अवसरका धेरै ढोकाहरू खोल्ने विषय हो – होटेल म्यानेजमेन्ट

जीविको २०८० साउन २२ गते ८:५४

पछिल्ला केही वर्षहरूमा एसईई अनि प्लस टु सक्काएका विद्यार्थीहरूको रोजाइमा पर्ने विषय हो – होटल म्यानेजमेन्ट । विशेषगरी होटल म्यानेजमेन्ट पढेर वैदेशिक रोजगारीमा गए राम्रो आम्दानी लिन सकिन्छ भन्ने सोचाइले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूको शैक्षिक संस्थाहरूमा घूँइचो नै लाग्ने गर्दछ । 

तर, नेपालमा नै होटल र हस्पिटालिटी क्षेत्रमा ठूलो सम्भावना रहँदा रहँदै पनि अधिकांश नेपाली विद्यार्थीहरूको रोजाइमा नेपाल पर्दैन ।

यसै सन्दर्भमा होटल तथा हस्पिटालिटी क्षेत्रमा नेपालमा नै सम्भावना के कस्तो छ । होटल म्यानेजमेन्ट पढेपछि के-के सीप सिक्न जरुरी छ भन्ने जस्ता विषयमा जीविकोले सोल्टी वेस्टेन्ड इटहरीकी सेल्स डिरेक्टर अनिता बस्नेतसँग संवाद गरेको छ । प्रस्तुत छ, विगत १५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा काम गरेर फरक पहिचान बनाउन सफल अनिता बस्नेत भन्छिन्- धेरै अवसरका ढोकाहरू खोल्ने विषय हो – होटेल म्यानेजमेन्ट/हस्पिटालिटी म्यानेजमेन्ट ।

जीविको परामर्शका लागि कुरा गर्दै अनिताले पढाईसँगै सीप विकास गर्ने हो भने रमाउँदै कमाउने यो पेशाले छोटो समयमा उल्लेख्य प्रगति गर्न सकिने बताइन् । हस्पिटालिटीमा अवसर पाउनका लागि अब विदेश नै जानुपर्ने वा काठमाडौंमा मात्र सीमित हुनुपर्ने अवस्थाको अन्त्य भएको अनिताको विश्वास छ । नेपालमा होटेल म्यानेजमेन्टको सम्भावनाका बारेमा अनिताले व्यक्त गरेका धारणाको सम्पादित अंश:

अत्यन्तै धेरै अवसर भएको क्षेत्र हो- होटल म्यानेजमेन्ट । यो क्षेत्रमा प्रवेश गरिसकेपछि मार्केटिङको क्षेत्र, रिजर्भेसनको क्षेत्र, मानव संसाधन व्यवस्थापनको क्षेत्र, वित्त क्षेत्र सबै तीर काम गर्न सकिन्छ ।

हाम्रोमा चलन चाहिँ शिक्षकहरूले अध्यापन गराउँदा ३ वटा क्षेत्रहरूको मात्र कुरा गर्नुहुन्छ तर वास्तवमा त्यो होइन । होटल म्यानेजमेन्ट पढिसकेपछि होटल भित्र बाहेक त्यसबाहेकका क्षेत्रहरू जस्तै बैङ्कको क्षेत्र, हस्पिटल वा स्वास्थ्य क्षेत्रमा, टुरिजम एण्ड टिकेटिङको क्षेत्र, ट्राभल/ट्रेकिङको क्षेत्रमा पनि होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई राख्ने गरेका छन् । होटल म्यानेजमेन्ट पढिसकेपछि हस्पिटालिटीको क्षेत्रमा काम गर्न रमाइलो हुन्छ । तपाईंलाई आफ्नो कामप्रति बोर हुँदैन बरु दिनानुदिन जोस आउँछ । यहाँ काम गरिसकेपछि बेग्लै आनन्द पाइन्छ र यो विषय पढ्नलाई पनि सजिलो छ ।

पढ्ने विद्यार्थीले पढाईको सिलसिलामा होस् वा रोजगारीको क्षेत्रमा प्रवेश गर्नलाई खुबै मेहनत गर्नुपर्छ तर होटल म्यानेजमेन्ट चाहिँ तुलानत्मक हिसाबले पढ्नलाई सजिलो र अवसर धेरै भएको क्षेत्रको रुपमा लिन सकिन्छ ।

यो क्षेत्रका विद्यार्थीहरूले पढ्दापढ्दै पनि इन्टर्नसीप गर्ने अवसरहरू पाउँछन् । यसरी इन्टर्नसीप गर्दागर्दै पनि रोजगारी पाउने सम्भावना बढेर जान्छ । तसर्थ, पढाईकै दौरानमा पनि तपाईंले राम्रो कमाइ गर्नसक्नु हुन्छ ।

मानिसहरू विदेश गएमात्र पैसा कमाउन सकिन्छ भन्ने धारणा राख्नुहुन्छ तर होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूले नेपालमा नै करियर बनाउन सकिन्छ ।

हस्पिटालिटि क्षेत्र भन्ने बित्तिकै हामीले घरायसी वातावरण बाटै सिक्दै आएको कुराहरू हो । नमस्कार गर्ने, आदर गर्ने, सत्कार गर्ने जस्ता क्रियाकलाप हामी घरबाट नै सिक्दै आएका हौँ र यहि कुराहरू नै हस्पिटालिटी क्षेत्रमा लागु हुन्छ । हामी नेपालीभित्रको अन्तर्निहित गुणलाई नै पढाईको माध्यमबाट अझ धेरै पोख्त बनाइन्छ ।

हस्पिटालिटी, होटल क्षेत्र नेपालमा अहिले बढ्दो अवसरको क्षेत्रको रुपमा देखिएको छ । नेपालको सन्दर्भमा कुराकानी गर्दा काठमाडौं उपत्यकामा मात्र नभइ काठमाडौं बाहिरका क्षेत्रहरू पोखरा, चितवन, बुटवल, विराटनगर, जनकपुर लगायतका दर्जनभन्दा बढी शहरमा होटेल म्यानेजमेन्ट पढ्नेहरूको उच्च माग छ । 

यो क्षेत्रमा ठूलो जनशक्तिको माग भएपनि अहिले चाहिँ विदेशबाट नै यी क्षेत्रमा काम गर्ने कामदारहरू ल्याउनुपरेको छ । यसको मुख्य कारण चाहिँ नेपालबाट दक्ष जनशक्ति पलायन हुने बढ्दो सङ्ख्या नै हो ।

हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्टको क्षेत्रमा काम गर्ने मानिसहरूले मासिक कम्तिमा २० हजार रूपैयाँदेखि  ५-७ लाख रूपैयाँसम्म कमाइ गरिराख्नुभएको छ ।

हस्पिटालिटी, होटल म्यानेजमेन्टको क्षेत्रमा जि.एम, सेल्स मार्केटिङ, फाइनान्सका साथीहरुले ठूलो आम्दानी लिइरहेको अवस्थामा हामीले विदेशिहाल्नुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन ।

होटल म्यानेजमेन्ट पढ्नलाई अहिले धेरै सहज छ, १० कक्षा उत्तीर्ण भएपछि प्लस टुमा नै होटल म्यानेजमेन्ट अध्ययन गर्न सकिन्छ । यसरी होटल म्यानेजमेन्ट गरेका विद्यार्थीहरूलाई सिक्नका लागि पनि कलेजले विभिन्न होटलहरूसँग टाइअप गरेर विद्यार्थीहरू पठाउने गरेका छन् । पढाईकै सिलसिलामा सिकाइ हुँदा रोजगारीका ढोकाहरू पनि खुलेर जान्छन् ।

होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीअरूलाई मेरो एउटा महत्वपूर्ण सुझाव भनेको पढाईको सिलसिलामा नै केही सीपहरू सिक्नुहोस् । जस्तो कि एक्सेल, कम्प्यूटरबारे जानकार हुनुपर्यो, बोलिचालि राम्रो बनाउनुपर्छ,  सञ्चारको सीप पनि राम्रो बनाउनुपर्छ । व्यक्तित्व विकास पनि सँगसँगै बढाउँदै गर्नुपर्छ ।

म होटल म्यानेजमेन्ट अध्ययन गर्ने सोचाइ बनाएका वा अहिले अध्ययनरत विद्यार्थीहरूलाई आफ्नै १५ वर्षको अनुभवको आधारमा भन्न चाहन्छु यदि तपाईंले आफ्नो क्षेत्रमा मेहनत र लगनशीलता देखाउनुभयो भने होटल म्यानेजमेन्टको क्षेत्रमा नेपालमा सुनौला अवसरहरू छन् । तपाईंले अवसर नै अवसर पाउनुहुनेछ । बस्, सकारात्मक सोचका साथ निरन्तर प्रयास गरिरहनु पर्‍यो ।

विगत १५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा काम गरेर फरक पहिचान बनाउन सफल भएकी हाल सोल्टी वेस्टेन्ड इटहरीको सेल्स डिरेक्टरका रुपमा कार्यरत अनिता बस्नेतसँग नेपालमा होटल/हस्पिटालिटी म्यानेजमेन्ट पढेपछिको सम्भावना र अवसरका बारेमा गरिएको जीविको भिडियो परामर्श:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *