एउटा यस्तो व्यवसाय: न बजारको चिन्ता न त कमाइको नै ! (भिडियो)

समस्यालाई सम्भावना बनाएर व्यवसायमा जमेकी निस्ताको कथा

प्रतिक ढकाल २०७९ भदौ ७ गते १८:३६

दुई वर्ष अगाडि काठमाडौं कपनकी निस्ता न्यौपाने (२४)लाई दिदीको विवाहमा जानु थियो । परिवारभित्रको विवाह, सजिएरै जानुपर्ने ठानेपछि उनले १० हजार रुपैयाँ खर्च गरेर लेहेंगा बनाइन् । राम्रै पैसा खर्चिएर बनाएको लेहेंगा आकर्षक थियो । फेसन र चलन चल्तीका लुगाहरू बारे जानकारी राख्ने भएकाले पनि निस्ताले किन्ने लुगाहरू आकर्षक नै हुने गर्थे ।

उनले किनेको लुगा दिदीको विवाहमा लगाइन् । तर, त्यही महिना अर्को एउटा पार्टीमा जाँदा उनलाई पहिला लगाइसकेको लेहेंगा लगाउन मन लागेन । निस्ता जस्तै एकपल्ट लगाएको लुगा पुनः अर्को पार्टीमा प्रयोग गर्न नरुचाउने जमात ठूलै छ हाम्रो समाजमा ।

त्यसैले उनलाई सधैँ तनाव हुन्थ्यो – विवाह पार्टीका लागि भनेर महँगो लुगा किन्यो, दोस्रो पल्ट लाउनै मन नलाग्ने !

धेरै पैसा खर्चेर किनेको लुगा एकपल्ट लगाए पछि दराजमै थन्किने अवस्था थियो । लुगाले दराज भरिरहन्थ्यो तर पनि पार्टी, बिहेका लागि भन्दै मैले नयाँ लुगा भने किनिरहन्थे,” विगतका दिन सम्झदैँ निस्ता भन्छिन्, “मलाई थाहा थियो यो मेरो मात्र समस्या होइन, त्यसैले कुनै न कुनै उपाय खोज्नै पर्छ”

निस्तालाई जसरी पनि किनेका लुगाको सदुपयोग गर्नु थियो । यो समस्यालाई सम्भावना बनाएर व्यवसाय गर्ने उपाय खोज्न खोज्न थालिन् उनले ।

सोही क्रममा उनले किनेको लुगा भाडामा दिने सोचिन् । उनको यही सोच नै व्यवसाय गर्ने आधार बन्यो । उनले आफूसँग भएको लेहेंगासँगै अरू १० जोड जति लुगा किनिन् । यसमा उनले कमाएर बचाएको डेढ लाख रुपैयाँ खर्च गरिन् । 

उद्यम नै गर्ने सोच बनाएपछि उनलाई व्यवस्थित भएर जाने रहर जाग्यो अनि अनामनगरमा २ वटा कोठा भाडामा नै लिएर लुगा भाडामा दिने व्यवसाय अगाडि बढाउने निधो गरिन् ।

फर्स्ट स्टेप रेन्टल स्टोरमा काम गर्दै सञ्चालक निस्ता, फोटो: पुष्कल श्रेष्ठ/जीविको

निस्ताको आँटले फर्स्ट स्टेप रेन्टल स्टोरको सुरुवात भयो । तर विडम्बना, उनले पसल सुरु गर्दागर्दै कोरोना महामारी फैलियो । महामारीका बेलामा भएको लकडाउनले गर्दा निस्तालाई व्यवसाय कसरी चलाउने भन्ने चिन्ताले सताउन लाग्यो ।

तर, उनले हार भने मानिनन् । उनलाई जुक्ति सुझ्यो, मानिसहरू घरघरमा बन्द हुँदा व्यवसाय झन् बढाउन पाइन्छ । उनले यही समयमा थप लुगाहरू किनिन् अनि भाडामा दिने माध्यम चाहिँ टिकटकलाई बनाइन् । 

उनी भन्छिन्, “मैले यो समयलाई सदुपयोग गर्नुपर्छ भन्ने लाग्यो । त्यसबेला टिकटक खुब चलेको थियो । मैले मेरो स्टोरमा राखेका लुगाहरू टिकटकमा राख्न थालेँ ।”

गज्जब भयो ! टिकटकमा उनको भिडियो धेरैले हेर्न थाले । ग्राहकले पनि चासो देखाउन थाले । लकडाउन हट्दै गएपछि उनको स्टोरबाट लुगा भाडामा लैजाने ग्राहकको सङ्ख्या बढ्न थाल्यो । 

फर्स्ट स्टेप रेन्टल स्टोरमा भाडामा पाइने लुगाहरू, फोटो: पुष्कल श्रेष्ठ/जीविको

ग्राहक पनि सन्तुष्ट थिए । उनका नियमित ग्राहकले कुन पार्टी अनि विवाह समारोहमा के लगाउने भन्ने झन्झटबाट मुक्ति पाएका थिए । निस्ताले पनि लेहेंगा ८ सयदेखि १२ सय सम्ममा भाडामा दिन्थिन् । सस्तोमा नयाँ लुगा लगाउन पनि पाइने त्यो पनि सस्तोमा ।

बिस्तारै लेहेंगाबाट सुरू भएको स्टोरमा कुर्था, गाउन अनि दुलहीका लुगा अनि गहनासम्म राखिन् उनले ।

लकडाउन सकिँदासम्म निस्ताले सयौँ नियमित ग्राहक जोडिसकेकी थिइन् । छोटो समयमै उनको व्यापार फस्टायो । अहिले सिजनमा त उनी डेढ लाखसम्म कमाउँछिन् ।

लुगा भाडामा दिने व्यवसाय भएपनि सरसफाइमा उत्तिकै ध्यान दिन्छिन् उनी । ग्राहकबाट लुगा आउने बित्तिकै निस्ताले लण्ड्रीमा लुगा पुर्‍याएर धोइहाल्छिन् ।

स्नातक तहमा पढ्दै गरेकी उनी अहिले फेसन डिजाइनिङको कोर्स पनि लिन थालेकी छिन् । सामाजिक सञ्जालको ट्रेन्ड हेरेर पनि स्टोरमा लुगा राख्छिन् उनी । सामाजिक सञ्जाललाई आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने माध्यम बनाएकी छन् उनले ।

फर्स्ट स्टेप रेन्टल स्टोरमा भाडामा पाइने लुगाहरू, फोटो: पुष्कल श्रेष्ठ/जीविको

दुई वटा कोठाबाट सुरुवात गरेको २४ वर्षीय निस्ताको स्टार्टअप अझ बढ्ने क्रममा छ । भविष्यमा बच्चाहरू अनि पुरुषले लगाउन मिल्ने लुगाहरू पनि राख्ने सोच छ उनको ।

निस्ता भन्छिन्, “ गर्‍यो भने नेपालमै सम्भव रहेछ । मेरो काम र व्यवसायबाट म सन्तुष्ट छु, यसलाई अझ अगाडि बढाउने योजनाअनुरूप काम गर्दै छु ।”

हेर्नुहोस्, समस्यालाई सम्भावना बनाएर व्यवसायमा जमेकी फर्स्ट स्टेप रेन्टल स्टोरकी सञ्चालन निस्ताको भिडियो कथा:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *