जसको साथले हजारौं महिलाहरू हण्डरसँग जुधेर आत्मनिर्भर बने (भिडियो कथा)

धर्मराज रिमाल २०८० चैत १४ गते १६:३७

“मेरो त भाग्य नै खोटो रहेछ, दुःख मात्र लेखेको रहेछ जिन्दगीमा.. भनेर रुँदै बस्ने कि सीप सिकेर आत्मनिर्भर बन्ने ?” चर्को आवाजमा मीना बोल्न थालिन् ।

उनका अगाडि लहरै उभिएर सुनिरहेका थिए १ महिने निःशुल्क ड्राइभिङ तालिम सिक्न आएका महिलाहरू । यी महिलाहरू रहर पूरा गर्न वा मस्तै पैसा भएर चार पाङ्ग्रे गुडाउने सोखले ड्राइभिङ सिक्न आएका भने थिएनन् । उनीहरू त असहजता र अभावमा कष्टकर जीवन बिताइरहेका महिलाहरू थिए जो मोटर चलाउन सिकेर त्यही सीपबाट जीविको चलाउने उद्देश्य बोकेका थिए ।

हेर्नुहोस्, भिडियो कथा: हण्डरसँग जुध्न सिकाउने, आत्मनिर्भर बनाउने गुरुआमाहरू

१ महिने निःशुल्क ड्राइभिङ तालिम सिक्न आएकाहरूलाई अभिमुखीकरण दिँदै गुरुआमाहरू लक्ष्मी, मीना अनि दुर्गा (दाँयाबाट), फोटो: पुष्कल श्रेष्ठ, जीविको

गाडी चलाउने सीप सिकाउन अग्रपङ्तिमा थिइन्, हजारौँ बेसहारा महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाएकी गुरुआमा मीना चन्द ठकुरी । आर्थिक विपन्नताले गाँजेका, घर परिवारबाट अपहेलित भएका, विभिन्न प्रकारका हिंसामा परेका अनि परनिर्भरतामा जीवन जिउन सिवाय अन्य अवसर केही पनि नपाएका महिलाहरूलाई विगत १५ वर्षदेखि गाडी गुडाउने सीप सिकाएर आत्मसम्मानको जीवन जिउन मद्दत गरिरहेकी छिन्,  मीना गुरुआमा ।

यस्तै विपन्न, बेसहारा महिलालाई ड्राइभिङ सिकाएर आत्मनिर्भर बनाउने संस्था – नेपाल यातायात महिला चालक समूहकी संस्थापक हुन्, मीना गुरुआमा । मीना गुरुआमासँगै अरु दुई गुरुआमा पनि थिए; लक्ष्मी थामी र दुर्गा सुनार । लक्ष्मी र दुर्गाले पनि मीनाबाट नै यो सीप सिकेर अहिले अन्यलाई सिकाउने भएका हुन् ।

नेपाल यातायात महिला चालक समूहका गुरुआमाहरू लक्ष्मी, मीना अनि दुर्गा (दाँयाबाट), फोटो: पुष्कल श्रेष्ठ, जीविको

ठ्याक्कै २० वर्ष भयो मीनाले गाडी चलाउन थालेको । सुरुवातमा घरखर्च धान्न गाह्रो भएपछि ट्याम्पो चलाएकी मीनाले केही वर्षमा ट्याक्सी सिकेर गुडाउन थालिन् । गाडी गुडाएर उनले आयआर्जन त गर्थिन् नै त्योसँगै आफूजस्तै अभाव र असहज परिस्थितिमा भएका महिलाहरूलाई स्टेरिङ समाउन पनि सिकाउने गर्थिन् । 

“जब मेरा बाल बच्चा भोको थिए र मेरो कुनै आयआर्जन गर्ने स्रोत थिएन त्यसबेला मलाई सघाउने कोही भएनन् । मैले जे जति गरेँ ति सबै आफैले गरेँ तर म जस्तै परिस्थिति भएका महिलाहरू धेरै छन् । आफूसँग भएको सीप सिकाएर उनीहरूलाई आत्मनिर्भर त बनाउन सक्छु भन्ने सोचाइले जहाँ मिल्छ त्यहाँ उनीहरूलाई ड्राइभिङ सिकाउने गर्थें” विगत सम्झिँदै मीनाले सुनाइन् ।

ड्राइभिङ सिकाउँदै नेपाल यातायात महिला चालक समूहकी संस्थापक मीना चन्द ठकुरी, फोटो: पुष्कल श्रेष्ठ, जीविको

सडकमा नि:शुल्क ड्राइभिङ सिकाइरहेकी मीनालाई देखेर नेपालकी पहिलो ट्याम्पो चालक लक्ष्मी शर्माले एउटा संस्था खोलेर महिलालाई यस क्षेत्रमा ल्याउन व्यवस्थित भएर काम गर्न सुझाइन् । मीनाको अगुवाइमा २०६९ सालमा नेपाल यातायात महिला चालक समूह स्थापना भयो । 

संस्था खोलेपछि सरकार लगायत अन्य राष्ट्रिय अन्तराष्ट्रिय दाताबाट आर्थिक सहयोग आउला अनि अभावमा रहेका देशैभरिका महिलालाई यो सीप सिकाएर आयआर्जनको बाटोमा डोर्‍याउला भन्ने लागेको थियो उनलाई तर अपेक्षाअनुसार सहयोग भने आएन ।

“अरूको सहयोग पाइएन भनेर आत्मनिर्भर बनाउने हाम्रो अभियान त रोक्न भएन,” दृढ हुँदै मीना भन्छिन्, “हिजो एक्लै हुँदा त ऋणधन गरेर भए पनि सिकाइयो भने अहिले त यो अभियानमा मजस्ता धेरै महिलाहरू जोडिनुभएको छ । हामीसँग प्रसस्त स्रोत र साधन नहोला तर बलियो संकल्प त छ”

बेसहाराहरूको सारथी बनेर मिनाले हजारौं महिलालाई सीपसँगै आत्मबल दिइन्, हीनताबोधमा बाँचेकालाई हौसला दिइन् । सामान्य जीवन जिउन पनि सकस भएकी एउटा महिलाले जब स्टेरिङ घुमाएर आत्मसम्मानपूर्वक बाँच्न सुरु गर्छन् त्यसबेला मीनाको हृदय खुशी र गर्वले प्रफुल्लित हुन्छ । त्यसैले त २ दशकदेखि अथक रुपमा यो काममा आफूलाई समर्पित गरेकी छन् उनले ।

सल्यानबाट ड्राइभिङ सिक्न भनेर काठमाडौं आएकी डम्बरी थापा । उनी केहीवर्ष रोजगारीका लागि मलेशियामा थिइन् अहिले भने गाडी चलाउन सिकेर नेपालमा स्वरोजगार हुने योजना रहेको हामीलाई सुनाइन्, फोटो: पुष्कल श्रेष्ठ, जीविको

“आफ्नो भविष्य अन्धकारमा देख्ने महिलाहरूलाई सीप सिकाएर स्वावलम्बी बनाउन पाइरहेकी छु । यति धेरै सफलता देख्दा लाग्छ ३ करोड नेपालीमा सबैभन्दा धेरै खुशी म नै छु,” आफूसँगै ड्राइभिङ सिकाउने लक्ष्मी र दुर्गाको हात समाएर ठूलो हाँसोको फोहोरा छुटाउँदै मीनाले भनिन्, “अहिले त मेरा चेलीहरू नै गुरुआमा भइसके”

हेर्नुहोस्, हजारौँ विपन्न बेसहारा महिलालाई ड्राइभिङ सिकाएर आत्मनिर्भर बनाउने गुरुआमाहरूको भिडियो कथा:

……

त्यस्ता महिलाहरू जसलाई आधारभुत आवश्यकता पूरा गर्न पनि आर्थिक अभाव छ, जो अवसरबाट बञ्चित छन्, हिंसामा परेका छन्, एकल छन् र निःशुल्क ड्राइभिङ सिकेर आत्मनिर्भर हुन चाहन्छन् भने सम्पर्क गर्नुहोस्:

वेबसाइट: नेपाल यातायात महिला चालक समूह

फेसबुक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *