रोटी, पराठा बेचेर मासिक लाख आम्दानी

जीविको २०७८ असोज २५ गते ८:४६

हरेक बिहान सात बजे एक हातमा १० किलो जति आँटाको झोला र अर्को हातमा २ धार्नी जति आलु बोकेर काठमाडौं भैंसीपाटी मगरगाउँदेखी पाटन ढोका पुग्छन् २५ वर्षीय रिक्कि खान । उनी बेलुकि ७ बजेसम्म पराठा बनाउछन् र हिडेरै घर फर्कन्छन् । बिगत १५ बर्सदेखि उनको यहि दिनचर्या बनेको छ ।

“म १० वर्षको थिएं, मेरा साथीहरू फुटबल, भलिबल, लगायतका खेलौनासँग खेल्न जान्थ्ये, मलाई भने पिठोको डल्लासँग खेल्नमा सारै आनन्द आउथ्यो,” रिक्कि सम्झन्छन् ।
सानैदेखी बाबुले कसरी रोटी, पराठा बनाउँछन्, कसरी पिठो मुस्छन, पराठामा आलु कसरी मिलाउँछन्, भन्ने सबै कुरा नियाली रहेका रिक्किले बिस्तारै आँफैले सिक्दै गए । बाबुलाई काममा सघाउदै जाँदा पराठा बनाउन सिकेका रिक्कि बिगत १० बर्षदेखि आँफै पसल चलाउछन् ।

“अब मैले पनि रोटी, पराठा बनाउन सक्छु भन्ने लागेदेखी पसलको सबै जिम्मेवारी लिए,” रिक्कि बाताउछन् ।पाटन ढाेकामा रहेको करिव ३ दशक पुरानो खान रोटी पसल रिक्किका बुबा ईर्शाद मिया (४८) ले खोलेका थिए । उनले बुबालाई सघाउँदै सिक्दै गए । “१५ वर्ष पुग्दा काम मात्र होइन, पसल पुरै सम्हाल्न सक्छु जस्तो महसुस भयो र आफैले चलाउन थाले” उनि थप्छन् ।

औपचारिक शैक्षिक योग्यता नभए पनि अभ्यास र अनुभबबाट सिकाई गरेका रिक्किको पाककला भने उत्कृष्ट रहेको प्रमाण पसलमा आउने ग्राहकको सख्याले दिन्छ । चिया मात्र खानेहरु गणना नगर्ने हो भने हरेक दिन पराठा खाने मात्रै ६० बढि ग्राहक आउने गर्छन । रिक्किले रोटी पराठा बिक्रि गरेरै मासिक औसत रु १ लाख मुनाफा आउने बताउछन् ।

तस्विर: प्रथम बिष्ट/जीविको

पसल खोल्ने बित्तिकै चिया खाने ग्राहक आईहाल्छन् । त्योसँगै रोटी, पराठा, तरकारी र अचारको तयारी नगरे त समयमा नास्ता, खाना पुर्याउन नै नसकिने रिक्कि बताउँछन । दिउसो २ -३ बजे खाजा खाने समयमा त झन सास फेर्ने फुर्सद पनि हुँदैन, उनी थप्छन् । बिहान ७ बजेदेखी बेलुकी ७ बजेसम्मको समय पसलमा यसरी नै बित्ने गर्छ रिक्किको ।
यसरी दिनमा दैनिक १० घण्टा बढि उभिएर पकाउन गाह्रो हुँदैन ? रिक्की भन्छन् “काम त सजिलो कुन हुन्छ र ? यो काम पनि गाह्रो छ । हातको नसा भाचुन्जेल पिठो मुस्नु पर्छ, पसिना चुहाउँदै आगोको रापमा तातिनु पर्दछ । तै पनि ग्राहकले मीठो मानेर खाँदा सबै दु:ख बिर्सन्छु र हौसला मिल्छ”।

पसल हेर्दा धेरै ठूलो पनि देखिदैन, सानो दराज, फ्रिज, एउटा सामान्य ग्यास चुलो, भाडा माझ्ने बाल्टिन लगायतका सामान छन । राम्ररी ६ जना पनि बस्न अप्ठेरै हुने खालको ठाउँ छ । तर पनि यहाँ पाइने तात्तातो रोटी, आलु पराठा र पिरो चट्ट परेको अचारले गर्दा ग्राहकहरू तानिएका छन ।

पसलमा आउने हरेक ग्राहकलाई रिक्की कहिले अनादर गर्दैनन् । सबैलाई समान व्यवहार गर्ने उनी रोटी भुक्क फुलाएर पकाए पनि आफ्नो अनुहार ग्राहक सामु कहिले फुलाउँदैनन् । “ग्राहकको सेवा गर्न भनेर म यो पेशामा लागेको हुँ । जसरी हुन्छ यहाँ आउने सबैलाई खुशी बनाउनु नै मेरो कर्तव्य हो,” उनी भन्छन् ।

विगत १३ वर्षदेखी खान रोटी पसलको रोटी खाने नियमित ग्राहक सिन्धुपाल्चोक ठकर्पा -३ कि सविना अधिकारी भन्छिन् “यहाँ रोटी पराठा पाउने अरु पनि धेरै पसल छन्, तर रिक्किले बनाउनेजस्तो स्वाद कसैकोमा पनि पाइदैन । उ हामीसँग झर्कीफर्की पनि कहिले गर्दैन । सधैँ हसिलो अनुहार लगाएर व्यवहार गर्ने भएकोले पनि जहिले मलाई यही आउन मन लाग्छ” ।

तस्विर: प्रथम बिष्ट/जीविको

खाना बनाएर अरुलाई दिदा आनन्द मान्ने रिक्किले आफ्नो पढाईलाई भने कक्षा ८ बाट नै टुंग्याएका थिए । घरको जेठो छोरो हुनाले सबै जिम्मेवारी आफ्नो काधँमा परेको कारण पढाई अघि बढाउन सकिन भन्छन् रिक्कि । “घर व्यवहार सबै मिलाउनु पर्ने हुँदा बरु बाबुको यो पसललाई नै व्यवसाय बनाएर अगाडि बढाउँछु भन्ने सोचले पढाई छाडे ।” उनी भन्छन, अहिले पसलकै कमाइले भाइ बहिनी पढाउन र घर व्यवहार चलाउन राम्ररी पुगेको छ ।

हुन त रिक्किका धेरै साथीहरू कामको सिलसिलामा विदेशिएका छन । वैदेशिक रोजगारीको लागि यस्तो अफर आएको छ, यति तलब छ, कस्तो सेवा सुविधा छन भन्ने जस्ता बिषयको छलफल त उनकै पसलमा बेला बेलामा चर्किने गर्दछ । रिक्किलाई पनि विदेश पठाईदिन्छु, राम्रो कमाइ हुन्छ भन्ने प्रस्ताव नआएको कहाँ हो र ?
उनी भन्छन् “पैसा नै कमाउनको लागि मलाई विदेश जानु पर्दैन । सकेसम्म म जाने पनि छैन । जहाँ गए पनि काम गर्नु नै हो । म यही काम गर्छु” ।

अब त रिक्किले खान रोटी पसललाई ठुलो र व्यवस्थित बनाउने योजना बनाएका छन । उनी भन्छन्, “१० वर्षदेखी मैले रोटी पराठा बनाउने काम गर्दै आएको छु, मलाई यसै काममा मज्जा लाग्छ । खाना बनाएर भोकाएकाहरूको भोक मेटी सेवा गर्ने अवसर जुटेको छ । सकेसम्म यसको अन्य ठाउँमा शाखा खोल्ने प्रयास गर्नेछु । यो कामबाट म खुशी छु र मेरो परिवार पनि यसमा खुशी छ ।

रोटी हामी सबैको भान्सामा पाक्ने एउटा सामान्य परिकार हो । कोहीले खानाको रुपमा खान्छन् भने कतिले खाजा नास्ताको रुपमा खाने गर्दछन् रोटी । तर यही रोटीलाई व्यवसाय बनाएर आफ्नो जीविका चलाई रहेका रिक्कि खानको कथा तपाईंलाई कस्तो लाग्यो ? रिक्किजस्ता कर्मशीललाई प्रोत्साहन गर्न उनको कथा सेयर गर्नुहोस् । रिक्किको लागि केही सन्देश छ भने कमेन्टमा लेख्नुहोस् । रिक्किजस्तै अन्य कर्मशीलको कथा पढ्न जीविको डटकम हेर्दै गर्नुहोला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *