विदेशमा दुःखले गरेको कमाइ घर खर्चमै सकाउने कि थप आम्दानीमा लगाउने ?

जीविको २०८० माघ १४ गते १५:१०

कहिले तलब आउला र घर पठाउन पाइएला भन्ने चिन्ताले वैदेशिक रोजगारमा भएका धेरैलाई महिना बित्दै गएपछि सताउने गर्छ । छोराछोरीको पढाई, घरको रासन, आफ्नो खर्च (टेलिफोन, इन्टरनेट, खाना, बस्न ) त कहिले ॠण सापटी भनेर भाग लगाउँदैमा अधिकांशको कमाइ हातमा बस्नै पाउँदैन ।

“महिना दिन खटियो, तलब आउँछ तर हातमा पर्ने बित्तिकै माछा फुत्केझैं कता जान्छ कता,”  ५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत जोन लिम्बू यसरी आफ्नो अनुभव सुनाउँछन् ।  

जोन जस्तै धेरै विदेशमा बस्ने युवाहरूको समस्या एकै हो । कमाएको पैसा बचत नहुने अनि घर खर्च बालबच्चा पढाउँदा पढाउँदै विदेशबाट कमाएको पैसा सकिन्छ र भविष्यलाई बाँकी नै हुँदैन । 

आधारभुत आवश्यकता पुरा गर्नको लागि यस्ता बिषयमा खर्च गर्नु वैदेशिक रोजगारीमा जानेहरूको बाध्यता हो । तर यो बाहेक देखावटी सामाजिक होडबाजी, महँगा मोबाइल, टेलिभिजन, फ्रिज, ल्यापटप लगायतका बिलासिलताको सामानमा पनि वैदेशिक रोजगारीको कमाइ बढी खर्च भएको अध्ययनले देखाएको छ । 

ब्लिट्ज मिडियाले ह्युम्यानिटी युनाइटेडसँगको साझेदारीमा सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन अनुसन्धान अध्ययन २०२२ का अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको आम्दानीमध्ये ८९.७ प्रतिशत घरखर्च टार्नमै सीमित हुने गरेको छ । ८१ प्रतिशत कमाइ जाँदा लागेको ऋण तिर्न खर्च हुन्छ । स्वास्थ्य, शिक्षा, चाडपर्व अनि अन्य खर्चमा बाँकी पैसा सकिन्छ । नेपालमै व्यवसाय र उद्यम गर्नका लागि मात्र ३ प्रतिशतले खर्च गर्ने गरेका छन् ।

रिपोर्ट हेर्दा वैदेशिक रोजगारीमा कमैले मात्र आफूले कमाएको पैसा बचत गर्ने अत्यन्तै न्यून देखिन्छ भने कमाएको रकम उत्पादनशील क्षेत्रमा लगाउनेको सङ्ख्या नगन्य नै छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले आफ्नो कमाइ दैनिक उपभोग्य बस्तु बाहेक उत्पादनशील क्षेत्रमा लगानी गर्न नसक्नुको प्रमुख कारण भनेको आफूले कमाएको पैसा र खर्चको योजना नभएर हो भन्छन्, श्रम आप्रवासन अनुसन्धाता डा. अनुज तिवारी

डा. अनुजले वैदेशिक रोजगारीमा जाँदा कमाएको पैसालाई बचत गर्ने ९ वटा टिप्स दिएका छन् ।

  • आफू किन विदेश जाने भन्ने प्रयोजनबारे पहिला नै स्पष्ट हुनुहोस् । तपाईं घर बनाउने प्रयोजनका लागि विदेश जाने हो वा बालबच्चा पढाउन जाने हो या घरखर्च टार्नका लागि वैदेशिक रोजगारीमा जाने हो त्यसबारे पक्का हुनुहोस्। यसो हुँदा तपाईले आफ्नो आवश्यकताअनुसार खर्चको योजना बनाउन सक्नुहुन्छ ।
  • नेपाल पैसा पठाउँदा पठाएको पैसालाई शीर्षक छुट्याएर पठाउनुहोस् । जस्तो कि पैसा पठाउँदा घरखर्चका लागि यति रकम, बालबच्चाको पठन पाठनमा यति खर्च भन्ने जस्ता शीर्षक छुट्याउनुहोस् र त्यहि अनुरूप नेपालमा पैसा पठाउनुहोस् ।
  • देश चलाउनका लागि बजेट छुट्याएझैँ घर चलाउन पनि आम्दानी र खर्चको लेखाजोखा गर्नुहोस् र केही रकम बचाएर बचत गर्नुहोस् । सानो रकम पनि बचत गर्न सुरु गर्ने हो पछि ठूलो परिणाममा बचत हुन्छ । 
  • वैदेशिक रोजगारीबाट आएको पैसालाई फजुल खर्च नगर्ने परिवारको दायित्वको हो । कुनै महिना बढी खर्च गर्दा अर्को महिना खर्च टार्न गार्हो पर्न सक्छ भनेर परिवारका सदस्यले पनि बुझ्नुपर्दछ । बचत भएको पैसालाई सानै उद्यममा भएपनि परिवारले लगानी गर्नुपर्दछ ।

एउटा सामान्य उदाहरण:

पाल्पा र गुल्मीको सीमानामा रहेको रिडीमा एक परिवारका श्रीमान् कोरिया रोजगारीमा हुनुहुन्थ्यो । उहाँको आम्दानी पनि राम्रो थियो, उहाँकी श्रीमती नेपालमै बसेर छोराछोरी पढाउने काम गर्नुहुन्थ्यो तर उहाँले श्रीमानको तलबलाई घरखर्च टार्ने आधार मात्र बनाउनुभएन । पठाएको रकमबाट केही बचाएर एउटा तरकारी पसलमा लगानी गर्नुभयो । पछि श्रीमान् विदेशबाट फर्कँदा श्रीमानले कोरियामा कमाएको पैसा र तरकारी व्यवसायबाट कमाएको पैसा जोड्दा राम्रै पूँजी जम्मा भयो । । त्यसपछि उहाँ विदेश जानुपर्ने भएन, विदेश फिर्ता जानुको साटो उहाँले यतैको व्यवसायलाई बढाउनुभयो । त्यसैले नेपाल बस्ने परिवारका सदस्यले पनि केही सानो भएपनि उद्यम सुरू गर्नुभयो भने परिवार चलाउन सहज हुन्छ । व्यवसाय गर्नका लागि ‍करोडौँ पूँजी नै चाहिन्छ भन्ने हुँदैन । सानो १ लाख – २ लाखको पूँजीले पनि व्यवसाय सुरुवात गर्न सक्नुहुन्छ । जसका लागि विभिन्न शैक्षिक संस्थाहरूले व्यवसायिक आइडिया दिने, त्यस आइडियालाई कसरी व्यवहारिक र उत्पादनमूखी बनाउने भन्ने सिकाउँछन् । जसमा वित्तिय व्यवस्थापन कसरी गर्ने, त्यसका लागि के के सामान चाहिन्छन्, त्यसको बजार के कस्तो छ भन्ने बारे जानकारी दिइन्छ । त्यसैले ती संस्थाहरूको बारेमा पनि आफू जानकार हुनुहोस् । 

  • नेपालको सामाजिक संरचना केही हदसम्म देखासिखीमा चलेको छ । छिमेकीले केही किन्यो भने आफूले पनि त्यहि किसिमका सामाग्री किन्नुपर्ने सोच हुन्छ त्यसलाई परिवर्तन गर्नुपर्छ । समाजमा हुने देखासिकीको लहडमा लागेर आफ्नो क्षमताभन्दा धेरै खर्च नगर्नुहोस् । 
  • वैदेशिक रोजगारीमा हुनेहरूका लागि बैंकले उच्च ब्याजदरमा रेमिट्यान्स खाता खोल्ने सुविधा दिएको छ, त्यस्ता बैंकिङ सुविधाको उपयोग गर्नुहोस् । विदेशबाट आएको पैसा त्यहि खातामा जम्मा गर्नुहोस् त्यसो गरे चाहिएको पैसा त्यहाँबाट झिकेर खर्च गर्न पनि सकिन्छ र बाँकी रहेको पैसाको बढी व्याज खान पनि पाइन्छ । 
  • नेपाल सरकारले सेयर (आइपिओ) मा वैदेशिक रोजगारीमा हुनेहरूका लागि कोटा छुट्याएको छ, सेयर भर्ने प्रक्रियाका बारेमा राम्रोसँग बुझ्नुहोस् । कम्तीमा सेयर बजारको आइपिओमा लगानी गर्नुहोस् जसका लागि आइपिओ के हो, यसमा कसरी लगानी गर्ने भन्ने जस्ता भिडियोहरू सामाजिक सञ्जालमा हेर्नुहोस् । यसरी आइपिओमा लगानी गर्दा तपाईंले कमाएको पैसा बचत हुन्छ । 
  • विदेशका धेरै देशमा क्रिप्टो मुद्रामा लगानी गर्ने प्रचलन छ तर क्रिप्टो-करेन्सीमा लगानीका लागि नेपालले बन्देज गरेको छ, यसबाट सावधान हुनुहोस् ।
  • विदेशमा हुँदा सकेसम्म ऋण नलिनुहोस्, लिनै पर्ने बाध्यात्मक अवस्थामा सस्तो ब्याजमा लिनुहोस् ।
  • विदेशमा दुख गरेर कमाएको पैसा खर्च वा लगानी गर्दा त्यसका बारेमा अध्ययन गर्नुहोस्, व्यवहारिक निर्णय लिएर मात्र आफ्नो कमाइलाई खर्च वा लगानी गर्नुपर्दछ ।
श्रम आप्रवासन अनुसन्धाता डा. अनुज तिवारी

हेर्नुहोस्, वैदेशिक रोजगारीमा हुनेले आफ्नो कमाइलाई कसरी जोगाउने र अन्य ठाउँमा लगानी गर्ने भन्ने  बारेमा श्रम आप्रवासन अनुसन्धाता डा. अनुज तिवारीसँग गरिएको भिडियो संवाद:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *