सहरी खेती: सकिन्छ आनामा दाना फलाउन फोटो: नारायण अधिकारी

कौसीको उपयोग गर्नसके स्वस्थ र ताजा तरकारी खान त पाइन्छ नै, त्योसँगै पैसाको बचत र आम्दानी पनि हुन्छ

धर्मराज रिमाल २०७८ चैत १५ गते १९:१९

तपाईंले घरको कौसीमा के गर्नुहुन्छ ? जाडोमा घाम ताप्ने, धोएका लुगा सुकाउने, पारिवारिक जमघट अनि रमाइलोमा खान-पिन, बारबीक्यू गर्ने यस्तै यस्तै ..

कौसी खेती गरेर वार्षिक एक लाखभन्दा बढी तरकारीमा लाग्ने खर्च बचत गरेका सहरिया किसानहरूसँग कुराकानी गरेपछि यसको महत्वका बारेमा चर्चा गर्नु आवश्यक ठान्यौ । वास्तवमै कौसीको सदुपयोग गर्न सकियो भने वार्षिक लाखौं कमाउन सकिन्छ । कमाउन नै नसके पनि सोही बराबरको रकम बचाउन भने पक्कै सकिन्छ ।

बिहान बेलुकी खाना बनाउनु अघि धेरैलाई एउटै कुराले पिरोल्ने गर्दछ, ‘के तरकारी पकाउने ?’  यो सबैको साझा समस्या हो । तर काठमाडौं बालुवाखानी भंगालकी ५३ वर्षीय माया मानवीलाई भने तरकारी के पकाउने, तरकारी किन्न जान कुन समय छुट्याउने ? जस्ता विषयले खासै असर पर्दैन । खाना बनाउने बेलामा घरको कौसीमा फलेका ताजा तरकारी टपक्क टिपेर उनी पकाउने गर्छिन् ।

आफ्नो कौसी करेसामा माया मानवी

“काठमाडौंमा करेसा नभएर के भयो त मैले घरको छतमा थरीथरीका तरकारी फलाएकै छु,” माया खुसी हुँदै सुनाउँछिन् ।

तीन वर्षअगाडि कोरोना महामारीका कारण देशमा लकडाउन लागेपछि मायालाई दैनिक तरकारी किन्नका लागि बजार जान डर लाग्थ्यो । आफू सुगरको बिरामी भएकोले ताजा साग सब्जी, फलफूल खानु पर्ने तर महामारीमा बजार निस्किएर छानीछानी तरकारी किन्न नसक्दा उनलाई स्वास्थ्यको ख्याल राखिराख्न साह्रै नै तनाव भएको थियो । 

त्यसपछि उनले सोंचिन्, ‘अब कौसीमै तरकारी फलाउँछु, घरमै फलाएको खान्छु ।’ 

दुई दिन युट्युबमा कौसी खेतीबारे भिडियो हेरेपछि सागको बिरुवा ल्याएर रोपिन् । सागको बेर्ना सारेर उनले कौसी खेती सुरु गरिन् ।

“गज्जब भयो ! २० दिनमा नै साग त खान लायक भयो। भान्सामा आफ्नै कौसीमा फलेको साग खाँदा स्वाद नै बेग्लै लाग्यो,” माया सम्झिन्छिन् । 

यसरी साग फलाएपछि उनले कौसीलाई नै करेसा बनाउन सकिन्छ भन्ने महसुस गरिन् र अरू तरकारी पनि लगाउन सुरु गरिन् । अहिले उनको कौसी करेसा बनेको छ । थरीथरीका साग छन्, काउली करेला, बोडी, सिमी, आलु, खोर्सानी सबै कौसीमा मौसमअनुसार फलाउने गर्छिन्  । उनको कौसीमा   ३ सयभन्दा बढी बोट बिरुवा रोपिएको छ । अहिले उनले कौसीमै टनेल ( प्लास्टिक घर ) पनि बनाएकी छिन् । यसरी कोसीमै खेती हुन थालेपछि उनको तरकारी किन्ने पैसाको बचत पनि भएको छ ।

कौसी करेसामा मायाले ३ सयभन्दा बढी गमलामा तरकारी हुर्काएकी छन् ।

उनी भन्छिन्, “ वार्षिक एक लाखभन्दा बढी तरकारी किन्न खर्च हुन्थ्यो, अहिले मैले तरकारी किन्न पैसा खर्चिनु पर्दैन ।”

काठमाडौं नयाँ बानेश्वरका खिलेन्द्र कार्की (६४) ले पनि कौसीमै तरकारी फलाएर वार्षिक डेढ लाख बचाउँछन् । उनले कौसीमा तरकारी फलाउन सुरु गरेको २० वर्ष पुग्यो । खिलेन्द्र र उनकी श्रीमती बिन्दु कार्की मिलेर कौसीमा किसानी गर्छन् ।

“सुरुसुरुमा कौसीमा तरकारी रोपेको देख्दा छिमेकीहरू हाँस्ने गर्थे, अहिले उनीहरु नै कौसी खेती कसरी गर्ने भन्दै सोध्न आउँछन्,” खिलेन्द्र भन्छन् ।

कौसीमा हुर्काएको तरकारीमा पानी लगाउँदै काठमाडौं, नयाँ बानेश्वरका खिलेन्द्र कार्की

खिलेन्द्र आयल निगममा जागिर गर्थे । दिउसोको काम भएकोले बिहान बेलुकाको समय पूरै खाली हुन्थ्यो । त्यही समयलाई सदुपयोग गर्न कौसीमा तरकारी खेती सुरुवात गरेको उनी  बताउँछन् ।

उनी भन्छन्, “अहिले तरकारी, फलफूल, मरमसला सबै मेरो छतमा पाइन्छ। कौसी पूरै हरियाली छ, खुब आनन्द लाग्छ ।”

माया र  खिलेन्द्रले आफ्नै घरको कौसीमा मौसमी तरकारी, फलफूल लगाएर पैसाको बचत त गरेकै छन् । त्योसँगै स्वस्थ, ताजा, अर्गानिक अनि विषादीरहित खानेकुरा खान पाएका छन् । करेसा बारीमा काम गर्दा शारीरिक व्यायाम पनि हुने भएकाले तन्दुरुस्ती र ‘माइन्ड फ्रेस’ पनि हुने उनीहरु बताउँछन् ।

“कौसी खेती गर्न थालेपछि मलाई अन्य कसरत गर्नुपरेको छैन । यहीँ मेरो पसिना बग्छ, शरीर पनि स्वस्थ भएजस्तो लाग्छ,” खिलेन्द्र भन्छन् ।

माया र खिलेन्द्रले आफ्नो करेसामा फलेको तरकारी आफूलाई मात्र होइन, छिमेकी अनि साथीभाइलाई पनि चखाउने गर्दछन् । उनीहरूको कौसीमा फलेको  स्वस्थ अनि ताजा तरकारी कोसेलीका रुपमा पाउँदा छिमेकीहरु पनि दङ्ग पर्छन् ।

खिलेन्द्रले कौसीमा फलाएको तरकारी

सहरमा बसोबास गर्ने तर खेती गर्ने पर्याप्त जग्गा नभएकाहरुले कौसीलाई नै करेसा बनाएर आफ्नो पारिवारको तरकारीको माग धान्न सकिन्छ भन्ने उदाहरण हुन् माया र खिलेन्द्र ।

पछिल्लो समय काठमाडौंलगायतका सहरमा कौसी खेती गर्नेहरूको संख्या बढिरहेको छ । कौसी खेतीलाई प्रबर्द्धन गर्नका लागि स्थानीय स्तरमा निःशुल्क बीउ बिजन प्रदान गर्ने, तालिम दिने जस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न थालिएको छ । काठमाडौं महानगरपालिकाले गतवर्ष पाँच सय घर धुरीलाई लक्षित गरेर तालिम लगायतका विविध कार्यक्रमहरू गरेको थियो ।

प्राङ्गारिक फोहोरहरूको सदुपयोग गरी आफ्नो घरको छत, बरण्डा, कौसी, पर्खाल र घरका खाली जग्गाको सदुपयोग गरी विभिन्न प्रकारका तरकारी र फलफूल बालीहरूको घरायसी उत्पादनलाई प्रवर्द्धन गर्दै हरित सहर निर्माणमा योगदान पुर्‍याउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले ‘प्राङ्गारिक कौसी खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि,२०७६’ बनाएको छ । बागमती प्रदेश सरकारले विगत २ वर्षदेखि कौसी खेती गर्नेलाई १० हजारसम्म अनुदान दिने व्यवस्था गरेको छ ।

विभिन्न स्थानीय तहले काैसी खेती गर्ने उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरेर हौसला प्रदान गर्ने गरेको छ । पछिल्लो समयमा कौसी खेती प्रवर्द्धनका लागि मेलाहरुको आयोजना पनि गर्न थालिएको छ । गत असोजमा कौसी खेतीलाई बढावा दिनका लागि हलोखबर डटकमले ‘कौसी क्वीन’ आयोजना गरेको थियो । उपाधि जितेकी ललितपुरकी राधा ढकालले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेकी थिइन् ।

सामाजिक सञ्जालमा पनि काैसी खेती लक्षित गरेर अर्गानिक अकबरे कृषक र उपभोक्ता समुह, नेपाल, कौसी, करेसा र खेतबारी विविध, जस्ता विभिन्न पेज र ग्रुपहरु बनाइएको छ । कौसी खेती गर्ने र यसमा चासो राख्नेहरु सहभागी भएको यो समुहमा विभिन्न जानकारीमूलक सामाग्रीहरू नियमित पोस्ट गरिन्छ । यो समुहका सदस्यले आफ्नो कौसीमा लगाएका तरकारी र फलफूलका फोटोहरू पोस्ट्याउँछन् र अनुभव साट्छन् । एक अर्काबाट सिक्छन् अनि हौसला प्रदान गर्छन् । अर्गानिक उत्पादन गर्दै हरियाली प्रवर्द्धन र पर्यावरण संरक्षण कसरी गर्ने, कुन समयमा के रोप्ने, बीउबिजन कहाँबाट लिने, उत्पादन बढाउन र कौसी खेतीमा आउने समस्यालाई हल गर्न के कस्ता उपाय लगाउने, जैविक मल कसरी बनाउने, उत्पादनको भण्डारण कसरी गर्ने जस्ता विषयमा समूहका सदस्यले रुचि दिएर छलफल गर्छन् ।

“घरबाट निस्कने ९० प्रतिशत फोहोरलाई मल बनाएर समेत आफ्नै बारीमा प्रयोग गर्न सकिन्छ । फोहोर व्यवस्थापन गर्न सके फोहोर उठाउनेलाई पैसा पनि तिर्न पर्दैन । वडा कार्यलयमा आफूले गरेको कामबारे जानकारी दिए फोहोरको पैसा तिर्न नपर्ने हुन्छ ।” फोहोर व्यवस्थापनका लागि कौसी खेतीको महत्व दर्शाउँदै कृषि अभियानकर्मी नारायण अधिकारी बताउँछन् ।

कृषि अभियानकर्मी नारायण अधिकारी । उनले धर्म अर्गानिक गार्डेन सञ्चालन गरेका छन् ।

कौसी खेतीबाट राम्रो आम्दानी समेत गर्न सकिने भएपनि कौसी खेतीबाटै घरको तरकारीको माग पूरा गर्न सकिन्छ वा सकिन्न भन्ने दोधारमा थुप्रै मानिसहरू रहेका कारण यसलाई व्यापक भने बनाउन नसकिएको उनको तर्क छ ।

उनी भन्छन्, “क्यूवामा २० प्रतिशतभन्दा बढी कुल ग्राहस्थ उत्पादनमा कौसी खेतीले सहयोग पुर्‍याउँछ । नेपालमा पनि प्रायका छतहरू खाली छन् । यसलाई उपयोग गर्न सके तरकारी आयात गर्न नेपालले वार्षिक गर्ने अर्बौं खर्च कटौती हुन्छ ।”

२०६८ सालमा भएको जनगणनामा उपत्यकामा साढे तीन लाख घरहरु थिए । नेपालको जनगणना २०७८ अनुसार सबैभन्दा धेरै जनसङ्ख्या भएको काठमाडौंमा २० लाख १७ हजार ५३२ जना मानिस बसोबास गर्छन् । हरेक परिवारले आफ्नो घरका कौसीलाई करेसाबारी बनाउन सकेमा घरायसी मागलाई व्यवस्थापन गर्न कठिनाइ नहुने अभियानकर्मी नारायणको विश्वास छ ।

नारायण भन्छन्, ” सहरमा पनि खेती सम्भव छ। हामीले त अभियान नै चलाएका छौं । कौसी खेती र सहरी खेतीलाई प्रवर्द्धन गर्ने दायित्व हामी सबैको हो ।”

तथ्याङ्कलाई हेर्ने हो भने एउटा परिवारले कम्तीमा पनि ५ हजारको तरकारी मासिक खपत गर्छ । आर्थिक वर्ष २०७७-७८ मा मात्र रु.३८ अर्ब ५० करोडको हरियो तरकारी आयात भएको देखिन्छ ।

कृषिप्रधान मुलुक नेपालमा दुई तिहाइ जनता यसैमा लागे पनि स्थानीय उत्पादनले माग धान्न सकेको अवस्था छैन । वास्तविक किसानले उत्पादनको उचित मूल्य नपाएर बारीमै तरकारी नष्ट गर्नुपर्ने अवस्था छ। कृषि क्षेत्रमा आर्थिक वर्ष ०७८/७९ का लागि अहिलेसम्मकै सबैभन्दा बढी ४५ अर्ब ९ करोड रकम विनियोजन गर्दा पनि वर्षेनी निर्यात अत्यन्तै न्यून छ भने अर्बौं रुपैयाँको तरकारी छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट आयात गर्नु परेको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा २६ अर्बभन्दा बढीको तरकारी र सात अर्ब बढीको फलफूल आयात गरिएको छ । अर्बौं रुपैयाँको आयात गर्दा पनि नेपालीले विषादी रहित स्वस्थ तरकारी र फलफूल खान पाएका छैनन् । यसअगाडि तरकारी र फलफूलको विषादी परीक्षण गर्दा भारतको दबाबका कारण सरकार यस्तो संवेदनशील विषयमा पछाडि हटेको थियो जसले गर्दा बजारमा परीक्षण नभएका तरकारी भित्रिरहेका छन् । तरकारीको मूल्य दिन प्रतिदिन अकासिँदो छ भने सरकारले यसलाई अनुगमन र नियन्त्रण गर्न सकिरहेको छैन । सरकारले नै विषादीयुक्त तरकारी र फलफूलको उपभोगमा सहजिकरण गरिरहेको छ ।

नेपाल तरकारी र फलफूलमा आत्मनिर्भर बन्नका लागि सरकारी तदारुकता, आम नागरिकको इच्छाशक्ति र समय आवश्यक छ। यद्यपि, सानो स्केलमा नै कौसी खेती गर्न सकियो भने पनि तत्कालका लागि विषादी र महङ्गी दुबैबाट राहत भने पाउन सकिन्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक झण्डै ७ सय मेट्रिक टन तरकारी र फलफूल भित्रन्छ । कौसी खेती गर्न जाँगर गर्ने हो भने आयात प्रतिस्थापनमा पनि योगदान दिन सकिन्छ ।

 

फोटोहरु: माया मानवी, खिलेन्द्र कार्की, नारायण अधिकारी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *