२२ वर्षमै उपमेयर भएकी अर्चना भन्छिन्, “महिला र किशोरीको नेतृत्व विकासलाई प्राथमिकता दिएर काम गरेँ” (भिडियो)

'म आफूलाई अब रोक्दिन । म रोकिनु भनेको यहाँका महिला तथा किशोरीहरूको प्रतिनिधित्व रोकिनु हो ।'

धर्मराज रिमाल २०७८ चैत १० गते १८:२८

२०७४ सालमा भर्खर स्नातक तह व्यवस्थापन संकाय प्रथम वर्षको परीक्षाको तयारी गरिरहेकी पर्सागढी नगरपालिका, पर्साकी अर्चना चौधरीलाई स्थानीय तहको निर्वाचनमा आफ्नो नगरपालिकाको उपमेयर बन्ने ‘अफर’ आयो । त्यतिबेला उनी भर्खर २२ वर्ष लाग्दै थिइन् । ‘अफर’ यस अर्थमा, स्थानीय तहको निर्वाचनमा टिकट पाउन वडा सदस्यदेखि लिएर अध्यक्ष,उपमेयर, मेयर पदका आकांक्षी थुप्रै थिए । तर उनलाई अरुले जस्तो माथापच्ची गर्नु परेन । अर्चना त्यतिबेला नेपाली कांग्रेसको महिला महाधिवेशन प्रतिनिधि थिइन् । 

प्रमुख वा उपप्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था, मधेशी समुदायकी महिला त्यो पनि उच्च शिक्षा गर्दै गरेको, केही गरौँ भन्ने जोस र जाँगर भएको र लामो समयदेखि कांग्रेस पार्टीमा आवद्ध भएर पर्सागढीमा सक्रिय राजनीति गर्दै आएका जंगबहादुर दास थारूको छोरी हुनु जस्ता कारणले अर्चनाले सहज रुपमा उपमेयरको टिकट पाइन् ।

बुवा जंगबहादुर दास थारूसँग अर्चना, फोटो:पुष्कल श्रेष्ठ/जीविको

अर्चना यसलाई सहर्ष स्वीकार गर्छिन् । उनी भन्छिन्, “मेरो बुवाको मार्गदर्शन र सहयोग नभएको भए यती छिट्टै मैले यो उपलब्धि पाउने थिएन । म चाहन्छु हरेक किशोरीले मेरोजस्तै अगाडि बढ्न प्रेरित गर्ने बुवा पाउन्, परिवारको साथ र हौसला पाउन्।”

उनको हातमा टिकट हात पर्‍यो त्यस समयमा अर्चना दुविधामा परिन् । अब पढाई कसरी अगाडि बढाउने र जनप्रतिनिधि भएर विकासका काम कसरी गर्ने भन्ने कुराले केही समय अर्चना अन्यौल भइन् । तर आफूले पाएको अवसर समग्र किशोरी र विशेषगरी मधेशी महिलालाई सामाजिक तथा राजनीतिक नेतृत्वको मूलधारमा ल्याउन कोसेढुङ्गा हुनसक्ने सम्भावना देखेर अर्चना चुनावी घरदैलो अभियानमा होमिइन् । अर्चनाको उम्मेदवारीले पर्सा जिल्लामा एक प्रकारको उत्साह र तरङ्ग नै ल्यायो । निर्वाचनकै कारण उनले एउटा मात्र विषयको परीक्षा दिन पाइन् ।

अन्ततः नेपाली कांग्रेसबाट चुनाव लडेकी अर्चनाले आफ्नो निकटतम प्रतिद्वन्दीलाई करिव एक हजार मतले पछि पार्दै उपमेयरमा निर्वाचित भइन् । जनप्रतिनिधिसँगै अर्चनाले अहिलेपनि आफ्नो अध्ययनलाई निरन्तरता दिइरहेकी छन् 

उपमेयरमा निर्वाचित भएपछि केही समय अर्चनालाई जनप्रतिनिधीको काम, कारवाही र तौर तरिका सिक्न समय लाग्यो । तर उनका बुवाले हरेक समय उनलाई सहजिकरण गरे । किशोरी र महिलाका विविध विषयलाई प्राथमिकता दिएर विकासका लागि योजनाहरु बनाइन् ।

उनको नगरपालिकामा मुख्य सामाजिक समस्याका रूपमा बालबिबाह, विद्यालय तहमा नै छात्राहरूको अत्यन्तै न्यून संख्या, महिलाका यौन र प्रजनन स्वास्थ्य समस्या व्याप्त थिए ।

“हाम्रो पालिकामा किशोरी र महिलाका समस्याहरूको दुष्चक्र नै विद्यमान थियो ।  अहिले पनि  महिला र किशोरीका समस्याहरु पूर्णरुपमा सामाधान भएका छैनन् तर धेरै हदसम्म हामीले यसलाई न्यूनीकरण गर्न सफल भएका छौं” अर्चना भन्छिन्, “यो समस्याको मुख्य समाधान भनेकै उच्च शिक्षाको तहमा छात्राहरुलाई पुर्‍याउन सकियो भने धेरै हदसम्म अन्य समस्याहरु आफै नै कमी  हुँदै जान्छन् भन्ने कुरा महसुस गरेर विद्यालय शिक्षामा उनीहरूको उपस्थिती बढाउन विभिन्न  योजनाहरु निर्माण गरियो ।”

जीविको संवादमा पर्सागढी नगरपालिकाकी उपमेयर अर्चना चौधरी, फोटो: पुष्कल श्रेष्ठ/जीविको

छ-सात कक्षा पढ्दै गर्दा बालिकाको बिहे हुने अवस्था थियो । धेरै बालिका तथा किशोरीहरु महिनावारी भएको अवस्थामा विद्यालय नै नआउने अवस्था थियो । कतिपय किशोरीहरुको घर टाढा हुँदा र महिनावारी हुँदा लामो समयसम्म विद्यालय नआउने अवस्था थियो । यस्तो अवस्थामा पालिकाको केही वडालाई नगरपालिकाले बालमैत्री बनायो । मधेश प्रदेशमा पहिलो बालमैत्री नगर घोषणा गर्ने योजना अनुसार काम गरिरहेको उपप्रमुख अर्चना बताउँछिन् ।

आफ्नो स्थानीय तहमा किशोरीहरुलाई उच्च शिक्षा पढ्नका लागि प्रेरित गर्न अर्चनाले ‘हेर्दा सानो देखिने तर ठूलो महत्व राख्ने’ कामहरु गरेको बताइन् । अर्चना भन्छिन्, “हाम्रो नगरमा रहेका हरेक सामुदायिक विद्यालयमा स्यानिटरी प्याडको व्यवस्था गरिएको छ । यसले गर्दा महिनावारीका समयमा ढुक्क भएर बालिका तथा किशोरीहरू विद्यालय आउने गरेका छन् । त्यस्तै किशोरीहरुलाई सहयोग गर्न र कम्तिमा १२ कक्षासम्म पढ्नका लागि सहयोग होस् भनेर छात्रवृत्ति तथा साईकल बितरण पनि गर्ने गरेका छौं ।” 

आवश्यकता र प्राथमिकताका आधारमा अन्य क्षेत्रमा पनि नगरपालिकाले काम गरिरहेको अर्चना बताउँछिन् । यद्यपि, विविध नीतिगत प्रशासनिक तथा राजनीतिक चुनौतीले गर्दा आफ्ना मतदातालाई भनिएका सम्पूर्ण कामहरु गर्न नसकिएको अर्चना स्वीकार गर्छिन् ।

अहिले धेरै महिलाले आफ्नो उदाहरण दिएर आफ्नो छोरीलाई ‘अर्चनाजस्तै बन्नु पर्छ’ भन्दा गर्व लाग्ने उनी बताउँछिन् । पर्सागढी नगरपालिकामा  हुने गरेको  विभिन्न सामाजिक तथा राजनीतिक क्रियाकलापहरुमा अहिले महिलाहरुले नेतृत्व लिँदै गएको उनको दाबी छ । 

‘अबको योजना के छ ?’ भन्ने प्रश्नमा दृढ भएर अर्चना भन्छिन्, “म आफूलाई अब रोक्दिन ।  म रोकिनु भनेको  मेरो क्षेत्रका महिला तथा किशोरीहरूको प्रतिनिधित्व रोकिनु हो । म आफु पनि राजनीतिक रूपमा आफ्नो यात्रा अगाडि बढाउँछु  र अन्य महिला तथा किशोरीहरुलाई पनि यो अभियानमा सामेल गराउन  समन्वय र सहयोग गर्छु ।

हेर्नुहोस्, पर्सागढी नगरपालिकाकी उपमेयर अर्चना चौधरीसँग गरिएको जीविको संवाद:

भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *