पोखराको ‘ब्राउन डेस्क’: जसले नवीन उद्यम सोच भएकालाई मलजल गर्दै हुर्काउँछ 

जीविको २०७९ जेठ २० गते १७:००

‘को–वर्किङ स्पेस’ जहाँ आफ्नो छुट्टै कार्यालय नभएका विभिन्न संघसंस्था, कम्पनीहरूका व्यक्तिहरू कुनै एउटा साझा ठाउँमा आएर काम गर्छन् । अफिस फर्निचर र उपकरणहरूमा खर्च गर्ने ठूलो रकम नभएका विशेषतः स्टार्ट-अपहरुले यस्तो अभ्यास गर्ने गरेका छन् । आफ्नो उद्यमको वृद्धि र विकासको लागि कार्यलय स्थापनामा लाग्ने खर्च उनीहरूले बचत गर्ने गर्दछन् । काठमाडौं लगायत नेपालका केही शहरहरूमा यो अभ्यास अहिले प्रचलनमा छ । कोभिडपछि धेरै कार्यालयले भाडा तिर्न सकेनन् । काम गर्ने ठाउँ पनि चाहिने र खर्च पनि कम हुने विकल्पका लागि उत्तम बन्ने गरेको छ ‘को–वर्किङ स्पेस’ ।

यस्तै कम पैसामा आफ्नो अफिसको काम गर्न सकिने, नयाँ नयाँ सोचमा छलफल गर्ने र उद्यमको योजना बनाएर काम गर्ने थलो हो; पोखराको ‘ब्राउन डेस्क’ ।  धेरै जसो क्याफे, चिया अड्डाहरूमा देशको तत्कालीन राजनीतिमा के भइरहेको छ ? नेताहरू के बोले ? कुन कलाकार के गर्दै छन् ? बजारमा कस्तो फेसन आयो ? जस्ता कुराहरूमा बहस हुने गरेको हुन्छ । तर ब्राउन डेक्समा भने यि यस्ता विषयमा भन्दा नयाँ व्यवसाय, उद्यमशीलताको बारेमा चर्चा हुने गर्छ ।    

यदि तपाईं नयाँ व्यवसाय गर्ने सोचमा हुनुहुन्छ तर व्यवसाय कसरी सुरु गर्ने ? व्यवसाय सुरु गर्नुअघि र पछि कस्ता कुराहरूमा ध्यान दिनुपर्छ ? व्यवसाय दर्ता कसरी गर्ने ? आफ्नो उत्पादनको बजारीकरण कसरी गर्न सकिन्छ भन्ने कुराको अन्योलमा हुनुहुन्छ भने यी सबै समस्याको बारेमा ब्राउन डेस्क पोखराले  तपाईंलाई गाइड गर्दछ ।   

विगत ३ वर्षदेखि स्टार्ट-अप, व्यवसायी र नयाँ उद्यम गर्न खोज्ने उद्यमीहरूलाई व्यवसाय कसरी गर्न सकिन्छ? सरकारले प्रदान गर्ने सस्तो ब्याजदरको ऋण कसरी पाउन सकिन्छ ? आफ्नो व्यवसायलाई कसरी स्थिरता दिन सकिन्छ ? भन्ने जस्ता विषयहरूमा सहजीकरण गर्दै आएका छन्, ब्राउन डेस्कका सञ्चालक क्षितिज बराल । 

“धेरैले व्यवसाय गर्छु भन्ने मात्र सोचेका हुन्छन्, तर यसको पछाडिको प्रकृयाको बारेमा थाहा नहुँदा कतिले बिचमै व्यवसाय बन्द गर्छन् त कति  व्यवसाय व्यवस्थापन गर्न नसकेर भौँतारिनु पर्ने हुन्छ। तर यस्तो समस्याको सहजीकरण गर्ने गर्छौँ ।”  क्षितिज  बताउँछन्  । 

ब्राउन डेस्कका सञ्चालक क्षितिज : फोटो/आयुष यगोल

क्षितिज र उनका अरु ३ जना साथीहरू मिलेर २०७० सालमा ‘पोखरा इन्भेस्टमेन्ट’  खोलेका थिए । शुद्ध व्यवसायिक नाफाको लागि खोलिएको उक्त कम्पनीले व्यवसाय गर्न सिकाउनु भन्दा पनि पोखराका सेयर होल्डरहरुको प्रमाणपत्र काठमाडौंबाट लागिदिने काम गर्दथ्यो । यसरी काम गर्दा सेयर व्यापार, किन बेच, नाफा घटाको बारेमा धेरै कुराहरू हुने भएकोले यसबारे कुरा गर्ने एउटा चौतारो बनाउँ भन्ने साथीहरूको सल्लाहमा  ‘रेशम क्याफे’ खोलेको क्षितिज बताउँछन् । 

ब्राउन डेस्कमा रहेको रेशम क्याफे : फोटो/आयुष यगोल

क्षितिज २०७४ सालतिर पढाईको सिलसिलामा बंगलादेश पुगे । उनले  ३ महिना बंगलादेश बसेर मोहमद युनुस इन्स्टिच्युटमा इन्टर्नसिप गरे । युनुस नोबेल शान्ति पुरस्कार विजेता हुन् । मुहम्मद युनुस बङ्गलादेशका प्रख्यात अर्थशास्त्री र बंगलादेश ग्रामीण बैंकका संस्थापक हुन्। यही बैंकमार्फत उनले बङ्गलादेशमा साना स्केलका व्यवसाय सुरु गरेका हुन् । बङ्गलादेशमा लघुवित्त कार्यक्रममा महिलालाई सहभागी गराएर आर्थिक उन्नतीमा उल्लेखनीय योगदान पुर्‍याएका युनुसको संस्थामा ३ महिने इन्टर्न हुँदा क्षितिजलाई लाग्यो यस्तो सामाजिक उद्यमको मोडल पोखरामा पनि सुरु गर्नुपर्छ ।

सामाजिक उद्यमबाट व्यवसायिक नाफा भन्दा पनि समाजलाई धेरै लाभ दिने अवधारणामा काम गर्ने सोच भएकालाई सहयोग गर्ने संस्था बनाउने उद्देश्य लिएर क्षितिज नेपाल फर्किए । क्षितिजले त्यहाँ बस्दा धेरै नयाँ नयाँ व्यवसायका आइडियाहरू बारे छलफल गर्ने मौका पाए । त्यति बेला उनले नेपालमा सम्भावना भएका र यहाँ गर्न सकिने नयाँनयाँ उद्यमहरूको बारेमा सोचेको उनी बताउँछन् ।    

उनी भन्छन् “नेपालमा नै धेरै सम्भावना भएको पायौँ त्यसैले युवाहरूलाई समेटेर उनीहरूबाट पनि नयाँ उद्यमबारे थप जानकारी बटुल्यौँ ।”

यसरी विभिन्न वर्गका युवासँग छलफल र सहकार्य गर्दा धेरै  स्टार्टअपका आइडियाहरू आए, कति आइडियाहरूले चकित नै बनायो । यसरी निकालेको आइडियाहरूलाई लिएर धेरैले अहिले आफ्नै उद्यमलाई अगाडि बढाएका छन्  ।  

उद्यम गर्ने सोच भएका तर  स्रोत, साधन, पुँजी, बजार आदिको कारणले गर्दा उनीहरू अगाडि बढ्न सकिरहेका हुँदैनन् । यसरी बिभिन्न कारणले गर्दा आफूसँग क्षमता भएर पनि अघि आउन नसक्नेलाई सहयोग किन नगर्ने भनेर क्षितिज र उनका साथीहरूले खोले ‘ब्राउन डेक्स’ : जहाँ आफ्नो छुट्टै अफिस खोल्न कठिनाइ  हुनेहरूले गएर काम गर्न सक्छन् ।   

 ब्राउनडेस्कमा काम गर्न आउने संस्था अनि व्यक्तिले पनि यो ठाँउलाई खुबै रुचाउँछन्। कफी पिउँदै काम गर्न रमाइलो महसुस गर्छन्, यहाँ काम गर्न आउनेहरू । ब्राउन डेस्कमा जति धेरै मानिस बसेर काम गरेपनि हल्ला भने  हुँदैन । काम गर्ने ठाउँमा अनावश्यक गफ नहोस् भनेर क्षितिजले खुबै राम्रो युक्ति निकालेका छन् । उनले ‘कुरा काट्ने ठाउँ’ नाम दिएर बेग्लै स्पेस नै छुट्याएका छन् । 

“जसलाई काम गर्दागर्दै अल्छी लाग्छ, अन्य गफ गर्न मन लाग्छ त्यस्ता व्यक्तिहरू कुरा काट्ने कोठामा गएर गफ गर्न सक्छन् । यसो गर्दा काम गर्ने अन्यलाई पनि गाह्रो पर्दैन । गफ गर्नुपर्नेले पनि मज्जाले गफ मार्न पाउँछन् ।” क्षितिज सुनाउँछन् ।  

ब्राउन डेस्कमा रहेको कुरा काट्ने ठाँउ : फोटो/आयुष यगोल

ब्राउन डेक्समा बसेर काम गर्नेको लागि कुनै समय सिमा भने तोकिएको छैन। तोकिएको शुल्क तिरेर आफूलाई कति घण्टा, दिन, महिना या वर्ष काम गर्नु पर्ने हो, त्यतीनै समय बसेर काम गर्न सकिन्छ । काम गर्ने समय अवधिभर इन्टरनेट, फोन, पानी, चिया कफी, प्रिन्टर, फोटोकपी, फर्निचर जस्ता सबै कुराहरूको सेवा लिन सकिन्छ । यो सबै एउटा प्याकेजको रुपमा रहेको क्षितिज बताउँछन् ।   

ब्राउन डेक्समा एउटा टेबल लिएर काम गर्दा सुविधा अनुसार मासिक ३ हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म पर्ने गर्छ । सामूहिक काम गर्ने हिसाबले डेस्क लिएको खण्डमा ३ हजार रुपैयाँ पर्छ भने सिङ्गल क्याबिन लिएर काम गर्न चाहेमा ६ हजार रुपैयाँसम्म पर्छ ।  

 कोभिड सुरु हुनुभन्दा केही महिना अगाडि क्षितिजले ब्राउन डेस्क खोले तर सोही समय महामारी सुरु हुँदा उनलाई व्यवसाय चलाउन हम्मेहम्मे पर्यो । एक समय त उनलाई आफूले सुरुवात गरेको व्यवसायलाई नै बन्द नै गरौँ कि जस्तो लाग्यो । 

“आम्दानी थिएन, लिएको ठाउँको भाडा तिर्नुपर्थ्यो, अप्ठ्यारो समय थियो तर मैले हार मानिन र ब्राउन डेस्कलाई जारी राखेँ,” क्षितिज भन्छन्, “मैले ब्राउन डेस्क छाड्न खोज्दाखोज्दै नयाँ सेयर हाल्ने साथी पाएँ जसका कारण म भित्र थप जाँगर पलायो ।”

 कोभिड त सकियो तर क्षितिजको समस्या भने सकिएन । मानिसहरूलाई को वर्किङ स्पेस बारे बुझाउन नै सार्हो पर्यो । पहिले त मानिसहरूले यसरी ‘काम गर्न सकिन्छ र’ ? एउटा मात्र अफिस भएपो काम गर्न सजिलो हुन्छ भन्ने सोच्न थाले तर केही विदेशी नागरिक र कम्पनीले ब्राउन डेस्कमा बसेर काम गर्न थालेपछि भने क्षितिजको सोचले गति पायो । 

यसरी विदेशीले काम गर्न थालेपछि सबै मिलेर काम गर्दा सजिलो हुने रहेछ । एक अर्काको आइडियाहरू आदान प्रदान हुँदा झन काम गर्न सजिलो हुने कुरा सबैले बुझे र यहाँ आएर काम गर्न थाले ।    

अहिले यहाँ ४ वटा कम्पनी दैनिक काम गर्छन् । व्यक्तिगत काम गर्न पनि थुप्रै मानिस यहाँसम्म पुग्ने गर्छन् । अहिले उनको ब्राउन डेस्कले गति पाएको छ, क्षितिज पनि खुसी देखिन्छन् ।  

ब्राउन डेस्कमा आएर काम गर्नेलाई पैसा लिएर स्पेस मात्र दिने होइन उनीहरूलाई व्यवसाय सञ्चालन गर्ने प्रक्रिया, उद्यमलाई प्रभावकारी बनाउने टिप्स, बजारीकरण र सरकारले दिने सस्तो ब्याजदरको ऋणको बारेमा पनि ब्राउनडेस्कले समन्वय गर्ने गरेको छ। 

ब्राउन डेस्कको को वर्किङ स्पेस : फोटो/आयुष यगोल

ब्राउन डेक्समा विगत १ वर्ष पहिले आफ्नो अफिस राखेका पोखरा-९ नयाँबजारका सन्तोष थापाले पनि आफ्नो व्यवसायको पहिलो चरणमा ब्राउन डेक्सले आफूहरुलाई काम गर्ने ठाउँ लगायत व्यवसाय अघि बढाउने प्रकृयाको बारेमा सहयोग गरेको बताउँछन् । 

“शान्त वातावरण भएकोले त्यहाँ काम गर्न उर्जा आउँथ्यो । चिया, कफी,पानी जति खाएपनि हुने अनि कुनै समस्या पर्‍यो भने त्यही छलफल गरेर सुल्झाउन सकिने हुँदा त्यहाँ काम गर्नुको मज्जा छुट्टै थियो,” सन्तोष सुनाउँछन् ।    

हुनतः सन्तोषको कम्पनीले ३ महिना मात्र ब्राउन डेक्समा रहेर काम गरेको थियो ।   सुरुवाती दिनमा छुट्टै अफिस लिन पुँजीको अभाव भएको कारण उनीहरू त्यहाँ बसेको उनी बताउँछन् । पछि त्यहाँ काम गर्दै जाँदा कम्पनीको आम्दानी बढ्यो योसँगै कर्मचारीहरू पनि थपिएको कारण उनीहरूले ब्राउन डेक्स छोडेको सन्तोष बताउँछन् । 

यसरी रमाइलो वातावरणमा काम गर्न पाउने ब्राउन डेक्सले आगामी दिनमा ‘ह्युमन लाइब्रेरी’ सञ्चालन गर्ने योजना राखेको छ । धेरै अफिसहरूमा अनुसन्धान गर्न, दैनिक कहाँ के भई रहेको छ भन्ने समाचार थाहा पाउनको लागि किताब, पत्रपत्रीका हेर्न लाइब्रेरी बनाइएको हुन्छ । तर क्षितिजले सुरुवात गर्ने भनेको ह्युमन लाइब्रेरीको आइडिया पनि गज्जबकै छ । अरु भन्दा फरक अनि नयाँ ।  

“यो लाइब्रेरीमा मानिसले मानिसलाई पढ्न पाउँछन् । आफ्ना दुःख बिसाउन पाउँछन् । कति कुरा अरुसँग पोख्न नपाएर भित्र भित्र गुम्सिरहेका हुन्छन् । त्यसैले यहाँ गएर आफूले नचिनेको अनि कहिले नदेखेको मान्छेलाई बिना कुनै परिचय, पूर्ण गोप्यता कायम गरेर आफ्नो मनमा भएका सबै कुराहरू पोख्न सक्छन् र आफ्नो मनमा रहेको बोझ हटाउन सक्छन्  ।” क्षितिज आफ्नो योजना यसरी सुनाउँछन् । 

ब्राउन डेस्क को-वर्किङ स्पेसको फाइदाको बारेमा आगामी दिनमा पनि नयाँ सोच भएका उद्यमीहरूलाई बताउँदै जाने र उनीहरूका सोचलाई सामाजिक उद्यममा परिणत गर्न निरन्तर सहयोग र समन्वय गर्ने क्षितिजको उद्देश्य रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *