युवा उद्यमीको बिजनेस टिप्स: कस्तो उद्यम गर्ने ? पार्टनर कस्तो छान्ने ? (भिडियो)

धर्मराज रिमाल २०७९ पुष १७ गते १९:४०

“जुन उद्देश्य र योजना बनाएर हामीले बिजनेस सुरुवात गरेका थियौं, कोभिडका कारण बिचमा हामीलाई केही असहजता त भयो तर फेरि पनि हामीले हाम्रो व्यवसायलाई अगाडि बढाएका छौं,  हामी सही दिशामा छौं” पीचेज द वाक्स बार कि संस्थापकमध्ये एक निशा अर्याल (३६) ले जीविकोसँग ‘उद्यमका कुरा’ सुरु गरिन्। निशासँगै कुराकानी गर्न साथमा थिइन्, अर्की संस्थापक कविता शाह (२८) ।

पीचेज द वाक्स बारका निशा अर्याल र कविता शाह, फोटो: पुष्कल श्रेष्ठ/जीविको

एक दशक अगाडि कविता शाह निशा अर्यालसँग अर्थशास्त्र विषयको ट्युसन पढ्ने गर्थिन् । शिक्षिका र विद्यार्थीबाट सुरु भएको उनीहरूको सम्बन्ध समयक्रममा निकट साथीमा रूपान्तरण हुँदै गयो । निशाले एमबीए गरेकी छन् भने कविताले सामाजिक कार्यमा स्नातक ।

काठमाडौंमा स्किन केयर र शारीरिक सौन्दर्यका लागि जाने ठाउँहरू कि त अत्याधिक महँगा छन्, कि भने  खर्च गर्न सकिने खालका ठाउँहरू सफा र स्वस्थ  भेट्न मुस्किलै हुने खालका छन् । नियमितरूपमा यस्ता सेवा लिनका लागि असहज भएपछि निशा अर्यालले सफा र स्वस्थ पनि हुने अनि सेवा लिए बापत त्यति धेरै महँगो पनि नपर्ने ‘’वाक्स बार’ सञ्चालन गर्ने योजना बनाइन् । स्किन केयर र शारीरिक सौन्दर्यका लागि काठमाडौं लगायतका विभिन्न सहरमा धेरै  ठाउँहरू भएता पनि हेयर रिमुभल अर्थात शरीरका विभिन्न स्थानमा भएका रौँ हटाउने विशिष्टीकृत सेवा दिने खालका स्थानहरू नभएकाले यसैलाई नै व्यवसायिक आइडिया बनाइन् निशाले । व्यवसाय गर्ने आइडिया त बन्यो तर व्यवसायमा साथ दिने पार्टनर भने कसलाई बनाउने भन्ने दुबिधा निशालाई थियो । अनि विद्यार्थीबाट निकट साथी बनेकी कवितालाई आफ्नो योजना सुनाइन् । कवितालाई योजना मन पर्‍यो, लगत्तै उनी सहकार्य गर्न तयार भइन् ।

सन् २०१८ मा निशा र कविताले ‘पीचेज द वाक्स बार‘ सुरु गरे । व्यवसायले गति लिँदै थियो त्यतिनै बेला विश्वव्यापी महामारीको रूप लिएको कोभिडका कारण भएको लकडाउनले गर्दा व्यवसायलाई अगाडि बढाउन उनीहरूलाई कठिनाइ भयो । लगनशीलतासँगै धैर्यतालाई व्यवसायको आधार सम्झेर अगाडि बढेका दुवैजना पार्टनरले यो विषम परिस्थितिमा हार मानेनन् । महामारी मत्थर हुँदै गएपछि उनीहरूको व्यवसायले पनि आफ्नो गति समात्न  थाल्यो । पीचेज द वाक्स बारका सेवाहरू त्यहाँ आउने सेवाग्राहीलाई उत्कृष्ट लाग्न थाल्यो फलस्वरूप  निशा र कविताको सम्बन्ध विस्तार भएजस्तै उनीहरूको व्यवसाय पनि विस्तार हुन थाल्यो । पीचेज द वाक्स बारले अहिले गैरीधारासँगै झम्सिखेलमा पनि आफ्नो सेवा दिइरहेको छ । हालैमात्र विस्तार भएको झम्सिखेल शाखामा पनि उत्साहजनक रुपमा सेवाग्राहीहरू आउने गरेका छन् ।

यी दुई युवा उद्यमीले जीविकोसँग आफ्नो व्यवसायिक अनुभवका आधारमा ‘उद्यमका कुरा’ गरेका छन् । हेर्नुहोस्, उद्यम कस्तो गर्ने ? योजना कस्तो बनाउने अनि कस्तो पार्टनर छनोट गर्ने भन्ने बारेमा निशा र कवितासँग गरिएको भिडियो कुराकानी:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *