डाक्टरको फरक लुगा पसल,  ३ वर्षमा ४ आउटलेट (भिडियो)

बिना सुनार २०७९ माघ १० गते ११:५२

डा. सन्ध्या कँडेलको चितवन, काठमाडौं, पोखरा अनि हेटौँडामा रेन्टल आउटलेट छ । दाँतको डाक्टर सन्ध्याले यी चार ठाउँमा डेन्टल हाउस नखोली लुगा कपडा भाडामा दिने पसल खोलेकी छिन् । 

सन्ध्याको यी चारै आउटलेटमा बेहुला, बेहुलीको लुगा, लेहेंगा, पार्टी गाउन अनि हजारौं महङ्गो लुगाहरू पाइन्छ । उनको पसलमा पाइने कपडाहरू ब्रिकीका लागि भने होइनन्, यि कपडाहरू भाडामा पाइन्छन् ।       

चितवनकी २८ वर्षीय सन्ध्या पेशाले दन्त चिकित्सक भए पनि, उनलाई आफ्नो पेशा बाहेक केही छुट्टै व्यवसाय गरौँ भन्ने सोच आयो । त्यो सोच उनको विवाह सँग जोडिएको छ । झण्डै ४ वर्षअघि उनको विवाह हुने भयो । विवाहमा प्रि वेडिङ पोस्ट वेडिङ फोटोसुट गर्नका लागि उनलाई फरक फरक किसिमका लुगाहरू चाहिने भयो । तर, उनले यसरी प्रि वेडिङ अनि पोस्ट वेडिङमा लगाउने लुगाहरू एकदमै महङ्गो र ति लुगाहरू फेरी प्रयोगमा नआउने हुँदा उनले एक दुई दिनका लागि मात्रै लुगामा लाखौँ खर्च गर्नुपर्यो ।   

आवर क्लोसेटमा राखिएका बेहुला बेहुलीका लुगा, फोटो / आवर क्लोसेट

यसरी आफूले भोगेको समस्या अरूले पनि भोग्नुपर्छ भन्ने सोचेर यो समस्याको हल निकाल्ने जुक्ति सन्ध्याले लगाइन् । त्यसपछि उनले भाडामा कपडा दिने गरि आवर क्लोसेट नाम गरेको रेन्टल हाउस खोलिन् । 

“मैले मेरो बिहेमा फोटो सुट गर्नको लागि धेरै पैसा खर्चेर ड्रेस लिनु पर्‍यो । त्यो पछि खासै काम लागेन, फोटो लियो लुगा दराजमा थन्कियो । मैले विवाहमा ४\५ जोडी लुगा किनिसकेको थिएँ अब त्यसको पनि प्रयोग होस् र अरूलाई पनि मेरो जस्तै समस्या नपरोस् भनेर आफूले जम्मा गरेको केही पैसाले  व्यवसाय सुरु गरेँ,” सन्ध्याले सुनाइन् ।    

कसैको विवाह, व्रतबन्ध, पास्नी, स्वंयम्वर आयो भने धेरैलाई एउटै चिन्ताले सताउँछ, ‘के लगाउने’ ?  लुगा, अनि त्यसलाई मिल्ने गरगहना, जुत्ता लागायतका सामान जुटाउन कतिलाई समस्या पर्ने गर्छ । फेरी १ \ २ पटक पार्टीमा लगाएको कपडा नदोहोर्‍याउने अहिलेको चलन छ । यसरी दिनानुदिन खर्चिलो हुँदै गएका यस्ता पार्टी समारोहहरूमा छुट्टा छुट्टै लुगा लगाउने होडबाजीले राम्रो कमाइ गर्न नसक्ने मानिसहरूलाई समस्यामा पार्ने गरेको छ । तर यसरी खोलिएका रेन्टल हाउसहरूले केही हदसम्म यस्तो समस्या हल गर्न सहयोग गरेको सन्ध्या बताउँछिन् ।   

फोटो : आवर क्लोसेट

आवर क्लोसेटमा ५ सय रुपियाँदेखि ३५ सय रुपैयाँसम्म भाडा तिरेर लुगा लिन पाइन्छ भने कसैले आफ्ना लुगा भाडामा दिन चाहेमा क्लोसेटले ३० प्रतिशत मुनाफा राखेर आफ्नो ठाउँ उपलब्ध गराउँछ । त्यस्तै कसैले आफ्नो लुगाकपडा बेच्न चाहेमा पनि क्लोसेटले २० प्रतिशत मुनाफा राखेर लुगाहरू लिइदिने व्यवस्था गरेको छ ।  

आवर क्लोसेटमा विवाहको लागि बेहुला बेहुलीका लुगा कपडा विवाहमा चाहिने छाता, डोली, पिर्का, गरगहनाहरू साथै पास्नीका सामानहरू, बेबी सावर (बच्चा हुनुअघि मनाइने खुसियाली समारोह), फोटोसुटका लागि चाहिने कपडाहरू,  डेकोरेसनका सामाग्रीहरू पार्टीमा लगाउने गाउन लेहेंगा साडी, सुट, दौरा सुरुवाल, सेरवानी जस्ता सामाग्रीहरू भाडामा पाइन्छ । साथै कसैलाई आफैले डिजाइन गरेर लुगा सिलाउन मन छ भने पनि आवर क्लोसेटमा त्यसको पनि राम्रो व्यवस्था गरेको छ । सन्ध्याले चारै ठाउँका रेन्टल स्टोरबाट खर्च कटाएर मासिक करिब २ लाख आम्दानी गर्दै आएकी छिन् । 

“विवाहको सिजनमा त यो भन्दा बढी कमाई हुन्छ, त्यतिबेला त मासिक ७ सय जना जति ग्राहक आउनुहुन्छ अरू बेलामा पनि मासिक २ सय ग्राहक त घटेको छैन,”  सन्ध्या सुनाउँछिन् ।      

आवर क्लोसेटमा राखिएको बच्चाको लुगासेट फोटो : आवर क्लोसेट

हुनत सन्ध्यालाई भाडामा लुगा दिने व्यवसाय सुरु गर्दा यसलाई कसरी अगाडि लाने भन्ने कुराले सताएको थियो । नेपालमा अरुले लगाएको लुगा नलागाउने, घिनाउने साथै लुगा पनि भाडामा पाइन्छ र ? भन्ने मान्यतालाई कसरी चिर्ने भन्ने कुराले दोधार बनाएको थियो । तर, उनले यसरी आउने समस्याहरूलाई कसरी सुल्झाउन सकिन्छ भनेर अध्ययन गरिन् । त्यसपछि आउने ग्राहकहरूको मन जित्न थालिन् हेर्दा हेर्दै सन्ध्याको व्यवसाय बारे कुरा फिँजियो र चितवनको व्यापार काठमाडौं हुँदै पोखरा अनि हेटौँडासम्म पुग्यो ।          

“सुरुवातमा व्यापारबारे बुझाउन गार्हो पर्यो तर ग्राहकले बुझ्दै गएपछि व्यापार फैलाउन त्यति सकस परेन, ” सन्ध्याले भनिन् । 

यसरी सन्ध्याले भाडामा लुगा दिने व्यापार सुरु गरेपछि धेरै आर्थिक हैसियत कमजोर हुनेमात्रै होइन राम्रै कमाई हुने पनि उनका ग्राहक बन्ने गरेका छन् । व्यक्तिहरूले पनि चलनचल्तीका लुगाहरू लगाउन सहज भएको छ । आवर क्लोसेटमा नेपालका जुनसुकै ठाउँबाट पनि आफूले चाहेको लुगा अनलाइनबाट नै भाडामा लिन सकिन्छ ।   

फोटो : सन्ध्या कँडेल आवर क्लोसेट

यसरी क्लोसेटबाट लुगा भाडामा लिँदा सरसफाइको चिन्ता भने लिनु पर्दैन । एकपटक प्रयोग गरेको लुगालाई राम्ररी धोएर सफा गरेपछि मात्र क्लोसेटले अर्को ग्राहकलाई लुगा भाडामा दिन्छ । 

अहिले सन्ध्याको व्यवसायले २० देखि २५ जनालाई रोजगारीको बाटो पनि खोलिदिएको छ । विषेश गरी महिलाहरूलाई रोजगारीको लागि प्राथमिकतामा राखेकी सन्ध्याले यही व्यवसाय बाट राम्रो आम्दानी पनि हुँदै आएको  बताउँछिन् । अब भने उनलाई आफ्नो व्यवसाय देशैभर पुर्‍याउने रहर छ ।  

हेर्नुहोस् ३ वर्षमै ४ वटा आउटलेट खोल्न सफल डा. सन्ध्या कँडेलको उद्यमी कथा (भिडियो)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *