महिनै पिच्छे बढ्छ बजारमा मूल्य, श्रमको मूल्य बढ्दैन  फोटो : सुप्रिम बिष्ट/जीविको

“कामको ज्याला भने कहिले बढेन, बजारमा सामान किन्न गयो, हरेक चिजको भाउ सुनेर करेन्ट लाग्छ, यस्तै हुँदै गयो भने त भान्सामा चुलो बाल्न मुस्किल हुन्छ,

बिना सुनार २०७९ असार १७ गते १५:५९

“महंगी बढेर बजारमा केही सामान छोइ नसक्नु भएको छ । यसरी नै महंगी बढ्दै गयो भने, खोइ कसरी जीवन धान्ने हो ?  ” इलामका प्रविण छेत्री (३१ )  बढ्दो महंगीको गुनासो यसरी पोख्छन् । कक्षा १२ पछि आर्थिक अभावका कारण आफ्नो पढाई अगाडि बढाउन नसकेका प्रविण घरका जेठो छोरो भएकोले आमा, बुबा भाइ सबैको जिम्मेवारी उनको काँधमा छ । घरमा रङ्ग लगाउने काम गरेर गुजारा गर्दै आएका उनलाई  अहिले बढेको बजार भाउले गर्दा  साह्रै तनाव भएको छ । 

प्रविणकी आमालाई प्यारालाइसिस छ । बुबा पनि काम गर्न नसक्ने भइसके उनले दिनभर कमाएको पैसाले घरका सबैको पेट पाल्नुपर्ने हुन्छ । “कामको ज्याला भने कहिले बढेन, बजारमा सामान किन्न गयो, हरेक चिजको भाउ सुनेर करेन्ट लाग्छ, यस्तै हुँदै गयो भने त भान्सामा चुलो बाल्न मुस्किल हुन्छ  ।”  प्रविण सुनाउँछन् ।  

 प्रविण झोला बोकेर किराना सामान किन्न सातैपिच्छे आफैँ बजारसम्म पुग्छन् । गएका केही साता बजार गएर घर फर्कँदा सँधै उनको अनुहार मलिन हुन्छ ।  “के गर्नु हजुर, एक्लो कमाइले खान नै नपुग्ने भइसक्यो, एउटा भाइ छ त्यसको स्कुलमा फि नबुझाएको नि महिना नाघ्यो, महंगीले त हामीलाई थला नै बसायो,” प्रविणले गुनासो पोखे । 

 महिनैपिच्छे बढ्ने पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अहिले बजारमा दैनिक उपभोग्य सामान खाद्यान्न, तरकारी, लत्ताकपडा लगायत हरेक वस्तुहरूमा शतप्रतिशतदेखि ५ सय प्रतिशतसम्म महंगी बढेको छ । यसरी भान्छादेखि उपभोग्य बस्तुहरूमा महंगी बढेपछि गुजारा गर्न मुस्किल भएको  काठमाडौं शान्तिनगर बस्ने ५८ वर्षीय निर्मला अधिकारी बताउँछिन्  । “होइन बजारमा सामानको भाउ कति बढेको, १ हजार रुपैयाँ लिएर बजार गयो भने १ झोला सामान पनि आउँदैन, २२० रुपैयाँमा पाइने भटमास तेलको ३३० पुगेको छ । १ लिटर तेलमा सिधै १ सय १० रुपैयाँ बढ्यो, अरु सामान पनि त्यत्तिकै महंगो भएको छ, अब खोइ कसरी खाने ?” उनी प्रतिप्रश्न गर्छिन् ।

निर्मला एक सामान्य गृहिणी हुन्, छोरा छोरीले दिएको पैसाबाट घर व्यवहार चलाउँदै आएकी उनलाई बजार भाउ बढ्न थालेपछि पहिले १ महिनाको लागि पुग्ने बजेटले १५ दिन धान्न पनि हम्मे परेको छ । “अहिले भान्सादेखि घरमा प्रयोग हुने सबै सामान नमहंगीएको कुनै छैन, सरकारले केही दिनअघि ग्यासको मूल्य १८ सय बनायो, १ क्रेट अण्डालाई ४ सय ७५ रुपैयाँ तिर्नु पर्दछ, चिनी किलोको १ सय १० भयो,” निर्मला आफै भुतभुताउनु थालिन् ।   

गएको १ वर्षमा यसरी नै महंगीले उग्ररूप लिएको छ । एक्कै पटक ह्वात्तै सबै वस्तुमा मूल्य बढ्नाले दैनिक उपभोग्य सामानसँगै, शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभुत आवश्यकता परिपूर्ति गर्न धेरैलाई गार्हो पर्दै गएको छ । “भर्खर नर्सरीमा पढ्ने छोरीलाई भर्ना, किताब, ड्रेस, जुत्ता आदी गरेर ४५ हजार लाग्यो, १ महिना नबित्दै ५५ सयको बिल आएको छ, अझ टिफिन, कलम कापी, बस भाडा छुट्टै, कसरी पढाउने छोरा छोरी ? ” महंगी बारे काठमाडौं चावहिलकी मिना महर्जनको भोगाइ । 

दिनदिनै थाहै नपाउनेगरी महंगी यसरी नै उकालो लाग्ने हो भने छोरीलाई उचित शिक्षा दिन सकिदैन कि भन्ने मिनालाई डर लागिरहेको छ ।  प्राइभेट कम्पनीमा सामान्य रोजगारी गरिरहेकी मिनाको तलब बिगत २ वर्षबाट जतिको त्यति छ तर बजार भाउभने दिनदिनै बढ्दा घरखर्च चलाउन मुस्किल भइसक्यो । 

फोटो : सुप्रिम बिष्ट/जीविको

महंगीले गृहिणी, ज्यालामजदुरी गर्ने र जागिरेलाई झैँ विद्यार्थीहरूलाई पनि खुबै सास्ती दिएको छ ।  जति जति बजार भाउ बढ्दै जान्छ त्यति नै घरबेटीले घरभाडा बढाएर दिक्क बनाएको ललितपुर इमाडोल बस्ने पाँचथरकी बिनिता गदाइली बताउँछिन् ।   

बिनिता बिबिएस प्रथम वर्ष पढ्ने विद्यार्थी हुन् । पढाईसँगै जागिर नहुँदा उनलाई खान, बस्न, पढ्नको लागि चाहिने सबै खर्च घरबाट नै आउने गरेको छ । तर महंगीले गर्दा यसरी अड्कलेर पठाएको पैसाले एक छेउपनि नपुग्ने गरेको उनी बताउँछिन् । 

“एक वर्षमा ४ पटक घर भाडा बढिसक्यो, त्यसमाथि कलेज जान बस भाडापनि ३ गुणा बढि भएको छ । घरमा बुवा आमालाई कति पैसा चाहियो भन्नु दिक्क लगाइ सक्यो यो महंगी पनि ।” बिनिता सुनाउँछिन् । 

त्यसो त गएको ५ महिनामा सरकारले १० पटका पेट्रोलियम पदार्थको मूल्य हेर फेर गरेको छ । १० पटकमा ८ पटक सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो भने जम्मा २ पटक पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।    

यसरी बढेको पेट्रोलियम पदार्थको मूल्यले गर्दा बजार भाउ लाई प्रत्यक्ष असार परेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरण अनुसार समग्र मूल्यवृद्धि ८ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदन अनुसार गत वर्षको तुलनामा समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.२२ प्रतिशतले वृद्धि भएको छ । गत आवको १० महिनामा यस्तो मूल्यवृद्धि ३.६५ प्रतिशत मात्रै थियो ।

गत वर्ष जेठको तुलनामा अहिलेसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०७८ वैशाखको तुलनामा यस वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २४.८६ प्रतिशतले बढेको छ ।

यस्तै फलफूल १२.६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको मूल्यवृद्धि ११.३० प्रतिशत छ । दाल तथा गेडागुडीको मूल्यवृद्धि १०.५३ प्रतिशत हुँदा सुर्तीजन्य पदार्थको मूल्यवृद्धि ९.७० प्रतिशत छ ।  गैर खाद्य तथा सेवा उपसमूह अन्तर्गत यातायातमा २१.८१, शिक्षामा ११.६४ र मनोरन्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति ८.२१ प्रतिशत पुगेको छ । 

बढ्दो महंगीले सामान्य पेशा गरेर गुजारा गर्ने प्रविण, मिना, बिनिता, निर्मला जस्ता धेरैको दैनिकी कष्टकर बन्दै गएको छ । दिनानु दिन अस्वाभाविक रुपमा बढेको बजार भाउले आम सर्वसाधारण नागरिकलाई बिहान बेलुकाको गर्जोटार्न सकस पारिरहेको अवस्था छ । रुस र युक्रेनको युद्ध , विश्वमा फैलिएको कोरोना भाइरसको करण अन्तर्राष्ट्रिय बजार महंगीएको हुँदा अत्यावश्यक सामानको सबैभन्दा धेरै मूल्य बढ्दै गएको  नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर बताउँछन् ।  

 उनी भन्छन् “ठुलाठुला व्यापारीहरूले आफ्नो सामानको मूल्य बढाएको कारण बजार भाउ महंगीएको हो। यसरी कम्पनीबाट नै मूल्य बढेर आएपछि खुद्राले त बढाउनु नै पर्‍यो । सरकारले आयातकर्ता र उद्योगीलाई अनुगमनको दायरामा ल्याउने हो भने मूल्यवृद्धि घट्न सक्छ , मुख्य कुरा खोज अनुसन्धान चाँहि हुनुपर्दछ ।”   

त्यसैगरी, उपभोक्ता अधिकार हित संरक्षण मञ्चकी महासचिव  कुमारी खरेलले महंगी बढ्नुको मुख्य कारण सरकारको गैरजिम्मेवारीपन रहेको बताइन । अहिले सरकारले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको कारण यहाँ महङ्गो भएको झुटो कारण देखाएको उनी दाबी गर्दछिन् । उनी भन्छिन् “भारतले चाहिँ सस्तोमा सामान दिएको छ तर नेपाल आइपुग्दा त्यो महङ्गो हुन्छ कसरी ? व्यवसायीसँग सरकारको साँठगाँठ भएको कारण हामी उपभोक्ता मारमा परिरहेका छौ ।” 

 अस्थिर राजनीति, देशमा उत्पादन बढाउन दिनुपर्ने कृषि सहुलियतमा सरकारको वेवास्ता र व्यवसायी पोस्ने सरकारी प्रकृतिका कारण निम्नवर्गीय मजदुरहरू मारमा पर्ने गरेको उनको तर्क छ । 

उनी भन्छिन्, “हुनेखाने पनि सडकमा आउने बेला भइसक्यो हुँदाखाने त भोक भोकै मर्नुपर्ने अवस्था आइसक्यो।”

आगामी आर्थिक वर्ष २०७९\ ८० को लागि सार्वजनिक गरेको बजेटमा सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा कायम राख्ने बताएको छ ।  तर अहिले नै  बजारमा उपभोग्य वस्तुको मूल्य बढेर २० प्रतिशतमा पुगेको अवस्था छ ।  त्यसैगरी पेट्रोलियम पदार्थको मूल्यमा भइरहने मूल्यवृद्धि सक्किएको स्थानीय निर्वाचन, वस्तुहरूको बढी माग हुनाले गर्दा बजारमा अझै वस्तुको मूल्यवृद्धि हुने अर्थशास्त्री सोहन कुमार कर्ण बताउँछन्  । उनी भन्छन्, “मूल्यवृद्धि भइरहेको छ, सरकार मुकदर्शक छ यस्तै प्रवृत्ति मौलाउने हो भने सर्वसाधारण जनताको बिचल्ली हुनेछ ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने बजार भाउ महंगीलाई सामान्य भएको दाबी गर्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण प्रसाद रेग्मी महंगीको मुख्य कारण अन्तर्राष्ट्रिय बजारभाउ भएको बताउँछन् ।

‘पेट्रोलियमको मूल्य बढ्दा समग्र मूल्यवृद्धि भएको हो’ नारायण भन्छन्, ‘यसलाई नियन्त्रण गर्न हामीले अनुगमन र आपूर्ति व्यवस्थाका लागि वाणिज्य विभाग मार्फत प्रशस्त काम गरिरहेका छौं ।’

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको असर विकासोन्मुख मुलुकमा छिटो पर्ने उनको तर्क छ । 

उनी भन्छन्, “भन्सारको प्रज्ञापन पत्र हेरेर मूल्य बजार नियन्त्रणको काम भइरहेको इन्धनका मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाकाे मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिन को लागि देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन र स्थानीय तहलाई पत्राचार गरिएको सकेका छौ”

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *