राज्यको संरक्षण नपाएको आरन पेशा, जसले रोक्न सक्छ युवाको खाडी पलायन

प्रतिक ढकाल २०७९ फागुन ९ गते १४:३३

उदयपुरको आरनमा घन ठोकेर बस्ने चन्द्र बहादुर विश्वकर्माले माओवादी जनयुद्धताका नै नाम सुनेका थिए ‘प्रचण्ड’। उदयपुर सदरमुकाम गाईघाट छेउ सानो आरनमा काम गर्दै जीविको धानेका चन्द्रलाई लाग्थ्यो, प्रचण्ड लडाकुहरूका पनि लडाकु हुन् जे पनि गर्न सक्छन् ।

सेना प्रहरीको आँखा छलेर  बेला बखत हतियार बनाइदिन भन्दै प्रचण्ड कमान्डमा रहेका जनमुक्ति सेना चन्द्रको आरनसम्म पुग्थे । माओवादी आउँदा थोरै डर लाग्थ्यो, केही आशा जाग्थ्यो अनि आफूसँग भएका हतियार कुनै सस्तोमा त केही सित्तैमा लडाकुका हातमा सुम्पिन्थे चन्द्र ।

सदरमुकाम छेउ भएर होला सायद चन्द्रले माओवादीलाई आफूसँग भएका केही हतियार दिनु पर्‍यो । त्यसबेलाको विद्रोही पक्ष माओवादीको हतियार बनाउने कालिगढकै रूपमा भने बस्नु परेन । यद्यपि, उदयपुर आसपासका कटारी अनि घुर्मीतिर माओवादीका लागि भनेर हतियार बनाउन थुप्रै आरन व्यवसायी लागिपरेको अनि कतिले त सशस्त्र युद्ध नसकिँदासम्म माओवादीलाई हतियार बनाएरै बसेको चन्द्र सुनाउँछन् ।

२०६२-६३ सालको जनआन्दोलन सकिएपछि चन्द्रले १० वर्षसम्म सशस्त्र युद्ध लडेर आएको माओवादी पार्टीका प्रमुख प्रचण्डलाई टेलिभिजनमा खुब देखेका थिए तर प्रत्यक्ष देख्न पाएका थिएनन् ।

माओवादीको दशवर्षको सशस्त्र विद्रोह सकियो । वृहत शान्ति सम्झौतापछि माओवादीले सरकारको नेतृत्व गर्ने भयो, चन्द्र झनै उत्साहित भए । 

माओवादी सरकारमा हुँदा पूर्व जनमुक्ति सेनासँग पनि उनको भेटघाट हुने गर्थ्यो ।

“अब हाम्रा दिन आए, तपाईं हामीले अब परिवर्तन देख्न पाउँछौ सम्मानले काम गर्न पाउँछौँ,” उनलाई भेट्न आउने पूर्व लडाकुहरू भन्ने गर्थे । 

समय बित्तै गयो, उनको आरनसम्म आइपुग्ने पूर्व लडाकुहरू पातलिन थाले । चन्द्र सुन्ने गर्थे, “अवसर नपाएर उनीहरू पलायन हुन थाले ।”

दिन बित्यो, महिना बित्यो अनि धेरै वर्ष बिते तर चन्द्रले सोचेको परिवर्तन भने उनीसम्म पुग्न सकेन । आरनमा अँघार फुकेर फलाम पिट्ने उनी जस्ता गरिखानेका दिन फिर्लान् भन्ने सपना साकार हुने छाँटकाँट त देखिएन तर पनि आफ्नो रोजिरोटी छोडेर देश छाड्न भने सकेनन् उनले । 

चन्द्रले बनाएको कृषि औजार, फोटो : पुष्कल श्रेष्ठ/जीविको

बिस्तारै चन्द्रलाई परिवर्तनको आश कम हुँदै गयो । माओवादी सरकार पछि अरू धेरै सरकार बने संविधान पनि आयो व्यवस्था फेरियो तर अवस्था भने फेरिएन ।

बितेका वर्षहरूमा चन्द्रको जीवन उही पुरानो अनि औसत रूपमा बित्न थाल्यो । यही बीचमा गत फागुन २ गते काठमाडौं भृकुटीमण्डपमा १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव कार्यक्रममा आफ्ना सामग्रीहरु प्रदर्शन गर्ने अवसर पाए उनले । उद्घाटन गर्न पुगे उही चन्द्रको दिमागमा अमिट छाप परेका तत्कालीन माओवादी सुप्रिमो अहिलेका देशका प्रमुख कार्यकारी- प्रधानमन्त्री प्रचण्ड । उदयपुरे चन्द्र पनि आफूले आरनमा बनाएका खुकुरी, खुर्पा, खुर्पेटो, बाम्फोक बोकेर प्रदर्शनीमा सहभागी भएका थिए ।

पहिलो दिनमै उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड मेलामा आउने उनले थाह पाए । आफ्नो स्टललाई एकैछिन छाडेर उनी प्रचण्डलाई हेर्न स्टेजको सम्मुखमा पुगे । प्रदर्शनीमा प्रचण्डले स्टलहरूको पनि भ्रमण गर्ने सुनेपछि झन् मन फुरुङ्ग बन्यो उनको । यति सुनेपछि चन्द्र हत्तपत्त लगाएको लुगा मिलाए अनि सतर्क भइ फेरि आफ्नै स्टलमा आएर उभिए ।

प्रचण्डको स्टल भ्रमण सुरु भयो । सुरुवाती लाइनहरूमा नै आफूले बनाएका कृषि औजार तथा हतियारहरू राखेर स्टल सजाएका थिए चन्द्रले ।प्रधानमन्त्री प्रचण्ड सोही बाटो हिँडे तर उनी छेउमै रहेको चन्द्रको स्टलमा भने उनको आँखा परेन । जनयुद्धमा हतियारहरू दिएर सहयोग गरेका चन्द्रलाई न त प्रधानमन्त्रीले देखे, न उनले बनाएका सामानहरू नै नियाले ।

चन्द्रले बनाएको कृषि औजार, फोटो : पुष्कल श्रेष्ठ/जीविको

“एक टक नहेरी जानुभयो, मैले बोलाएर पनि हेरेँ, ठूलो को ताल ठूलै सानोको ताल सानै भनेजस्तो लाग्यो । मैले आफ्नै बलबुतामा बनाएका सामानहरु देखाउन भने पाएन,” चन्द्रले जीविकोसँग गुनासो पोखे ।

उदयपुरबाट आरनमा बनाएका सामानहरूको भारी बोकेर भृकुटीमण्डपसम्म पुगेका चन्द्रले केही थान आफ्नो उत्पादनहरु त बिक्री गर्न पाए । तर, काठमाडौंबाट उदयपुर फर्कँदै गर्दा उनले ठूला सपना अनि आफूले गर्दै आएको पेशामा पुस्ता रुपान्तरण र सरकारले गर्ने सहयोगको सम्भावना भने देख्न सकेनन् ।

उनी भन्छन्, “मेरा छोराछोरी यो पेशा गरे उपेक्षामा परिन्छ कि भन्ने डरले आरन पस्न मान्दैनन्, सरकारले आरन पेशालाई सम्मानको कामको रूपमा उभ्याइदिन सकेको छैन । यस्तो काम गर्ने मेरो ठाउँमा सायदै मेरो अन्तिम पुस्ता हो ।”

प्रायजसो दलित समुदायले धानेको आरन पेशालाई हरेकपटक बन्ने सरकारले सरकारहरूले उपेक्षामा राख्दै आएका छन् । 

दलित समुदायका पुर्ख्यौली पेशालाई सघाउने भनेर सरकारले आर्थिक वर्ष २०७५-७६ देखि दलित समुदाय विकास कर्जा कार्यक्रम पनि सुचारु गरेको छ । तर, यस किसिमका कर्जा कार्यक्रमहरू वास्तविक परम्परागत पेशा गरिरहेका चन्द्र जस्ता दलित उद्यमीसम्म पुग्न सकेको छैन । 

अर्कोतर्फ यो कर्जा कार्यक्रम अन्य कर्जा कार्यक्रमको तुलनामा त्यति प्रभावकारी पनि हुन सकेको छैन । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कलाई हेर्दा आर्थिक वर्ष २०७५-७६ देखि २०७८-७९ जेठ मसान्तसम्म यस कर्जा कार्यक्रमबाट लाभान्वित हुने दलित समुदायको सङ्ख्या १ हजार १ सय ३ जना मात्र छ।

“हामीलाई त त्यस्ता कर्जा कार्यक्रमबारे जानकारी हुँदैन, थाहा भएपनि पहुँचवालाका हातमा कर्जा पुग्ला हामीले त के पाउँला र ?” चन्द्रले सुनाए । 

उनलाई जनआन्दोलन पछि आएको परिवर्तनमा दलित समुदायले बेग्लै स्थान पाउलान् अनि समाजमा सम्मानित भएर बाँच्न पाइएला जस्तो लागेको थियो । 

तर, विडम्बना देशका ग्रामीण क्षेत्रमा न आन्दोलनले ल्याएको परिवर्तन पुग्न सक्यो न त दलित समुदायले आजका दिनसम्म पनि सम्मानपूर्वक बाँच्न पाएका छन् ।

चन्द्रले बनाएको कृषि औजार, फोटो : पुष्कल श्रेष्ठ/जीविको

आफूले समाजमा भोग्नुपरेका विभेदहरूलाई सम्झँदै चन्द्रले भने, “म आरनमा त्रिशूल बनाउँछु, म खुकुरी बनाउँछु, भान्सामा प्रयोग हुने औजार म नै बनाउँछु । मैले बनाएका सामान पुज्नको लागि नजिकैको मन्दिरमा राखेको छ तर म भने पस्न पाउँदिन । निधारमा नै दलितले मन्दिर पस्न नपाइने त लेखेको हुँदैन नि हैन र ?”

समाजमा अहिले पनि यही परिवेश रहिरहँदा अब आरनमा घन ठोक्ने युवाहरू रहन्नन् भन्ने उनलाई खुबै पीर छ ।

एकातर्फ उपेक्षित कामको रूपमा आरनलाई उभ्याइनु अर्को तर्फ देशमा बनाएका औजारलाई महत्व नदिएर विदेशबाट स्टिल औजारहरू देशभित्र भित्रिनुले चन्द्रको पेशा दुईतर्फी चपेटामा परेको छ ।

फोटो : पुष्कल श्रेष्ठ/जीविको

परिस्थिति जे होस्, जस्तो होस् चन्द्रलाई भने दैनिक ह्यामर र लि बाट निस्कने टङ टङको आवाज नसुन्दा नमज्जा लाग्छ । त्यसैले त उनले आरन फुक्न छाडेका छैनन्, भुङ्ग्रोमा कोइला थप्न छाडेका छैनन् । यसरी दैनिक आगोको रापमा रन्किएर मेहनत गर्दा चन्द्रले राम्रै आम्दानी गरेका छन् । यही पेशाबाट उनले आफ्ना घरपरिवार अनि २ छोरालाई हुर्काएका छन्, पालनपोषण गरेका छन् । तर, यो पेशामा आम्दानी भएपनि आत्मसम्मान नहुँदा नयाँ पुस्ता आरनको रापमा भन्दा खाडीको मरूभूमिमा  सेकिन बाध्य छन् ।

चन्द्र भन्छन्, “देशले आफ्नो ठान्दिए अनि आरन पेशालाई सम्मान गर्दिए धेरैको रोजिरोटी फलाम पिटेरै चल्ने थियो, विडम्बना उपेक्षामा पर्नाले दलित समुदायकै धेरै युवा विदेश पुगेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *