त्यसबेला उनले डमबेल उठाइन्, जतिबेला महिलालाई शिर उठाउनै गाह्रो थियो (भिडियो कथा)

प्रतिक ढकाल २०७९ फागुन २८ गते १४:०६

जिम जानु, शारीरिक सुगठन (बडी बिल्डिङ) का लागि अभ्यास गर्नु निर्मला महर्जन(३९) को बालापनदेखिकै धोको थियो । कुरा झण्डै ३ दशक अगाडीको हो, स्कुल जाँदा निर्मला बाटोमै पर्ने जिम हल हेर्दै जान्थिन् । रहर र इच्छाशक्ति भएर मात्र हुँदैन त्यसलाई पूरा गर्नका लागि पुरुषलाई जस्तो महिलालाई सहज छैन भन्ने कुराको जानकारी निर्मलाको बाल मष्तिष्कलाई थिएन । जिम जानु भनेको सामाजिक मान्यताको विपरित जानु हो भन्ने बुझाई थियो त्यसबेला ।

हेर्नुहोस्, जिम ट्रेनर निर्मला महर्जनको भिडियो कथा

जिम हललाई हेर्दै पढ्न जाने क्रम निरन्तर चलिरह्यो । जिम प्रति निर्मलाको लगावलाई सोही जिममा तालिम दिने ट्रेनरले निहालीरहेका रहेछन् । संयोगवश एकदिन तालिम दिने गुरुले निर्मलालाई बोलाए । छोरी मान्छेले पनि जिमको तालिम लिन सक्छन् भनेर गुरुले सुनाएपछि निर्मलाको मन फुरुङ्ग बन्यो ।

निर्मलाले जिम जाने बारे घरमा सुनाइन्, आमा त सहजै मान्नुभयो तर बुबालाई भने मनाउन गाह्रो भयो । निर्मला भन्छिन्, “१४-१५ वर्षको उमेर थियो मेरो, त्यही पनि छोरा मान्छेमात्र जाने प्रचलन भएको हुँदा बुबालाई सम्झाउन निक्कै समय लाग्यो मलाई ।” धेरै दिन निर्मलाले सम्झाएपछि उनका बुबा छोरीलाई जिम पठाउन तयार भए । निर्मलाको अब जिमको यात्रा सुरु भयो ।

नियमित शारीरिक अभ्यास गर्दै जिम ट्रेनर निर्मला महर्जन

सिक्ने उद्देश्य लिएर जब पहिलोपटक निर्मला जिम सेन्टरमा पुगिन्, तब सबैको आँखा उनी माथि पर्‍यो । एकछिन त सन्नाटा नै छायो, मान्छेहरू आँखा झिमिक्क नगरी एकटकले हेर्दै थिए निर्मलालाई । आजभन्दा २५ वर्षअघि जिमखानामा छोरीमान्छे पुग्नु नै अनौठो कुरा थियो । 

“सिक्नका लागि भनेर जुन दिन म जिम पुगेँ, त्यहाँ रहेका सबैले छक्क परेर हेरेका थिए, केटै केटाको बिचमा एक्ली केटी पस्दा उनीहरूलाई अचम्म लागेको होला,” निर्मललाले सुनाइन् ।

अवस्था पनि त्यस्तै थियो, त्यस समयसम्म नेपालमा जिम गर्ने कोही पनि महिला नै नभएको निर्मला बताउँछिन् ।

सुरू सुरूमा त उनलाई जिममा अफ्ट्यारो पनि लाग्थ्यो सबै छोरामान्छे मात्र सिक्न आउने तर उनी भने एक्ली महिला ।

अफ्ट्यारो लागेपनि उनी जिम जान भने छाडिनन् । उनले जिम गर्न सुरु गरेपछि धेरैले उनलाई ‘छोरीमान्छे भएर यस्तो गर्नु हुँदैन’ भनेर भन्न थाले । कतिले लाजको विषय भने अनि कसैले परम्पराको कुरा गर्न थाले । नबिराउनु नडराउनु भनेजस्तो गलत काम नगर्दासम्म हतोत्साहित गर्नेहरूको कुरा सुन्नु हुँदैन भनेर निर्मला निरन्तर जिम जान थालिन् ।

जिम गर्न सुरु गरेको छोटो समयमै निर्मलाले त्यहाँ आउने अन्यलाई पनि सिकाउने गर्थिन् ।

सन् २००५ तिर बडी बिल्डिङ अन्तर्गतको नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता धर्मश्रीमा पहिलोपटक  महिलाहरुलाई पनि प्रस्तुत गर्ने  निर्णय भयो । 

त्यस समय महिलाहरु जिम हल जाने खासै चलन नभएकाले निर्मला लगायत तीन जनालाई मात्र धर्मश्रीमा प्रस्तुत गरियो । महिलाहरूलाई जिमखानामा जान नै चुनौतीपूर्ण समय रहेको अवस्थामा निर्मलालाई टु पिस लगाएर बडी बिल्डिङ प्रतियोगितामा सहभागी हुनुपर्ने अवस्था आयो । त्यसबेला ‘महिला र संस्कार’ भन्ने विषयमा आँफैलाई जानकार घोषणा गरेकाहरूले आफ्नो बौद्धिक तर्कहरू राख्न थाले । महिलाहरू बडी बिल्डिङमा प्रतियोगितामा सहभागी हुनु भनेको सामाजिक मन्यताको अवमूल्यन गर्नु हो भन्न थाले । तर यी कुराहरुलाई निर्मलाले वास्ता नै नगरी अगाडि बढिन् ।

उनी भन्छिन्, “समाजले के भन्ला, परिवारले के भन्ला भन्ने सोच नै आएन मलाई । १८ वर्षअघि धर्मश्रीमा टु पिस लगाएरै खेलेँ ।”

धर्मश्री खेलेपछि निर्मलालाई बडी बिल्डिङ खेलमा बाटो खुल्यो । विभिन्न प्रतियोगितामा सहभागी पनि हुने अनि अरुलाई पनि सिकाउने गर्न थालिन् उनले । 

तर, बडी बिल्डिङको यो यात्रामा निर्मलाले खुबै संघर्ष गर्नुपर्यो । पहिला समाजले के भन्ला भन्ने प्रश्नको सामना अनि खेल्ने बाटो बनाएपनि मध्यम वर्गिय परिवारकी निर्मललाई पोषिलो डाइट खान आर्थिक समस्या थियो । जिमखानाको खर्च ब्यहोर्नै उनले होटलमा भाँडा माझिन् त केही वर्ष क्लबमा बाउन्सरको काम गरिन् । यही क्रममा बाउन्सर भएर उनी वैदेशिक रोजगारीका क्रममा माकाउसम्म पुगिन् ।

निर्मला बडी बिल्डिङमा लागिरहिन् तर यो क्षेत्रमा महिलाको ठाउँ भने बन्न सकिरहेको थिएन । धर्मश्री खेलेको १० वर्षपछि आफैँ खर्च जुटाएर शरिर बनाइन् र पहिलोपटक अन्तराष्ट्रिय खेलमा भाग लिइन् । 

२०१५ मा निर्मलाले थाइल्याण्डको बैङ्ककमा बडी बिल्डिङको महिला च्याम्पियनसिप खेलिन् । प्रतियोगिताका लागि भनेर उनी देश विदेशका विभिन्न ठाउँमा पुगेर आफ्नो कौशलता प्रस्तुत गरिन् । 

जीविकोसँग कुराकानी गर्दै निर्मला महर्जन

उनको यात्रा यहीँ रोकिएन । कोभिडको समय उनले जिमखाना खोल्ने निधो गरिन् र सुरूभयो इटरनिटी फिटनेस

आफ्नो खेललाई नै पेशा बनाएकी निर्मलालाई बडी बिल्डिङको यात्रामा परिवारले पनि साथ दिएको छ । उनका दुई छोरामध्ये ठूलो छोरालाई उनले यसै क्षेत्रमा लगाएकी छिन् । उनका श्रीमान् पनि उनकै व्यवसायमा साथ दिँदैछन् ।

एउटा त्यस्तो समय थियो जतिबेला निर्मला पहिलोपटक जिममा छिर्दै गर्दा मान्छेहरू आँखा झिमिक्क नगरी एकटकले हेर्ने गर्थे । उनले जिममा अभ्यास गर्दा र विभिन्न बडी बिल्डिङको प्रतियोगितामा जाँदा ‘छोरी मान्छेको संस्कार र इज्जत’ का विषयमा धेरैले पाठ पढाउने गर्थे । निर्मलाको त्यसबेलाको आँटले गर्दा छोरी मान्छे जिमखाना जानै नहुने गलत सामाजिक मान्यता तोडिएको छ । अहिले निर्मलाले जिम ट्रेनरको रुपमा पुरूषहरूलाई नै सिकाउँदै आइरहेकी छिन् ।

निर्मला भन्छिन्, “तपाईंलाई रोक्न खोज्ने धेरै हुन्छन् तर अरूको कुरा सुनेर अल्झिने कि आफ्नो योजनालाई साकार गर्ने भन्ने कुरा तपाईंमै निर्भर हुन्छ ।”

हेर्नुहोस्, महिलालाई शिर उठाउनै गाह्रो रहेको अवस्थामा डमबेल उठाएकी जिम ट्रेनर निर्मला महर्जनको भिडियो कथा:

फोटो-भिडियो: पुष्कल श्रेष्ठ/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *