यहाँ ग्राहकले ‘स्याबास्’ भन्न छुटाउँदैनन् !

धर्मराज रिमाल २०८० साउन २१ गते ९:३२

“हाम्रा बाजे-बोजु ८० नाघ्दा पनि ठमठम्ती हिँड्नु हुन्छ, अझै पनि घाँस दाउरा गर्न तम्सिनु हुन्छ तर अहिले भने ४० कटेपछि सत्रथरी रोगले मान्छे थलिन्छ । यसको कारण अरु केही नभएर हाम्रो खानपान र जीवनशैली नै हो”

गफगाफ सुरु भयो । स्वतस्फुर्त सुरु भएको गफगाफमा सहभागी हुनेहरूको अगाडि कोदो अनि फापरको ढिँडो, मकैको भात (च्याँख्ला-थेप्ला), सिस्नोको साग, वाचिपा, किनेमा, गुन्द्रुक भटमासको अचार अनि मोही थियो । स्थान- मौलिक किराती खाना मात्र पाइने भैँसेपाटी मेडिसिटी अस्पतालसँगैको फिर्के भान्सा घर

शहरमा थरीथरीका परिकार खान पाइने होटेल रेस्टुराँको कमी छैन । यस्ता होटेल रेस्टुराँका मेनु विदेशी खानाको आइटमले भरिएका हुन्छन् । तर तपाईं फिर्के भान्सामा पुग्नु भयो भयो यस्ता परिकार खान पाउनु हुँदैन । बरु तपाईंलाई मौलिक किरात परिकारको मेनु दिइन्छ त्यसलाई हेरेर स्वादसँगै स्वस्थबद्धर्क खाना अर्डर गर्न सक्नुहुन्छ । म:म, चाउमिन, पिज्जा, बर्गर जस्ता खानेकुरा ‘निषेध’ नै छ यहाँ, त्यो सँगै विभिन्न बहुराष्ट्रिय कम्पनीका पेय पदार्थ पनि तपाईंले यहाँ भेट्नु हुँदैन ।

“उसोभए के खानु त .. उही सिस्नो र ढिँडो मात्र ?” तपाईंको मनमा यो प्रश्न आउन सक्ला जुन स्वाभाविक हो ।

फिर्के भान्सा घरमा तपाईंलाई खानाको कमी हुने छैन । जेठा-जेठि, माइला-माइली, साइला-साइली, काइला-काइली, कान्छा कान्छी, छोरी-ज्वाँई खानासेट देखि सम्धी-सम्धिनी सेट, भेज अनि नन भेज किराती खाना सेट तथा मौलिक किराती परिकार सहितको खाजा पनि यहाँ उपलब्ध छ । फरक यत्ति हो, तपाईंले खाने यी खानामा जिब्रोको स्वादलाई मात्र ख्याल गरिएको हुँदैन बरु शरीरलाई चाहिने पोषक तत्त्वलाई बढी प्राथमिकता दिइएको हुन्छ ।

पेय पदार्थकै कुराकानी गर्दा मोहीसँगै लोकल कोदोको रक्सी, जाँड, सडुवा अनि राष्ट्रिय आविष्कार केन्द्रमा बनेको ‘कम्बुजा’ पनि यहाँ ग्राहकलाई रुचि अनुसार चखाइन्छ । फिर्के भान्सा घरको उद्देश्य ब्यापार व्यवसाय गरेर मनग्यै कमाउने मात्र होइन, बरु लोप हुँदै गएका नेपालका मौलिक खानपिन अनि संस्कृतिलाई प्रवर्द्धन गर्दै व्यवसायिकरण गर्ने हो ।

फिर्केको टिम अहिले संख्यात्मक रुपमा हेर्दा सानो छ । अनि यहाँ नियमित आउने ग्राहकको संख्या पनि चल्तीको होटेल रेस्टुराँमा आउने जति छैनन् । तर भर्खर चौथो महिनामा प्रवेश गर्दै गरेको फिर्के भान्सा घरको बारेमा एक कान, दुई कान हुँदै प्रचार हुँदैछ ।

फिर्केमा आएर ढिँडो, च्याँख्ला अनि सिस्नुमा रमाउनेहरूले यो फरक हस्पिटालिटीलाई ‘स्याबास’ भन्ने गरेका छन् । यही हौसला अनि आत्मविश्वासले फिर्के भान्सा घरलाई यो अभियानमा अगाडि बढ्न उर्जा मिलिरहेको छ ।

हेर्नुहोस्: किराँती सभ्यतालाई जगेर्ना गर्दै परम्परागत मौलिक खानाहरू पस्कदै आएको फिर्के भान्साघरको कथा:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *