हातमा चियाको थर्मस, मनमा उद्यमी बन्ने सपना   

प्रतिक ढकाल २०८० पुष १८ गते १३:३१

कोठा खर्च, बहिनीको पढाई खर्च, आफ्नो पढाई खर्च सबै एउटा थर्मसबाट जुटाउँछन् बाजुराका उमेश ओली । 

साँझको २ घण्टे मेहनतले उमेशको जीवन फेरिएको छ । केही गर्ने हुटहुटी जागेको छ, गरिखाने आँट जुटेको छ । 

आज भन्दा ५ वर्ष अघि बाजुरा देखि काठमाडौंको गाडी चढ्दै गर्दा उमेश ओलीलाई लागेको थियो, “बा ले ऋण लगाएरै राजधानी पठाउँदै हुनुहुन्छ धेरै पढ्नु छ धेरै कमाउनु छ”

हेर्नुहोस्  भिडियो : ब्याचलर पढ्ने खर्च जुटाउने चियावाला

सपनाको सहर छिरेपछि उमेशले झिलिमिलि देखे ठूला बिल्डिङ देखे, लाग्यो यहाँ पैसा कमाइन्छ घरको दुःख टालिन्छ । काठमाडौं छिरेको केही दिनमा उनी नेपाल कमर्स क्याम्पस मिनभवनमा स्नातक पढ्न भर्ना भए । 

फोटो : पुष्कल श्रेष्ठ/जीविको

पढाई सुरुभयो, खर्च बढेर गयो । बुबाले गाउँबाट कैले कसो पठाएको पैसाले महँगीको चुली चुम्न लागेको काठमाडौं शहरमा आधा महिना हम्मेहम्मे गरेर चल्थ्यो बाँकी आधा महिना खर्च धान्नै मुस्किल भयो उमेशलाई । उनी जागिर खोज्न थाले । तर, अनुभवको अभाव अनि पर्याप्त अवसर नहुँदा जागिर भेट्टाउन सास्ती भयो ।

“कोठाको खर्च धान्नु पर्ने बहिनी पढाउनु पर्ने जिम्मेवारी छ, बालाई पैसा मागिराख्न पनि अप्ठ्यारो भयो,” उमेशले सम्झिए । 

केही महिना जागिर खोज्दा पनि अवसर नभेटिएपछि लाग्यो- अब सानो व्यवसाय आफैँ थाल्छु । 

बिना लगानी के गर्न सकिन्छ? उनी सोच्न थाले । केही दिनको सोचेपछि आइडिया फुर्यो – थर्मसमा चिया बेच्ने । बसन्तपुर असन आसपास थर्मसमा चिया बेचिरहेको देखाका उनले आफूले पनि चिया बेच्न सक्ने आत्मविश्वास जाग्यो ।

फोटो : पुष्कल श्रेष्ठ/जीविको

चिया बेच्ने सोचसँगै एकतमासको लाज अनि डर उनको मनमा नउब्जिएको भने होइन । तर, लाजलाई त्यागेर अन्ततः थर्मसमा चिया बोकेपछि उनको उद्यमको यात्रा सुरु भयो ।

उनी भन्छन्, “मैले सुरुवातमै लाजलाई बेचेर चिया बेच्न आएको हुँ । मैले लाज बेचिसकेँ, अब मसँग लाज बाँकी छैन”

अहिले उमेश खर्च जुटाउन नियमित थर्मसमा चिया बेच्छन्, साँझको २ घण्टे कामले उनको खर्च सबै धानिन्छ । दिनको ४० देखि ५० कप चिया बेच्ने उमेशले दैनिक ८ सय देखि १ हजार रुपैयाँसम्म आम्दानी गर्छन् । त्यही पैसाले बहिनी पढाउँछन्, आफू पढ्ने खर्च जुटाउँछन् । 

फोटो : पुष्कल श्रेष्ठ/जीविको

उनी भन्छन्, “थर्मसबाट उद्यम सुरुवात गरेँ, अब काठमाडौंमा ठूलो चिया पसल खोल्ने सपना छ”

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *