दसैँमा परदेशी नेपाली: कोही रमाउँदै आए, कोही रुवाउँदै गए ! (भिडियो)

धर्मराज रिमाल २०७९ असोज १६ गते २०:५३

सहर बजारमा दसैंँको किनमेलका लागि जति भीड देखिन्थ्यो, त्यो भन्दा ठूलो भीड थियो २-४ पैसा कमाउन परदेशिनेहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा ।

चाडपर्व भन्दा ठुलो कुरा बाध्यता थियो उनीहरूका लागि । उनीहरु विदेशिन्छन् र पो परिवारले यहाँ खान लाउन पाउँछन् । (भिडियो हेर्नका लागि क्लिक गर्नुहोस्  : Video)

यही भीडमा एउटा प्रौढ बाबु र युवा अवस्था कटिसकेका छोरा भेटिए । उमेरले ७ दशक नाघिसकेका पर्साका राजवंशी मेहरा ४५ वर्षका आफ्ना छोरा जगरुप मेहरालाई साउदी पठाउन काठमाडौं एअरपोर्टमा बिदाइ गर्दै थिए । जगरुपलाई पनि बुढ्यौलीले नछोएको भने होइन तर जबसम्म ज्यानले साथ दिन्छ तबसम्म रगत र पसिना त साट्नै पर्ने छ ।

४५ वर्षका छोरा जगरुप मेहरालाई साउदी पठाउन काठमाडौं आएका पर्साका बृद्ध बुवा राजवंशी मेहरा, (फोटो:पुष्कल श्रेष्ठ/जीविको)

स्थान अनि दिन उही थियो तर दृश्य भने फरक थिए । कोही बिदाइमा भक्कानिँदै थिए भने कोही परिवारका सदस्यहरू घरमा आउँदा हर्षविभोर थिए । कोही कहिले स्वदेश फर्किने भन्ने टुङ्गोमा नै थिएनन् भने कसैलाई वर्षौंपछि पाएको डेढ महिने छुट्टीमा भरपुर रमाइलो गर्नु थियो ।

दसैंँ बिदामा कोरियाबाट घर आएका पोखरा, कास्कीका बाबुराम गैरे परिवारको साथमा । उनी ११ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा कोरियामा काम गर्दैछन् । (फोटो: पुष्कल श्रेष्ठ/जीविको)

खैर, यी सबै दृश्यमा एउटा समानता भने देखिन्थ्यो -देशभित्रै बस्ने चाहना र जीविका चलाउन कै लागि विदेशिनु पर्ने बाध्यता ..

दसैंँको समयमा वैदेशिक रोजगारीमा जानेहरूको भीड, (फोटो: पुष्कल श्रेष्ठ जीविको)

हरेक वर्षजस्तै यस पटक पनि चाडबाडको समयमा सरकारले बजारमा महँगी र खाद्य गुणस्तरको अनुगमन गर्दैछ तर एअरपोर्टमा हरेक दिन देखिने देश छोड्नुपर्ने बाध्यता र विवशताको अनुगमन भने कहिले गर्छ पत्तो छैन ।

परिवारको खुसीका लागि देश छोडेर जानेहरूलाई अनि परिवारमा खुसी साट्न केही दिन भएपनि देशभित्र आउनेहरू सबैलाई दसैंँको शुभकामना ।

हेर्नुहोस् भिडियो:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *