१० प्रश्न-उत्तरमा थाहा पाउनुहोस् जर्मनीमा रोजगारीबारे महत्वपूर्ण जानकारी

जीविको २०८० कार्तिक ११ गते १५:३८

नेपालले भर्खरै यूरोपियन मुलुक जर्मनीसँग नेपाली कामदार लैजाने गरि श्रम सम्झौता गरेको छ । सम्झौतासँगै अब अन्य मुलुक झैँ जर्मनीमा पनि नेपाली कामदार जान पाउने भएका छन् । जर्मनी गएर काम गर्ने सोच बनाएका नेपालीहरूमा दुविधा नहोस् भनेर यस भिडियोमा जर्मनी रोजगारीका बारेमा विभिन्न १० तत्थ्य प्रस्तुत गर्दैछौँ ।

हेर्नुहोस् भिडियो: नेपालीलाई जर्मनीमा रोजगारी, १० महत्वपूर्ण जानकारी

कस्ता व्यक्तिहरु जान पाउँछन् ?

जर्मनी जान त्यहाँको भाषा कम्तीमा आधारभूत कुराकानी गर्न सक्ने किसिमले जानेका व्यक्तिहरु जर्मनी जान पाउनेछन् । अन्य योग्यता सम्झौता भई प्रक्रियामा गइसकेपछि टुंगो लाग्नेछ ।

कति सँख्यामा नेपाली कामदार जर्मनी जान पाउनेछन् ?

जर्मनीमा कति सँख्यामा नेपाली कामदार लैजाने भनेर निश्चित भइसकेको छैन । कस्ता श्रमिक, कुन क्षेत्रमा अनि कति सँख्यामा लैजाने भन्ने बारे जर्मनी र नेपालको संयुक्त वर्किङ कमिटीले आगामी दिनमा तय गर्ने छ ।

कसरी जान पाइन्छ ?

जर्मनी रोजगारीमा जानका लागि विभिन्न परीक्षा लिइ पठाउने सरकारको तयारी छ । आवेदन अनलाइन रुपमा दिन सकिने व्यवस्था हुनेछ। इपिएस् पास गरि कोरिया जाने जस्तै निश्चित प्रक्रियामार्फत् जर्मनी पठाउने सरकारsको तयारी छ । आवेदन बुझाउन आवश्यक कागजात तथा उमेरसमेत आवेदन खुला भएपछि मात्रै थाहा हुनेछ ।

भाषा पढ्नै पर्छ ?

रोजगारीका लागि जर्मनी जान चाहनेले अनिवार्य भाषा जान्नै पर्ने मन्त्रालयले जनाएको छ । कम्तिमा आधारभूत बोलचाल गर्न सक्ने गरि भाषा जानेकाहरुमात्र जर्मनी जान पाउनेछन् ।

जर्मनी पुग्नसाथ काममा लाग्ने हो ?

नेपालबाट श्रमिकका रूपमा जाने व्यक्ति एक वर्ष प्रशिक्षार्थी कामदारका रूपमा रहनेछन् । जर्मनी पुगिसकेपछि त्यहाँ एक वर्ष ट्रेनिङ प्राप्त गर्नेछन् । तालिम लिइसकेपछि नेपालीहरूले त्यहाँको श्रमबजारमा काम गर्न पाउने छन् ।

मासिक कमाइ कति हुन्छ ?

जर्मनीमा यति आम्दानी हुन्छ भनेर सरकारले तोकेको छैन । तर, प्रशिक्षार्थी भएर गएको एक वर्ष पनि जर्मनीमा निश्चित तलब सुविधा पाइनेछ । खाडी मुलुक भन्दा कामदार भिसामा जर्मनी जानहरुले राम्रो सुविधा भने पाउनेछन् । त्यहाँ खाने तथा बस्ने व्यवस्था रोजगारदाताले नै व्यहोर्नेछन् ।

लागत कति लाग्छ ?

जर्मनीसँग हुन लागेको सम्झौताअनुसार नेपाली श्रमिक निःशुल्क जर्मनी जान पाउनेछन् । सरकारले जाने खर्चदेखि रोजगारीमा रहेको बेलाको खाने, बस्ने निःशुल्क हुनेछ ।

कहिलेबाट जान पाइन्छ ?

जर्मनीले नेपाली दक्ष श्रमिक लैजान ३ महिनापछि आवेदन खुला गर्ने भएको छ। सोही रोडम्याप अनुसार सरकारले जर्मनीमा कामदार पठाउन गृहकार्य सुरु गरेको छ ।

कसरी आवेदन दिने ?

जर्मनी रोजगारीका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था सरकारले गर्दैछ । जि टु जी प्रक्रियामार्फत् जर्मनी जान पाइने हुँदा मेनपावर वा एजेन्ट खोजिरहनु भने पर्दैन ।

कस्तो देश हो जर्मनी ?

जर्मनी युरोपियन विकसित देशमा पर्दछ । जर्मनीमा यस्तो बलियो श्रम कानुनको व्यवस्था छ जसले श्रमिकलाई आम्दानी, सामाजिक सुरक्षासँगै अन्य सेवा सुविधा उच्च स्तरीय प्रदान गर्दछ । जर्मनीका नागरिकसरह नेपाल कामदारलाई पनि सोही अनुरूपको सेवा सुविधा पाउने नेपाल सरकारको विश्वास छ ।

जर्मनी रोजगारीका बारेमा थप जानकारी पाउनका लागि जीविको मिडिया हेर्दै गर्नुहोला ।

प्रतिक्रिया

One thought on “१० प्रश्न-उत्तरमा थाहा पाउनुहोस् जर्मनीमा रोजगारीबारे महत्वपूर्ण जानकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *