डिजे नानी भन्छिन् – समाजले चरित्रमा प्रश्न गरिरह्यो, म निर्धक्क अगाडि बढिरहेँ ! (भिडियो)

बिना सुनार २०७९ चैत २ गते १६:३६

साँझको सात आठ बजे प्राय मानिस खाना खाएर दिनभरीको थकाइ मार्ने तरखर गर्छन्, तब हुन्छ डिजे नानीको काम सुरु ।

हुन त हाम्रो समाजमा अझै पनि साँझ परेपछि महिलाहरू घर बाहिर निस्कँदा बिभिन्न तरहका शंका उपशंका तथा टिका टिप्पणी गरिन्छ । रात्रिकालीन समयको काम केवल पुरुषले मात्र गर्ने भन्ने नकारात्मक सोच बोकेको समाजले महिला निस्किँदा उनीहरूको चरित्रमै प्रश्न उठाउने गर्छ । तर यस्ता कुराहरूको वास्ता नगरी डिजे नानी निरन्तर ८ वर्षदेखि काठमाडौंका चल्तिका क्लब, पबहरूमा डिजेइङ गर्दै त्यहाँ आउनेहरूलाई झुमाइरहेकी छिन् ।

हेर्नुहोस् : समाजको शंकालाई सफलतामा परिणत गरेकी डिजे नानीको भिडियो कथा
फोटो: 10X KTM

“मैले त खासै दिउँसोको घाम पनि देख्न पाउँदिन रातभर काम गर्नुपर्छ अनि दिनभर सुतेर बित्छ,” डिजे नानीले सुनाइन् ।

काठमाडौं चाबहिलकी ‘डिजे नानी’ सुस्मिता महर्जन (२२) ले संगीतसँग रमाउँदै नाइट क्लब, बार र पबमा फरक फरक किसिमका गितसंगितलाई मिसाएर त्यहाँ आउने सबैलाई मनोरञ्जन दिने गर्छिन् । तर धेरैले उनलाई सुस्मिता नामले भने चिन्दैनन् । उनी डिजे नानी नामले परिचित छिन् । उनको डिजेइङ कलालाई असाध्यै मन पारेर विषेशत: युवा जमात नाइट क्लब पुग्ने गर्छन् ।             

सुस्मिताले एसइइ दिएपछि केही महिना खाली समय हुने भयो । उनका साथीहरू कोही कम्प्युटर सिक्न गए त कोही ब्युटीपार्लरको तालिम लिन । सुस्मितालाई भने यस्ता कुरामा रुचि थिएन ।  उनलाई केही नयाँ सिकौँ र त्यही पेसामा अगाडि बढौँ भन्ने लागिरहन्थ्यो ।

सुस्मितालाई गित संगीतसँग बाल्यकालदेखिको लगाब थियो । सानैबाट नाच्ने, गाउँने अनि गिटार बजाउन रुचाउने उनले संगीत विधा रोजिन । ८–९ कक्षा पढ्दासम्म उनलाई डिजे पेसा आफ्नो लागि हैन जस्तो लाग्थ्यो । सोच्थिन्, ‘डिजे त केटाहरू हुन् । हामी महिलाले यस्तो काम गर्न मिल्ला र ?’  खासै क्लब अनि पबसम्म नपुगेकी सुस्मिताको दिमागमा यस्ता कुराहरू त आउँथ्यो तर पनि उनलाई डिजे बन्न खुबै इच्छा थियो । 

त्यही समय ताका उनले सामाजिक सञ्जालबाट डिजेका बारेमा जानकारी पाइन् । उनले थाहा पाइन्- डिजेको कोर्स पनि गर्न मिल्ने रहेछ र यसका लागि पुरुष नै हुनुपर्ने भन्ने छैन।  

सुस्मिता भन्छिन्, “म त डिजे भनेको क्लबमा गएर बजाउने अनि नाच्ने मात्र ठान्थेँ, सिक्नु पनि पो पर्दोरहेछ, डिजेको कोर्स हुने थाहा भएपछि मलाई सिकौँसिकौँ लाग्यो र क्लास लिएँ ।” 

सुस्मिता डिजे कोर्स सिक्न जान थालिन् । आफ्नो रुचिको क्षेत्र भएर होला डिजे सिक्न थालेको चार पाँच महिनामै उनले गीत संगीतलाई खेलाउन राम्ररी जानिसकेकी थिइन् । त्यसैले त सिक्न थालेको केही महिनामै उनले क्लबमा डिजे कामको अफर पाइन् । 

फोटो : पुष्कल श्रेष्ठ/जीविको

क्लबमा काम थालिसकेपछि उनको लोकप्रियता बढेर गयो  अनि उनलाई बाहिरी कार्यक्रमहरूमा पनि डिजेको लागि निम्तो आउन थाल्यो । काठमाडौंको क्लबमा मात्र डिजेको काम गर्ने सुस्मिता काठमाडौं बाहिरका कार्यक्रमहरूमा पनि सहभागि हुन थालिन् । उनको काम अनि मेहनतको सफलतासँगै  केही समयमा नै सुस्मितालाई अन्तराष्ट्रिय कार्यक्रमहरूमा पनि निम्तो आउन थाल्यो । 

सुस्मिताको दिनचर्या फेरिएसँगै उनको नाम पनि फेरियो  । केही समय काम गरेपछि सुस्मिता ‘डिजे नानी’को नामबाट चिनिन थालिन् । बोलाउन सजिलो अनि सुनिरहने नाम भएर होला सुस्मितालाई अहिले प्राय: डिजे नानी भनेर नै चिन्ने गर्छन् । 

‘फिमेल डिजे’को रुपमा आफूलाई स्थापित गरेकी सुस्मितालाई यो बीचमा अनेकौँ समस्या भने आइपरे । घरमा आमालाई छोरीले डिजे काम गरेको त्यति राम्रो लागेको थिएन ।

फोटो: 10X KTM

“रातीको समयमा मात्र काम गर्नुपर्ने, त्यसमाथि सुरक्षामा पनि प्रश्न आउने, व्यक्तिगत चरित्रमा शंका उब्जने जस्ता कुराले आमा डराएर डिजेको काम नगर, अरु केही काम छैन र ? भन्नु हुन्थ्यो ,” सुस्मिताले सम्झिइन् ।

सुस्मिताको बुबाले त सजिलै माने तर आमालाई मनाउन भने कठोर मेहनत गर्नुपर्‍यो । डिजे पेसा नराम्रो होइन यो पनि अरु काम जस्तै नै हो भनेर घरपरिवारलाई त बुझाइन् तर घरभन्दा पनि समाजलाई बुझाउन भने सुस्मितालाई झनै कठिन भयो । छोरी मान्छेले पनि यस्तो काम गर्छन् र ? उनले धेरै पटक यो प्रश्नको जवाफ दिनुपर्थ्यो । केटी मान्छे भएर रातबिरात हिँड्ने, नाच्ने, बजाउने काममा किन हिँड्ने ? राम्रो काम त गरेको होइन होला.. भन्ने जस्ता नाना तरहका कुराहरू पनि उनले सुन्नुपर्थ्यो ।  

यस्ता चुनौती बीच पनि सुस्मिताले आफ्नो रुचि भएको पेसालाई त्यागिनन् र निरन्तर यही काम गरिरहिन् ।

“कतिले मलाई केटी मान्छे यस्तो काम किन गरेको? यो काम राम्रो होइन, केटा मान्छेले मात्र यस्तो काम गर्छन् भने तर मैले यस्तो कुराको ख्याल गरिन । म के को लागि काम गर्दै छु भन्ने सोचेर अगाडि बढेँ,” सुस्मिताले भनिन्। 

डिजे पेसालाई लिएर समाजमा जुन किसिमको भ्रम छ, त्यसलाई तोड्दै अगाडि बढेकी सुस्मिता यही पेसाबाट राम्रै आम्दानी गर्छिन् । महिलाले पनि डिजे काम गर्न सक्छन् र डिजे भनेको केटा मात्र हुन्छन् भने गलत धारणालाई परिवर्तन गर्ने उदाहरण बनेकी सुस्मिता यो क्षेत्रमा लाग्न चाहने धेरै महिलाहरूको प्रेरणा बनेकी छिन् । आगामी दिनमा पनि यही पेसालाई अगाडि बढाउने र आफू जस्तै डिजे पेसामा आउन चाहने महिलालाई साथ सहयोग गर्ने उनको उद्देश्य रहेको छ । 

“कमाई राम्रै छ । महिलाहरूलाई पनि यो पेसामा लाग्दा नराम्रो हुँदैन । सिक्न चाहने, गर्न चाहनेले ढुक्कसँग यो पेसामा आउँदा हुन्छ, ” सुस्मिता भन्छिन् ।

समाजले चरित्रमा प्रश्न गरिरहँदा पनि निर्धक्क अगाडि बढिरहेकी सुस्मिता महर्जन ‘डिजे नानी’को भिडियो कथा:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *