गाईबस्तुमा लाग्ने लम्पी स्किन : यसरी गरौं रोगथाम (भिडियो)

जीविको २०८० साउन १ गते १६:३५

गाईबस्तु बीच महामारीको रूपमा फैलिरहेको लम्पी स्किन रोग नेपालका ७७ वटै जिल्लाहरूमा फैलिसकेको छ । छालामा संक्रमण देखिने, ज्वरो आउने, गाईबस्तुले खान छाड्ने जस्ता लक्षण देखिने यस रोगबाट हालसम्म ७ लाख ८२ हजार १ सय २४ पशु संक्रमित भएको र २८ हजार पशुको ज्यान गएको पशु सेवा विभागको तत्थ्याङ्क छ । 

लम्पी स्किन रोगको प्रकोप बढिरहेको सन्दर्भमा यसबाट कसरी गाईबस्तुलाई बचाउन सकिन्छ ? यसका घरेलु उपचार के-के हुन सक्छन् ? भन्ने जस्ता विषयमा जीविकोले पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालसँग कुराकानी गरेको छ । 

प्रस्तुत छ, पशु विकास अधिकृत डा. चन्द्र ढकालसँगको कुराकानीः 

लम्पी स्किन रोगबाट गाईबस्तुलाई बचाउनका लागि खोप नै पहिलो प्रमुख रोकथामको उपाय हो । यसका साथसाथै असल पशुपालन अभ्यास अर्थात् पशुपालन व्यवसाय सुधार अभ्यासलाई पनि सँगसँगै लिएर जानुपर्ने हुन्छ । फार्ममा जैविक सुरक्षाको विधि अपनाउने, फार्ममा बाह्य मानिसहरूको प्रवेशमा रोक लगाउने, एउटा फार्म र अर्को फार्मका सामग्रीहरू साटासाट नगर्ने, संक्रमित भएका पशुहरूलाई सामुदायिक चरनमा नलैजाने, संक्रमित पशुलाई बेच्नका लागि हाटबजारमा नलैजाने त्यस्तै संक्रमित पशुको सम्पर्कमा आएका मानिसहरूबाट पनि यो रोग सर्न सक्छ त्यसैले यसमा पनि उच्च सतर्कता अपनाउने गर्नुपर्छ ।

फोटो : पुष्कल श्रेष्ठ/ जीविको

यो रोगलाई डाँस, लामखुट्टे झिँगाहरूले एक पशुबाट अर्को पशुमा सार्न सक्छन् त्यसैलाई यसलाई रोकथामका उपाय अपनाउनुपर्छ । पशुजन्य उत्पादन र सामाग्री पनि रोग सार्न सक्ने तत्त्व भएकालाई  निर्मूलीकरण गर्ने वा यसको ओसारपसार गर्दा ध्यान पुर्याउने गर्नुपर्छ । यो भाइसले लाग्ने रोग भएका कारणले यसको उपचार नै भनेर हुँदैन । त्यसैले लक्षणमा आधारित उपचार नै अहिलेको उपाय हो । यो रोग लागेपछि सबैभन्दा सुरुमा ज्वरो आउँछ र पशुलाई मार्ने भनेकै ज्वरोले हो । किनकी ज्वरो आएपछि पशुले खाना खाँदैन र कमजोर बन्दै जान्छ र भित्री अंगहरुपनि कमजोर हुँदै जान्छ र पशु मर्छ । त्यसैले ज्वरो नियन्त्रण गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पशुलाई ज्वरो छ कि छैन पहिला परिक्षण गर्ने । यदि ज्वरो छ भने कस्ता औषधिहरू प्रभावकारी हुन्छन् भनेर बिचार गर्ने जसको लागि नजिकैको प्राविधिकसँग वा पशु सेवा शाखासँग सम्पर्क गरेर परामर्श गरि औषधि लिन सकिन्छ । त्यस्तै, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्राविधिकलाई सम्पर्क गर्न सकिन्छ वा आफ्नो नजिकैको निजी भेटनरी पसल वा प्राविधिकसँग सम्पर्क गरेर पशुको अवस्थाबारे जानकारी गराई ज्वरो नियन्त्रणको उपाय खोज्न सकिन्छ ।

यदि प्राविधिकहरू नजिकै नभएको खण्डमा ज्वरो नियन्त्रण गर्नका लागि हाम्रो घरायसी रोकथामको उपाय अर्थात् ठुलो कपडा वा जुटको बोरालाई चिसो पानीमा राखेर पशुलाई ओडाएर पनि ज्वरो नियन्त्रणको लागि काम गर्न सकिन्छ यसले पनि केही हदसम्म काम गर्ने गरेको छ । यसका साथै गाईबस्तुको तौल अनुरूप सिटामोलको ट्याब्लेट खुवाएर पनि ज्वरो नियन्त्रणको लागि काम गर्न सकिन्छ ।

यसबाहेक छालामा गिर्खा देखिने समस्या चाहिँ बिस्तारै आफैँ हटेर जान्छन् यदि त्यसमा संक्रमण देखिएको खण्डमा एन्टिसेप्टीक मल्हमहरू लगाउन सकिन्छ । गाउँघरमा मल्हम ल्याएर लगाउन सम्भव नभए हाम्रो घरायसी घाउको लागि गरिने एन्टिसेप्टीक उपचार अर्थात् बेसारलाई लगाएर पनि केही हदसम्म घाउको समस्याको समाधान गर्न सकिन्छ यसले घाउलाई फैलनबाट केही हदसम्म रोकथाम गर्ने गर्दछ ।

तर, घरायसी औषधिका नाममा घाउमा माटो लगाउने, सुर्ती लगाउने, गोबर लगाउने जस्ता कुराहरू भने पटकै गर्न हुँदैन यिनीहरूले चाहिँ झन् संक्रमण ल्याउने गर्ने गर्दछ । कतिपय गाउँहरूमा पशु बिरामी भएपछि पानी खाना नदिने, अँध्यारो ठाउँमा राख्ने, गोठभित्रबाट बाहिर ननिकाल्ने, कुनैपनि कुराहरू खान नदिने चलन हुन्छ त्यो चाहिँ राम्रो होइन । लम्पी स्किन लागेको समयमा पशुलाई धरैभन्दा धेरै खानका लागि उत्प्रेरित गर्नुपर्छ जस्तै सादा पानी खान नमानेको खण्डमा पिठो मिसाएर वा सक्खर मिसाएर खुवाउन सकिन्छ । पोषिलो नरम आहार दिने, पशुलाई आराम दिने गर्नुपर्छ ।

कतिपय ठाउँमा चाहिँ पशु बिरामी हुँदा पनि जोत्न लैजाने गरेको पाइन्छ यसो गर्दा पशुलाई भित्री रूपमा पनि ठूलो समस्या पर्ने हुँदा समस्या निम्तिन सक्छ पशु मर्न पनि सक्छ।

पशुको व्यवस्थापनमा, स्याहारसुसारमा, रोग सार्न सक्ने माध्यमको विषयमा हामीले सुरुवातमा ध्यान पुर्याउनुपर्ने हुन्छ । यो रोग महामारीजन्य रोग भएका कारण यो रोग सम्बन्धी प्राविधिक सूचनाहरू नजिकको विज्ञ केन्द्र वा पशुसेवा शाखाबाट बुझ्नुपर्ने हुन्छ ।

त्यस्तै, यससम्बन्धी सम्पूर्ण प्राविधिक जानकारी स्थानीय तहहरूलाई जानकारी दिएका छौँ यस्ता स्थानीय तहबाट सबै सूचना लिन सकेर व्यवहारमा उतार्न सके मात्र पनि पशुलाई यो लम्पी स्किन रोगबाट बचाउन वा लाग्नै नदिन सहज हुन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *