प्रतिष्ठित अमेरिकी फूलब्राइट छात्रवृत्तिमा कसरी दिने आवेदन ? आधिकारिक प्रतिनिधिसँग भिडियो संवाद

जीविको २०७९ चैत २१ गते ८:१२

प्रतिष्ठित अमेरिकी फूलब्राइट छात्रवृत्तिमा मास्टर्स तह अध्ययनका लागि नेपाली विद्यार्थीका लागि आवेदन खुलेको छ । यूसेफ-नेपालका अनुसार मे १ सम्म अनलाइन मार्फत आवेदन दिने समयावधि तोकिएको छ । यसै सन्दर्भमा फूलब्राइट छात्रवृत्तिका बारेमा सम्पूर्ण कुरा बुझ्नका लागि जीविको मिडियाले फूलब्राइट नियोग, यूसेफ-नेपालकी वरिष्ठ कार्यक्रम अधिकृत रक्षा महर्जनलाई ७ वटा प्रश्न गरेको छ ।

हेर्नुहोस्, भिडियो संवाद: प्रतिष्ठित अमेरिकी फूलब्राइट छात्रवृत्तिमा कसरी दिने आवेदन ? आधिकारिक प्रतिनिधिसँग संवाद

फूलब्राइट कार्यक्रम के हो ?

अन्तरदेशीय पारस्परिक सम्बन्ध कायम राख्दै अध्ययन सँगसँगै सांस्कृतिक पक्षको आदानप्रदानका लागि अमेरिकी सरकार र नेपाल सरकार बीचको समन्वयमा सन् १९६१ देखि सुरु भएको कार्यक्रम हो – फूलब्राइट कार्यक्रम ।

यस कार्यक्रम अन्तर्गत नेपाल र अमेरिकामा रहेका विद्यार्थी, अनुसन्धानकर्ताहरू, शिक्षकहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई नेपालबाट अमेरिका र अमेरिकाबाट नेपाल पठाइन्छ ।

फूलब्राइट अन्तर्गत १० देखि १२ वटा कार्यक्रमहरू रहेका छन् । सामान्यतया भन्नुपर्दा वार्षिक रुपमा बढीमा १५ जना नेपालीहरू यस कार्यक्रममा सहभागिता जनाउनका लागि अमेरिका जाने गर्दछन् र सोही सङ्ख्यामा अमेरिकीहरू नेपाल आउने गर्दछन् ।

यूसेफ-नेपालकी वरिष्ठ कार्यक्रम अधिकृत रक्षा महर्जन जीविको संवादमा फोटो पुष्कल श्रेष्ठ/जीविको

फूलब्राइट कार्यक्रम अन्तर्गतका अवसरहरू कसरी थाहा पाउने ?

फूलब्राइट कार्यक्रम अन्तर्गतका अवसरहरू थाह पाउनका लागि यसको सामाजिक सञ्जालहरू हेर्न सकिनेछ । फूलब्राइट कार्यक्रमका लागि आवेदन दिने प्रक्रिया अनलाइन मार्फत हुने गरेको छ । जसको सम्पूर्ण जानकारी वेवसाइटमा उपलब्ध छ । यस सँगसँगै समय समयमा हामीले जानकारीमूलक कार्यक्रम तथा शत्रहरू पनि सञ्चालन गर्ने गरेका छौँ जसमा नेपाली विद्यार्थीले रजिष्ट्रेसन गरेर सहभागिता जनाउन सक्नुहुनेछ ।

वेबसाइटमा कुन कुन कार्यक्रम कहिले हुँदै छ भनेर क्यालेण्डर नै बनाएर राखिएको छ त्यसको आधारमा आफूलाई उपयुक्त हुने अवसरको लाभ लिन सक्नुहुनेछ ।  

फूलब्राइटको ‘अमेरिकामा मास्टर्स अध्ययन कार्यक्रम’ के हो ?

यो अमेरिकी सरकारले प्रदान गर्ने मास्टर्स तहको अध्ययनका लागि छात्रवृति कार्यक्रम हो । जसले २ वर्ष मास्टर्स अध्ययनका लागि पूर्णरूपमा छात्रवृति प्रदान गर्दछ । यस कार्यक्रममा छनोट हुने नेपाली विद्यार्थीले मेडिसिन र नर्सिङ बाहेकका विषयहरू निःशुल्क अध्ययन गर्न पाउनेछन् । आवेदन दिने म्याद फेब्रुअरी १ देखि मे १ सम्म रहेको छ ।

यो कार्यक्रममा निःशुल्क अध्ययन सँगसँगै यात्राको सम्पूर्ण खर्च, बसोबास सँगसँगै मासिक रूपमा निश्चित रकम पनि प्रदान हुन्छ । यसका अतिरिक्त विद्यार्थीको अध्ययन अवधिभर स्वास्थ्य बिमा पनि हुने गरेको छ । फूलब्राइट कार्यक्रममा छनोट हुनेहरूले अमेरिकाको विशिष्ट J1 भिसा प्राप्त गर्नेछन् ।

फूलब्राइट कार्यक्रमको दौरानमा छनोट भएका विद्यार्थीहरूले विभिन्न वर्कसप, सेमिनार, कन्फ्रेन्स तथा इन्टर्नसिप कार्यक्रममा सहभागि हुने अवसर प्राप्त गर्नेछन् ।

फूलब्राइटको ‘अमेरिकामा मास्टर्स अध्ययन कार्यक्रम’ का लागि न्यूनतम योग्यताको मापदण्ड र आवेदन दिने प्रकृया के छ ?

यूसेफ-नेपालको वेबसाईटमा मा गएर अनलाइन मार्फत आवेदन दिनुपर्ने हुन्छ आवेदकले आफ्नो योग्यता चेक गर्नुपर्ने हुन्छ सँगै केही कागजातहरू पनि बुझाउनुपर्ने हुन्छ जुन वेबसाईटमा नै प्रष्ट रुपमा उल्लेख गरिएको छ । सामान्यतया भन्नुपर्दा नेपाली विद्यार्थी जसले चारवर्षे ब्याचलर तह सक्काएको हुनुपर्छ यदि ४ वर्ष ब्याचलर होइन भने ३ वर्षे ब्याचलर सँगसँगै २ वर्षे मास्टर्स डिग्री अनिवार्य हुन्छ । यस कार्यक्रमका लागि आवेदकले बुझ्नुपर्ने अर्को महत्वपूर्ण कुरा भनेको ब्याचलर पश्चात् पुरुषको हकमा कम्तिमा पनि ३ वर्ष कार्यअनुभव भएको र महिलाको हकमा २ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ । हालै ब्याचलर उत्तीर्ण भएका तर कार्यअनुभव नभएका विद्यार्थी यस कार्यक्रममा छनोट हुन पाउने छैनन् ।

वार्षिक रूपमा ४ जना विद्यार्थीलाई फूलब्राइट मास्टर्स कार्यक्रममा सहभागि गराउने गरिन्छ यस वर्ष आवेदन दिएका विद्यार्थीहरूले सन् २०२४ को सेप्टेम्बरमा अमेरिका गएर अध्ययन गर्न पाउनेछन् ।

मास्टर्सका लागि फूलब्राइट छात्रवृत्ति अप्लाई गर्ने लिंक

फूलब्राइट मास्टर्स अध्ययन कार्यक्रमलाई तयारी कसरी गर्ने ? 

सबैभन्दा पहिले वेबसाईटमा गएर न्यूनतम मापदण्ड हेर्नुहोस् जसमा कार्यक्रमका बारेमा सम्पूर्ण जानकारी रहेको छ । यदि तोकिएको मापदण्ड पूरा गर्नुभएको छ भने वेबसाईटमा रहेको एप्लिकेसन पोर्टलमा गएर सर्वप्रथम एकाउन्ट बनाउनुपर्ने हुन्छ । एकाउन्ट बनिसकेपछि त्यहाँ मागिएका जानकारीहरू अनलाइन मार्फत नै उपलब्ध गराउनु पर्ने हुन्छ । जानकारीसँगै २ वटा लेख पनि लेख्नुपर्ने हुन्छ; पहिलो लेख तपाईंले अध्ययन गर्नुको कारणका बारेमा रहेको छ भने दोस्रो लेखमा तपाईंले आफ्नो व्यक्तिगत लक्ष्य, उद्देश्य, जीवनका भावी योजना जस्ता कुराहरू समेट्नु पर्ने हुन्छ ।

त्यस्तै गरि वेबसाइटमा नै आवेदन प्रक्रियाका लागि के कस्ता कागजातहरू आवश्यक छन् भनेर उल्लेख गरिएको छ । कुनैपनि कागजात नछुटाइ आवेदन दिन सम्पूर्ण विद्यार्थीमा म आग्रह गर्दछु । कुनै एउटा कागजात वा जानकारी मात्र छुट्यो भने पनि तपाईंको छनोट हुने सम्भावना नहुन सक्छ । तसर्थ, यसबारेमा सचेत रहनुहोला । तपाईंले बुझाएका कागजातहरू प्रमाणिकरण (document attestation) भएको हुनुपर्ने हुन्छ ।

फूलब्राइट कार्यक्रमका लागि आवेदक छनोट कसरी हुन्छ ?

आवेदन दिने समयावधि मे १ सम्म रहेको छ त्यसलगत्तै आवेदक छनोट प्रक्रिया सुरु हुनेछ । सर्वप्रथम हामीले प्राविधिक रूपमा प्रक्रिया पुगेको छ वा छैन हेर्नेछौँ । सम्पूर्ण जानकारी र आवश्यक कागजात पूरा गरेका आवेदनलाई दोस्रो चरणमा लानेछौँ । तत्पश्चातको हाम्रो प्रक्रिया भनेको उत्कृष्ट आवेदनहरूको मूल्याङ्कन गर्ने हो । यसरी मूल्याङ्कन गर्दा आवेदकको शैक्षिक योग्यतालाई मात्रै नभइ उसको क्षमता, अनुभव र पृष्ठभूमिलाई हेरिनेछ । आवेदकहरूमा लैङ्गिक, सामुदायिक, भौगोलिक, जातीय लगायतका विभिन्न विविधता हेरिनेछ । हाम्रो उद्देश्य भनेको समावेशी अवसरको निर्माण गर्नु हो । बोर्डका पदाधिकारीहरू, अमेरिकी दूतावासका अधिकारीहरू, फूलब्राइटका अल्मुनाई र अन्य विज्ञहरू सम्मिलित आवेदन निरीक्षण गर्ने स्क्रिनिङ कमिटीले आवेदनलाई सूक्ष्म रूपमा अध्ययन गरि त्यसको आधारमा २ देखि ३ महिनाको बीचमा अर्थात् जुनदेखि जुलाईको अवधिमा आवेदक छनोट गरेर अन्तर्वार्ता गरिन्छ र छनोट प्रक्रिया अगाडि बढाइन्छ । त्यसपश्चात् मुख्य कार्यलयमा सिफारिस गरिन्छ ।

फूलब्राइट छात्रवृत्तिमा आवेदन दिन चाहने विद्यार्थीलाई तपाईंको सुझाव के छ ?

आवेदन दिने प्रक्रिया लामो र झन्झटिलो लाग्नसक्छ तर आवेदकले बुझ्नुपर्ने भनेको यो नितान्त आवश्यक प्रक्रिया हो । धेरै लेख्नुपर्ने, विभिन्न कागजातहरू बनाउन पर्ने भन्ने बहाना बनाएर यस्तो महत्वपूर्ण अवसर नगुमाउनका लागि मेरो आग्रह छ । हाम्रो उद्देश्य भनेको सबैभन्दा योग्य नेपाली विद्यार्थीलाई यो छात्रवृति प्रदान गर्नु हो जुन योग्य विद्यार्थी तपाईं पनि हुनसक्नुहुन्छ ।

एउटा महत्वपूर्ण प्रश्न जुन तपाईंले आफैँसँग सोध्नुपर्ने हुन्छ, ‘फूलब्राइट छात्रवृतिका लागि म किन नहुने ?’

कति नेपाली विद्यार्थीहरूले जब अन्तराष्ट्रिय छात्रवृतिको कुरा आउँछ तब आफूले आफूलाई कम आँकलन गर्छन् । कति त आवेदन दिने प्रक्रिया पूर्णरूपमा नबुझी हतोत्साही हुने गर्छन् । उनीहरूलाई सम्भवत लाग्न सक्छ अन्तराष्ट्रिय स्तरको छात्रवृतिका लागि प्रक्रिया नै झन्झटिलो हुन्छ तर वास्तवमा त्यसो हैन ।

उच्च शिक्षा अध्ययनका लागि निश्चित मापदण्ड र प्रक्रिया तोकिएको हुन्छ जुन विद्यार्थीले संयमित भएर पूरा गर्ने हो भने फूलब्राइट छात्रवृति जस्तो अवसर पाउन सकिन्छ । यसरी छात्रवृतिको प्रक्रियामात्र गर्दा पनि आफ्नो क्षमता र अन्तराष्ट्रिय छात्रवृतिमा आवेदन दिने प्रक्रियाका बारेमा धेरै कुरा थाहा हुन्छ ।

हेर्नुहोस्, प्रतिष्ठित अमेरिकी फूलब्राइट छात्रवृत्तिमा कसरी दिने आवेदन ? आधिकारिक प्रतिनिधिसँगको भिडियो संवाद:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *