पुरुषको कपाल काट्ने पुनम भन्छिन्- “पेशालाई पुरुष र महिलाले गर्ने भनेर छुट्याउँनु गलत छ”! (भिडियो)

धर्मराज रिमाल २०७९ चैत ९ गते १६:२९

“यसपछि मेरो पालो है, पुनम बहिनी” भन्दै एक युवा पालो पर्खेर मेचमा बसे । 

अर्का एकजना युवा उमेरकै ग्राहक भने भर्खरै पुनमसँग कपाल कटाएर दारी सेभिङ गराउँदै थिए ।

पश्चिम नवलपराशी, बर्दघाटमा रहेको समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीमा विशेषगरी पुरुषका दारी कपाल काट्ने काम गर्छिन्, पुनम पौडेल । उनी यहाँकै स्थानीय हुन् ।

हेर्नुहोस्, पुरुषको दारी कपाल काट्ने पुनमको छोटो भिडियो कथा

विवाहपश्चात् पुनमका श्रीमान कमाउनका लागि विदेश उडे । श्रीमानलाई मात्र आर्थिक भारमा पार्न पुनमको मनले दिएन । उनलाई कपाल काट्ने सीप सिक्न मन लागेको कुरा श्रीमान र सासूआमालाई सुनाइन् । सीप सिकेर आयआर्जन गर्ने पुनमको योजनामा श्रीमान र सासु दुबैले समहति जनाए ।

कपाल काट्दै गरेकी पुनम पौडेल, फोटो: जीविको डटकम

“श्रीमान र सासूआमाको हौसलाले गर्दा मैले पुरुषको दारी कपाल काट्ने सीप सिकेँ” सुरुवाती दिन सम्झिँदै पुनम भन्छिन्, “मैले यो सीप सिक्छु भन्ने आँट त थियो तर घर परिवारको सहयोग नभएको भए यो पेशामा आउन महिलालाई कहाँ सजिलो छ र ?”

भर्खरै एक वर्ष हुँदैछ, पुनमले बार्बर सम्बन्धी सीप सिकेर काम गर्न सुरु गरेको तर यो एक वर्षमा उनको सीपले यहाँ राम्रै प्रशंसा बटुलिरहेको छ ।

विगतका दिन सम्झँदै पुनम भन्छिन्, “पहिलेपहिले त कसैले पनि मसँग कपाल कटाउन मान्नुभएन । युवाहरूले दारी कपाललाई ठूलो महत्व दिएका हुन्छन् त्यसैले बिगारिदिने पो हो कि भन्ने डरले मसँग कटाउन सहज महसुस गर्नुभएन”

तर यो अवस्था धेरै समय रहन सकेन । सुरुका दिनमा दिनभरीमा एक दुई जनाको मात्र कपाल काट्ने पुनमको सीप देखेर बिस्तारै युवा ग्राहकहरू आकर्षित हुन थाले । एक वर्ष पहिले र अहिलेको अवस्था फेरिएको छ, पुनमसँग दारी कपाल काट्न संकोच मान्नेहरू अहिले उनलाई नै खोज्दै आउँछन् अनि टिप्स पनि दिएर जान्छन् । समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीकी सञ्चालक गंगा थापा पनि पुनमको काम प्रतिको लगाव देखेर खुशी व्यक्त गर्छिन् ।

पुनमलाई आफ्नो काममा अझ धेरै प्रगति गर्नुछ । जबदेखि उनले पुरुषको दारी कपाल काट्न सुरु गरिन् त्यसबेलादेखि पुनमलाई ‘महिला भएर पनि यस्तो काम गर्छन्?’ भन्नेहरू प्रशस्तै थिए । यस्ता कुरा गर्नेका अगाडि उनी फिस्स हाँस्ने मात्र गर्छिन् तर कुनै एकदिन पनि उनलाई यस्ता कुराले कैँची र रेजर चलाउन भने रोक्न सकेन । 

उनी भन्छिन्, “सीप सिक्नु त पर्छ नै तर त्योसँगै हाम्रो सोचाइ पनि परिवर्तन हुनु आवश्यक छ । हामी यहाँ पेशालाई पुरुष र महिलाले गर्ने भनेर छुट्याउँछौ जुन बिल्कुल गलत छ । यो हाम्रो नकरात्मक सोंचको उपज हो । वास्तविकता त के हो भने सीप सिक्न लाज होइन आँट गर्नुपर्छ । हातमा सीप हुनुपर्छ अनि आयआर्जनको बाटो त पक्कै भेटाइन्छ”

पुनमले गरेको काम देखेर नकरात्मक टिकाटिप्पणी गर्नेहरूका मुख अहिले बन्द भएका छन् । उनले गरेको काम देखेर ‘कसरी सिक्ने यो सीप’ भन्दै बुझ्न आउने धेरै छन् । यो एक वर्षमा पुनमले कमाइसँगै दोब्बर आत्मविश्वास कमाएकी छन् ।

हेयर ड्रेसर पुनम पौडेल, फोटो: जीविको डटकम

दृढ हुँदै पुनम भन्छिन्, “चाँडै नै यो ठाउँको म नम्बर वान हेयर ड्रेसर बन्छु नै, नेपालको पनि उत्कृष्ट बन्ने लक्ष्य लियर काम गर्नेछु”

आफ्नो पेशामा ‘नम्बर वान’ बन्ने लक्ष्यका साथ पुरुषको दारी कपाल काट्ने काम गरिरहेकी पुनम पौडेलको छोटो भिडियो कथा:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *