गुन्द्रुक बेचेरै गर्न सकिन्छ मनग्य आम्दानी ! कृषि उद्यमी रेखा शर्मा चौधरी गुन्द्रुक बनाउँदै

बिना सुनार २०७९ असार २७ गते १७:१५

बजारमा कुनै सामानको मूल्य कम पर्‍यो भने धेरैले भन्ने गर्दछन्, ‘गुन्द्रुककै भाउमा पाइयो’ । बोलिचालीमा र मानमर्यादामा गुन्द्रुक नेपालीको लागि तल्लो स्तरको बस्तु भनेर चिनिने गरिन्छ । गरिबको खाना भनेर चिनिने गुन्द्रुक आर्थिक हैसियत नभएका मानिसहरूले खाने तिउन भनेर चिनिन्छ । भन्ने नै गरिन्छ ‘केही नभए गुन्द्रुकको झोल खाउला’

भान्सामा पकाउने तरकारी नहुँदा वा खाना बनाउने समय नहुँदा गुन्द्रुकले धेरैको गर्जो टार्ने गर्दछ ।  एकप्रकारको ‘फास्टफुड’ नै हो गुन्द्रुक, नेपाली भान्साका लागि ।

बोलीचालीमा हेलाको लवजमा प्रयोग हुने गुन्द्रुकले अहिले पाछिल्लो केही वर्षयता संसार भरको यात्रा गरिसकेको छ । भारत, खाडी, मलेशिया, अमेरिका, अष्ट्रेलिया, यूरोप जहाँजहाँ नेपाली छन् त्यहाँत्यहाँ गुन्द्रुक पुगेको छ ।

नेपालमा हुँदा  गुन्द्रुक तरकारी भयो भने थाल सारेर हिँड्नेहरु विदेश गएपछि घरमा फोन गरेर, ‘फलानो आउँदा अलिकति गुन्द्रुक पठाइदिनु है’ भन्ने गर्छन् । यसले गुन्द्रुकको महत्व देशमा रहँदा भन्दा पनि विदेश पुगेपछि बढी हुने गरेको देखिन्छ ।

भान्सामा तल्लो स्तरको तरकारीको रूपमा पहिचान बनाएको गुन्द्रुकले अहिले पनि बोलीचालीमा भने मानमर्यादा पाएको छैन  तर यसले बिस्तारै आर्थिक हैसियत भने पाइसक्यो ।

ठूला पाँचतारे होटलदेखि धनाड्य वर्गको शाही र राजर्षी खानामा गुन्द्रुकले पनि आफ्नो स्थान बनाएको छ । ठूला ठूला थकाली होटलमा पनि भटमास र गुन्द्रुक साँधेर नराखे त्यो खानाको थाली नै पूरा नभएको भान हुन्छ ।

बीबीसीको मास्टर सेफ प्रतियोगिताका फर्स्ट रनरअप सेफ र यूके मास्टरशेफ रिम्याच २०२१ जितेका सन्तोष साहले निर्णायकको मन जित्न पनि गुन्द्रुक र भटमासकै सहायता लिनु पर्‍यो । गुन्द्रुक, कोदो, भटमासजस्ता मौलिक नेपाली खानालाई प्रवर्द्धन गर्न सक्ने हो भने नेपाल पनि खानाका लागि गन्तव्य हो भनेर विश्वमा चिनाउन सकिने उनी बताउँछन् ।

बीबीसीको मास्टर सेफ प्रतियोगितामा सेफ सन्तोष साहले तयार गरेको गुन्द्रुकको परिकार, स्रोत: बीबीसी

नेपाली बजारमा अहिले गुन्द्रुक किलोको ७ सयदेखि ९ सय रुपैयासम्म पर्छ । काठमाडौंको असन, कालीमाटी, बल्खु बजारमा गुन्द्रुक बढी बिक्री हुने गरेको छ । यहाँका व्यापारीले नेपालकै पाँचखाल, धादिङ, नुवाकोट  लगायतका ठाउँबाट मात्र नभइ विदेशी गुन्द्रुक बेचेर समेत आम्दानी लिने गरेका छन् ।

“अरु तरकारीहरूको सिजन हुन्छ, गुन्द्रुकको सिजन हुँदैन । जहिले पनि यो बेच्न सकिन्छ, अहिले पनि हामी प्रतिकेजी ८ सयको हाराहारीमा बेच्छौँ,” कालिमाटी तरकारी बजारकी व्यापारी माया कालिजार आफ्नो अनुभव यसरी सुनाउँछिन्

असन कालीमाटी क्षेत्रमा ठूला तारे होटलदेखि थकाली खानाघरसम्मका ग्राहकहरू गुन्द्रुक लिन पुग्ने गरेका छन् ।

काठमाडौं टंगालमा रहेको जिम्बु थकालीमा महिनाको एक सय किलो गुन्द्रुक खपत हुने जिम्बु थकालीका सुपरभाइजर बुद्ध श्रेष्ठले जानकारी दिए ।

“यहाँ खाना खान आउने सबैले अरु तरकारी भन्दा गुन्द्रुकको अचार थपीथपी खान्छन्, कहिले त पुर्‍याउन नै हम्मेहम्मे पर्छ हामीलाई ” उनी सुनाउँछन् ।

नेपाली खाना सेटमा गुन्द्रुकको अचार abhishek-sanwa-limbu-unsplash

जिम्बु थकालीको काठमाडौंमा मात्र ३ वटा खाने ठाउँ छन् भने त्यसबाहेक काठमाडौं, पोखरा, मुस्ताङ, बुटवल लगायतका देशैभरीका सहरमा विभिन्न नामका सयौं थकाली होटेल छन् । थकाली खानामा मात्र होइन अन्य जातजातीका खानामा पनि गुन्द्रुकका विभिन्न परिकार बन्ने गर्छन् । खाना खुवाउने प्राय: होटेलले गुन्द्रुकको अचारलाई आफ्नो थालि सेटमा समावेश गरेका हुन्छन् । हरेक उत्सव र भोजमा पनि गुन्द्रुकको परिकार अनिवार्य नै हुन्छ ।

यति धेरै अथाह व्यवसायिक सम्भावना भएको गुन्द्रुक बनाउन भने नेपालीले खास्सै जाँगर गरेको भने देखिँदैन । गुन्द्रुकको व्यवसाय गर्ने हो भने लगानी र स्रोत साधन भनेर अड्‌किनु नपर्ने काठमाडौं बूढानिलकण्ठकी कृषि उद्यमी रेखा शर्मा चौधरी बताउँछिन् । सयौँलाई उनले गुन्द्रुकसँगै अचार बनाउन सिकाएर व्यापार व्यवसाय गर्न सक्ने बनाइसकेकी छिन् । स्वदेश तथा विदेशमा उनले गुन्द्रुक बेच्ने गरेकी छिन् । रेखाले गुन्द्रुक बेचेर राम्रो आम्दानी गर्ने गरेको बताउँछिन् ।

“पैसा नहुनेले खाने भन्ने गुन्द्रुक पैसावालले पनि खान थालेका छन्, म चाहिँ विदेशीलाई गुन्द्रुक बेचेरै लाखौँ कमाइ गरिरहेकी छु,” रेखा बताउँछिन् ।

रेखाले उत्पादन गरेको गुन्द्रुक नेपालमाभन्दा बढी विदेशमा बिक्री हुने गरेको छ । राम्रो, सफा र गुणस्तरीय गुन्द्रुक बनाउन सकेमा यसबाट राम्रै आम्दानी गर्न सकिने उनको अनुभव छ ।

दराज एपमा राखिएको गुन्द्रुक, एक सय ग्राम गुन्द्रुकको मूल्य १२० रुपैयाँ रहेको छ

रेखाले गुन्द्रुकको महत्व छिट्टै बुझिन् । कालान्तरदेखि नै नेपाली भान्सामा आफ्नो छुट्टै स्थान बनाएको गुन्द्रुकलाई व्यवसायिक बनाउनसके यसबाट नै जीविकोपार्जन गर्न सकिने बताउँछिन् रेखा । 

“रेखा दिदीबाट गुन्द्रुक बनाउन सिकेँ, अहिले गुन्द्रुक बेचेर नै मेरो घरखर्च टर्ने गरेको छ,” ललितपुरकी सृजना राई सुनाउँछिन् ।

सृजनाले घरमै बसेर रायो, मुला, तोरीको गुन्द्रुक बनाउने गरेकी छिन् । उनले सागको सिजनमा  किसानबाट साग किन्छिन् र गुन्द्रुक बनाउँछिन् । सस्तो अनि सुलभ तरिकाले व्यवसाय गर्न सकिने हुँदा पनि  यसलाई व्यवसायिक रुपमा अघि नबढाएको हुनाले हामी गुन्द्रुक बाहिरबाट ल्याउने गर्छौ । 

“गुन्द्रुक नै बेच्ने हो भनेपनि धेरै नेपालीले जीविको कटाउन सक्छन्, विडम्बना ! नेपाली परिकार अहिले भने विदेशबाट आयात गर्नुपर्ने दिन आएको छ,” सृजना  गुनासो पोख्छिन् ।

घरमै खाने प्रयोजनले तयार गरिएको गुन्द्रुक

केही पालिकाले भने गुन्द्रुकको व्यवसायिक फाइदालाई मनन गर्दै स्थानीय किसानलाई यसको उत्पादनमा लाग्न कार्यक्रम नै बनाएको छ । गुन्द्रुक बनाएरै पाल्पा तानसेन नगरपालिकाका २५ भन्दा बढी घरपरिवारले जीविको चलाएका छन् । त्यहाँका महिलाले गुन्द्रुकलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । त्यस्तै गुल्मीको धुर्कोट गाउँपालिकाले बुटवलको ग्रामीण कृषि उद्यमशीलतासँगको सहकार्यमा किसानले उत्पादन गरेका उत्पादन पालिकामै संकलन गरेर बेच्ने व्यवस्था गर्दै आएको छ । गाउँपालिकाले मूलाको बिउ त्यहाँका महिला समूहलाई बाँडेर गुन्द्रुक उत्पादन गर्न लगाएको छ भने बजारसम्म पुर्‍याउने जिम्मा धुर्कोट गाउँपालिकाले लिएको छ । यहाँ हुने कृषि उत्पादनलाई ग्रामीण कृषि उद्यमशीलता बुटवलले किन्ने गरेको छ । एक किलो गुन्द्रुकको मूल्य ४ सय रुपैयाँ तोकिएको छ। यहाँबाट एक वर्षमा नै दुई क्विन्टल गुन्द्रुक कृषि उद्यमशीलताले खरिद गरेको छ। धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेशको पहिलो उत्कृष्ट गाउँपालिका र देशभरमै तेस्रो भएको थियो ।

इलामको रोङ गाउँपालिकाले पनि यसपटकको बजेटमा गुन्द्रुक उत्पादनलाई प्राथमिकतामा राखेको छ।

केही स्थानमा स्वत: स्फूर्त अनि केही स्थानमा स्थानीय पालिकाको पहलमा गुन्द्रुक उत्पादन र बिक्री हुँदै आएको भएपनि नेपालमा गुन्द्रुकको माग विदेशी उत्पादनले नै धान्दै आएको छ । गुन्द्रुकलाई नेपालको मौलिक परिकार भनिरहँदा वार्षिक अर्बौं रकम खर्चेर चीन लगायतका देशबाट नेपालले गुन्द्रुक आयात गरिरहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको एक तत्थ्याङ्क अनुसार नेपालले वार्षिक १ अर्ब २१ करोड ९२ लाख रुपैयाँभन्दा बढी बराबरको सुकेको गुन्द्रुक आयात गर्ने गरेको छ । अहिले नेपाली बजारमा स्वदेशीभन्दा बढी विदेशी गुन्द्रुक पाइन्छ । नेपाली मौलिक तरकारीको रूपमा परिचित गुन्द्रुक विदेशबाट आयात गर्दा यसको पहिचान नै विदेशी भएको विडम्बना हामीमाझ छ ।

गुन्द्रुकको माग देशभित्रै त उच्च छ नै विदेशमा पनि उत्तिकै हुने गरेको अवस्थामा नेपालीहरू भने ३० हजार कमाउनका लागि विदेश उड्नु पर्ने अवस्था छ । के वास्तव मै कम लगानी र स्रोत साधनमै गुन्द्रुक उत्पादन गर्न सकिने र मनग्य आम्दानी पनि हुने कुरालाई नेपालीले नजरअन्दाज गरेकै हुन् त ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *