जागिर छोडेर आफ्नै भान्साबाट व्यवसाय चलाइरहेकी होम सेफ बबीको कथा आफूले बनाएको परिकारका साथमा होम सेफ बबी थापा, फोटो: पुष्कल श्रेष्ठ, जीविको

बिना सुनार २०७९ वैशाख २३ गते १३:५७

“ दिदी मलाई त तपाईंले नै बनाएको खाना चाहिन्छ, जसरी भएपनि बनाइदिनुस् है,” बबी थापालाई यस्ता आग्रह नियमित आइरहन्छ । केहीले फोन गरेरै भन्छन् त केही घरसम्मै आइपुग्छन् । उनीहरूका आग्रह सहर्ष स्वीकार गर्दै उनी सर-समान किन्न पसल तिर लाग्छिन् । ‘बबी दिदी’ ले बनाएको खानेकुरा खाने हो भने एउटा नियम छ, तपाईंले खानाको अर्डर २ दिन अगाडि नै दिनु पर्छ ।

कहिलेकाहीँ त विवाहका लागि भनेर खाना अर्डर गर्न बेहुला बेहुली आफैँ पनि बबीको घरमा आइपुग्छन् । काठमाडौंको पुरानोबानेश्वर- भिमसेनगोलामा बस्ने बबी थापाको दैनिकी ग्राहकको आग्रहअनुसारको खाना बनाएर बित्ने गर्दछ । पुलाउ, मासु, अचार, गेडागुडी, पनिर लगायतका विभिन्न खानेकुरा बनाउन सिपालु छिन् बबी । त्यसैले त २ वर्षदेखि आफ्नै भान्सालाई कार्यकक्ष बनाएर सेवाग्राहीलाई स्वादिष्ट भोजनको सन्तुष्टि दिइरहेकी छिन् ।

दिनभरी बाहिरको काम गरेर फर्किएपछि अधिकांश महिलाहरूले घरका काम पनि गर्नुपर्ने अवस्थाका बारेमा त हामी पनि जानकार नै छौं । तर कहिलेकाँही बाहिरको काम र भान्साको कामका लागि समय छुट्ट्याउनु सम्भव हुँदैन । पारिवारिक जमघट, पूजाआजा अनि उत्सवमा खाना बनाउन नभ्याउने अवस्थामा बबीले माग अनुसारको खाना तयार गरिदिन्छिन् र खाना लिन आउन सेवाग्राहीलाई फोन गर्छिन् । बबी आफ्नो कामलाई ‘सहयोगी व्यवसाय’ भन्न रुचाउँछिन् । कार्य व्यस्तताको कारण घरमा थरिथरिका खाना पकाउन नभ्याउने महिलाहरूलाई सहयोग गरेको कारण बबी ति महिलाहरूको प्रिय छिन् । उनलाई सबैले ‘बबी दिदी’ भनेर आदर गर्छन् ।

बबी पनि पहिले दिनभर अफिसमा व्यस्त हुन्थिन् । करिव २४ वर्ष लामो समय जागिर गरेकी उनलाई कोरोना महामारीको समयपछि काम गर्न मन लागेन । सँधै काममा व्यस्त रहने बबीलाई जागिर छोडेपछि घरमा बसिरहन गाह्रो हुन थाल्यो । एकदिन उनले इन्टरनेटमा होम सेफका लागि रोजगारीको अवसर देखिन् । फुड मारियो भन्ने कम्पनीले गृहिणीहरूले बनाएको खाना डेलिभरी गर्ने गर्थ्यो । उनले पनि तत्कालै आफूले बनाएको खानाको स्याम्पल फुड मारियोलाई पठाइन् । उनले बनाएको खाना फुड मारियोलाई पनि असाध्यै मन पर्‍यो र खाना बनाउन अर्डर दियो । त्यसपछि बबी बनिन् ‘होम सेफ’ । 

बबीले बनाएका खाना फुड मारियो मार्फत काठमाडौंको विभिन्न ठाउँमा पुग्यो । उनले बनाएको खाना धेरैले रुचाए पनि । विश्वभर बढेको कोरोना महामारीले नेपालमा पनि उग्र रूप लियो । नेपाल सरकारले कोरोना रोकथामको लागि देशभर लकडाउन नै गर्‍यो । मानिसहरू घरबाट बाहिर निस्कनै नमिल्ने भयो । फुड मारियो पनि कोभिड महामारीको बीचमा त्यत्ति राम्ररी चल्न सकेन । त्यसपछि उनले फुड मारियो छाडिन् । फुड मारियो छाडेपछि बबी केही समय घरमा त्यसै बसिन्। यसपटक भने बबीले आफैले नै व्यवसाय गरेर काम अगाडि बढाउने बिचार गरिन् । त्यसपछि सुरुवात भयो ‘मालाज् किचेन’ ।

होटल रेष्टुरेन्टमा पाइने म:म, चाउमिन, बर्गर, पिज्जा, लागायतका परिकारहरू मालाज् किचेनले बनाउँदैन । नेपालीहरूको भान्सामा उत्सवका समयमा पाक्ने मासु, पुलाउ, पनिर, अचारजस्ता खानेकुराहरू बबीले बनाउँछिन् । नेपालीहरूको मौलिक परिकार सेलरोटी मालाज् किचेनको विशेषता हो । सेवाग्राहीले पनि यसलाई खुबै रुचाएका छन् ।

बबीले तयार गरेका परिकारहरू, फोटो: पुष्कल श्रेष्ठ, जीविको

मालाज् किचेनको मेन्युमा ६ किसिमका परिकारहरू राखिएको छ । त्यहाँ बनेका खाना प्लेटमा होइन किलोमा बिक्री हुने गर्दछ । खानाहरू प्याकेजको रुपमा अर्डर गर्ने व्यवस्था रहेको बबी बताउँछिन् । उनी भन्छिन्, “रेष्टुरेन्टमा खाना किन्दा प्लेटमा किन्नुपर्छ । खाना पनि थोरै हुन्छ, जसले गर्दा परिवार सबैले बाहिर गएर खाना खाँदा महँगो पर्छ । तर मैले भने सबैलाई पुग्नेगरि सस्तो मूल्यमा स्वादिष्ट खाना दिन्छु । सबैलाई खाना पनि पुग्छ अनि महँगो पनि पर्दैन ।”

मालाज् किचेनमा बबीलाई सहयोग गर्ने सहयोगी भने कोही छैनन् । उनी आफैले सबै काम एक्लै गर्ने गर्दछिन् । खानाको अर्डर आएपछि बजार गएर सामान किनमेल गरेर खाना बनाउन थाल्छिन् । बबीले खाना बनाउँदा बच्चादेखि वृद्धसम्मको स्वास्थ्यलाई ख्याल गरेर बनाइने बताउँछिन् । खानामा चिल्लोपिरो कम हुनुका साथै घरमै तयार गरिएको मसलाहरूको प्रयोग गर्छिन् बबी । 

“मैले व्यवसायका लागि भनेर छुट्टै ठाउँ बनाएको छैन । ग्राहकको लागि र आफ्नो लागि म एउटै तरिकाले खाना बनाउने गर्छु जुन मेरो घरकै भान्सामा पाक्ने गर्दछ । मलाई राम्रो खाना चाहिन्छ भने अरुलाई पनि राम्रै दिनुपर्छ भन्ने मेरो धारणा हो । पैसाको लागि मैले अरुको स्वास्थ्यसँग खेलबाड गर्नु राम्रो होइन ।” बबी भन्छिन् ।

यी सबै प्रकृया पुर्‍याएर खाना बनाउँदा समय लाग्ने भएकाले २ दिन अगाडिनै खाना अर्डर गर्नुपर्ने नियम बनाएकी छन् उनले । बबी एक्लैले सबै काम गर्नुपर्ने भएका कारण मलाज् किचनले खाना डेलिभरि गर्दैन । त्यसैले अर्डर गर्ने व्यक्ति नै खाना लिन आउनु पर्ने बबी बताउँछिन् ।

घरमा पकाउने खाने कुरालाई व्यवसायको रुपमा अघि बढाउदा राम्ररी चल्ने हो की होइन भनेर बबीलाई सुरुका दिनमा चिन्ता लागेको थियो । तर आफूले पकाएको परिकार बजारमा पुग्न थालेपछि अर्डर आउने क्रम बढ्न थाल्यो । यसले उनलाई हौसला मिल्यो । “गरेपछि जे पनि हुने रहेछ । आँट गरेर अगाडि बढ्यो भने अवश्य सफल हुने रहेछ भन्ने मलाई अनुभुति भयो ।” बबी खुशी हुँदै सुनाउँछिन् ।

बबीको व्यवसाय देखेर उनका इष्टमित्र, साथीभाइ र परिवारका सबैजना दंग छन् । अर्डर धेरै भएको बेला उनीहरूले पनि बबीलाई सघाउने गर्दछन् । उनका कान्छा छोराले सामाजिक सञ्जालमा खानेकुराको फोटो, भिडियो अपलोड गर्न र यसबाट नै व्यवसायको प्रचार प्रसार गर्न मद्दत गरेका छन् । 

अरु बेलाभन्दा चाडबाडको समयमा बबीलाई भ्याइ नभ्याइ हुने गर्दछ । दशैँतिहारको समयमा त झन् खानासँगै सेलरोटीको पनि बढी अर्डर आउने हुँदा उनलाई खाने फुर्सद पनि हुँदैन ।

बबीले तयार गरेका सेलरोटी, पुलाउ, मासु लगायतका परिकारहरू, फोटो: पुष्कल श्रेष्ठ, जीविको

व्यवसाय गरेको २ वर्षमा उनले धेरै प्रदर्शनीहरूमा पनि आफूले पकाएका खानेकुराहरू लगेर बेचिन् । तर त्यो बजारहरू लामो समयको लागि नहुने हुँदा आफ्नो उत्पादनको बजारिकरण गर्न अलि कठिनाइ भएको बबी बताउँछिन् । उनी भन्छिन्, ” म जस्तो घरमै व्यवसाय सुरु गर्नेहरूका लागि आफ्नो उत्पादनको बजारिकरण कसरी गर्ने जस्ता तालिमहरू पाउन पाए अझ राम्रो र व्यवस्थित तरिकाले काम गर्न सकिन्थ्यो ।”

बबीको लक्षित ग्राहक भनेको रोजगारीको क्रममा व्यस्त रहने महिलाहरू नै हुन् । हाम्रो समाजमा महिलाहरू घर बाहिर जस्तो सुकै पदमा रहेर काम गरे पनि घरभित्र पसेपछि परिवार र बालबच्चाका लागि पनि जिम्मेवारी उठाउनु पर्ने दायित्व उनीहरूको काँधमा थुपारिएको हुन्छ । यी महिलाहरूको सहारा बबी हुन् ।

यसरी महिलाहरूलाई सहयोग गर्न पाउँदा बबीलाई कमाइसँगै सन्तुष्टि पनि मिलिरहेको छ । उनी भन्छिन्, “व्यवसायसँगै मैले घरमा बसेर काममा व्यस्त रहने महिला दिदी बहिनीहरूलाई सहयोग पनि गर्न पाएको छु । यो कामबाट मलाई छुट्टै आनन्द मिल्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *