उदाहरणीय ‘नवजीवन आमा समूह’ : यसरी पनि गाउँघरमै आयआर्जन गर्न सकिन्छ (भिडियो) नवजीवन आमा समूहको मासिक बैठक, फोटो: पुष्कल श्रेष्ठ/जीविको

धर्मराज रिमाल २०७९ वैशाख ३ गते २२:३२

अरुदिन भन्दा आज दुर्गा सुवेदीलाई अलिक हतार छ । घरको काम सकाएर, गोठमा भएका बस्तुभाउलाई पराल दिएर उनी आमा समूहको बैठकमा जानुपर्ने छ आज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ०१ मा रहेको पशुपतिनगर टोलका दुर्गा जस्ता अन्य २५ जना महिलाहरूलाई हरेक महिनाको १५ गते यस्तै हतार हुने गर्छ । पशुपतिनगरका २५ जना महिलाहरू मिलेर नवजीवन आमा समूह गठन गरेका छन् । यो समूह गठन गरेको २ वर्षभन्दा बढी भएको छ । हरेक महिनाको १५ गते हुने बैठकमा समूहका सदस्यले १०० रुपैयाँ जम्मा गर्छन् र ऋणको आवश्यकता भएका सदस्यले कर्जा माग फारम भरेर पैसा बुझ्छन् भने ऋणको भाखा सकिएकाले पैसा फिर्ता गर्छन् । नवजीवन आमा समूहको नियम नै छ; यहाँबाट ऋण लिएपछि त्यसलाई आयआर्जन हुने क्षेत्रमा लगानी गर्नु पर्ने हुन्छ तर घरमा कोही बिरामी नै परेको अवस्था छ भने त्यस्तो अवस्थामा उपचारका लागि खर्च गर्न भने पाइन्छ । समूहका सदस्यहरूले गरेको बचत, ब्याज र केही शुभेच्छुकको आर्थिक सहयोगले आज नवजीवन आमा समूहको पूँजी १ लाख पुगेको छ ।

समूहका सदस्यले पालैपालो एकपटकमा १० हजारसम्म ऋण लिन्छन् । केहीले कुखुरा पालेका छन्, कसैले बाख्रा किनेका छन् भने कतिले बिउबिजन किन्ने गरेका छन् ।

समूहका सदस्यले ऋण लिँदा १ प्रतिशत मात्र ब्याज तिर्नुपर्ने हुन्छ जुन सहकारी र बैंकको तुलनामा अत्यन्तै न्यून हो । ऋण लिने प्रकृयालाई सहज र शीघ्र बनाइएको समूहकी कोषाध्यक्ष सुमन सुवेदी बताउँछिन् । अहिलेसम्म सबै सदस्यले समूहबाट ऋण लिएर आयआर्जन गर्दै आएका छन् ।

पशुपतिनगरका महिलाहरूको काम वास्तवमै उदाहरणीय छ । नवजीवन आमा समूहका कामलाई अझ धेरै ब्यापक बनाउँदै स्थानीय स्तरमा महिलालाई आयआर्जनका लागि सहयोग गर्न यो समूह प्रतिबद्ध छ । वडा र नगरपालिकासँग पनि सहयोगका लागि पहल गरिरहेको समूहका सल्लाहकार तथा पशुपतीनगरका स्थानीय कृष्णप्रसाद तिवारी बताउँछन् ।

समूहको महत्व सबैले महसुस गरेका छन् । यसअगाडि पशुपतिनगरमा महिलाहरू आयआर्जनका लागि यसरी जुट्ने गरेका थिएनन् । अब भने यो समूहमा जस्तोसुकै परिस्थिति आए पनि समाधान गर्दै अगाडि बढ्ने समूहका सदस्यहरूको आर्थिक उन्नतिमा नै केन्द्रित हुने अध्यक्ष तारादेवी तिवारी बताउँछिन्।

हेर्नुहोस् भिडियो:

भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *