बाबुको सपना सरकारी अधिकारी बनाउने, छोराको योजना कुटो कोदालो समाउने (भिडियो)

धर्मराज रिमाल २०७९ साउन १४ गते १२:०२

आफ्ना सन्तानले पढाईमा अब्बल नतिजा ल्याएपछि नेपालमा अधिकांश अभिभावकको स्वभाविक अपेक्षा हुन्छ, “अब विदेशका ठूला युनिभर्सिटीमा आफ्ना सन्तान पुगुन् अनि उतै आफ्नो भविष्य बनाउन् । होइन भने पनि कम्तीमा लोकसेवाको परीक्षा दिएर विभागको प्रमुख बनुन्”

डडेलधुरा अमरगढीका पदमराज अवस्थी (३०)का बुबाको आशा पनि यस्तै थियो । पदमले ६ वर्ष अगाडि पोखरा युनिभर्सिटी टप गरेका थिए । पढाईमा तेज आफ्नो छोरोले अब लोकसेवा गरेर सरकारी कार्यालय हाँकोस् भन्ने सपना बाबु चेतराजको थियो ।

तर पदम भने अब के गर्ने भन्ने दुबिधा मै थिए । यही दुबिधाका बिचमा उनी टिच फर नेपाल भन्ने संस्थाको फेलोसिप कार्यक्रममा सिन्धुपाल्चोक गए । त्यहाँ जाँदा गाउँले परिवेश, हावापानी र ग्रामीण कृषिसँग हेलमेल भएर बसे उनी । २ वर्षे फेलोसिप सक्काएर उनी काठमाडौं फर्किए ।

अब पदमलाई लाग्यो, प्रविधिको उच्च प्रयोग गरेर कृषि गर्ने हो भने पैसा कमाउन समस्या छैन नेपालमा ।

उत्साहित हुँदै पदमले घरमा आफ्नो योजना सुनाए, “अब म कृषि गर्छु । यसैमा रमाउँछु.. यसैबाट कमाउँछु..”

लोकसेवा गरेर छोरो उच्च ओहोदामा पुगोस् भन्ने सपना देखेका बाबुले जब छोरोले कुटो कोदालो समाउँछु भन्यो तब बाबु चेतराजलाई लाग्यो छोरोले भविष्य बिगार्ने भयो । पदमलाई भने आत्मविश्वास थियो, “परम्परागतभन्दा फरक तरिकाले कृषि गरियो भने सर्टिफिकेट बोकेर जागिर खोज्न कतै जानै पर्दैन”

अन्तत: बाबुको असहमतिका बावजुत कृषि कर्म गर्ने उद्देश्य लिएर पदम अगाडि बढे ।

पदमको ‘आइडिया’लाई योजना बनाउन अन्तरप्रेरणाले सहयोग गर्‍यो । यो संस्थाले पदम जस्ता नवीनतम सोच तथा सम्भावना बोकेका उद्यमशील व्यक्तिहरूलाई नयाँ वा संचालनमा आइसकेको व्यवसाय सफल रुपमा स्थापित गर्न आवश्यकताअनुरुप विभिन्न किसिमले सघाइरहेको छ । अन्तरप्रेरणाबाहेक अन्य विभिन्न  व्यक्ति र संस्थाले पनि उनलाई  सहयोग गरे ।

अन्तरप्रेरणा र ताजा फार्मको सहाकार्य, फोटो: अन्तरप्रेरणा

कृषि उद्यम गर्न पदमले पनौती १०, काभ्रेमा जग्गा भेटे । २० रोपनी जग्गा भाडामा लिएर २०७७ सालमा पदमले सुरु गरे – ताजा फार्म । विगत तीन वर्षदेखि यहाँ पदमले तरकारी खेती गर्दै आएका छन् । कृषि उद्यमी, हरितगृह मिस्त्री, कृषि प्रशिक्षकजस्ता विषयमा पोख्त पदमले अहिले यही कामलाई आफ्नो पेशा बनाउँदै आएका छन् ।

“हामी पढे लेखेको मान्छेले आधुनिक तरिकाले खेती किसानी गर्ने हो भने पक्कै राम्रो हुन्छ भनेर यो पेशामा लागेँ । पहिले आफ्नो योजनाले सफलता पाउँदै गएकोमा म खुशी छु” पदम सुनाउँछन् ।

ताजा फार्ममा काम गर्दै पदम, फोटो: पुष्कल श्रेष्ठ/जीविको

अहिले ताजा फार्ममा काँक्रो, गोलभेँडा, क्याप्सिकम, बन्दा, ब्रोकाउली, खोर्सानी, भान्टा लटरम्म  फलेका छन् । मौसमी तथा बेमौसमी गरी ४० थरिका तरकारीहरू यहाँ  वर्षेनी उत्पादन हुने गरेको छ । ताजा फार्ममा उत्पादन गरिने तरकारीहरूमा कुनै पनि किसिमका विषादीको प्रयोग हुँदैन । पूर्ण अर्गानिक र स्वास्थ्यको लागि राम्रो हुने भएकोले यहाँ टाढा टाढा बाट तरकारी किन्न आउने गर्दछन् ।भक्तपुर दुवाकोटबाट तरकारी किन्न पुगेकी अस्मिता भन्छिन्, “यहाँ त आफ्नै घरमा फलाएको जस्तै ताजा तरकारी पाइन्छ, मिसावट हुँदैन त्यसैले हरेक दिन यहाँ तरकारी किन्न आइपुग्छु ।”   

कीटनाशक औषधी, रासायनिक मलको प्रयोग नगरी स्वस्थ र ताजा तरकारी उत्पादन गर्नु  ताजा फार्मको विशेषता हो । फार्ममा खेती गर्ने तरिका पनि परम्परागत नभएर आधुनिक प्रविधिको छ । ताजा फार्मको २० रोपनी जग्गामा पुरै आधुनिक किसिमका टनेलहरू छन् । बिरुवामा कीरा नलागोस् भनेर टनेललाई जालीले बेरिएको छ । बिरुवामा झार नलागोस् भनेर प्रत्येक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरिएको छ भने बिरुवालाई पानी हाल्नका लागि थोपा सिँचाइको व्यवस्था गरिएको छ।

“गुणस्तरीय तरकारी फलाउन र लागत खर्च कम गर्न प्रविधिको उच्चतम प्रयोग गरेका छौं” पदमले भने, “आधुनिक प्रविधिले व्यवसायिक तरकारी खेती गर्न सजिलो बनाएको छ, प्रविधि अपनाउँदा रोग किराको समस्याबाट मुक्त गराएको छ नै अर्कोतिर आम्दानीमा पनि वृद्धि भएको छ।”  

२०७७ सालमा ताजा फार्म सुरु गरेपछि अहिलेसम्म १ किलो तरकारी पनि बिक्री नभएर वा कुहिएर फ्याँक्नु नपरेको पदम बताउँछन् । “अहिलेसम्म हाम्रो तरकारी नोक्सान नहुने मूख्य कारण भनेको ‘पूर्व तयारी’ हो । पहिले नै कुन तरकारी कसरी लगाउने? यसको माग कति छ? कहाँ बेच्न सकिन्छ भन्ने बारे पर्याप्त अनुसन्धान गरेर खेती गर्ने हुँदा हाम्रो नोक्सान भएको छैन,” पदम सुनाउँछन् ।   

अध्ययनमा अब्बल पदमलाई कृषि पेसामा लागेपछि विदेशिने मन लागेन । नेपालमा नै आधुनिक कृषि गरे मासिक २-४ लाख कमाउन गाह्रो नदेखेपछि उनले अबको जीवन कृषि गरेर नेपालमा नै बिताउने सोचेका छन् ।

उनी भन्छन्, “जे गर्छु नेपालमा नै गर्छु, यहीँ पसिना बगाउँछु । आधुनिक हिसाबले कृषि गर्न सके नेपालकै माटोमा सुन फलाउन सकिन्छ ।”

पदमले सुरुवात गरेको ताजा फार्ममा अहिले १० जना कर्मचारी छन् । वार्षिक ३ सयदेखि ४ सय जनाले त मौसमी रोजगारी पाउँछन् । युनिभर्सिटी टपर छोरोको कृषि उद्यम देखेर पदमका बाबु अहिले गर्व गर्छन् ।

ताजा फार्ममा ओजेटीका विद्यार्थीसँग पदम, फोटो: पुष्कल श्रेष्ठ/जीविको

आम्दानी चाहिँ कति छ नि ? पदम सुनाउँछन्, “२० रोपनीको तरकारीले वार्षिक ३५ देखि ४० लाखसम्म आम्दानी दिने गरेको छ । तर हामी यतिमा सिमित हुँदैनौ, अझ धेरै आय गर्ने योजना छ ।”

त्यसो त ताजा फार्मले तरकारी उत्पादन गर्ने मात्र काम गर्दैन, यहाँ देशका विभिन्न कुनाबाट कृषि प्रविधि सिक्नका लागि भनेर ओजेटीमा विद्यार्थीहरू आइपुग्छन् । उनीहरूलाई पनि कृषि र प्रविधीका बारेमा सिकाउँछन् पदम । ति बाहेक विभिन्न संघ, संस्था, दूतावासका प्रतिनिधि, कृषि उद्यम गर्ने सोंच भएका व्यक्तिहरू पदमको कृषि कर्म हेर्न पुग्ने गरेका छन् ।

इजरायलका राजदूत ताजा फार्म अवलोकन गर्दै, फोटो: इजरायल इन नेपाल

यहाँ पुग्ने विद्यार्थीहरू पनि फार्म देखेर दङ्ग पर्छन् । ताजा फार्ममै कृषि सिक्दै गरेका सिन्धुपाल्चोक भोटेनामलाङका सुरेश लामा भन्छन्, “यहाँ काम गरेर पढेका धेरै कुरालाई व्यवहारमा उतार्न सकेको छु । ओजेटी सकेर म पनि यसरी नै कृषि गर्छु ।”

ताजा फार्म चलाएका पदमको एउटै सपना छ उनी जस्ता युवा कामको लागि विदेश नजाउन् । नेपालका किसानका लागि कृषि निर्वाहमुखी हैन आत्मनिर्भर र समृद्धिको आधार बनोस् ।

हेर्नुहोस्, युनिभर्सिटी टपर पदम राज अवस्थीको ताजा फार्मको यात्रा भिडियोमा :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *