बब्लु टी: जब मेहेनतको रङ कडा हुन्छ, तब सफलताको स्वाद गज्जब हुन्छ !

धर्मराज रिमाल २०८० असार १० गते ११:५१

के छ त्यस्तो एक कप चियामा ?

मन मस्तिष्कमा स्फूर्ति जगाइदिने जादु छ एक कप चियामा, दोस्ती यारीलाई मजबुत बनाउने तागत छ एक कप चियामा, एक से एक आइडियाहरू फुराउने सामर्थ्य छ एक कप चियामा । त्यति मात्र कहाँ हो र देश विकास कसरी गर्ने भनेर योजना नै बनाउन सक्ने जोस छ एक कप चियामा । बस्, रङ कडा अनि स्वाद गज्जब भएको चिया हुनुपर्‍यो । 

त्यसैले त भनिएको होला – एक कप चिया र असल साथीले समाधान गर्न नसक्ने कुनै समस्या नै छैन।

दैनिक १५ घण्टा खटिएर एक हजार कपसम्म चिया बेच्ने बिरगंज आदर्शनगरका बब्लु शर्मा

बिरगंजको आदर्शनगरमा रहेको बब्लु टी पुग्नुभयो भने थाहा हुन्छ, एक कप चियाको तागत कति छ भनेर । बिहान ६ बजे आदर्शनगरको सडक पेटी बब्लु टीका पारखीहरूले भरिन्छ । यस्तो लाग्छ यो कुनै चिया पसल नभएर सेवाग्राहीको भिड लाग्ने सरकारी कार्यालय हो । एक कप चिया त बहाना हो, यहाँ नियमित आउने ग्राहकले २-३ कप चिया नखाई त उठ्दै उठ्दैनन् ।

बिरगंज आदर्शनगरको सडक पेटीमा चिया पिउन जम्मा भएका बब्लु टीका पारखीहरू

बब्लु शर्मा भर्खर २९ वर्षका भए तर उनले चलाउने बब्लु टी आजभन्दा २५ वर्ष अगाडिदेखिको चिया पसल हो । उनका बुवा राम निवास शर्माले छोरा बब्लुको नाम राखेर चिया पसल चलाउने गर्थे । त्यसबेला पचास पैसाको एक कप चिया बेच्ने गर्थे राम निवासले, अहिले कपको ३५ रुपैयाँ पर्छ । छोरा बब्लुले अहिले बुवालाई पालो दिन सक्ने भएका छन् । बितेको २५ वर्षमा समय, स्वाद अनि संख्या एकनाशले बढिरहे ।

बब्लु र उनका बुवा राम निवास शर्मा । बुवा राम निवासले छोरा बब्लुको नाम राखेर २५ वर्ष अगाडि चिया पसल चलाउन सुरु गरेका थिए । फोटो: जीविको मिडिया

बब्लुको दैनिकी बिहान ६ बजेदेखि राती ८ बजेसम्म यही पसलमा स्वादिलो चिया बनाएर बित्ने गर्छ । बब्लु टी यस्तो ठाउँ हो जहाँ मानिसहरू बिहानै गूड् मर्निङ भन्दै चियाको चुस्की लगाउन भेला हुन्छन् अनि साँझ बब्लुको हातको चिया खाएर गूड् नाइट भन्दै छुट्टिन्छन् ।

जति मीठो बब्लुले बनाउने चिया छ, उनको मेहेनतको रङ पनि उस्तै कडा छ । दैनिक एक हजार कपसम्म चिया बेच्ने गर्छन् बब्लु । दैनिक १५ घण्टा खटिएर करिव ५ सय जनालाई चिया पिलाउँदा मान्छे नथाक्ने भन्ने त हुँदैन तर पनि उनको अनुहारमा उस्तै उज्यालो हुन्छ, ओठमा न्यानो आतिथ्यताको मुस्कान कायम नै हुन्छ । चियाकै कारण बिरगंजमा हजारौँको साथी भएका छन् बब्लु । रोजगारीका लागि भन्दै खाडीमा हन्डर, ठक्कर खानुपरेको छैन उनलाई ।

साँझपाख बब्लु टी मा चिया पिउन जम्मा भएकाहरू, फोटो: जीविको मिडिया

बिरगंजको उखरमाउलो गर्मीमा चिया पकाउन ब्यस्त बब्लुलाई सोधें- दैनिक १५-१६ घण्टासम्म कसरी सकिन्छ काम गर्न ? एक दिन होइन, दुई दिन होइन.. त्यो पनि वर्षौं वर्षदेखि ?

बब्लु भन्छन्, “मैले अहिलेसम्म ठूलो सपना त देखेको छैन, तर आफ्नो कामलाई कहिल्यै सानो पनि सोचेको छैन । बुवाले सुरु गर्नुभएको कामलाई अगाडि बढाउने जिम्मेवारी सम्हाल्दै छु, हजारौं भगवानरुपी ग्राहकको साथ पाएको छु, परिवारको जीविका राम्रोसँग चलेको छ अनि समाजमा आत्मसम्मानले बाँच्न पाएको छु । कोही मान्छेले चिया बेचेरै यति धेरै कुराहरू पाउँछ भने हरेक दिन उसलाई काम गर्न कति जाँगर लाग्छ होला”

हेर्नुहोस्, दैनिक १५ घण्टा खटिएर एक हजार कपसम्म चिया बेच्ने बिरगंज-आदर्शनगरका बब्लु शर्माको भिडियो कथा:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *