बाबु-बाजेले थालेको उद्यमलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गरेका प्रकाशको कथा (भिडियो) क्यास्टेलो कास्मिरी पस्मिना उद्योगका संस्थापक प्रकाश बोलाखे, फोटो: पुष्कल श्रेष्ठ/जीविको

प्रतिक ढकाल २०७९ वैशाख २८ गते १८:३७

आफु सानो हुँदा हजुरबुवाले डोको, घुम अनि मान्द्रो बुनेको छेवैमा टुक्रुक्क बसेर हरिरहन्थे काभ्रे कुशादेबी पनौती-०२ का प्रकाश बोलाखे(३१) । बाँसको चोयालाबाट यसरी विभिन्न समानहरु हातैले बुनेर बनाएको देख्दा उनी खुबै उत्सुक हुन्थे । यसरी हातले नै बुनेका घरायसी विभिन्न सामाग्रीहरू हजुरबुबाले बनाएको देखेपछि प्रकाशलाई पनि यस्तै काम गर्न मन लाग्थ्यो । सानो खुर्पा र २\४ मुठा बाँसको चोया बोकेर आफु पनि काम गर्छु भन्दै हजुरबुबाको छेवैमा बसिहाल्थे ।

प्रकाशका हजुरबुवाको बुन्ने, सिलाउने र हस्तकलाको सीप उनका बुबाले पनि सिके । हजुरबुवाबाट सिकेको सीपलाई प्रकाशका बुवाले पस्मिनाको लुगा बनाउन प्रयोगमा ल्याए । उनका बुबा मनाङ, मुस्ताङ, कालिकोटदेखि हुम्लासम्मका विभिन्न हिमाली जिल्लाहरू पुगेर पस्मिनाका लागि आवश्यक फाइबर खोज्ने गर्थे अनि ग्रामीण सीपको अनुभव पनि बटुल्ने गर्थे ।

प्रकाश पनि बाबु बाजेदेखि गर्दै आएको पेसाबाट पर भाग्न सकेनन् । सानैदेखि हस्तकलासँग  परिचित भएका उनलाई यसमा नै आफ्नो व्यवसायिक भविष्य बनाउन मन लाग्यो । आफ्ना बुबाले जानेको बुझेको पस्मिनाको सामाग्री बनाउने पेसालाई थप परिस्कृत बनाउँदै लैजान प्रकाशले योजनाहरु बनाउन थाले । योजनाअनुरुप पस्मिना बुन्ने उद्योग नै खोले – क्यास्टेलो कास्मिरी पस्मिना उद्योग

प्रकाशका बुवाले अहिले पस्मिनाको काम खासै गर्दैनन् । उद्योगको व्यपारदेखि बजारसम्म सबै काम प्रकाशले नै सम्हालेका छन् । प्रकाशलाई उनको श्रीमती बिनिता गौतम बोलाखेले साथ दिन्छिन् ।

प्रकाशको उद्यम यात्राले अहिले राम्रो गति लिएको छ । उनको उद्योगमा नियमित रुपमा ८ जना कर्मचारी खटिने गर्छन् । अप्रत्यक्ष रोजगारी त अझ धेरैले पाएको प्रकाश बताउँछन् । 

आफ्नो उद्योगबाट शतप्रतिशत पस्मिनाको फाइबरबाट बनेको लुगा उत्पादन हुने प्रकाशको दाबी छ । उनले बनाएका सामाग्रीहरू नेपालमा भन्दा पनि युरोप लगायतका बजारमा धेरै पुग्छन् । 

“हाम्रो उद्योगमा उत्पादन भएको झण्डै ९० प्रतिशत सामाग्री त विदेश नै जान्छ । नेपालमा भने १० प्रतिशत खपत हुने गर्छ,” प्रकाश सुनाउँछन् । 

क्यास्टेलो कास्मिरी पस्मिना उद्योगमा पस्मिनाको पछ्यौरा, टिसर्ट, आउटर सबै किसिमका सामग्रीहरू बनाइन्छ । पस्मिनाबाट तयार गरिएको ब्ल्याङ्केट झण्डै ७० हजारदेखि १ लाख रुपैयाँसम्ममा बिक्री हुने प्रकाश बताउँछन् ।

हेर्नुहोस्, बाबु-बाजेबाट सीप सिकेर स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै उद्यम यात्रामा सफलता हासिल गरेका प्रकाशको जीविको कथा:

भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *