नेपालमा सीप सिकेर दुबइमा उद्यमी बनेकी साधना (भिडियो)

उनले नेपाली सहित अन्य देशका महिलाहरूलाई पनि रोजगारी दिएकी छन् ।

धर्मराज रिमाल २०७९ जेठ १३ गते २१:१५

डेढ दशक अगाडिसम्म भरतपुर चितवनकी साधना सापकोटालाई दुबइमा यति धेरै व्यवसायिक सफलता मिल्नेछ भन्ने कुनै हेउ थिएन । उनी यो कुरामा विश्वस्त थिइन्, “सीप सिकियो भने भएसम्म नेपालमै नभए पनि नेपाल बाहिर पनि पर्याप्त अवसर छ ।” सीपको महत्व बुझेकी साधनाले पार्लरको काम सिकेर ब्युटिसियन बन्ने योजना बनाइन् ।

तालिम पश्चात उनलाई व्यवसायिक रूपमै पार्लरको काम अगाडि बढाउन सकिन्छ भन्ने आत्मविश्वास बढ्यो। साधना भन्छिन्, “हातमा सीप थियो । अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सुरुवात गर्न सक्छु जस्तो लाग्यो अनि स्वरोजगार बन्न खोजेँ,”

उनले छ वर्षसम्म आफ्नै ठाउँमा ब्युटिपार्लर चलाइन् । व्यवसायले राम्रै गति लिँदै थियो सोहीक्रममा दुबइमा उनले पार्लरकै काम गर्ने राम्रो अवसर भेटिन् ।

“अरु काम भएको भए म जाने थिंइन । ५–६ वर्ष नेपालमै पार्लर सञ्चालन गरेपछि थप अनुभव लिन पनि जानुपर्छ भन्ने सोचेर दुबइ जाने निर्णय गरेँ,” साधना बताउँछिन् ।

वैदेशिक रोजगारीमा जाँदा नेपालमै आफूले गर्ने कामको सीप सिकेको र केही वर्ष सोही काम गरेकाले पनि विदेशमा काम गर्न धेरै नै सहज भएको साधनाको अनुभव छ ।

विदेशमा केही समय अरूको पार्लरमा काम गर्दा साधनाले थप सीपसँगै सो देशको भाषा पनि सिकिन् । अब भने कमाएको पैसा लगानी गरेर विदेशमा नै आफ्नै पार्लर खोल्ने आँट गरिन् ।

दश वर्ष भयो साधनाले दुबइमा आफ्नै पार्लर चलाएको । उनको व्यवसायले राम्रै प्रतिफल दिइरहेको छ । हाल नेपाली सहित पाकिस्तानी अनि फिलिपिनो महिलाहरूलाई रोजगारी दिएकी छन् साधनाले।

विदेशमा पुगेर पनि स्वरोजगार बनेकी साधनाले आफूजस्तै विदेश आएर काम गर्न चाहनेलाई सीप सिकेर आउन सुझाव दिन्छिन् । आफूसँग सीप छ भने सो अनुसारको काम गरेर राम्रो आय आर्जन गर्न सकिन्छ भन्ने मान्यता छ उनको ।

वैदेशिक रोजगारीमा जाने अधिकांश व्यक्तिले प्रक्रिया नै पूरा नगर्ने, ठगीमा पर्ने अनि विदेश गएपछि अलपत्र पर्ने जस्ता घटनाहरू उनले डेढ दशकमा धेरै देखिन् ।

वैदेशिक रोजगारीमा जानेहरूलाई साधना सुझाव दिन्छिन्, ” हतारमा विदेश आउने हाम्रो गलत अभ्यास छ । सीप नसिकी विदेश काम गर्न जाँदा सुरुवातमा हामीलाई सजिलो लाग्ला तर यहाँ आएपछि न भने अनुसारको काम पाइन्छ न त सेवा सुविधा नै । त्यसैले सीप सिकेर, प्रक्रिया पुर्‍याएर अनि आधिकारिक बाटोबाट वैदेशिक रोजगारीमा जानुपर्छ ।”

हेर्नुहोस्, स्वदेशमा सीप सिकेर विदेशमा उद्यमी बनेकी साधनाको कथा:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *