उद्यम गरेर नेपालमा‍ डलर नकमाइएला तर जीविको मज्जाले चल्छ !(भिडियो)

बिना सुनार २०८० जेठ १७ गते २१:१०

वैदेशिक रोजगारीको लागि साउदी अरेबिया पुगेका जाबिर हुसेनको ४ वर्ष पछि घर फर्कँदा गोजी भने रित्तै थियो । चन्द्रागिरी ३ थानकोटका जाबिर २०६७ साल तिर वैदेशिक रोजगारीका लागि साउदी उडे । साउदीको होटलमा म्यानेजरको पदमा रहेर काम गरेका जाबिरको कमाइ राम्रै थियो ।  

विदेशमा ४ वर्षसम्म कमाएको पैसालाई बचत गर्न नजानेपछि उनीसँग केही व्यवसाय सुरुवात गर्ने पैसासम्म थिएन । 

हातमा पैसा नहुँदा बेचैन भएका जाबिरले फेरी २०७२ ताका विदेशनै फर्कने योजना पनि बुने । 

पढाईमा अब्बल जाबिरले साउदीमा बसेर फर्किएपछि अष्ट्रेलिया जाने प्रयास नगरेका पनि होइनन् । तर, बीचमै उनको मन फेरियो र सोचेँ अष्ट्रेलिया पुग्ने पैसाले त देशमै कमाइहालिन्छ नि ! 

हेर्नुहोस् : जाबिर हुसेनको भिडियो कथा
जाबिर हुसेन/ फोटो : पुष्कल श्रेष्ठ/जीविको

“मसँग हातमा पैसा थिएन । केही पैसा परिवार अनि साथीभाइसँग जोहो गरेर अष्ट्रेलिया जाने सोचलाई बिट मारेँ र मेमोसा क्याफेको सुरुवात गरेँ,” जाबिरले सुनाए ।  मेमोसा क्याफे चाइनिज फुडका लागि थानकोट आसपास चिनिने रेस्टुराँमा पर्छ । विदेश नगई ३ लाख लगानी लगाएर सुरुवात गरेको मेमोसा क्याफेले आम्दानी पनि राम्रै गरेको छ । 

जाबिरको रेस्टुराँमा लाफिङ, चाइनिज आइटम, नेपाली, इन्डियन, हलाल फुड देखि युरोपियन सम्मका खानेकुरा पाइन्छ । 

हेर्नुहोस् : जाबिर हुसेनको भिडियो कथा

रेस्टुराँमा जाबिर आफैँ सेफ छन् । ग्राहकको स्वाद अनुसारको खाना आफैँ बनाउँछन् ।  जाबिर भन्छन्, “साउदी हुँदा होटेल क्षेत्रमा काम गरेकाले अनुभव थियो अनि आफैँ पकाउन बनाउँन थालेँ । आफैँ खटिएपछि बचत पनि हुने स्वाद अनुसार बनाउन पनि पाइने ।”

मेमोसामा काम गर्दै जाबिर/फोटो : पुष्कल श्रेष्ठ/जीविको

सबैसँग मिठो बोल्ने जाबिरको व्यवहारले गर्दा मेमोसा क्याफे अहिलेका युवा युवतीको रोजाइमा पर्छ । बिहान देखि नै क्याम्पस कलेज पढ्ने विद्यार्थीहरूको राम्रो जमघट मिमोसामा देखिन्छ । 

हेर्दा चिटिक्क देखिने मेमोसा कसरी ३ लाखकै लगानीमा सुरुवात भयो हामीले जाबिरलाई सोध्यौँ ।  लकडाउनको समयमा घरमा आसपास भेटिने सामाग्रीहरूलाई बटुलेर जाबिरले रेस्टुराँमा चाहिने सामानहरू बनाउन थालेछन् । 

ड्रमलाई काटेर टेबल, टिभीलाई राखेर डेस्क अनि पुराना क्यासेट चाहिँ भित्ताको डेकोरेसन गज्जबकै आइडिया लगाएपछि जाबिरको रेस्टुराँ ३ लाख लगानीमै सुचारू भयो । 

त्यसबेला विदेश जाने सोचलाई त्यागेका जावेदले अहिले पनि खर्च कटाएर मासिक ६० हजार भन्दा बढी बचाउँछन् । 

उनी भन्छन्, “स्वदेशमा काम गर्दा आनन्द नै बेग्लै हुन्छ । यस रेस्टुराँमा पनि म आफैँ कामदार म आफैँ मालिक भएको छु । आफ्नो सम्पत्ति जस्तो लाग्छ ।” विदेशबाट फर्किएर नेपालमै उद्यम गरेका उनलाई विदेश जानुअघि नै नेपालमै केही आँट गर्दा जितिन्छ भन्ने लाग्छ । 

“विदेशबाट फर्कियो चिनजानका मान्छे कहाँ पुगिसक्छन्, परिवेश बदलिन्छ बरु नेपालमा रहँदै केही उद्यम आँटे धेरै अगाडि पुग्न सकिन्छ,” जाबिर सुनाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *