कसरी पाईन्छ उद्यमका लागि सहुलियत कर्जा ? १० प्रश्नोत्तरमा सम्पूर्ण जानकारी

जीविको २०८० माघ २३ गते १३:२०

सरकारले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियत कर्जा दिने गरी नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एक सूचना प्रकाशन गरेर स्टार्टअप गरिरहेका उद्यमीहरूसँग आवेदन बुझाउन आह्वान गरेको हो । यदि तपाईंको उद्यम व्यवसाय स्थापना भएको सात वर्ष नाघेको छैन र यसमा प्रविधीसँगै नवीनतम ज्ञान, सोच, सीप र क्षमता अपनाउनु भएको छ भने तपाईंले स्टार्ट-अप सहुलियत कर्जा पाउने सम्भावना रहन्छ । 

गत माघ १९ गते औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सूचना प्रकाशन गरे लगत्तै जीविको मिडियाले प्रतिष्ठानका कार्यकारी निर्देशक ई. उमेश कुमार गुप्तासँग यस बिषयमा संवाद गरेको छ । संवादमा ई. उमेशले कार्यविधीले समेटेका स्टार्टअपले ढुक्क भएर आवेदन पेश गर्न आव्हान गरेका छन् । उनले योग्य स्टार्टअप उद्यमलाई सहुलियत कर्जा प्रदान गर्ने प्रकृयालाई पारदर्शी र  विश्वसनीय बनाउनका लागि  प्रतिष्ठान प्रतिबद्ध रहेको पनि बताए। 

सहुलियत कर्जाका लागि आवेदन बुझाउन आएका सुदूरपश्चिम कैलालीका युवा उद्यमी सुमन पौडेलले  आवेदन प्रक्रिया सरल र छिटो रहेको प्रतिक्रिया जनाए । “हामीले एक घण्टा छुट्टाएर प्रतिष्ठानको वेबसाइटलाई हेर्यौ भने सजिलैसँग आवेदन दिने  प्रक्रिया र आवश्यक कागजातका बारेमा बुझ्न सकिन्छ ।  आवेदन पेश गर्ने ठाउँ  र यहाँका कर्मचारीहरू पनि सहयोगी लाग्यो” आवेदन पेश गरेपश्चात सुमनले जीविकोसँग आफ्नो अनुभव बताए ।

स्टार्टअप उद्यम सहुलियतपूर्ण कर्जा लिनका लागि परियोजना प्रस्ताव आह्वान भएको सन्दर्भमा जीविकोले यस जानकारीमूलक सामाग्री तयार गरेको छ । यस सामाग्रीमा हामीले १० प्रश्नोत्तरमा स्टार्टअप उद्यम कर्जाका बारेमा सरल तरिकाले बुझाउने प्रयास गरेका छौं ।

१. सहुलियतपूर्ण कर्जा लिनका लागि स्टार्ट-अप उद्यमको क्षेत्र के- के छन् ?

कार्यविधि अनुसार विभिन्न १६ क्षेत्रका स्टार्टअपले सहुलियतपूर्ण कर्जाका लागि आवेदन दिन सक्नेछन् । कृषि तथा पशुपंछी, वन पैदावार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवासँग सम्बन्धित स्टार्ट-अपलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, अटोमोबाइल्स, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधार, खानी तथा खनिज अनुसन्धान र विकास, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपद व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जार जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित गरेर जम्मा १६ क्षेत्रका स्टार्टअप लाई सहुलियतपूर्ण कर्जामा आवेदन दिन आव्हान गरिएको छ ।

२. स्टार्टअप उद्यमका मापदण्ड के कस्ता छन् ? 

स्टार्टअप उद्यम कर्जा प्रवाह गर्ने प्रयोजनको लागि प्रचलित कानून बमोजिम दर्ता भई निवेदन दिने अन्तिम मितिसम्म सात वर्ष ननाघेका देहाय बमोजिमका मापदण्ड पूरा गरेका उद्यमी कर्जाका लागि योग्य हुनेछन् :

(क) कुनै वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वा वितरण प्रक्रियामा नवीन प्रविधि एवम् सृजनशील सोचको प्रयोग गरेको,

(ख) कुल चुक्ता पूँजी दुई लाख रुपैयाँदेखि दस लाख रुपैयाँसम्म भएको, 

(ग) उद्यमको कुल कारोबार वार्षिक दुई करोड रुपैयाँभन्दा बढी नभएको,

(घ) स्थिर पूँजी (घर जग्गाको मूल्य बाहेक) दुई करोड रुपैयाँभन्दा बढी नभएको । 

तल उल्लेख गरिएकालाई भने उद्यम स्टार्टअप उद्यम नामानिने प्रतिष्ठानले जनाएको छ ; 

(क) प्रचलित कानून बमोजिम दर्ता नभएको,

(ख) वस्तु वा सेवा विदेशबाट आयात गरी बिक्री वितरण गर्ने गरेको,

(ग) प्रचलित कानून बमोजिम कालोसूचीमा परेको,

(घ) होल्डिङ्ग तथा लगानी कम्पनीको रूपमा औद्योगिक व्यवसाय ऐन २०७६ बमोजिम दर्ता भएको ।

३. प्रस्तावना पेश गर्ने अवधी कहिलेसम्म रहेको छ ?

२०८० साल माघ १९ गते औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सूचना प्रकाशन गरेको थियो । आवेदकले सूचना प्रकाशन भएको २१ दिनभित्र प्रस्तावना पेश गर्नुपर्ने हुन्छ ।

४. प्रस्ताव पेश कसरी गर्ने ?

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० बमोजिम कर्जा लिन चाहने उद्यमीले कार्यविधिको अनुसूची-१ बमोजिमको ढाँचामा प्रतिष्ठानमा परियोजना प्रस्ताव पेश गर्नु पर्नेछ जुन प्रतिष्ठानको वेबसाइटमा उपलब्ध छ । सहयोगका लागि भिडियो हेर्नुहोस् ।

एक उद्यमीले एकभन्दा बढी प्रस्ताव पेश गर्न पाउने छैनन् । पेश भएका प्रस्तावमा उल्लेख भएको विवरण तथा संलग्न कागजात ठीक साँचो हो भनी सम्बन्धित प्रस्तावकले स्वः घोषणा गर्नुपर्ने हुन्छ । स्वःघोषणा झुटो रहेको पुष्टि भएमा त्यस्तो प्रस्ताव जुनसुकै बखत रद्द हुने र प्रचलित कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायमा पठाइने प्रतिष्ठानको सूचनामा उल्लेख छ । त्यस्ता प्रस्तावक भविष्यमा स्टार्टअप उद्यम कर्जाको लागि आवेदन पेश गर्न अयोग्य हुनेछन् भनेर प्रतिष्ठानले सचेत पनि गराएको छ ।

५. सहुलियत कर्जा बढीमा कतिसम्म पाईन्छ ?

३ प्रतिशत ब्याजदरमा अधिकतम २५ लाखसम्म रुपैयाँसम्म सहुलियत कर्जा पाउन सकिन्छ र यसका लागि परियोजना धितो राख्नुपर्ने हुन्छ ।

६. कर्जा प्रवाह कसरी हुन्छ ?

कर्जा प्रवाह राष्ट्रिय वाणिज्य बैङ्कमार्फत हुनेछ । कर्जाको अवधि अधिकतम पाँच वर्ष हुनेछ । साँवा र ब्याज वापतको रकम ढिलोमा कर्जा लिएको दोस्रो वर्षबाट फिर्ता गर्न प्रारम्भ गर्नुपर्नेछ । कर्जाको व्याजदर वार्षिक तीन प्रतिशत हुनेछ । बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाको हकमा एक किस्ता, पन्ध्र लाखसम्मको लागि दुई किस्ता र सो भन्दा माथि पच्चीस लाखसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराउनेछ । प्रथम किस्ताको रकम सम्बन्धित उद्यमीले स्टार्टअप उद्यममा कर्जा प्रयोग गरेको पुष्ट्याइँसहित थप किस्ता माग गरेमा बैङ्कले निरीक्षण गरी प्रगतिको आधारमा थप कर्जा रकम उपलब्ध गराउनेछ । बैङ्कले स्वीकृत परियोजना नै धितोको रूपमा राख्नेछ । परियोजनाको बीमा उद्यमी स्वयंले गर्नुपर्नेछ ।

७. प्रस्तावको साथमा संलग्न गर्नु पर्ने कागजात के-के छन् ?

  • उद्योगको दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि,
  • स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,
  • अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,
  • फर्म/कम्पनी वा उद्योगको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • पूर्णकालीन कामदारको विवरण,
  • IT (Information Technology) को उपयोग र Innovation को प्रमाण ।

८.  प्रस्तावको ढाँचा, पेश गर्ने स्थान र समय के कस्तो रहेको छ ?

परियोजना प्रस्तावको ढाँचा प्रतिष्ठानको वेबसाइटबाट डाउनलोड गरी भर्न सकिनेछ । परियोजना प्रस्ताव प्रतिष्ठानको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा कार्यालय समयभित्र हार्डकपी (Hardcopy) नै बुझाउनुपर्ने हुन्छ ।

९. आवेदन पेश गरेपछि थप जानकारी कसरी लिने ?

सर्टलिस्टिङमा परेका प्रस्तुतीकरणका लागि योग्य भएका र अन्तिम छनोटमा परेका परियोजनाहरूको विवरण प्रतिष्ठानको वेबसाइट www.iedi.org.np मा राखिने सूचनामा उल्लेख गरिएको छ ।

१०. सरकारले स्टार्टअप कर्जाका लागि कति रकम छुट्याएको छ ?

यस वर्ष सरकारले स्टार्टअप कर्जाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

स्टार्टअप उद्यम कर्जाका लागि थप जानकारी परेमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, त्रिपुरेश्वर, काठमाडौंको वेबसाइट वा फोन नं: ०१–५३६१३३९, ५३६६१६२ मा सम्पर्क गर्न सकिन्छ ।

हेर्नुहोस्, सहुलियत कर्जा कसरी पाउने भन्ने सन्दर्भमा प्रतिष्ठानका कार्यकारी निर्देशक ई. उमेश कुमार गुप्तासँग गरिएको कुराकानी:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *