यसरी गरिन्छ ट्यांकीमा माछापालन, जान्नुहोस् लागत, आम्दानी र प्रकृया

धर्मराज रिमाल २०८० जेठ २९ गते २२:०५

अब माछापालन गर्नका लागि बिघौं जग्गा आवश्यक पर्दैन । हो, अब ट्यांकीमा नै माछापालन गरेर राम्रो आम्दनी गर्न सकिन्छ जसलाई बायोफ्लक प्रविधि भनिन्छ । यस भिडियोमा हामीले विगत ५ वर्षदेखि चितवनमा बायोफ्लक प्रविधिबाट माछापालन गरिरहेका र सयौं युवालाई यस बारेमा तालिम दिएर सक्षम बनाइसकेका युवा एग्रो फार्म एन्ड रिसर्च सेन्टरका कपिलराज रेग्मी र प्रकाश पन्थीसँग बायोफ्लक प्रविधिका बारेमा कुराकानी गरेका छौं । जीविको संवादमा कपिलराज र प्रकाशसँग ७ प्रश्न-उत्तरमा ट्यांकीमा माछापालन अर्थात् बायोफ्लक प्रविधिका बारेमा अधिक जानकारी लिने प्रयास गरेका छौं ।

हेर्नुहोस्, भिडियो:

जीविकोसँगको कुराकानीमा ट्यांकीमा माछापालन (बायोफ्लक प्रविधि)का बारेमा युवा एग्रो फार्म एन्ड रिसर्च सेन्टरका कपिलराज रेग्मी र प्रकाश पन्थीको धारणा संक्षेपमा:

ट्यांकीमा माछापालन, जान्नुहोस् लागत, आम्दानी र प्रकृया

बायोफ्लक प्रविधि किन त भन्दा नेपालमा वर्षौँ अघिबाट पोखरीमा माछा पाल्ने चलन चल्दै आएको छ । त्यससँगै चिसो पानीलाई मध्यनजर गरेर ट्राउट माछापालन पनि सुरु भयो।

तर समयक्रमसँगै माछापालनका लागि पर्याप्त जमिन हुनेले खन्न दिने अवस्था छैन र बायोफ्लक प्रविधिमा थोरै जमिन हाई डेन्सिटीमा माछापालन गर्न सकिन्छ र यसलाई बजारीकरण पनि मज्जासँग गर्न सकिन्छ । हामी आफैँले पनि बायोफ्लक प्रविधिको प्रयोग गरेर १ हजार रुपैयाँ केजी पर्नेसम्म माछा उत्पादन गरेका छौँ ।

किसानहरूले यदि बायोफ्लक प्रविधि प्रयोग गरेर उत्पादित माछालाई बजारसम्म पुर्याउन सक्दा वा एग्रो टुरिजम मार्फत उत्पादित माछालाई खपत गराउन सक्ने हो भने बायोफ्लकले मुनफा अवश्य दिन्छ ।

जीविकोसँगको कुराकानीमा युवा एग्रो फार्म एन्ड रिसर्च सेन्टरका कपिलराज रेग्मी (बाँया) र प्रकाश पन्थी (दाँया)

बायोफ्लकको पनि फाइदा र बेफाइदा दुबै छन् नेपालको सन्दर्भमा चाहिँ नेपाल सब ट्रपिकल जोन अन्तर्गत पर्छ जहाँ बायोफ्लक प्रविधिको प्रयोग गरेर ट्रपिकल जोन भन्दा बढी माछा उत्पादन गर्न सकिँदैन । खासमा बायोफ्लक प्रविधिको प्रयोगमार्फत एउटा ट्याङ्कीबाट नै १ हजार केजीसम्म माछा उत्पादन गर्न सकिन्छ भनेर प्रचार भएको पाइन्छ तर नेपाली सन्दर्भमा यो उत्पादन त्यति हुँदैन ।

एकैपटक कमाउँछु झ्याप्पै कमाउँछु भनेर बायोफ्लक प्रविधिसँग जोडिने चाहिँ होइन, म किसान दाजुभाइहरूलाई पहिला प्रविधिको ज्ञान लिएर आउनुहोस् अनि मात्र तपाईंको आय बायोफ्लक प्रविधिमार्फत लिन सक्नुहुन्छ ।

युवा एग्रो फार्म एन्ड रिसर्च सेन्टरमा बायोफ्लक प्रविधि

बायोफ्लक भनेको पानीलाई ब्याक्टेरियाको माध्यमबाट ब्यालेन्स गर्दै गर्न सकिने प्रविधि हो । यो प्रविधिमा चाहिँ ट्याङ्कीमा राखेको पानीलाई बदलिरहनु पर्दैन । यसको मतलब माछाले पानीमा दिसा गरे पनि अर्को ब्याक्टेरियाको माध्यमबाट पानीलाई शुद्धिकरण गर्दै माछापालन गरिन्छ । अर्थात् यसमा पानी परिवर्तन नगरी पनि माछापालन गर्न सकिन्छ ।

यो प्रविधिमा माछापालन गर्दा २० डिग्री भन्दा माथिको तापक्रममा माछा फस्टाउँछ र पानी शुद्धिकरण गर्ने ब्याक्टेरियालाई पनि फस्टाउनका लागि २० डिग्री भन्दा माथिको तापक्रम चाहिने हुन्छ ।

४ डायमिटरको ट्याङ्कीमा १० हजार लिटर पानी आँट्छ र यहाँ ६ सय देखि ७ सय माछा राख्न मिल्छ र यसलाई ६ महिनाको अन्तरालमा ५ सय ग्राम सम्मका माछा उत्पादन गरेर बेच्न सक्नुहुन्छ ।

वर्षमा २ पटकसम्म यस प्रविधिमार्फत एउटा ट्याङ्कीबाट माछा  उत्पादन गर्न सकिन्छ तर यसको लागि प्रविधिको ज्ञान चाहिँ महत्वपूर्ण हुन्छ । पुस माघको समयमा माछा त्यति नफस्टाउने हुँदा ब्यालेन्स गरेर उत्पादन गर्न सक्नेले चाहिँ वर्षमा २ पटकसम्म यो प्रविधिको प्रयोगबाट एक ट्याङ्कीबाट दुईपटकसम्म माछा उत्पादन गर्न सक्छ ।

देश र विदेशबाट धेरै जसो साथीहरूको एउटा ट्याङ्कीबाट माछापालन सुरुवात गर्दा कति खर्च आउँछ भनेर सोध्नुहुन्छ । वास्तवमा साधारण हिसाबले अलि सुलभ सामाग्रीहरू प्रयोग गरेर माछापालन गर्दा १ लाख रुपैयाँसम्ममा नै माछापालन सुरुवात गर्न सकिन्छ । तर त्यसरी सुरुवात गर्दा किनिएका सस्तो वाटरपम्पहरू चाहिँ त्यही एउटा ट्याङ्कीको लागि मात्र उपर्युक्त हुन्छ ।

यदी तपाईंले हामीले सुरुवात गरे जसरी माछाको ट्याङ्की राख्ने भुइँलाई ढलाइसमेत एयर अक्सिट्युबको प्रयोग गरेर माछापालन गर्न चाहनुहुन्छ भने चाहिँ यो १ लाखमा तयार हुँदैन ।

ठूलो फार्म गर्ने सोच्दै हुनुहुन्छ भने पम्प पाइपहरूलाई अन्डरग्राउण्ड गरेर माछापालन सुरुवात गर्नुपर्छ । यसरी राखिने पम्पलाई डाइफार्म पम्प भनिन्छ । यस्ता सामग्रीहरूलाई कसरी प्रयोग गर्ने ? सस्तो मूल्यको लगाउने वा महँगो मूल्यको लगाउने भन्ने विषयहरुले एक ट्याङ्की बराबरको लगानी निर्धारण हुन्छ ।

सुरुवातमा गर्दा पहिला सिक्ने अनि व्यवसायिक गर्ने भन्दा २ वटा जति ट्याङ्कीबाट माछापालन सुरुवात गर्न म सुझाउँछौ । यदि तपाईं सुरुवात देखि नै व्यवसायिक रुपमा जाने सोच बनाउनुभएको छ भने चाहिँ तपाईँहरूले ८ वटा ट्याङ्कीबाट माछापालन सुरुवात गर्दा हुन्छ । तर, यसमा महत्वपूर्ण कुरा चाहिँ प्राविधिक ज्ञान हुने हुनाले सुरुवातमै धेरैवटा ट्याङ्की राखेर माछापालन गर्नु भनेर हामी सुझाउँदैनौँ ।

यो प्रविधिबाट माछापालन गर्दा जनशक्ति एकदमै कम लाग्छ । १ जना व्यक्तिको मेहनतले नै तपाईंले ५० वटा ट्याङ्कीमा माछापालन गर्न सक्नुहुन्छ ।

अर्को कुरा चाहिँ तपाईंले जमिनको लागि धेरै खर्चिनु पर्दैन तपाईंको आफ्नै जमिन नभएर लिजमा नै माछापालन गर्छु भन्दा पनि त्यति महँगो हुँदैन । अहिले १७ वटा ट्याङ्की राखेर हामीले डेढ कठ्ठा जग्गामा माछापालन गरिरहेका छौँ । तर, यति क्षेत्रफलमा गरिएको माछापालनबाट हुने उत्पादन चाहिँ ३ देखि ४ बिगाहा जमिन बराबरीको छ ।

त्यसैले यो प्रविधि आफैँमा सफल प्रविधिको रुपमा रहेको छ ।

यदि तपाईंलाई बायोफ्लक प्रविधिमार्फत माछापालन गर्नु खोज्नुभएको छ र यसबारे बुझ्न चाहनुभएको छ भने युवा एग्रो फार्म एन्ड रिसर्च सेन्टरमा सम्पर्क गर्न सक्नुहुन्छ । हामीले चाहिँ विगत ५ वर्षदेखि बायोफ्लक प्रविधिमार्फत माछापालन गर्दै आएका छौँ र हामी यसबारे विभिन्न तालिमहरू पनि दिँदै आएका छौँ । यसको लागि चाहिँ हाम्रो फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।

युवा एग्रो फार्म एन्ड रिसर्च सेन्टरमा बायोफ्लक प्रविधिबाट हुने माछापालनका तालिम, अभिमुखीकरण

बायोफ्लक प्रविधिमा माछापालन गर्दा पहिलो चुनौती प्रविधि हो । प्रविधिको ज्ञान नभई माछापालन गर्न थाल्नुभयो भने अप्ठ्यारो पर्न सक्छ ।

दोस्रो ध्यान दिनुपर्ने कुरा चाहिँ विद्युतीय ब्याकअपलाई चाहिँ मध्यनजर गर्नुपर्छ । ३ घण्टा ४ घण्टासम्म पनि विद्युत नभएर ट्याङ्कीमा विद्युत पुग्न सकेन भने माछाहरूलाई अप्ठ्यारो पर्न सक्छ । त्यसको बारेमा पनि पूर्व सचेत चाहिँ भइरहनुपर्छ ।

एउटा किसानले १ वटा ट्याङ्कीबाट ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सक्छन् । यदि तपाईंले १ वटा ट्याङ्कीबाट माछापालन सुरुवात गर्नुभयो भने १ वर्षसम्म चाहिँ अर्को ट्याङ्की थप्न सक्ने अवस्थामा पुग्न सक्नुहुन्छ ।

हामीले आफैँले सिकाएका साथीहरूले बायोफ्लक प्रविधिलाई प्रयोग गरेर भारतबाट १/२ रूपैयाँमा माछाको भूरा ल्याएर अलि ठूला बनाएर ११-१२ रूपैयाँसम्म बेचेर मनग्य आम्दानी लिइरहेका छन् । यदी बजार क्षेत्रमा तपाईं बायोफ्लक प्रविधिमा माछा पाल्दै हुनुहुन्छ भने बजार बुझ्न जरुरी छ । तपाईंको क्षेत्रमा कुन प्रजातीको माछा बढी रुचाइन्छ त्यहि प्रजातीको माछापालन गर्नुभयो भने तपाईंले मनग्य आम्दानी लिन सक्नुहुन्छ । अहिले सहरीकरणले खेती गर्न लायक जग्गा जमिन घट्दै गएको परिवेशलाई हेरेर दीर्घकालीन समाधानका लागि हामीले बायोफ्लक प्रविधिमा माछापालन गर्न सुरूवात गरेका हौँ । 

अहिले हामीसँग ३ डायमिटर र ४ डायमिटरको गरि २ प्रकारका ट्याङ्कीहरू छन् । ४ डायमिटरको ट्याङ्कीमा १० हजार लिटर पानी आँट्छ र ५ सय वटासम्म माछा उत्पादन हुन्छ । तर सुरुवात गर्दै हुनुहुन्छ भने हाम्रो सुझाब चाहिँ ३-४ सय वटा भुरा हालेर २-३ सय केजी माछा उत्पादन गर्ने सल्लाह दिन्छौँ । सुरुवातमा थोरै उत्पादन गरेर मुनाफा लिन सक्नुभयो भने अर्कोपटक त्यही ट्याङ्कीबाट तपाईंले धेरै माछा उत्पादन गर्न सक्नुहुन्छ । र हामीले परिवेश हेरेर पनि माछापालन गर्नुपर्छ तराइमा माछाको मूल्य कम हुन्छ भने पहाडमा धेरै हुन्छ ।

युवा एग्रो फार्म एन्ड रिसर्च सेन्टरले संचालनमा ल्याएको किसान चुल्हो । आफैले उत्पादन गरेका माछालाई यहाँ विभिन्न परिकार बनाएर बेच्ने गरिन्छ ।

त्यसैले उत्पादन गर्न प्रविधिलाई जोड्नुभयो भने मुनाफा कमाउन सकिन्छ । हामीसँग चाहिँ १७ वटा ट्याङ्की छ । हामी  कम पानीले पनि हुने भनेर टिलापिया र जलकपुर माछा बढी उत्पादन गर्छौँ । माछाको बजार पनि नेपालमा ठूलो छ । हामीले त आफ्नै रेष्टुरेन्ट पनि खोलेका छौँ हामीले हाम्रै रेष्टुरेन्टमा माछा बेचेर पनि खपत गरिरहेको अवस्था छ ।

…….

युवा एग्रो फार्म एन्ड रिसर्च सेन्टर
चितवन, सम्पर्क: ९८५११३८००१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *