नेपालमा लाज होइन आँट गर्ने हो भने म्यानपावर धाउनु पर्दैन
यी १० काम जसले चल्छ नेपालमा जीविको

जीविको २०८० मंसिर १४ गते १२:४५

जागिर खाउँ प्रशस्त अवसर छैन, विदेश जाउँ मन मान्दैन अनि नेपालमा नै केही गरौँ न त भन्यो लगानी नै छैन । २० वर्ष उमेर पुगेका अधिकांश नेपाली युवाहरूको दैनिकी यहि सोच वरपर नै घुमिरहन्छ ।

कतै सानो काममा झुण्डिएर दिन कटायो विहान बेलुकाको गर्जो नै टर्दैन । नगरौँ न त भन्यो दैनिकी नै कसरी गुजार्ने ।

विवाह, घरजम अनि देशमै उद्यम धेरैको सपना मात्र बनेको परिवेशमा व्यवसाय सुरुवात गर्छु त्यसलाई बढाउँछु अनि मुनाफा लिन्छु भन्नु एकादेशको कथामात्र बनेको छ नेपाली युवाहरूलाई ।

यो परिवेशमा अलिकती सोचाइलाई फराकिलो बनाएर समाजले कथित सानो व्यवसायको ट्याग दिएका व्यापार व्यवसायहरू गर्नुहुन्छ भने चाहिँ नेपालमा व्यवसाय गर्न अनि मुनाफा कमाउन त्यति गार्हो हुँदैन । 

हाम्रै गाउँ ठाउँ वरपर नै झट्ट हेर्दा सानो लगानीमा सुरुवात गरेका अनि सामाजले सानो काम भनेर नामाकरण गरिदिएका उद्यम व्यवसाय अनि पेशा गरेका थुप्रै मानिसहरू भेटिन्छन् । 

यी मानिसहरूलाई देख्दा जो कोहीलाई यो उद्यम, पेशाले पनि गर्जो धानिन्छ त ? भनेझैँ लाग्न सक्छ । तर, यिनै पेशा अपनाएकाहरूले भने मनग्य आम्दानी गर्छन् मज्जाले घर व्यवहार चलाउँछन्, छोराछोरीलाई राम्रै विद्यालयमा पढाउँछन् । उनीहरूको आम्दानी पनि एक सरकारी अधिकृतले कमाउने भन्दा बढी नै हुन्छन् । 

आजको यस लेखमा यस्तै सानो भनिने तर स्तरीय आम्दानी र मुनाफा दिने १० पेशा व्यसवायबारे चर्चा गरौँ : 

. ग्याँस चुल्हो मर्मत गर्नुहोस्, गज्जबले जीविको धानिन्छ !

प्रायः हाम्रो घर कोठा वरपर ग्याँस मर्मत गर्नका लागि भन्दै कालिगढहरू हिँडिरहन्छन् । तर, अधिकांशले भोग्ने समस्या चाहिँ घरमा खाना पकाउने समयमा वा अन्य कुनै समयमा चुल्हो बिग्रिए बनाउने मानिस नै पाइँदैन ।

बाक्लो आवासिय क्षेत्रमा ग्याँस चुल्हो अनि छिटफुट अन्य बिग्रिएका सामाग्रीहरू मर्मत गर्ने पसल चलाउनुहुन्छ भने गज्जबको आम्दानी हुन्छ ।

काठमाडौं शान्तिनगर गेटभित्र ग्याँस चुल्हो मर्मत सेन्टर चलाएका इलाम गैरिगाउँका हरि प्रसाद निरौलाले यही पेशाबाट घर परिवार मज्जासँग धानेका छन् ।

काठमाडौं शान्तिनगर गेटभित्र ग्याँस चुल्हो मर्मत सेन्टर

उनी ग्याँससँग जोडिएर आउने सामाग्री बेच्छन्, ग्याँस चुल्हो मर्मत गर्छन् त्यस्तै सिलिन्डर पनि बेच्ने गर्छन्। उनी मासिक ८० हजार रूपैयाँदेखि १ लाख रुपैयाँसम्म यही व्यवसायबाट कमाउँछन् ।

उनी भन्छन्, “दिनमा ५-७ वटा ग्याँस मर्मतका काम आइहाल्छन्, १५ सय जति त्यहीँ कमिन्छन् । मर्मतलाई चाहिने सामान म आफैँ बेच्छु त्यहाँ पनि नाफा नै हुन्छ । दैनिक २५ सय ३ हजार कमाउन अफ्ट्यारो छैन।”

नेपालमा अधिकृतको तलब सुबिधाभन्दा आफूले बढी कमाउने गरेको उनी बताउँछन् । गरिखान नै सकस हुनेलाई १ लाखदेखि डेढलाखसम्मको लगानिमा जीविको धन्न सकिने उद्यमको रुपमा यो व्यवसायलाई लिन सकिने उनको बुझाई छ ।

२. ग्राहक तान्न सजिलो छ, पानी पुरी चटपटे बेच्नुहोस् !

सफा भाँडो, चिटिक्क पसल, अनि उद्यमीले आफ्नो हाइजिनमा ध्यान पुर्याउनुहोस् अनि मुखमै बस्ने स्वाद पानीपुरी चटपटे पसलमा ग्राहकको घुँइचो नै लाग्छ ।

कोटेश्वर सेतीओपी मार्गमा एउटा चोकको नाम नै छ ‘पानीपुरी चोक’ पानी पुरी चोकका श्रीराम शाहले यहाँ बिगत २० वर्षदेखि पानीपुरी बेच्दै छन् । चिटिक्क सर्ट पाइन्टमा मात्र बस्ने उनको हाइजिनिक पानीपुरी चटपटे खान साँझपख घुँइचो लाग्छ ।

श्रीराम शाहको पानीपुरी चटपटे पसल

पानीपुरी चटपटे बेच्न राखको सटरलाई नै मासिक ५० हजार भाडा उनले तिर्दै आएका छन् ।

लगानी पनि कम लाग्ने, ग्राहक पनि सहजै भेटिने अनि दिनहुँ व्यापार भइरहने यो काम लाज नमानी गर्नसक्नुभयो भने ५०-६० हजार पैसा बचाउन कुनै तनाब हुँदैन ।

 ३. खाली बोटल बन्न सक्छ गोजी भरिने आधार !

“खाली, सिसी, बोटल, कागज, टिना, फलाम”  विशेषगरि काठमाडौं उपत्यकामा कबाडी संकलन गर्ने र विक्री गर्ने करिब १३ हजारको रोजिरोटी यही पेशाले धानेको छ ।

साइकलमा बिहान बेलुकाको हिँडाइ र संकलन गरिएका कार्टुन, कागज फलामबाट उनीहरूले मासिक ४० हजार बढी आम्दानी गर्ने सुनाउँछन् ।

फोहोरलाई बनाउँ मोहोर: सन्देशमूलक जानकारीसँगै काठमाडौंमा कवाडी सङ्कलन गरिरहेका युवा, फोटो: जीविको

अझ उपत्यकमा त यसरी संकलन गरिएका सिसी, बोटलको रिसाइकल गर्ने र यस्ता व्यसायीलाई आम्दानी दिने उदेश्यले खाली सिसि नाम गरेर कम्पनी नै सुरुवात भएको छ ।

अझ रोचक कुरा त के छ भने यो कम्पनीले १ केजी पत्रिका लगेवापत् ३० रुपैयाँ त्यस्तै म्यागजिन लगेवापत १७ रुपैयाँ त्यस्तै क्रमशः किताब १ केजी बराबर १५ रुपैयाँ, कापी केजीको २५ रुपैयाँ, निमन्त्रणा पत्रको ५ रुपैयाँ र कार्टुन १ केजीको ८ रुपैयाँ भुक्तानी दिन्छ ।

यो पेशालाई समाजमा नराम्रो दृष्टिकोणले हेर्ने, अनादर गर्ने जस्ता काम गर्ने गर्छन् । यदी तपाईंले यी कुराहरूको वेवास्ता गरेर यो पेशा अपनाउनुभयो भने दिनको हजार, पन्ध्रसय कहीँ जाँदैन, गज्जबकै कमाइ हुन्छ।

४. डढेको मोबिलमा भेटिन्छ सेतो धन !

दिनभर मोबिल र ग्रिजमा खट्ने साथीहरूले सहज जीवन जिउने कमाइ नेपालमा नै गर्नुहुन्छ । काठमाडौं सिनामंगलमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्ने श्रीराम सेढाँईले सुनाए ।

केही थकाई, केही मेहनतले निस्कने पसिना अनि बाइकको इञ्जिनसँग मितेरी लाएर ग्यारेज चलाउन सक्नुहुन्छ भने आम्दानी गज्जब नै हुन्छ ।

हेर्नुहोस्: अटोमेकानिक शान्तिको भिडियो कथा जसले दश हजारको साइकल मर्मत केन्द्रलाई १० करोडमाथिको व्यवसाय बनाइन् ।

ग्यारेज चलाउन सुरुवातमा तालिम आवश्यक पर्छ । पछिल्ला दिनहरूमा त विभिन्न संघसंस्था अनि सरकारी निकायले तालिम पनि निःशुल्कै दिन्छन् ।

तालिम लिएर ठाउँ रोज्न जान्नुभयो भने तपाईंलाई मोटरसाइकल ग्यारेजले राम्रो मुनाफा दिन्छ । व्यवसाय सुरुवात गर्दा तपाईंले त्यसको भविष्य हेर्नुपर्छ । यो व्यसाय चाहिँ बढ्ने व्यवसायमा पर्छ । एक घर एक मोटरसाइकल रहने जमानामा यो व्यवसायको भविष्य पनि राम्रो छ । आफ्नो बजार बनाउनुभयो, ग्राहकलाई सन्तुष्टि दिनुभयो भने तपाईंकैमा फर्कन्छ त्यो ग्राहक ।

सीप हुने हो भने केही औजारहरू र केही साना संरचनामा यो व्यसाय सुरुवात गर्न सकिन्छ । ठाउँ र ग्राहकको चाप अनुरुप तपाईंको आम्दानी निर्धारण हुन्छ । दिनभर कालो मोबिलमा लतपतिएर मेहनत गर्दा साँझ तपाईंका हातमा मज्जाले गर्जो टार्ने आम्दानी हात पर्छ ।

५. मकै पोल्नुहोस् दाना दानाले दिन्छ आम्दानी
सडक पेटीमा मकै पोलेर आम्दानी गर्ने थुप्रै उद्यमीलाई हामीले देखेकै छौँ । औषतमा फुटपाथमा मकै बेच्नेले ८० देखि १०० घोगा मकै दैनिक बेच्नुहुन्छ । ३ हजार रूपैयाँको मकै दिनमा बेच्न सके खर्च कटाएर १५ सय देखि १८ सय कहिँ जाँदैन । 

यो व्यवासयलाई अलि आकर्षक तरिकाबाट गर्न सकियो भने त झन् दीघो र राम्रो आम्दानीको स्रोत बनाउन सकिन्छ । कुनै संरचना भाडामा नै लिएर मकै, भटमास बनाउन सकेर घरको खाजा खुवाउन सके आम्दानी मनग्यै हुन्छ ।

६. दुनोट पसलले दिन्छ गरिखान सक्ने आम्दानी

बिहान सबेरै उठेर मस्त खट्न सक्नुहुन्छ भने यो व्यवसायले तपाईंलाई गज्जबको आम्दानी दिन्छ । काठमाडौं कोटेश्वरका रामप्रसाद आचार्यले महादेवस्थान छेऊमा  दुनोट पसल खोलेका छन् । उनी बिहान ४ बजे उठ्छन् र मैदा मुस्न थाल्छन् । दिउसोको २/३ बजेसम्म दुनोट बनाउने काम चलिरहन्छ । दिनमा ३ सय देखि ४ सयवटा दुनोट बेच्ने गरेको उनी सुनाउँछन् ।

कोटेश्वर महादेवस्थानमा रहेको रामप्रसाद आचार्यको दुनोट पसल

उनी भन्छन्, “एउटा दुनोटमा खर्च कटाएर ५ रूपैयाँ बच्छ दिनको २ हजार त कहिँ जाँदैन । ”

दुनोटसँगै उनी चिया अनि अरु साधारण खाजा पनि बनाउँछन् । परिवार पालेर पनि दैनिक १ हजार रूपैयाँ बचत गर्ने गरेको उनी सुनाउँछन् । 

मैदामा रुमलिएर खट्न सके मस्तै कमाइ हुने रामप्रसाद सुनाउँछन् । दिनको १२ घण्टा खट्न सक्नुहुन्छ भने तपाईंलाई दुनोट व्यवसायले गरिखान दिनसक्छ ।

७.जुत्ता सिलाउनुहोस् मालामाल हुनुहोस् !

धरहराको पेटीमा बसेर ३२ वर्ष अगाडिबाट जुत्ता सिलाउँदै आएका रामकुमार राम अहिले दैनिक १५ सय देखि २ हजार रुपैयाँ कमाउँछन् । जुत्ता सिलाएरै उनले सप्तरीमा घर जग्गा जोडेका छन्, छोरा छोरी पढाएका छन् अनि परिवार मज्जासँग धानेका छन् । 

३ दशक अगाडि काठमाडौं टेक्दा के गरि खाने ? कहाँ बस्ने ? कहाँ जाने ? अत्तोपत्तो नभएका रामलाई अहिलेको दिन सम्झँदा धन्न जुत्ता सिलाउन थालेछु भनेझैँ लाग्छ । 

पढ्नुहोस्:

जसले धरहराको पेटीमा बसेर जुत्ता मात्र सिलाएनन्, परिवारका दुःख पनि सिलाए …

“पढाई नभएसी विदेश गएको भए सामान्य लेभरको काम गर्नुपर्थ्यो दुःख गरेपनि महिनाको त्यहि ३०-४० हजार कमिन्थ्यो सायद अहिले धरहराको छाहरीमै बसेर ६० हजार कमाउँछु । म त खुब खुसी लाग्छ,” राम सुनाउँछन् ।

समाजले जुत्ता सिलाउने पेशालाई तल्लो स्तरको काम भनेर ट्याग दिएपनि यो पेशाको आम्दानी चाहिँ माथिल्लो श्रेणीका कर्मचारीको भन्दा ज्यादा छ ।

थोरै मेहनत गरेर जुत्ता सिलाउन सिक्नुहोस् । समाजले के भन्ला भन्ने सोचाइ हटाइदिनुहोस् । बाटोमा गर्न नसक्ने भए सटरमै पसल थाप्नुहोस् तपाईंको घर मज्जासँग धानिन्छ । 

८.परौठा तरकारी, पर्दैन जागिर सरकारी

परौठा तरकारी चलनचल्तीकै खाजामा पर्छ । रोटी, परौठा अनि तरकारी मात्रै बेचेर ललितपुर पाटन ढोकाका रिकी खानले मासिक डेढ लाख पैसा कमाउँछन् । १५-२० फिट लामो सानो सटरले नै उनलाई एक लाख कमाएर दिन्छ । 

“युरोपको कमाइ त यहि सानै पसलले दिइरहेको छ । खान बस्न पुगेर पनि झण्डै १ लाख त पैसा बाँच्छ,” रिक्कीले जीविकोलाई सुनाए । 

पढ्नुहोस्:

रोटी, पराठा बेचेर मासिक लाख आम्दानी

परौठा बनाउने सीप छ, रोटी बेल्न मात्र जान्नुहुन्छ भने तपाईंका लागि बनेको व्यवसाय हो परौठा तरकारीको व्यवसाय । 

पछिल्ला दिनहरूमा हाइजेनिक खाना खाने चलन बढेका बेला धेरैले आफ्नो पुरानो खाजा फेरेर परौठा तरकारी अनि सुक्का रोटी बनाउन थालेका छन् ।

क्याम्पसको छेऊ, सरकारी कार्यालयको आसपास तपाईंले यो व्यवसाय सुरुवात गर्नुभयो भने सोच्नुहोस् तपाईंलाई गरिखुवाउने व्यवसाय बन्न सक्छ परौठा व्यसाय । सानो लगानी राम्रो आम्दानी भेटिने यो पेशा अगाल्नेले सरकारी कर्मचारीको कमाइभन्दा राम्रो आम्दानी दिएर जान्छ । 

९.कपाल काटेको आम्दानीले नै ‍ कटाउन सकिन्छ जीवन ।

पहिला त कपाल काट्ने पेशालाई कथित दोस्रो दर्जाको काम भनेर उपनाम दिएको छ । प्राय तराईका सीमित व्यक्तिहरूले मात्र अंगालेका छन् शैलुन व्यवसाय । 

सामाजले दोस्रो श्रेणीको व्यवसाय भनेर यो व्यवसायलाई देखेपनि यसको आम्दानी चाहिँ पहिलो श्रेणीको हुन्छ । हतपत जो कोहीले गर्न नहुने भनेर छाप लगाइदिएको यो काम अझ महिलाले गरेको त हामी खासै देख्दैनौँ । 

पुरुषको कपाल काट्ने पुनम भन्छिन्- “पेशालाई पुरुष र महिलाले गर्ने भनेर छुट्याउँनु गलत छ”! (भिडियो)

नवलपुर बर्दघाटमा रहेको समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीमा विशेषगरी पुरुषका दारी कपाल काट्ने काम गर्छिन् विशेषगरी पुरुषको दारी कपाल काट्ने पुनमलाई यो पेशा अपनाएकोमा गर्भ छ । 

पुनम यही पेशा अपनाएर परिवार धान्ने आम्दानी गर्छिन् । दारी कपाल काटेर नै उनको परिवार चल्छ उनले दारी कपाल काट्न थालेपछि श्रीमानले कमाएको पैसा सबै बचत हुने गरेको उनी सुनाउँछिन् । 

नेपालमा नै मनग्य जीविको धान्ने पेशा खोज्दै हुनुहुन्छ भने राम्रो आम्दानी दिने पेशा बन्न सक्छ शैलुन व्यवसाय । 

१०.घरको किचनलाई बनाउनुहोस् रेष्टुरेन्ट 

काठमाडौं भिमसेनगोला बस्ने बबी थापाले घरलाई नै सानो तिनो रेष्टुरेन्ट बनाएकी छिन् । उनको रेष्टुरेन्ट अरू रेष्टुरेन्ट भन्दा चाहिँ फरक किसिमको छ । यो रेष्टुरेन्टमा बसेर खाना पाइँदैन अर्डर गर्न चाहिँ पाइन्छ । 

जागिर छोडेर आफ्नै भान्साबाट व्यवसाय चलाइरहेकी होम सेफ बबीको कथा

यसको मतलब उनी होम सेफ हुन् र घरमा बनाएको खाना डेलिभर गरेर अफिसमा काम गर्ने कर्मचारी अनि ग्राहकसम्म पुर्याउँछिन् । होम सेफ बबी घरमा खाना बनाएरै मासिक लाख बढी कमाउँछिन् । 

उनले पकाएको खाना फुड डेलिभरी गर्ने संस्थाहरूले पनि झिकाउँछन् । र उनीहरूका ग्राहकहरुसम्म पुर्याउँछन् । 

यदी तपाईंसँग हातमा पकाउने सीप र छ र तपाईंलाई कुकिङमा सोख छ भने सम्झनुहोस् तपाईंले राम्रो आम्दानी गर्नुहुन्छ । २-४ वटा अफिससँग सहकार्य गर्ने हो भने तपाईंको खानाको मार्केटिङ त्यहीँबाट हुन्छ । घरको किचनलाई नै तपाईंले आम्दानीको स्रोत बनाउन सक्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *