‘डिग्रीले मात्र अवसर पाइँदैन, यसरी गरौँ पढाईसँगै सीप विकास’

जीविको २०८० वैशाख २० गते २१:१७

विगत ८ वर्षदेखि विकासको क्षेत्रमा निरन्तर क्रियाशील भएर विभिन्न संघ-संस्था, युवा सञ्जालसँग जोडिदै अहिले यूएनडीपी नेपालमा युवा कार्यक्रम अधिकृतको रुपमा कार्यरत बिनिता कार्कीसँग जीविको मिडियाले ‘पढाईसँगै सीप विकास कसरी गर्ने ?’ भनेर छोटो संवाद गरेको छ । बिनिताले आफ्नो अनुभव साट्दै डिग्री र पढाईका सर्टिफिकेटले मात्र अवसर पाउन कठिनाइ हुने भएकाले समयअनुसार आफूलाई सीपयुक्त र प्रतिस्पर्धी बनाउन युवाहरूलाई सुझाएकी छन् । पढ्नुहोस् बिनिताको अनुभव र सुझावहरू उनकै शब्दमा:

भिडियो: पढाईसँगै सीप विकास कसरी गर्ने ?

…….

करिअर बनाउने सिलसिलामा मैले +२ पढ्दादेखि नै काम गर्न थाले । त्यति बेला हेटौडामा प्रकाशित हुने एउटा समाचारपत्रमा म बजार प्रतिनिधि भएर काम सुरु गरे । २ वर्ष त्यहाँ काम गरिसके पछि त्यही दौरान मैले निजी विद्यालयमा पनि शिक्षकको रुपमा काम गरे । त्यस पछि म मास्टर गर्न काठमाडौं आए । त्यत्ति बेला पढाइसँगै काठमाडौंको एउटा मिडिया हाउसमा कार्यक्रम प्रस्तोता भएर २ वर्ष काम गर्ने अवसर मिल्यो । त्यो सँगसँगै मलाई अन्तर्राष्ट्रिय अवसरहरुसँग साक्षात्कार गर्ने मैका पाउँदै गए । त्यही क्रममा नेपाल युवा संस्था सञ्जाल (आयोन) सँगजोडिएर अहिले युएनडिपी जस्तो प्रतिष्ठित संस्थामा काम गर्ने अवसर पाएको छु ।

बिनिता कार्की

मलाई कसैले तपाईं यो स्थानसम्म कसरी आइपुग्नु भयो भनेर सोध्नुभयो भने मैले दिने एउटै जवाफ के हुन्छ भने, आफ्नो अध्ययनको सुरुवाती दिनदेखि नै हामीले साइड जब गर्दै आउनुपर्छ भन्ने सुझाव म सबै युवाहरूलाई दिन चाहन्छु । साथसाथै हामीले आफूमा सीपको पनि विकास गर्दै जानुपर्छ । अहिले धेरैजसो परिवारमा कस्तो चलन छ भने आफ्नो छोराछोरीलाई पढाईमा राम्रो नम्बर आउँदैन भनेर अध्ययनमा मात्र ध्यान दिन लगाइन्छ । पढाईमा मात्र फोकस गर काम गर्नुपर्दैन भन्ने कुरा परिवारबाट नै आउने गरेको छ । त्यसो गर्दा के हुन्छ भने, स्नातक सकिएपछि तपाईंसँग डिग्री त हुन्छ तर अनुभव हुँदैन । पढाईको सर्टिफिकेट भएपनि कुनै अनुभव नहुँदा यसले तपाईंलाई धेरै अवसरका ढोकाहरू बन्द गरिदिन्छ । किनभने धेरै जसो कामको अवसरहरूमा पढाईको डिग्रीसँगै अनुभवहरू पनि मागेको हुन्छ ।

पढाईसँगै सीप विकास गर्नका लागि र आफूलाई समयअनुसार प्रतिस्पर्धी बनाउँदै अवसर खोज्न युवा साथीहरूलाई जीविको मिडियामार्फत यस प्रकारका सुझाव दिन चाहन्छु:

पहिलो कुरा, तपाईंले पढाईसँगै सीपको पनि विकास गर्दै जानुपर्‍यो । जस्तै कम्प्युटर स्किल यसमा पनि तपाईंले बेसिकसँगै वर्ड, एक्सल, सामान्य डिजाइन, भिडियो एडिटीङ्गलाई पनि सँगसँगै लग्नुभयो भने पछि तपाईंलाई जुनसुकै क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सहज हुन्छ ।

दोस्रो कुरा, प्लस टु (१२) पढ्दापढ्दै इन्टर्नसिप, ट्रेनिसिप अनि बिभिन्न सामाजिक कृयाकलापहरूमा, संघ-संस्थाहरुमा आफूलाई व्यस्त बनाउनुहोस् । त्यस्तो अवसर अहिले प्रशस्तै पाइन्छ । यस्ता सामाजिक संस्थाहरूमा जोडिनु भयो भने तपाईंले धेरै मुद्दाहरू बारे जानकार हुन सक्नुहुन्छ । धेरै कुरा सिक्न सक्नुहुन्छ, जुन कुरा हामीलाई पुस्तकले सिकाउँदैनन् । 

तेस्रो कुरा भनेको आफू नै त्यस्तो अवसरहरूको ढोका ढकढकाउन जाने हो । र सामाजिक सञ्जालमा हामीले ट्रोल, मिम मात्र हेर्ने होइन, अवसरहरू पनि हेर्ने हो । आफूलाई आवश्यक परेको अवसर कहाँ पाइन्छ भनेर खोज्ने बानी पनि गर्नुपर्छ । यस्तो बानी गर्नुभयो भने तपाईं आफै धेरै अवसरसँग जोडिन सक्नु हुनेछ । 

र स्नातक पढ्नेहरुलाई म के सल्लाह दिन चाहन्छु भने तपाईंहरू स्नातक सकेसम्म बिहान पढ्नुस् । दिनमा पढ्नुभयो भने तपाईंले कति अवसरहरू छोड्नुपर्ने हुन्छ । तपाईं बिहान पढ्ने र दिनको समयमा इन्ट्रन्सिप गर्नुस्, पढाउनुस्, कुनै पनि सङ्घसंस्थासँग जोडिएर सीप विकासमा लाग्नुस् । यसो गर्दा स्नातक सकिँदासम्म तपाईंसँग ३ \४ वर्षको अनुभव हुन्छ । त्यसछि जब कुनै अवसरमा उल्लेख गरिएको ‘आवश्यक योग्यता’ जस्तो तपाईंसँग सीप अनुभव हुन्छ जसले गर्दा तपाईंले राम्रो तलब सेवा सुविधामा काम गर्न पाउनु हुन्छ ।

अझ विकासको क्षेत्रमा यो अवसर धेरै छन्, कुनै पनि सङ्घसंस्थाले तपाईं इन्ट्रन्सिप गर्न चाहन्छु हुन्छ भने कसैले पनि तपाईंलाई रोक्दैन, किनभने सिक्न चाहनेलाई कसैले रोक्दैन । मैले अवसर पाए भने तपाईंले पनि पक्कै पाउनु हुनेछ ।  यति कुराहरू सोचेर अघि बढ्यौँ भने करियरमा राम्रो गर्न सक्छौँ ।  नेपालमै राम्रो अवसर पाइन्छ । यति गरिरहँदा तपाईंले अन्तर्राष्ट्रिय विश्वविद्यालयमा छात्रवृत्तिको लागि निवेदन दिनुभयो भने छात्रवृत्ति पाउन सक्ने अवस्था रहन्छ । किनभने, तपाईंसँग अब पढाई मात्र हुँदैन सामाजिक कृयाकलापमा र सीप विकासमा  तपाईं अब्बल हुनुहुने छ । जसले गर्दा तपाईंलाई अन्तर्राष्ट्रिय अवसरहरूसँग जोड्न सहयोग पुग्छ ।

यसरी राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय अवसरसँग जोडिने, अध्ययनकै सिलसिलामा पनि मास्टर्स, पिएचडीको लागि छात्रवृत्तिसँग जोडिने, अनि नेपालमै पनि राम्रो संघसंस्था, राम्रो कम्पनीहरूमा आफूलाई अब्बल साबित  गरेर स्थापित हुने हो भने तपाईंले आफ्नो करियरको सुरुवाती दिनदेखि नै आफूलाई समयअनुसार प्रतिस्पर्धी बनाउन जरुरी छ । म यही नै सुझाव तपाईँहरूलाई दिन चाहन्छु ।

‘पढाईसँगै सीप विकास कसरी गर्ने ?’ भनेर बिनिता कार्कीसँग जीविको मिडियाले गरेको भिडियो संवाद:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *