परदेशबाट आमालाई सम्झिँदा

परदेशिएको छोरो २०८० वैशाख १५ गते २१:१८

दूरदेशबाट थकित शरीर र व्यग्र मनले आमा तिमीलाई यो सानो पत्र लेख्दै छु ।आज निन्द्रा लागेन रातभर छटपटी भयो पटक पटक ब्यूँझिरहेँ तिम्रो याद खुबै आयो अनि सोचेँ अब त घर फर्किन्छु ।‍ सेतो कमेरोले लिपेको पेटी, रातमाटे डाँडाको रातेले पोतेको चुल्हो सम्झिरह्यो तर सोचेँ म त चुँडिएका चप्पलका लोती टालेर, तिम्रो ओठमा त्यही मुस्कान फुलाउन परदेशिएको हुँ।

मन भारी भयो र हिँडे ५० डिग्री रापमा आफ्नो भाग्यलाई सेकाउन । बिहानै आँखाभरि तिम्रा चाउरिएका अनुहार आइरहे लेख्न सकिन, १४ घण्टापछि गर्हौँ हात पारेर तिमीलाई पत्र लेख्दै छु दिमागमा छापेको तिम्रो अनुहारलाई सम्झिएर खबुसले पेट भर्दै छु आमा।

आमा तिमीले पस्किएर दिएको खाना खाएझैँ चाहिँ नहुने रहेछ परदेश, यहाँ पसिनाका धारा छुट्नेगरी अनि हातका रेखा मेटिने गरि काम गर्नुपर्छ ।

तिम्रो न्यानो काख छाडेर म परदेशिने दिन तिमीले टीका लगाएर बिदाइ गर्दैगर्दा भनेकी थ्यौ, ‘बाबु, म त डुब्ने बेलाको घाम न हो । छिट्टै घर फर्की आउनु है’ यसो भन्दै गर्दा तिम्रो आँखामा साउने भेल बगिसकेका थिएँ । फाटेको पछ्यौरीले आँखाको आँशु पुछ्दै भनेकी थ्यौ, ‘आफ्नो ख्याल राख् है बाबु । आफ्नो देश, आमाको मायालाई जहाँ भएपनि कहिल्यै नभुल्नु,”

कहाँ भुल्न सकिन्थ्यो र आमा तिमीले मेलापात गरेर मलाई हुर्काएको ।

न मैले देश भुलेको छु न गाउँ भुलेको छु न त तिमीलाई नै भुलेको छु । 

मलाई दुख्दा तिमी दुख्थ्यौ । म रुँदा तिमी रुन्थ्यौ । मलाई आँखा अगाडि देख्दा तिमी सारा दुःख पीडा भुल्थ्यौ आज तिमीलाई अगाडि देखेर पीडा भुलाउन मन छ । सबैकुरा चट्टकै छाडेर तिम्रो काखमा आइपुग्न मन छ ।

आमा रित्तो गोजी र भोको पेटले धेरै कुरा सिकाएर परदेशिएको छु फेरी रित्तै गोजी फर्कन पनि पट्टकै मन छैन । तिमी त केही चाहिँदैन भन्छौँ तर मलाई तिम्रो आधापेट हेर्न पनि छैन । आमा परदेशिलाई न घर छाड्न सजिलो न परदेश । तिमीलाई ल्याइदिने एक पोको कोशेलीमा मैले भन्सार काट्नुपर्छ । फेरी डर पनि लाग्छ आमा परदेशमै तातिएर म बाकसमा आएँ भने बाकसको भन्सार कसरी तिर्छौँ । कसरी ल्याउँछौँ मेरो लास, कसरी सम्हालछौँ मनलाई न सास हुँदा छोरो देख्छौँ न त लास हुँदा नै ।

आमा अनेक ख्याल आउँछन्, परदेशमा मन तिम्रै सेरोफेरोमा डुलिरहन्छ । सम्झिन्छु बुबाको फाटेको टोपी, चुहिने घरको बुँइकल सबै सम्झन्छु । सम्झिन्छु, बालाई कसरी ज्वरोले गलाएर परलोक पुर्‍यायो । कसरी तिमीले साहुसँग ऋण तिर्ने भाका माग्न अनुनय विनय गरेकी थियौ ।

आमा अहिले त पात झरेर उजाड बनेका वनपाखा पनि हरियाली भएका होलान् । दिउँसो केही गर्मी र साँझ–बिहान शिरशिरे बतास चल्छ हाेला । अनि बारीमा मकै, धाप खेतमा चैते धान गोड्ने बेला पनि भयो होला । वनपाखामा कोइलीले गीत गाउँदै होलान् न्याउली रूँदै होलान् । उता पाखामा न्याउली रुन्छ यता परदेशमा उसैगरि मन रुन्छ । उता सम्झ्यो अभावले पिरोल्छ यता साहुको दबाबले पिरोल्छ ।

वर्षौं भयो आमा, तिम्रो र देशको मायालाई मुटुभरि राखी छिट्टै आफ्नै गाउँघर फिर्ता हुने योजना बनाएको । घर आएपछि बाँझा जमिनमा श्रम–पसिना बगाउने, कुटो–कोदालो गरेर तिम्रै काखमा रमाउने सोच पनि आउँछ तर फेरी बालाई जस्तै गाह्रो हुनेगरी तिमीलाई पनि ज्वरो आयो भने अस्पतालमा पैसा के गरी बुझाउने ?

माफ गर आमा, छिट्टै घर फर्किन्छु भनेर अझै केहीवर्ष ढाँट्ने छु तिमीलाई ! जसरी सरकारले लाखौं युवालाई देशभित्रै रोजगारी दिने, उद्यम गर्न अनुदान दिने, सस्तो ऋण दिने भनेर ढाँट्दै आएको छ उसैगरी मैले पनि तिमीलाई कति वर्ष ढाँट्नु पर्ने हो थाहा छैन । अहिलेलाई बिदा मागे आमा ।

उही तिम्रो परदेशिएको छोरो,

सात समुन्द्र पारीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *