विद्यालय होस् त यस्तो: जहाँ विद्यार्थी चार दिवारमा सीमित छैनन् !

बिना सुनार २०७९ पुष १ गते २०:५६

स्वरोजगार, उद्यमशीलता, स्टार्टअप जस्ता विषयमा हिजोआज ठुल्ठुला तारे होटलमा सेमिनार चल्छन् । विदेशी सङ्घसंस्थाका प्रतिनिधि, सरकारी निकायका प्रमुखहरू आएर घण्टौँसम्म यसबारेमा अभिमुखीकरण दिन्छन् । प्रोजेक्टरको स्क्रिनमा ‘यसरी काम गर्नुपर्छ’ भन्दै प्रस्तुतीकरण गरिन्छ ।

तर यहाँ भने हामीले उद्यमशीलता कै लागि काम गर्ने, अभ्यास गर्ने अनि स्वरोजगार बन्न प्रेरित गर्ने एउटा  विद्यालय का बारेमा कुराकानी गर्दै  छौं ।

उद्यमशीलताका बारेमा विद्यालय तहमा रहेका किशोरकिशोरीलाई अभिमुखीकरणसँगै अभ्यास पनि गराउने थलो हो, उदयपुर जिल्ला कटारी-०४ मा रहेको श्री त्रिवेणी माध्यमिक विद्यालय । यहाँ विद्यार्थीलाई किताबी शिक्षा मात्र होइन, प्रयोगात्मक सीप पनि सिकाइन्छ । यहाँका विद्यार्थीले विभिन्न उद्यम गर्छन् र त्यसबाट आयआर्जन गर्ने गर्छन् ।

यो यस्तो विद्यालय हो जसले आफ्ना विद्यार्थीलाई न चार दिवारमा सीमित गरेको छ न त डाक्टर, इन्जिनियर, नर्स जस्ता पेशा मात्र भविष्यको लक्ष्य हुनुपर्छ भनेर सपना नै बाँडेको छ । यहाँ श्रम गर्न सिकाइन्छ अनि उद्यममा गर्व गर्न सिकाइन्छ ।

यहाँका विद्यार्थीलाई कसैले ‘कुन क्षेत्रमा भविष्य बनाउने ? के छ योजना ?’ भनेर प्रश्न गरे भने उनीहरूले आत्मविश्वासका साथ भन्ने गर्छन् –
उद्यम गर्ने, स्वरोजगार हुने ।

पढाइसँगै कमाई पनि गर्छन् त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थी प्राविधिक शिक्षा अन्तर्गत बाली विज्ञान पढिरहेका त्रिवेणीका विद्यार्थीहरू कहिले सयपत्री फुलाएर बेच्छन् त कहिले च्याउ उमारेर मनग्य आम्दानी गर्छन् ।   

पढ्दै स्वरोजगार बनाउने यो विद्यालयको अभियान बडो गज्जबको छ । विद्यालयका शिक्षक कैलाश रायमाझी भन्छन्, “हाम्रो विद्यालय चौबीसै घण्टा खुल्छ त्यसैले विद्यार्थी घर जानुभन्दा पनि यहीँ बसेर बिहान बेलुकाको समयमा खेती गर्छन् र पैसा कमाउँछन् ।”

यसरी खेती गर्न बीउ पूँजी विद्यालयले दिन्छ भने बजारबाट मल बीउ ल्याउने, खनजोत गर्ने, गोडमेल गर्ने, कीटनाशक औषधी छर्नेदेखि उत्पादन भएका बस्तुलाई बजारसम्म लगेर बेच्ने सबै काम स्वयम् विद्यार्थी नै गर्ने गर्छन् । विद्यार्थीहरूले मौसम अनुरूप खेती गर्छन्  र विद्यालयले गरेको लगानी तिर्छन् । बाँकी भएको पैसा चाँहि सामूहिकरुपमा  बाँड्ने गर्दछन् ।

“असोज कार्तिकमा हामीले १ लाख ५० हजार बराबरको सयपत्री बेच्यौँ, राम्रो मुनाफा भयो,” कक्षा ११ मा बाली विज्ञान पढिरहेका विद्यार्थी सन्देश भण्डारी (१८) ले उत्साहित हुँदै सुनाए ।    

यसरी विद्यालयमा विद्यार्थीले बाली उब्जाउँदै पाठ्यक्रममा भएका विषयहरू राम्ररी सिक्छन् नै सँगसँगै कमाइ पनि गर्छन् ।

“हाम्रो पढाईसँगै आम्दानी पनि राम्रो भएको छ, बुवा आमासँग खर्च माग्नु परेको छैन, बरु बाबु आमालाई सघाउन पाएका छौ,” बाली विज्ञान कक्षा ११ की कल्पना कार्की (१६ ) बताउँछिन् ।           

पढाईसँगै आम्दानी पनि हुने र पढाई पछि जागिरको लागि भौँतारिनु नपर्ने भएको कारणले पनि यो विद्यालय रोजेको कल्पना बताउँछिन् ।                      

“कति मानिसहरू धेरै पढेर जागिर नपाएको भन्दै विदेश जान परेको छ, कृषि पढेर नेपालमै केही गर्न सकिन्छ भने यो विषय किन नपढ्ने भन्ने लागेर मैले बाली विज्ञान रोजेकी हुँ, त्यसमा पनि त्रिवेणीमा खुबै राम्रो पढाई हुन्छ । हामी विद्यार्थीलाई अहिलेबाट नै उद्यम गर्ने स्वरोजगार बन्ने विषयमा मार्गदर्शन प्राप्त भएको छ ”

च्याउखेती सम्बन्धी विषयवस्तु पढाउँदा शिक्षकले सँगसँगै विद्यार्थीलाई च्याउ उमार्न सिकाउँछन् । यो कुनै ल्याबमा सीमित भएर गरिँदैन । उनीहरूलाई व्यवसायीक रूपमा नै विद्यालयको खेती गर्ने क्षेत्रमा लगेर पराल कटाइन्छ, पराल उमाल्न लगाइन्छ, बीउ राख्न सिकाइन्छ र उत्पादनसम्मको सबै प्रक्रिया स्वयम् विद्यार्थीलाई नै गर्न लगाइन्छ । 

त्रिवेणी विद्यालयका प्रधानअध्यापक बालकृष्ण कार्की भन्छन्, “हाम्रो व्यवहारिक शिक्षालाई देखेर नै टाढा टाढाबाट विद्यार्थी पढ्न आउँछन्, र अभिभावक पनि आफ्ना छोराछोरीलाई हामीकहाँ पढाउन चाहन्छन् ।”

धेरैजसो अभिभावकहरूको चाहना हुन्छ कि आफ्नो छोराछोरी जागिरे हुन्, कार्यालय भित्रका कामहरू गरुन् । तर, कटारीका अभिभावकहरू भने कृषि पढ्नलाई आफ्ना छोराछोरी त्रिवेणी विद्यालयमा पुर्‍याउँछन् ।     

“हुनत आफ्नो बालबच्चाले कुटो कोदालो भन्दा कम्प्युटर ल्यापटप चलाएर काम गरेको हेर्ने इच्छा धेरै अभिभावको हुन्छ तर हाम्रो विद्यालयमा भने खेती किसानी सिकाउनलाई नै छोराछोरी पठाउने गरिन्छ,” प्रधानअध्यापक बालकृष्ण सुनाउँछन् ।

रोचक कुरा त के छ भने कटारी आसपासका गाउँ मात्र नभएर  सहरकै विद्यार्थी पनि  १० कक्षा सकेपछि पढाइका लागि सहर जानुभन्दा त्रिवेणीमा पढ्न जान रुचाउन थालेका छन् ।       

सिन्धुली कमलामाईका स्थानीय भरत पोखरेल (६०) भन्छन्, “हामीले छोराछोरी काठमाडौं पुर्‍यायौ, कटारीमै यति राम्रो विद्यालय छ भन्ने थाहा पाएको भए त्यत्ति टाढा अनि महङ्गो काठमाडौं भन्दा त्यहीँ पठाउने थिएँ ।”

अहिले सिन्धुली बजार आसपास कटारीको त्रिवेणी विद्यालय बारे चर्चा हुने गर्छ । विद्यार्थीहरूले पढे अनुसारको काम पनि गर्ने र आफ्नो खर्च पनि पुर्‍याउँदै गरेको सुनेर आफ्ना छोराछोरीलाई त्रिवेणी पठाउने भनेर धेरै अभिभावकले सोच्न थालेको भरत बताउँछन् ।

………….

सबै फोटोहरू: श्री त्रिवेणी माध्यमिक विद्यालय, कटारी-०४ उदयपुरका विद्यार्थीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *