अब किसानले आफ्नो उत्पादन कुहाउन पर्दैन, यस्तो छ नयाँ र सजिलो विधि (भिडियो)

जीविको २०७९ असार २४ गते १४:०४

सिजनका बेलामा किसानले तरकारीको मूल्य नपाएर बारीमै कुहाउनु पर्ने बाध्यता छ तर त्यही किसानको उत्पादनलाई व्यापारीले भने दोब्बर भन्दा बढी मूल्यमा बेचेर मनग्य कमाउँछन् । किसानले आफ्नो उत्पादन लामो समयसम्म भण्डारण गर्नै नसक्ने अवस्था छ । देशको ६५ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छ तर अधिकांशसँग कृषि उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने चिस्यान केन्द्र अर्थात् ‘कोल्डस्टोर’ नै छैन । यसैको फाइदा उठाएर व्यापारीले किसानसँग सस्तो मूल्यमा तरकारी किनेर त्यसलाई स्टोरमा राखेर मुनाफा आर्जन गर्छन् ।

ठूला शहरमा सजिलै विदेशका फलफूल र तरकारी किन्न पाइन्छ । मार्टमा गएर त्यस्ता फलफूल किनेर स्वाद मान्दै खाने शहरिया नेपालीको संख्या धेरै छ । महिनौँ दिन लगाएर विभिन्न मुलुकबाट तरकारी, फलफूल नेपालमा आयात गरिन्छ । तर यहाँका कृषकले उब्जाएको तरकारीले बजार नपाउँदा बारीमा कुहिन्छन् । यसो हुँदा किसानले खेती गर्न लिएको ऋण पनि तिर्न सक्दैनन् । हरेक वर्ष सरकारले कृषिमा सबैभन्दा बढी रकम छुट्याएको हुन्छ तर किसानका समस्या भने जिउँकातिउँ । किसानलाई सधैँ सास्ती अनि बिचौलियालाई भने मस्ती छ कृषिप्रधान देश नेपालमा !

किसानलाई कृषि उत्पादन भण्डारणमा सहयोग पुगोस् भन्ने मनसायले चिस्यान केन्द्र (कोल्ड स्टोर) सञ्चालनका जानकार डम्बर खनालसँग जीविको कृषि कर्नरमा कुराकानी गरेका छौं । डम्बर आफूलाई नेपालमा कृषि क्षेत्रको व्यावसायिकरणका समर्पित कृषि उद्यमी भन्न रुचाउँछन् । नेपालका कृषकहरूले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यका साथ एक दशक अगाडिदेखि सञ्चालनमा रहेको आर एन्ड डी इनोभेटिभ सोलुसनका सीओओ – चिफ अपरेसन अफिसर हुन् उनी । डम्बरका अनुसार कम लगानीमा सहज तरिकाले आफ्नै घरमा किसानले कोल्ड स्टोर बनाउन सक्छन् । किसानहरूले उत्पादन गरेका सबै प्रकारका खाद्यान्न, तरकारी फलफूल अनि दूध जन्य पदार्थहरू लामो समयसम्म सुरक्षित र गुणस्तरीय भण्डारण गर्न कोल्ड स्टोरको आवश्यकता पर्ने हुँदा राम्रोसँग बुझेर मात्र कोल्ड स्टोर खोल्न सुझाउँछन् डम्बर । यसका लागि किसानलाई सहयोग गर्न आफू सधैँ तयार रहेको उनी बताउँछन् ।

कोल्ड स्टोरको आवश्यकता, यसको प्राविधिक पाटो र महत्वका बारेमा यसो भन्छन्, कृषि उद्यमी डम्बर:

बजारमा खपत हुनेभन्दा बढी उत्पादन हुने तरकारी, फलफूललगायतका कृषि उत्पादनलाई व्यवस्थित रुपमा कोल्ड स्टोरमा भण्डारण गरी बेमौसमी सिजनमा बिक्री गरेर किसानले बढी फाइदा लिन सक्ने हुँदा कृषिमै निर्भर हुनेहरूलाई कोल्ड स्टोर अत्यन्तै आवश्यक छ । नेपालमा अधिकांश किसानहरूको कोल्ड स्टोरमा पहुँच नहुँदा वर्षेनी उत्पादित कृषि सामग्रीहरू कम मूल्यमा बेच्न, कुहिएर फ्याँक्न, गाई बस्तुलाई खुवाउन उनीहरु बाध्य हुनु परेको छ । त्यसैले कृषकको आम्दानी बढाउन अहिले विभिन्न ठाउँमा स्थानीय स्तरमै सामूहिक वा व्यक्तिगत रुपमा आफ्नै घरको कोठामा कोल्ड स्टोरहरू बनाउन थालिएको छ । जसको लागि सरकारले पनि मेसिनरी उपकरण खरिद र भवन निर्माणका लागि कुल लागतको ७० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।

सस्तो दरमा घरको कोठालाई नै इन्सुलेसन गरेर तरकारी तथा फलफूल भण्डारणका लागि कोठाको साइज हेरेर ३ देखि ४ लाखसम्मको लागतमा योग्य कोल्ड स्टोर बनाउन सकिन्छ ।

कोल्ड स्टोरमा सबै प्रकारको खाद्यान्न, तरकारी, फलफूल भण्डारण गर्ने तरिका फरक फरक हुने भएकोले कोल्ड स्टोर निर्माण गरेपछि त्यसमा सामान भण्डारण गर्ने विधिको बारेमा जानकारी लिन जरुरी हुन्छ । किनभने कोल्ड स्टोर भएता पनि कतिपय स्थानमा तरकारी र फलफूल कसरी राख्ने भन्ने ज्ञान नहुँदा झन राखिएको वस्तु कुहिने, ढुसी लाग्ने समस्या आउन सक्छ । कोल्ड स्टोरमा राखिने फलफूल तथा तरकारीको भण्डारण आयु त्यसको जात, प्रकार र टिप्नुभन्दा अघिको उपजको अवस्थामा भर पर्दछ । कोल्ड स्टोरको तापक्रम र आद्रताको उचित नियन्त्रण मार्फत तरकारी तथा फलफूलको भण्डारण आयु र गुणस्तर कायम गर्न सकिन्छ । त्यसैले यदि कुनै उपज भण्डारण गर्नु अघि बालीको जात, बाली लिनुको अघिको अवस्था, उपयुक्त भण्डारण तापक्रम, उपयुक्त सापेक्षिक आद्रता बारे राम्रो जानकारी लिनु पर्छ । यसका साथै भण्डारण गरिएको बस्तुलाई अधिकतम कति दिनसम्म भण्डारण गरि राख्न सकिन्छ भन्ने बारेमा पनि जानकारी राख्नु पर्दछ ।

हेर्नुहोस्, कृषि उद्यमी डम्बर खनालसँग कम लगानीमा सहज तरिकाले आफ्नै घरमा कोल्ड स्टोर बनाउने विधिका बारेमा गरिएको भिडियो संवाद:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *