वैदेशिक रोजगारीमा राम्रो सेवा सुविधा र स्तरीय कमाइ गर्न के गर्ने ? (भिडियो संवाद)

जीविको २०७९ चैत २८ गते २१:४१

वैदेशिक रोजगारीमा जाँदा कसरी निःशुल्क सीप सिक्ने र सीप सिकेर जान किन अपरिहार्य छ भन्ने विषयमा वैदेशिक रोजगार बोर्डकी निर्देशक (प्रशिक्षण तथा अध्ययन अनुसन्धान) सीता दुवाडीले जीविको भिडियो संवादमा बताएका कुराहरूको सम्पादित अंश:

……..

जसले राहदानी बनाएर वैदेशिक रोजगारीमा जाने सोच बनाउनु भएको छ उहाँहरूका लागि भनेर वैदेशिक रोजगार बोर्डले विभिन्न १८ वटा विषयमा सीपमूलक तालिम प्रदान गर्छ । यी सीपहरू प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तर्गत रहेका तालिम प्रदायक संस्थाहरुमार्फत दिने गरिन्छ ।

यसरी दिने तालिमहरूका बारेमा वैदेशिक रोजगारीका लागि जान लाग्नुभएकाले बुझ्न जरूरी छ । तालिमहरू सञ्चालन गर्ने भएपछि वैदेशिक रोजगार बोर्ड निर्देशनालयले सूचना प्रकाशित गरेर जानकारी दिने गर्दछ । यस्ता तालिमहरूको बारेमा राष्ट्रिय स्तरका सञ्चारमाध्यम साथै गोरखापत्रमा सूचना प्रकाशित गरिन्छ । यसरी दिने तालिमहरू कुन कुन संस्थाले कुन विषयमा र कतिजनालाई सञ्चालन गर्दैछ भनेर पनि प्रकाशित सूचनामा उल्लेख गरिएको हुन्छ । सम्बन्धित संस्था जसले तालिम प्रदान गर्दैछ उहाँहरूले सुरुवातमा तालिमका लागि आवेदकको माग गर्नुहुन्छ । सम्बन्धित स्थानीय तहसम्म गएर माग संकलन गर्ने काम हुन्छ । यसको लागि हामीले पनि तालिम प्रदायकहरूलाई निर्देशन दिएका छौँ । 

सम्बन्धित स्थानीय निकायबाट कुन विषयमा तालिम सञ्चालन गर्नका लागि माग हुन्छ सोही अनुरूपका तालिमहरू सञ्चालन गर्नु भनेर पनि निर्देशन दिएका हुन्छौँ र सोही अनुरूप नै तालिमहरू सञ्चालन भइरहेका छन् ।

वैदेशिक रोजगार बोर्डकी निर्देशक सीता दुवाडी, फोटो : पुष्कल श्रेष्ठ/जीविको

नेपाल सरकारले अदक्ष श्रमिकहरूको सङ्ख्या घटाउँदै दक्ष श्रमिकहरूलाई विदेश पठाउने गरि लिएको नीतिअनुरूप वैदेशिक रोजगार बोर्डमा सीपमूलक कार्यक्रमहरूका लागि बजेट छुट्याएर काम गरिरहेका छौँ । यसरी ल्याएका कार्यक्रमहरू प्रभावकारी हुँदै गएका कारण वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकहरूको सङ्ख्या बढेर गएको छ ।

वैदेशिक रोजगार बोर्डले दिने तालिममा आएको निरन्तरता, तालिम लिने मान्छेलाई ‘यहाँबाट तालिम पाइन्छ है’ भन्ने जनचेतनामा आएको बढोत्तरी, साथीभाइ बीच सीपको महत्वबारे हुने गरेको निरन्तर कुराकानीले गर्दा सीप सिकेर वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सङ्ख्यामा बढोत्तरी भएको हो र यो अझै पनि बढ्नेछ ।

सीप सिकेर जाने मानिसहरूको सङ्ख्या बढिरहँदा सीप नसिकी अदक्ष कामदारको रूपमा विदेशिने श्रमिकहरूको सङ्ख्या पनि उत्तिकै छ । वैदेशिक रोजगारीमा सीप नसिकी जाने एउटा ठूलो जमातलाई कसरी सीप सिकेर विदेश पठाउने भन्ने विषयमा हामी पनि अहिले काम गरिरहेका छौँ । 

हाम्रा श्रमिकहरूले पासपोर्ट बनाउनुभएको छ । राहदानी विभागमा भीडभाड छ । तर, उहाँहरूलाई सीप सिकेर विदेसिनुपर्छ भन्ने चेतना चाहिँ छैन । अब हामीले अर्को वर्षदेखि निकाल्ने सीप सम्बन्धि सूचना राहदानी विभागसम्म लगेर राख्नुपर्ने हो कि भनेर सोचिरहेका छौँ । यसरी राहदानी विभागमा सूचनाहरू राख्दा त्यहाँ पासपोर्ट लिन पुगेकाहरूलाई ‘ओहो यो सीप लिएर चाहिँ विदेशिनुपर्ने रहेछ है !’ भन्ने प्रभाव पनि पर्छ कि भन्ने हामीलाई लाग्छ ।

स्थानीय तहहरूले पनि आफ्नो सम्बन्धित स्थानीय तहका युवाहरूलाई वैदेशिक रोजगार बोर्ड तथा विभिन्न तालिम प्रदायक संस्थाहरूले यस्ता तालिमहरू दिँदैछन् है भनेर समन्वयकारी भूमिका पनि खेल्न सक्छन् ।         

बोर्ड सचिवालयले अहिलेसम्म १८ विधामा; हाउस किपिङ, स्टिल फिक्सर, वेटर, सेक्युरिटी गार्ड, मेसन, कुक, प्लम्बर, हाउस पेन्टिङ, स्काफ फोल्डर, गार्मेन्ट, टेलरिङ, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट इलेक्ट्रिसियन, असिस्टेन्ट वेल्डर, जुनियर ब्युटिसियन र जुनियर फर्निचर मेकरमा तालिम स्वीकृत गरेको छ ।

यसरी यहाँ आधारभुत सीप सिकेर जानेहरूलाई त्यहाँ पनि जोखिम, दुर्घटना, स्वास्थ्यका कुराहरूबारेमा जानकारी हुँदा त्यहाँको परिवेशमा भिज्न गार्हो हुँदैन ।

हामीले सीप सिकाइरहँदा नेपालको सन्दर्भमा दिइएको तालिम भनेजति आधुनिक छैन । नेपालमा सीमित स्रोत, साधन र आधुनिक प्रशिक्षक नहुँदा भनेजति आधुनिक सीप प्रदान गर्न नसकिएको वास्तविकता हो । तर नेपालमा पनि क्रमश: सुधार भने हुँदैछ ।

वैदेशिक रोजगार बोर्डले विदेश जानेलाई मात्र नभइ विदेशबाट फर्किएकाहरुलाई पनि पुनः एकीकरणका लागि पनि काम गरिरहेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले पुनः एकीकरणका लागि भनेर कार्यविधि नै बनाएर काम गरिरहेको छ । बोर्डले विदेशबाट फर्किएर आउनेहरूको तत्थ्याङ्क पनि स्थानीय तहहरूसँगको समन्वयमा तयार गरेर राखेको छ । जसमा विदेशबाट फर्किएका श्रमिकहरूले सम्बन्धित स्थानीय तहमा विदेशमा बस्दा आफूले कुन सीप सिक्नुभएको छ अब के गर्न भन्ने जानकारी गराउनुभएको छ । यही तथ्याङ्कका आधारमा अब वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्किएर आउनुभएका श्रमिकहरूलाई पुनः एकीकरणमा समावेश गर्ने काम गर्नेछ । 

हामीले तालिम सञ्चालन गर्ने दौरानमा म भर्खरै दमक गएको थिएँ , रोचक कुरा त के छ भने उहाँहरू प्राय सबै एकै उमेर समूहको हुनुहुन्थ्यो । हामीले उहाँहरूलाई दिएको १ सय ६० घण्टे तालिमलाई लिएर पनि उहाँहरू एकदमै धेरै उत्साहित हुनुहुन्थ्यो । यसरी आफूहरूले पाएको तालिम साँच्चै जीवन परिवर्तन गर्ने किसिमको रहेको उहाँहरू बताउनुहुन्थ्यो । जतिले यो तालिममा सहभागि भएर तालिम लिनुभयो उहाँहरूलाई यो तालिम गरिखाने खालको लागेको बताउनुभयो ।

हामीले दिने गरेको शिक्षा गरिखाने भन्दा घोकन्ते शिक्षा बढि छ यसलाई परिवर्तन गर्न जरूरी छ । आम नेपाली जो विदेश जाँदै हुनुहुन्छ उहाँहरूले सीप सिकेर वैदेशिक रोजगारीमा गएको खण्डमा राम्रो तलब सुविधा प्राप्त गर्ने, परिवारलाई शिक्षा दिक्षा र राम्रो जीविकोपार्जनको वातावरण बनाउन सकिने हुँदा म सम्पूर्णलाई सीप सिकेर मात्र विदेश जान अनुरोध गर्दछु ।

हेर्नुहोस्, वैदेशिक रोजगारीमा सीप सिक्नुको फाईदाका बारेमा वैदेशिक रोजगार बोर्डकी निर्देशक सीता दुवाडीसँगको भिडियो संवाद:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *