गीताको कृषि उद्यम हेरेपछि लाग्छ – खाडी पस्नु भन्दा बारी खन्नु नै ठीक !

प्रतिक ढकाल २०८० साउन ७ गते १७:४४

दशक अगाडिसम्म ललितपुर लेलेमा बस्दै आएकी गीता खत्रीले तरकारी ‘नगद’ हो भन्ने पत्तै पाएकी थिइनन् । तरकारीका तीन उपयोग; वल्लो घर पल्लो घर तरकारी साटेर पकाउने, भान्सा चलाउने त्यति गर्दा नि बाँकी रहे गाईबस्तुलाई कुँडो पकाउने यत्तिनै थाह थियो उनलाई ।

२०६९-७० ताकादेखि लेले क्षेत्रमा सहकारी खुल्न थाले । गुड नेवर्स इन्टरनेशनल नेपाल र सरस्वती कुण्ड सहकारी संस्थाले लेलेका महिलाहरूलाई बचत गर्ने बानी मात्र सिकाएनन् उनीहरूले गर्दै आएको तरकारी खेतीलाई व्यवसायिक बनाउँदै उद्यमी बन्न पनि सिकायो । व्यवसायिक कृषि गर्नका लागि समय सापेक्ष तालिम दिने, प्राकृतिक खेतीका लागि किसानलाई प्रोत्साहित गर्ने जस्ता कुरामा गुड नेवर्स इन्टरनेशनल नेपालले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ । यही सहयोग पाएर कृषिमा सम्भावना देख्न सक्षम भइन् गीता । गीता मात्र होइन, सयौंले यस प्रकारको सहयोग लिएर आफ्नो जीविको कृषि कर्मबाट धान्न सक्ने भएका छन् । यो अभियानले लेलेमा थोरबहुत परिवर्तन लाएको छ,  पहिले २०-२२ जना जुट्न पनि गाह्रो हुने अवस्था थियो अहिले यो सहकारीमा ९ सय भन्दा बढी सदस्य छन् ।

गीता पनि सोही सहकारी अनि संस्थासँग जोडिइन् र कहिले कृषि तालिम त कहिले सहुलियत कर्जाबारे बुझ्दा बुझ्दै उनले ‘जानेर गर्ने हो भने तरकारी त गज्जबको आम्दानीको स्रोत रहेछ’ भन्ने बुझिन् ।

फार्ममा तरकारी टिप्दै गीता : फोटो/पुष्कल श्रेष्ठ जीविको

कृषि सहकारीले उद्यमशीलताको अभियान नै चलाउन थालेपछि उनी पनि कार्यक्रमहरूमा भाग लिन थालिन् ।

यही बीच प्रविधि सिकिन्, प्लास्टिकको घरबारे बुझिन्, मल्चिङ्ग बारे जानिन् । गाई बस्तु पाल्दै निम्न आर्थिक अवस्थामा घरायसी जीवन चलाउँदै आएकी उनलाई व्यवसायिक तरकारी खेती गर्ने हुटहुटी बढ्दै गयो । उनी भित्र जोस थियो सहकारीले बाटो देखाइदियो ।

तरकारीबाली बारे धेरै बुझिसकेकी गीताले पहिलो वर्ष ४ वटा टनेल जग्गा भाडामा लिएर बनाउन लगाइन् । टनेल बनाउन सहकारीले पनि सघायो । गज्जबै भयो एउटा बोटमा १-२ केजी फल्ने गोलभेँडाले टनेल भित्र १० केजीसम्म फल दियो । भान्सामा मात्र सीमित तरकारीले बजार देख्यो । हत्तपत्त पैसा हातमा नपर्ने गीताको गोजी भरिन थाल्यो ।

फोटो : पुष्कल श्रेष्ठ/जीविको

“पैसा देख्नै सकस हुन्थ्यो तरकारी उमार्न थालेदेखि त गज्जबकै आम्दानी भयो, यही तरकारीले २ छोरा पढाएँ एउटाको बिहे गरेँ, घर व्यवहार राम्रोसँग चलेकै छ । अझै ३ जना त काम गर्ने सहयोगी पनि राखेकी छु,” गीताले भनिन् ।

तरकारी खेतीमा जति जति गीताले मेहनत र पसिना बगाइन् उति उति उनको संघर्षले रङ्ग देखाउन थाल्यो। दश वर्षअघि ४ वटा टनेलबाट सुरुभएको तरकारी खेती अहिले ४० वटा टनेलमा फैलिएको छ ।

गीता भन्छिन्, “कृषि दुःख होइन मेहनत हो, मेहनत गरे फल राम्रै लाग्ने रहेछ”

फोटो : पुष्कल श्रेष्ठ/जीविको

व्यवसायिक तरकारी खेती सुरुवात गर्नुअघि कृषि प्रविधि बारे केही पनि थाह नभएकी गीता अहिले आफै आधुनिक खेती जान्दछिन् । उनलाई टनेल खेती थाह छ, मल्चिङ्ग थाह छ, उनले बजार बुझेकी छिन् र एक सफल उद्यमीको परिचय बनाएकी छिन् ।

हेर्नुहोस् लेलेमा व्यवसायिक तरकारी खेती गरिरहेकी कृषि उद्यमी गीता खत्रीको जीविको कथा :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *