“धन्न जापानको भिसा लागेन”
अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष

बिना सुनार २०७९ वैशाख १८ गते १२:३२

त्रियुगा नगरपालिका -९ गाइघाट उदयपुरका –२६ वर्षीय मिलन बस्नेत भन्छन्, “बलभद्र कुँवर कहिले जन्मिए ? जङ्गबहादुरले के गरे ? भिमसेन थापा को थिए? जस्ता कुराहरू मात्र हामीलाई स्कुलमा कण्ठ पार्न लगाइन्थ्यो । त्योसँगै रेडियो टिभी बिग्रियो भने कसरी बनाउने, बत्तिको लाइन कसरी जोड्ने भनेर सिकाएको भए दैनिक जीवनका कामहरू गर्न कति सजिलो हुन्थ्यो होला ?”

८ मा पढ्ने बेला एउटा स्विच दबाउने बित्तिकै झलमल्ल बत्ती बलेको देख्दा उनको दिमागमा कसरी सिक्ने होला यस्तो काम भनेर जिज्ञासा आयो । उनको बाल मस्तिष्कमा त्यतिबेला देखिनै इलेक्ट्रिसियन बन्ने चाह बढ्यो । २०६९ सालमा प्रवेशिका परीक्षा दिएर खाली बसेको समयमा प्रयास नेपाल नामक संस्थाले इटहरी, सुनसरीमा सीप विकास तालिम आयोजना गरेको उनले थाहा पाए । त्यै तालिममा प्लम्बरको ६ महिने सीप सिक्ने मौका मिल्यो मिलनलाई। त्यतिबेला उनी भर्खर १७ वर्षका थिए । उनलाई तालिम अवधिमा प्रशिक्षक सरसँगै विभिन्न ठाउँहरूमा गएर काम गर्ने अवसर पनि मिल्यो । यसरी काम गरे वापत मिलनले पैसा पनि पाउन थाले। पैसा हात परेपछि यो काम गरेर पनि राम्रैसँग जीविका चलाउन सकिने रहेछ भन्ने उनलाई महसुस भयो । त्यसपछि बिस्तारै आफै ठेक्का लिएर काम सुरु गरे । आम्दानी पनि राम्रै हुँदै गयो ।

आफ्नो अनुभव सुनाउँदै मिलन बस्नेत, फोटो: प्रथम बिष्ट/जीविको

“काम गर्ने क्रममा म एउटा मात्र काम गर्छु भनेर कहाँ सुख पाइन्छ र ? धरा बिग्रेर बनाउन जाँदा बत्तीको तार चुँडिएको छ, बनाइदिनुस् न भनेर आग्रह गर्ने, कसैले टिभी जोडिदिनु पर्‍यो, फ्रिज बनाइदिनु पर्‍यो भनेर आग्रह गर्नुहुन्थ्यो ।” मिलन सम्झदैँ भन्छन्, “त्यसपछि अब प्लम्बरको मात्र होइन इलेक्ट्रिक सम्बन्धी तालिम पनि लिनुपर्छ भन्ने विचार आयो र २०७२ सालमा पुन प्रयास नेपालबाट ६ महिने बिल्डिङ वायरिङ् (Building Wiring) को तालिम लिएँ ।”

बिल्डिङ वायरिङ् तालिम लिएपछि मिलनलाई काम गर्न थप हौसला मिल्यो। तालिम लगत्तै त उनले ठेक्का पाएनन् तर घर व्यवहार चलाउनको निम्ति भएपनि अरुले ठेक्का लिएको ठाउँंमा काम गर्न थाले ।

संघर्षका दिनहरु सम्झँदै उनी भन्छन्, “काम सजिलो त कुनै पनि हुँदैन । तर तराइको चर्को घाममा बिहानदेखि बेलुकासम्म पानी समेत खान समय मिल्दैनथ्यो । सुरुवाती दिन अलिक कष्टकर भयो ?”

यसरी नै मिलन निरन्तर काममा खटिँदै गए । दु:ख कष्ट जति भएपनि उनी काममा दिन प्रतिदिन दक्ष बन्दै गए । २०७३ सालमा गाउँकै एकजना दाइसँग इलेक्ट्रिसियन र प्लम्बरको काम गर्न उनी काठमाडौं आए । काठमाडौंमा तीन चार महिना बसेर काम गर्दा आफूले तीन-चार लाख रुपैयाँ नै कमाएको मिलन बताउँछन् । तर पढाईको करणले गर्दा फेरि गाउँमै फर्किए उनी । गाँउमा पनि मिलनलाई धेरै कामका अवसरहरू आउन थाल्यो । उनी यतिसम्म व्यस्त भएकी क्याम्पस जाँदा झोलामा काम गर्ने उपकरणहरू बोकेरै जान्थे अनि काम गर्ने ठाउँमा किताबहरु बोकेर पुग्थे ।

यसरी काममा सफलता मिल्दै जाँदा पनि मिलनको बुवा भने उनको पेशाप्रति खुशी थिएनन् । मिलनका बुवाले मिलनलाई अर्काको घरमा गएर बत्ती जोड्ने, ढल सफा गर्ने, चर्पी बनाउने गर्नुभन्दा विदेशिन दबाब दिन थाले ।

मिलनले बुवालाई आग्रह गर्दै भने, ” हातमा सीप छ त्यसैले नेपालमा नै आफ्नै व्यवसाय गर्छु । १ लाख रुपैयाँ ऋण मिलाईदिनुस्”

तर मिलनका बुवा तयार भएनन् । नेपालमै व्यवसाय गर्नका लागि १ लाख ऋण खोजिदिन तयार नभएका बुवाले जग्गा धितो राखेर १० लाख रुपैयाँ ऋण मिलाए अनि जापान जाने तयारी गर्न मिलनलाई काठमाडौं पठाए । मिलनको जापान जाने अफर लेटर त आयो तर जापानको दूतवासले भिसा दिन अस्वीकार गर्‍यो । बुबाको छोरोलाई विदेश पठाउने सपना पूरा भएन ।

विदेश जान नपाएपछि मिलनले काठमाडौंमा काम खोज्न थाले । काम खोज्दै जाँदा गाउँकै अर्का एक छिमेकी दाइले उनलाई काठमाडौं मेरियट होटेलमा काम लगाइदिए । सुरुमा उनी त्यहाँ पानीको ट्याङ्की सफा गर्ने, फिल्टर सफा गर्ने, स्विमिङ पुल सफा गर्ने लगायतका काम गर्थे । हातमा सीप भएका मिलन त्यत्तिमा मात्र सीमित रहेनन् । काम गर्ने क्रममा पाइपहरू बिग्रियो भने पनि बनाउने, बत्तिको केही समस्या भएमा त्यो पनि समाधान गरिहाल्ने गर्थे उनी । कामप्रति उनको लगाव देखेर होटलका उच्च तहका कर्मचारीहरू प्रसन्न भए । उनका कामबाट सन्तुष्ट थियो होटेल व्यवस्थापन । आफ्नो काममा लगनशील मिलनलाई मेरियट होटेलले बहु कौशल टेक्निसियन (multi skill technician) को पदमा बढुवा गर्‍यो ।

“आफूसँग सीप र इमानदारिता छ भने त्यो कहिले पनि खेर नजाने रहेछ ।” मिलन भन्छन्, “काठमाडौं मेरियट होटेलमा मल्टिस्किल टेक्निसियनको जिम्मेवारी पाउनु मेरो लागि ठूलो उपलब्धि हो । अब थप तालिम लिएर अगाडि बढ्ने योजना छ मेरो ।”

विद्युतीय काम गर्दै मिलन बस्नेत, फोटो: प्रथम बिष्ट/जीविको

अहिले मिलनको महिनामा ७० हजार रुपैयाँसम्म कमाइ हुन्छ । विदेशमा कमाउने पैसा आफूले नेपालमै कमाएको मिलन भन्छन् । आफ्नो पेशामा शारीरिक जोखिम धेरै भएको तर सुरक्षाका उपायहरू अपनाइ सुरक्षित भएर काम गर्ने हो भने यो क्षेत्रमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने मिलनको धारणा छ । त्यसैले त मिलनले आफू मात्र होइन आफ्ना साथीभाइ अनि श्रीमतीलाई समेत प्राविधिक शिक्षा/तालिम लिन प्रोत्साहन गर्ने गर्छन् । यही पेशामा आउन चाहनेहरूलाई मिलन सीप सिकेर तालिम लिएर मात्र होइन त्यसको प्रमाण पत्र पनि साथै लिएर आउँदा राम्रो हुने सल्लाह दिन्छन् । मिलन भन्छन्, “अवसर भन्ने कुरा अरुले दिने होइन आफै जुटाउनु पर्दछ । आफू सक्षम भए अवसर स्वत: पछि लागेर आउँछ।”

मिलनका धेरै साथीहरू विदेशमा छन् । सीप सिकेर नेपालमै आत्मनिर्भर हुने मिलनको निर्णयलाई सम्मान गर्छन् उनका साथीहरूले । एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका मिलनको अहिलेसम्मको यात्रा सहज त पक्कै थिएन तर दृढ संकल्प र अठोट लिएर आफ्नो सीपलाई निखार्दै अगाडि बढेका उनी अबको यात्रामा पनि अविचलित हुँदै अगाडि बढ्ने कुरामा प्रतिबद्ध छन् ।

मिलन भन्छन्, “छोरो जापान पुगोस् भन्ने बुवाको इच्छा त पुरा गर्न सकिन तर जापानको भिसा नलागेकामा मलाई रत्तिभर ग्लानि र पछुतो छैन । बरु भिसा नलागेर आफ्नो सीप र दक्षतालाई चिन्न पाउँदा म खुशी छु ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *