मसला मिलको काइदा: ३ लाख खर्चंदा मासिक ४० हजार फाइदा (भिडियो)

बिना सुनार २०८० जेठ १० गते १७:०५

काठमाडौं घट्टेकुलो चोक पुग्दा नपुग्दै जिरा धनियाँ, गरम मसलाको वास्ना हर्रर्र आइहाल्छ । विगत २० वर्षदेखि घट्टेकुलोमा रविन श्रेष्ठ (४५) ले त्यहाँ मसलाको वास्ना छर्दै आएका छन् । शक्ति मसला मिल चलाउँदै गरेका उनले  मसलासँगै चामल, खुर्सानी, दाल लगायतका सामग्री पिस्ने गर्छन् । शक्ति मसला मिलमा बिहानको ५ बजेबाटै चहलपहल सुरु हुन्छ । सबेरै मिलमा कोही भिजाएको चामल, कोही जिरा त कोही बेसार लिएर पिसाउन आइपुग्छन् ।

२ दशक मसला मिलमा बिताएका रविन श्रेष्ठ पसल वरपरका मानिसहरूसँग पारिवारिक भइसकेका छन् । यसक्षेत्रका मानिसहरू पनि मसला पिसाउनु परे  शक्ति मसला मिलमा नै पुग्ने गर्छन् ।

रविन २२ वर्षको हुँदा गरिखाने उपाय खोज्न थाले । उनीसँग ठूलो व्यापार व्यवसाय गर्न लगानी थिएन । त्यही समय उनलाई आइडिया फुर्‍यो – मसला मिल सञ्चालन गर्ने ।

“मसँग जागिर गर्न पढाईको सर्टिफिकेट थिएन, ठूलो उद्यम गर्न पैसा पनि, सानो लगानीमा के गर्न सकिन्छ भन्ने बुझ्दा मसला मिल राम्रो हुने सुनें अनि मेसिन किनेर मिल खोल्ने विचार गरें”

रविनसँग मिल खोल्नको लागि पैसा थिएन, उनले ४० हजार रुपैयाँ बैङ्कबाट कर्जा लिएर ३० हजार रुपैयाँले मसला पिस्ने मेसिन किन्ने सुर कसे । उनले पहिला एउटा मेसिन लिए । त्यही मेसिनमा जिरा, बेसार पिस्न थाले । विस्तारै ग्राहक पनि थपिन थाले । व्यापार फस्टाउँदै गएसँगै रविनले एक पछि अर्को मेसिन किन्दै गए । अहिले उनीसँग ८ वटा मेसिन पुगेको छ । मसला पिसेर नै खर्च कटाएर मासिक ४० हजार रुपैयाँ बचाउँछन् रविन ।

शक्ति मसला मिलमा रहेका मसला पिस्ने मेसिनहरू, फोटो : पुष्कल श्रेष्ठ/जीविको

उनी भन्छन्, “अहिले पनि ३ लाखसम्म लगानी लगाए मज्जाले मसला मिल खोल्न सकिन्छ । आम्दानी पनि राम्रै हुन्छ ।”

राम्रो ठाउँको छनोट गरेर मसला मिल खोल्न सके ३०-४० हजार रुपैयाँ कमाउन विदेश जानै नपर्ने रविन सुनाउँछन् । मेसिन ल्याउने र आफै खट्ने हो भने यो व्यवसाय राम्रो आम्दानीको स्रोत बन्नसक्छ । धान, मकै कोदो, मसला हामीलाई  दैनिक आवश्यक पर्ने  भएकाले यो व्यवसाय घाटामा नजाने रविनको अनुभव छ ।

जिरा पिसेर सुरुवात गरिएको मसला मिलमा अहिले चामल, गहुँ, बेसार, दाल लगायत थुप्रै खाद्यान्न अनि मसला पिसिन्छ । घरायसी प्रायोजनको लागि मात्र नभएर रविनले होटलहरूमा पनि मसला सप्लाइ गर्ने गरेका छन् । काठमाडौं वरपर मात्र नभएर शक्ति मसला मिलमा पिसिएको मसलाहरू बाहिरी जिल्लाहरूमा पनि पठाउने योजना उनको छ ।    

शक्ति मसला मिलमा ग्राहकले ल्याएको मसला पिस्दै रविन, फोटो : पुष्कल श्रेष्ठ/जीविको

दिनको १० \ १२ घण्टा धुलो, खारमा खटिनु परे पनि रविन आफ्नो व्यवसायबाट सन्तुष्ट छन् । घेरै बसोबास भएको  आवासीय क्षेत्रमा मसला पिस्ने व्यवसाय सुरुवात गरेकाले यसरी सफलता पाउन सकेको उनी बताउँछन् । 

“मसला पिसेर नै पनि जीविकोपार्जन सहजै गर्न सकिन्छ । मैले व्यवसायबाट परिवारको जीविका चलाएँ अनि छोराछोरी पढाएँ ।”

हेर्नुहोस् भिडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *