भन्ने बारे अझै पनि युवालाई ज्ञान छैन जसले उद्यमलाई अपठ्यारोमा पार्न सक्छ ।

डिजिटल मार्केटिङबारे जानकारी राखेर त्यसको राम्रोसँग प्रयोग गर्नसके उद्यम सफल हुन्छ । तर यसको सदुपयोग कसरी गर्ने भन्ने बारे अझै हाम्रा युवा उद्यमी जानकार छैनन् जसले गर्दा उद्यमलाई सफल बनाउन सकिएको छैन ।

……

सुपो चिया चौतारीका सञ्चालक ज्योति पौडेल भन्छन्, युवाहरूमा व्यवसायिक र आर्थिक अनुशासनको अभावले गर्दा स्टार्टअपहरू फक्राउन सकेका छैनन् ।

सुपो चिया चौतारीका संचालक ज्योति

७. उद्यम गर्न चाहिने आर्थिक र व्यवसायिक अनुशासन नै छैन

उद्यम व्यवसायबाट कमाएको पैसा उद्यम व्यवसायमा नै लगाउनुपर्छ । केही पैसा आर्जन हुनासाथ भौतिक सम्पत्ति बाइक, गाडी, घर, घडेरीमा लगाउने प्रचलनले व्यवसाय फस्टाउन नसकेको बुझाई छ सुपो चिया चौतारीका सञ्चालक ज्योति पौडेलको ।

उनी भन्छन्, “उद्यम गर्न आर्थिक अनुशासन चाहिन्छ । व्यवसायबाट कमाएको पैसा व्यवसाय बढाउनलाई प्रयोग गर्नुपर्छ । विलासितामा प्रयोग गरियो भने व्यवसायलाई बढाउने बेलामा आवश्यक पूँजी हुँदैन जसले गर्दा  उद्यम नै बन्द गर्नुपर्नेसम्म स्थिति आउन सक्छ ।”

आर्थिक अनुशासनसँगै अर्को व्यवसायिक अनुशासन उद्यमको सफलता र असफलताको मानक हुन्छ ।

तपाईंले आफ्नो व्यवसाय खोल्ने समय कति बजे हो, कति बजेसम्म तपाईं उपलब्ध हुने हो जस्ता आधारभूत रूपरेखा सुरुवात देखिनै तयार गर्नुपर्छ र सोही अनुरूप तपाईंले रुटिन बनाउनुपर्छ । तपाईंको पसल आउँदा ग्राहक फर्किएर गयो भने ऊ फेरी फर्किएर तपाईंको व्यवसायसँग नजोडिन पनि सक्छ ।

यदि तपाईंले व्यवसायलाई अनुशासनमा बसेर समय दिन सक्नुहुन्न भने तपाईंको व्यवसाय सफल हुँदैन । विवाह, व्रतबन्ध, पास्नी यस्ता सामाजिक कामहरूमा बढी संलग्न हुने तर व्यवसायलाई समय नछुट्याउने प्रवृत्तिले नेपालका उद्यमीको व्यवसाय धरापमा पर्ने गरेको छ ।

……

चितवनमा आवर क्लोसेट कपडा रेण्टल स्टोर सञ्चालन गरिरहेकी उद्यमी सन्ध्या कँडेल भन्छिन्, उद्यमीले व्यवसायिक निरन्तरता नदिने र प्रत्येक दिन व्यवसायिक उत्साहमा देखाउने कमीका कारण उद्यमीहरूको लगानी फस्ने गरेको छ ।

ठूलो लगानी, सुरुवातमै बढी कर्जा लिने उद्यमीको प्रवृत्तिले पनि उद्यम धराशायी हुन सक्ने उनको बुझाइ छ ।

चितवनमा आवर क्लोसेट कपडा रेण्टल स्टोर सञ्चालन गरिरहेकी डेन्टिस्ट डा. सन्ध्या कँडेल

८. पहिलो दिनझैँ उत्साह सँधै नहुने र निरन्तरता नहुने 

सफल उद्यमको सूचक नै निरन्तरता हो । उद्यम सुरुवात गरेको पहिलो दिन जुन उर्जा हुन्छ, उद्यमीले प्रत्येक दिन त्यो उर्जा घटाउँदै लैजान्छन् जसले गर्दा एउटा स्टेजमा पुगेपछि उद्यमी उर्जाविहीन भएर व्यवसाय बन्द गर्ने अवस्थामा पुग्छ भन्छिन् आवर क्लोसेट रेन्टल स्टोरकी संस्थापक सन्ध्या कँडेल ।

सन्ध्या भन्छिन्, “घाटा भए सिक्दै जान्छु भन्ने उर्जा सँधै चाहियो, नाफा भए अझ बढाउँछु भन्ने उर्जा चाहियो तर उद्यम सुरुवात गर्दाको दिनको झैँ उर्जा चाहिँ कुनै दिन टुट्न हुँदैन । चलिहाल्छ नि भन्ने मानसिकताले व्यवसायलाई ध्यान नदिँदा व्यवसाय नै नचल्ने अवस्थामा पुग्छ । नेपाली उद्यमीको गल्ती नै यहाँ हुन्छ”

९. ठूलो लगानी, सुरुवातमै बढी कर्जा

व्यवसाय ठूलो लगानीले मात्र चल्छ भन्ने गलत मानसिकता युवा उद्यमीहरुमा छ । ‘जति बढी लगानी उति बढी मुनाफा’ भन्ने सिद्धान्त नै सही हो भन्ने ठानेर सुरुवातमै ठूलो कर्जा लिएर युवाहरू व्यवसाय सुरुवात गर्छन् तर नाफामा नै गएनी ठूलो लगानीका उद्यमहरू चाहिँ बैङ्किङ व्याज र अन्य खर्च धान्न नसकेर फस्टाउन सक्दैनन् ।

नेपालको परिवेशमा भरसक सानो लगानी लगाएर लगानी बढाउँदै जाने उद्यमहरू फलदायी हुन्छन् । लगानी मात्र बढी लगाउने अनि ठूलो लगानीको मुनाफा तत्कालै खोज्ने हुँदा नेपालमा व्यवसाय फस्टाउन सक्दैनन् ।

……

क्यास्टेलो कास्मिरी – टेक्सटाइल कम्पनीका संस्थापक प्रकाश बोलाखे भन्छन्, आफ्नो ब्रान्डको बजार कहाँ छ थाह हुन नसक्दा उद्यमीको उत्पादन स्टोरमा नै सीमित हुने अवस्था सिर्जना हुन्छ ।

क्यास्टेलो कास्मिरी पस्मिना उद्योगका संस्थापक प्रकाश बोलाखे, फोटो: पुष्कल श्रेष्ठ/जीविको

१०. ब्राण्डलाई बजार देखाउन नसक्नु

चाहे त्यो कृषि उपज होस् वा होस् लत्ताकपडा नेपालमा उत्पादन राम्रो हुन्छ, गुणस्तरको हुन्छ । तर हामीले हाम्रो उत्पादनको सही बजार कहाँ छ थाह पाउन सकेका छैनौँ । उपयुक्त बजार चिन्न नसक्दा हाम्रा सामानहरूले भाउ पाउँदैनन् र उद्यम सफल हुँदैन भन्छन् क्यास्टेलो कास्मिरीका संस्थापक प्रकाश बोलाखे ।

उनी भन्छन्, “हाम्रो समानको मूल्य के हो र त्यो मूल्य कसले चुकाउन सक्छ त्यसको लेखाजोखा पहिल्यै गर्नुपर्छ । उदाहरण हेर्नुहोस्, नेपालमा बन्ने पस्मिना महँगो तर नेपालमा नै बिक्दैन । तसर्थ, यसको बजार युरोप र विकसित राष्ट्रमा नै खोज्नुपर्छ”

त्यस्तै, कृषि उपजकै कुरा गरौँ नेपाली अर्गानिक बाली केही नेपालमा बिक्री गर्न सकिन्छ तर ठूलो बजार विदेशमा नै छ । 

त्यसैले उद्यम गर्दा आफ्नो उत्पादन सुहाउँदो बजार कहाँ छ त्यसको प्रयाप्त विचार गरेपछि मात्र तपाईंले उत्पादन थाल्नुपर्छ नभए उद्यम धराशायी बन्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *