यसकारण सम्मानित हुँदैछन् यी ५ सरकारी कर्मचारीहरू

जीविको २०७९ कार्तिक २२ गते २०:२४

सरकारी कार्यालय र त्यहाँ कार्यरत कर्मचारीले गर्ने व्यवहारबाट आजित भएर नेपाली समाजमा एउटा उखानै बनेको छ– सरकारी काम कहिले जाला घाम ! सरकारी कार्यालय अनि कर्मचारीका काम न प्रभावकारी हुन्छन् न त उनीहरू उत्तरदायी र जवाफदेही नै हुन्छन् भन्ने आरोप जनमानसमा गढेर बसेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेका अध्ययनलाई हेर्दा सरकारी बेथिती र भ्रष्टाचारको त फेहरिस्त नै तयार होलान् । बारम्बार धाइरहँदा पनि काम पूरा नभएका सेवाग्राहीले आफ्नो अनुभव हामीलाई सुनाउँदै भनेका छन्, ‘अतिरिक्त खर्च नगर्ने हो भने प्रक्रिया र कागजात पुर्‍याउँदा पनि सरकारी काम समयमै बन्दैन’

तर के सार्वजनिक कार्यालय र यहाँ कार्यरत कर्मचारीहरूले आफ्नो जिम्मेवारीबोध पटक्कै गरेका छैनन् त ? सरकारी सेवामा व्यक्तिगत लाभलाई बिर्सेर आफ्नो काममा दत्तचित्त भएर लाग्नेहरू भेटिँदैनन् त ? सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने हुटहुटी भएका व्यक्तिहरू सरकारी सेवामा नहोलान् त ?

छन्, पक्कै छन् । पेशागत निष्ठा, पारदर्शिता अनि प्रतिबद्धता बोकेका कयौँ व्यक्तिहरू सरकारी सेवामा छन् जसले सरकारी कामप्रति जनमानसमा व्याप्त ‘कहिले जाला घाम’ को भाष्य बदल्न अविचलित भएर खटिरहेका छन् ।

जवाफदेही सरकारी संयन्त्र निर्माणमा प्रतिबद्ध भएर काम गरिरहेका उत्कृष्ट कर्मचारीको खोजी गरेर उनीहरूलाई प्रोत्साहन गर्ने ध्येयका साथ अकाउन्टविलिटी ल्याब नेपालले सन् २०१४ देखि सार्वजनिक क्षेत्रका कर्मचारीलाई ‘इन्टेग्रिटी आईकन नेपाल‘ मार्फत सम्मान गर्दै आइरहेको छ । 

जसरी सरकारी कर्मचारीको गलत प्रवृत्तिलाई खबरदार गरिन्छ त्यसैगरी यस क्षेत्रका इमानदार कर्मचारीलाई स्याबास पनि खुलेरै भन्नुपर्छ, उनीहरूको सम्मान हुनैपर्छ भन्ने मान्यताको साथ ९ वर्षदेखि यो कार्यक्रम निरन्तर भइरहेको छ । नेपालबाट सुरु भएको इन्टेग्रिटी आईकन अभियान अहिले विश्वका अन्य १५ देशमा पनि सञ्चालन भइरहेको छ ।

यस वर्षका इन्टेग्रिटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका ४१० मनोनयनबाट निर्णायक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशी राज दाहाल, पूर्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहेका थिए ।

इन्टेग्रिटी आईकन २०२२ मा छनोट भएका जवाफदेही सरकारी संयन्त्र निर्माणमा प्रतिबद्ध ५ राष्ट्रसेवकलाई नजिकबाट चिन्नुहोस्:

१. कल्पना अधिकारी, इन्जिनियर, सडक विभाग, काठमाडौं

कल्पना अधिकारी जहाँजहाँ गइन् त्यहाँत्यहाँ रोकिएका कामले निरन्तरता पाए । जुन काम असम्भव भनिएका थिए, सबै सम्भव भए । राज्यको सम्पत्ती दुरुपयोग हुनबाट जोगियो । सेवाग्राहीले विकाससँगै सरकार प्रतिको विश्वास पाए । सरकारी सेवामा निडर र जोखिम लिनसक्ने कर्मचारीको परिचय बनाएकी कल्पना कहिले पनि आफ्नो कर्तब्यबाट विचलित भइनन् ।

२०६९ सालमा सडक विस्तार योजना अनुसार सार्वजनिक जग्गामा बनेका घरहरू भत्काउनुपर्ने थियो । तर, घर भत्काउने काम त्यति सजिलो थिएन । उक्त परियोजनामा इन्जिनियरको रुपमा काम गरेकी थिइन्, कल्पना अधिकारीले । गौशाला, पुरानो बानेश्वर, नयाँबानेश्वर, कृष्णपाउरोटी–जयनेपाल रोड, माईतिघर–भद्रकाली रोड, एनके सिंह मार्ग उनको जिम्मामा थियो । उक्त क्षेत्रमा पर्ने सरकारी जग्गामा घर बनाएर बस्नेहरूले बिरोधका कार्यक्रमहरू गरिरहेका थिए । त्यस ठाउँमा निर्माण भएका संरचना भत्काउन खटिएका कर्मचारीप्रति स्थानीयहरू आक्रामक बनेका थिए । कल्पना परियोजना कार्यन्वयनको अग्रपंक्तिमा थिइन् । कतिले त व्यक्तिगत धम्की पनि दिए । उनले पाएको जिम्मेवारीलाई अवसरको रूपमा लिइन् । आक्रोशित स्थानीयलाई शान्त पार्न परामर्शसँगै यथार्थपरक विकासको नमुना प्रस्तुत गर्ने आश्वासन् दिईन् । 

उनले जिम्मेवारी पाएको क्षेत्रमा काम गर्ने कर्मचारी सबै महिला मात्र थिए । त्यसले गर्दा पनि स्थानीयहरूलाई उनको काम प्रति विश्वास थिएन । धेरैलाई त समयमै काम सकिन्छ भन्नेमै शंका थियो । तर, उनले नेतृत्व गरेको समुहले तोकिएको समयभन्दा अगाडि नै जिम्मेवारी पूरा गर्‍यो । त्यसलगत्तै २०७० सालमा महालेखा परीक्षकको कार्यालयले परियोजनाको सामाजिक परीक्षण गर्‍यो । त्यही क्रममा उसले परियोजना वरिपरिका स्थानीयहरूसँग छलफल गरेको थियो । परियोजना सुरु हुनुभन्दा पहिले विरोध गर्नेहरूले पनि त्यसबेला परियोजना कार्यान्वयन टिमको खुलेर प्रशंसा गरेका थिए ।

२०७२ सालमा उनी दाङ सरुवा भएर गइन् । उनी त्यहाँ गएको केही समय मात्र भएको थियो । दसैँको बेला सबै प्राविधिक टीम छुट्टिमा थिए । घोराही, मुक्तिनाथ जाने सडकको जलजलामा ठेकेदारले सडक कालोपत्रे गरिरहेको थियो । अलकत्रा तताउने ठाउँ टाढा थियो । जसलेगर्दा कालोपत्रे गरेको ठाउँको अलकत्रा हातले सजिलै उप्काउन सकिन्थ्यो । यो सबै देखिसकेपछि उनले गुणस्तर भएन, फेरी काम गर्नु भनेर ठेकेदारलाई पत्र काटेर पठाइन् । तर, ठेकेदारले पत्रको वास्ता नगरी काम सक्यो । स्थानीयले सडक कम गुणस्तरको भएका थाह पाएपछि चर्को विरोध गरे । अधिकारीले स्थानीयलाई मापदण्ड अनुसार सडकको गुणस्तर नबनाउँदासम्म ठेकेदारलाई भुक्तानी नगर्ने आश्वासन दिइन् । सोही अनुसार ठेकेदार कम्पनीले पुनः काम गरेर गुणस्तर सुनिश्चित गर्‍यो ।   

यस्ता धेरै सरकारी योजनालाई गति दिएर कुशलतापूर्वक सम्पन्न गरेकी कल्पनाले अहिले वर्षौंदेखि रोकिएको पर्बतको लमया खोलामाथिको पुलको नयाँ डिजाईन गरेर परिमार्जित योजनालाई अगाडि बढाइरहेकी छिन् । कालीगण्डकी करिडोर सडक आयोजना अन्तर्गत कार्यवाहक परियोजना प्रबन्धक भएर पनि उनले आफ्नो कार्यकुशलतालाई प्रमाणित गरिसकेकी छिन् ।

२. मोहन कृष्ण महर्जन, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं

मोहन कृष्ण महर्जन कार्यालयमा छन् भने काम नभएर फर्किनु पर्दैन भन्नेमा ढुक्क हुन्छन्, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा आउने सेवाग्राहीहरू । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्णले सेवाग्राहीहरूको सहजतालाई सधैँ प्राथमिकतामा राख्ने गरेका छन् ।

मोहन कृष्ण वि.स. २०५५ देखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कार्यरत छन् । उनी सेवाग्राहीका त प्रिय पात्र हुन नै सहकर्मीका लागि पनि प्रेरणाका स्रोत हुन् । भारत र बंगलादेश लगायत अन्य देशहरूमा प्रमाणित भइसकेको प्रविधि जसले कुनै पनि खाद्य वस्तु अर्गानिक हो कि होइन भनेर छुट्याउँछ, सो प्रविधिलाई नेपालमा कार्यान्वयन गर्नमा मोहन कृष्ण महर्जनको ठूलो भूमिका छ । यो प्रविधिले नेपालमा सकारात्मक नतिजा पनि देखाउन थालिसकेको छ । विभागको प्रवक्ता समेत रहेका मोहन कृष्णले विभागका कामहरू पारदर्शी हुन् र सबैले थाहा पाउन भनेर पहिले वर्षमा एक पटक हुने पत्रकार सम्मेलन अहिले नियमित चौमासिक रुपमा गर्ने गरेका छन् । सो अवधिमा विभागले चौमासिक प्रगतिको विवरण सार्वजनिक गर्ने गरेको छ । पत्रकार सम्मेलनमा विभागले प्रस्तुतीकरण गर्ने र पछि सरोकारवालासँगको अन्तरक्रियामा सवाल जवाफ हुने भएकोले सरोकारवालाहरू सुसूचित हुन पाएकाछन् । यस अभ्यासबाट विभागको पारदर्शितामाथि उठ्ने प्रश्नहरू कम भएका छन् ।

नेपाल सरकारले खाद्य सुरक्षाका लागि थुप्रै नीतिगत व्यवस्था ल्यायो । त्यसमध्ये, विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन लागि परेको “गोठदेखि ओठसम्म” अभियान बढी प्रभावकारी देखिएको अध्ययनले देखाएको छ ।

३. राजेश साह जयसवाल, प्रहरी हवल्दार, जिल्ला प्रहरी कार्यालय, सर्लाही

राजेशले सानै हुँदा आमा गुमाए । उनका बुबाले दु:ख गरेर उनी र उनका दाइलाई हुर्काए । उनले बुबाको दुख पनि देखे र आफूले पनि दुःख भोगे । द्वन्द्वकालमा एकातिर सुरक्षाकर्मी र माओवादी बिचको द्वन्द्वको त्रास हुन्थ्यो भने, अर्को तर्फ तराईमा सीमा पारिबाट आउने लुटेराहरूले दुःख दिने गर्दथे । युवाहरू रातभरि चोकचोकमा अनिँदै बस्ती कुरेर बस्ने गर्थे । त्यही समयमा प्रहरी आउँदा उनीहरूमा क्षणिक भए पनि आशा र भरोसा पलाएर आउँथ्यो । त्यो घटनाले पनि उनलाई प्रहरी सेवामा आउन प्रेरित गर्‍यो ।

उनी करिव ६ वर्ष देखि उनी जिल्ला प्रहरी कार्यालय, सर्लाही अन्तर्गत प्रादेशिक अस्पताल, सर्लाहीमा कार्यरत छन् । उनको जिम्मेवारी भनेको अस्पतालमा आएका केसहरूको विवरण राख्ने र सम्बन्धित निकायमा खबर गर्ने हो । तर, उनी भने तोकिएको जिम्मेवारीसँगै मानवीयतालाई पनि महत्व दिने गर्दछन् । कोही असहाय व्यक्ति सेवा लिन आयो भने उसलाई सहयोग गर्नु आफ्नो दायित्व ठान्दछन् । यस्ता थुप्रै व्यक्तिको उनले आफ्नै पहलमा उद्धार गरेका छन । मलङ्गवामा एकजना बोल्न नसक्ने बेवारिसे व्यक्तिको दुर्घटना भयो । जैसवालले उनलाई अस्पताल लगे । आफन्त कोही नभएकोले उनको अस्पताल परिसरमै बस्ने खाने व्यवस्था गरिदिए । ६ महिना पछि आफन्त पत्ता लगाए । त्यसपछि जैसवालले नै उक्त व्यक्तिलाई रौतहट घर सम्म जाने व्यवस्था मिलाइदिए ।

कोभिडको सुरुवाती अवस्थामा कर्मचारीहरू बिरामी नजिक जान डराउँथे । त्यस समय पञ्जा, मास्क, पी.पी.ई. सबै सामाग्रीको अभाव थियो । राष्ट्रसेवक नै पछाडि हट्यो भने जनता पनि डराउँछन् भनेर उनी अगाडि सर्थे । कसैको मृत्यु भयो भने पोस्टमार्टम गर्ने ठाउँमा शव लैजान उनले नै सहयोग गरिदिन्थे । अस्पतालमा पोस्टमार्टम गर्ने व्यवस्थित स्थल थिएन । एउटा मात्र कोठा थियो र त्यहाँ फ्रिज पनि थिएन । बेवारिसे लास आयो भने त कति दिनसम्म राखिन्थ्यो र निकै गन्हाएर सहिनसक्नु हुन्थ्यो ।  बेला बेलामा उनले नै मट्टीतेल छर्केर गन्ध हटाउने गर्दथे । त्यो कुरा उनले वडा कार्यालय र अस्पतालका प्रमुखसँग राखे । उनले भने बमोजिम त्यो ठाउँ अहिले व्यवस्थित भएको छ ।  

अस्पतालमा प्रहरी बस्नको लागि एउटा सानो टिनको छाप्रो मात्र थियो, जहाँ एउटा सानो खाट बाहेक केहि अट्दैनथ्यो । सोही ठाउँलाई उनले आफैले व्यवस्थित गरेर कार्यालयको रुप दिएका छन् । अहिले सेवाग्राही आउँदा पनि उनलाई सम्पर्क गर्न सजिलो भएको छ । 

प्रहरी भन्ने बितिकै कतिजना डराउँछन् तर, उनी भने नरम बोल्ने, जनतासँग सहजताका साथ अन्तरक्रिया गर्ने गर्छन् । सालिन स्वभाव भएकै कारण उनीसंग आफ्ना कुरा सजिलै राख्न सक्छन । त्यसैले उनकै स्वभावका कारण अहिले स्थानीयको प्रहरी प्रतिको दृष्टिकोण नै फेरिएको छ ।

४. रोशनी देवी कार्की, उपसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं

रोशनी देवी कार्की हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखामा, शाखा प्रमुखको रुपमा काम गरिरहेकी छिन् । उनी सानैदेखि विभेदको विरुद्धमा खुलेर विद्रोह गर्ने गर्थिन् । उनी १० वर्षकी मात्र थिइन्, दसैँमा ब्राह्मणले टिका लगाइदिँदा  बुवा र भाइलाई  भन्ने मन्त्र र उनलाई भन्ने मन्त्र फरक हुँदा, उनले “मलाई किन फरक मन्त्र भनेको ? मलाई पनि एउटै मन्त्र भन्नु” भनेर जिद्दी गरिन् । सानो उमेरकी बालिकाले अडान लिएपछि ब्राह्मण पनि बाध्य भएर उनलाई टिका लगाउँदा बुबा र भाइलाई भनेको मन्त्र भन्न बाध्य भए । ठुलो भएपछि उनलाई समाजमा हुने विभेद विरुद्ध लड्न वकिल बन्ने लक्ष थियो, तर त्यतिबेला पढाई आफूले सोचे जस्तो नभएपछि कानून विषय पढ्न पाइनन् । जसरी पनि सामाजिक न्यायका लागि आवाज उठाउने उत्कट चाहना भएकै कारण २०६३ सालमा निजामती सेवामा प्रवेश गरिन् ।

भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गतको नगर विकास समितिमा जागिर सुरु गरेको १५ दिन पछि कार्यालयमा एउटा बैठक बसेको थियो । त्यस बैठकको माइन्युट लेख्ने जिम्मा उनलाई दिइएको थियो । बैठक भत्ता बापत सहभागीले रु. ७०० पाउने प्रावधान थियो । बैठक सकिएको अर्को दिन अघिल्लो दिन बैठकमा सहभागी नभएका कार्यालयकै कानूनी सल्लाहकारले सहभागिता देखाएर भत्ता लिने उद्देश्यले माइन्युटमा हस्ताक्षर गर्न रजिस्टर मागे । तर, उनले सोझै नकारिन् । यसरी सरकारी सेवा भित्रकै बेथिति विरुद्ध सशक्त आवाज उठाउन सुरु गरिन् ।

उनी राष्ट्रिय योजना आयोगमा हुँदा युवा तथा खेलकुद मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय हेर्ने जिम्मेवारीमा थिइन् । खाडी मुलुकमा महिला श्रमिक भएको ठाउँमा महिला हिंसाको कुरा बाहिर आइरहेको थियो । यसलाई सम्बोधन गर्न त्यस्ता मुलुकमा महिला श्रम सहचारी पठाउने भनेर मन्त्रालयमा कुरा उठिरहेको थियो । त्यो सम्बन्धी निर्णयको फाइल उनीकहाँ आइसकेपछि उनले कुनै आधारबिना सबै ठाउँमा महिला सहचारी पठाउनुभन्दा महिला धेरै भएको मुलुकमा महिला सहचारी पठाउदा राम्रो हुन्छ भनेर मापदण्ड बनाउन सुझाव दिइन् । सोहि सुझावको आधारमा मन्त्रालयले मापदण्ड तयार गरी कार्यान्वयन गर्‍यो ।

प्रायजसो कभर्ड हलहरूमा महिला खेलाडीका लागि लुगा फेर्ने ठाउँ र छुट्टै शौचालयको व्यवस्था नभएको गुनासो आइरहन्थ्यो । जसले गर्दा महिनावारीको समयमा प्याड परिवर्तन गर्न पनि असहज हुन्थ्यो । उनले मन्त्रालयसँगको बैठकमा पटक–पटक यो विषयलाई जोड दिने गरेकी थिइन् । यसलाई युवा तथा खेलकुद मन्त्रालयले पनि गम्भीरताका साथ लिएको थियो । त्यसको सुरुवात बिराटनगरमा नवनिर्मित कभर्ड हलबाट भयो । कभर्ड हल निर्माण भईसकेपछि त्यसको निरक्षण गर्न स्थानीयले उनलाई नै बोलाएका थिए । 

उनले बालविवाह, दाईजो प्रथा, सामाजिक कुरिती विरुद्ध र एकद्वार संकट व्यवस्थापन केन्द्रबाट प्राप्त गर्न सकिने सेवा सम्बन्धित विषयमा सन्देशहरू नेपाली, मैथिली, भोजपुरी र स्थानीय भाषामा आफैले लेखेर त्यसलाई रेकर्ड गरेर उक्त सामग्रीलाई प्रसारणको लागि विभिन्न संचारहरुसंग समन्वय गरि प्रसारण गरेकि छिन् । यसको लागि मन्त्रालयको कुनै खर्च गर्नु परेको छैन । अहिलेसम्म उनले आफ्नै प्रयासमा ५० भन्दा बढी चेतनामुलक सामाग्रीहरू रेकर्ड गरेर प्रशारण पनि गरिसकेकि छिन् । 

विगत १ वर्षदेखि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखामा कार्यरत छिन् । बालिका, किशोरी र महिलाहरू बढी लैंगिक हिंसामा पर्ने हुँदा लैगिक हिंसा निवारणमा संघीय मन्त्रालयका सरोकारवाला मन्त्रालय तथा निकायबीच प्रत्येक २÷२ महिनामा बैठक बस्ने र समस्या समाधानका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना तथा संचालन निर्देशिका, २०७७ मा भएको व्यवस्थानुसार तोकिएको मन्त्रालय तथा निकायको भूमिका तथा जिम्मेवारी पत्रमार्फत जानकारी गराउदै व्यवस्थापन गर्न आग्रह गर्दै उनले पत्रचार गरिन् । उनले लैगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धमा स्वास्थ्य सेवाबाट कोही नछुटुन् भनेर ज्येष्ठ नागरिक स्वास्थ्यउपचार सम्बन्धी रणनीति, मापदण्ड आदि तयार गरेकी छिन् ।

५. सुजन कुमारी बर्देवा, शाखा अधिकृत, सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बु  

आफ्नो जन्मस्थान तेह्रथुम जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जाँदा त्यहाँ आफूले कल्पना गरेको भन्दा कम उमेरको प्रमुख जिल्ला अधिकारी देख्दा आफू पनि यस्तै बन्न पाए हुन्थ्यो भन्ने लागेपछि सुजन कुमारी बर्देवालाई पनि सरकारी सेवामा प्रवेश गर्ने रहर लाग्यो । लोकसेवा आयोगको परीक्षा दिँदा दुई पटकसम्म उनी असफल भइन् तर इच्छा गरेको क्षेत्र भएकोले तेस्रो प्रयासमा उनी सफल भइन् । विशेष गरेर दलित समुदायका महिलाहरू राज्यको माथिल्लो निकायमा नभएको बेला, माथि पुगेर परिवर्तनको बाहक बन्ने सपना उनको अझै छ ।

उनको पहिलो पदस्थापन अध्यागमन अधिकारीका रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको थियो । त्यहाँ उनले आफ्नो जिम्मेवारी त कुशलताका साथ पूरा गरिन् नै, विदेशबाट दुःख पाएर आएका र अलपत्र परेका महिलाहरूलाई विशेष ध्यान दिइन् । बेचबिखनमा परेका, मानसिक सन्तुलन गुमाएका महिलाहरू विमानस्थलमै अलपत्र परेका हुन्थे । प्रायलाई उनले आवश्यक परामर्श तथा आर्थिक जोहो गरेर घरसम्म पुग्ने व्यवस्था गरिदिन्थिन् । अप्ठ्यारोमा परेका कोही व्यक्ति आयो भने अरु कर्मचारीले पनि उनलाई भेटाइदिन्थे । झापाको बन्दना विश्वकर्मा (नाम परिवर्तन) लाई लामो समयसम्म मलेसियामा काम गर्दा मानसिक आघात भएको थियो । सोही क्रममा उनी विदेशमा काम गरिरहेको घरको चौथो तलाबाट खसिन् । मालिकले अब यसले काम गर्न सक्दैन भनेर नेपाल फर्काइदियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अलपत्र बन्दनालाई सुजनले नै परिवारको जिम्मा लगाउने सबै बन्दोबस्त गरिदिइन् । अहिले पनि परिवारका सदस्यले सुजनलाई फोनबाट धन्यबाद भन्न छोडेका छैनन् ।

उनले अहिले काम गर्ने कार्यालयको नाम सीमा प्रशासन कार्यालय, नाम्चे हो । तर सिमा नाका बन्द भएको कारणले उक्त सिमा प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालयले गर्ने काम गरिरहेको छ । सो इलाका प्रशासन कार्यालयले उनी जानुभन्दा अगाडि नागरिकता वितरण र पासपोर्ट सिफारिसहरू हातले लेखेर दिने गरेको थियो । जसले गर्दा काम ढिलो हुने र तथ्याङ्कको अभिलेख पनि हुँदैनथ्यो । उनी त्यहाँ गइसकेपछि सेवाग्राहीलाई सहज र सरल सेवा प्रवाह गर्न र कार्यालयको अभिलेखीकरण चुस्त बनाउन नागरिकता र पासपोर्ट अनलाईनबाट नै प्रिन्ट गरेर दिन थालियो । नाम्चेमा प्राय कर्मचारी आउन नै मान्दैनन् । आएकाहरू पनि समय कसरि काट्ने भन्ने सोचका हुन्छन् । धेरै कर्मचारीलाई त स्थानीयले चिन्दा पनि चिन्दैनन् । उनी भने गएदेखी दिनरात खटिएर काम गरिरहेकिछिन् । कोरोनाले गर्दा दुई वर्ष जति खुम्बु बजार ठप्प जस्तै भयो । त्यो बिचमा थुप्रै म्याद गुज्रेका सामान बजारमा छन् भन्ने गुनाशो थियो । सुजनले इलाका प्रशासन कार्यालयसँगै अन्य कार्यालयका प्रमुखलाई पनि राखेर खुम्बु बजारमा पहिलो पटक बजार अनुगमन गरिन् । अनुगमनसँगै सचेतना कार्यक्रम पनि लगेकोले क्रेता र बिक्रेता म्याद गुज्रेका सामान प्रति गम्भीर बने ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले सो क्षेत्र भित्र खट्ने उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्ने गरेको थियो । उनी त्यहाँ आएको जम्मा ६ महिना मात्र भएको थियो । उनले, मैले केहि गरेको छैन मुल्यांकन गर्न अझै बाँकि छ भनिन् । तर, पालिकाले तपाईं कार्यालयमा बसिदनु नै ठूलो कुरा भइसक्यो भनेर सम्मान गर्‍यो । अहिले त्यहाँका स्थानीयले सुजन कुमारी बर्देवा त्यहाँबाट सरुवा भएर नगइदिएहुन्थ्यो भनिरहेका छन् ।

…………..

अकाउन्टविलिटी ल्याब नेपालको सहयोगमा तयार पारिएको सामाग्री । पाँचै जना इन्टेग्रिटी आईकनलाई कार्तिक २४ गते सम्मान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *