अर्गानिक कृषि उद्यममा रमाएका नौ जना बालसखा

बिना सुनार २०७८ फागुन ४ गते १४:०९

बासुदेव राजथला र उनका ८ जना बालसखाहरूको एउटै विद्यालयबाट २०५८ सालमा एस् एल् सी दिए । २ दशकपछि अहिले उनीहरु विभिन्न क्षेत्रमा कार्यरत छन् । पहिलेदेखि नै यि नवै जनाले कृषि उद्यम गरेर अर्गानिक तरकारी उत्पादन गर्ने साझा उद्देश्य लिएका थिए । साथीहरू भेटघाट हुँदा यिनै विषयमा लामो समयसम्म छलफल गर्थे ।

एक दिन साथीहरूको यस्तै ‘गेट-टुगेदर’ मा संयुक्त रुपमा फार्म खोल्ने योजना बन्यो । मेलापात सुरु गर्नुअघि  ठूलो पूँजी कोहीसँग थिएन। मासिक ५ हजार रुपैयाँ संकलन गरेर केही पूँजी बन्यो, त्यही सानो पूँजीबाट सुरुवात गरिएको यस कृषि फार्म अहिले २६ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

नौ जना साथीहरूले सुरुवात गरेको मेलापात अर्गानिक कृषि फर्म अहिले ४ वर्ष पुग्यो । संयुक्त रुपमा सुरुवात गरिएको यस फार्म भक्तपुरको सूर्यविनायक-०१, सिरुटारमा छ ।

नेपाली मौलिकतालाई नमार्ने र अर्गानिक उत्पादनमा जोड दिने यस फार्मको विशेषता नै हो ।  “प्रविधिको प्रयोग गरेर ठूलो उत्पादन गर्छौँ तर अर्गानिकपन भने मर्न दिँदैनौँ,” बासुदेव भन्छन् । उनीहरूको फार्म नेपाल सरकार मातहतको कृषि ज्ञान केन्द्रको मापदण्ड अनुरूपको छ । मापदण्ड पुर्‍याएरै सञ्चालन गरिएको छ ।

“मापदण्ड अनुरूपको फार्म बनाएर कृषि गर्न सके राम्रो मुनाफा कमाउन सकिने रहेछ,” बासुदेव सुनाउँछन् । मेलापात अर्गानिक एग्रो फार्मको सफलता देखेर हेटौँडाको कृषि निर्देशनालयले उनीहरूलाई पुरस्कृत गर्‍यो । नेपाल सरकारले पनि उनीहरूको फार्मलाई बागमती प्रदेशकै सबैभन्दा उत्कृष्ट फार्मको रुपमा पुरस्कृत गरेको छ ।

मेलापात अर्गानिक एग्रो फार्मको मुख्य उत्पादन गोलभेँडा हो । फार्म सञ्चालन गरेको पहिलो वर्ष नै एक लाख किलो गोलभेँडा बजार पुर्‍याए । यसबाट उनीहरूलाई अझ धेरै उत्साह मिल्यो । अहिले यहाँ गोलभेँडासँगै काँक्रो, काउली, बन्दा, सिमी, बोडी, करेला, धनियाँ, खुर्सानी लगायतका तरकारी उत्पादन हुन्छ । सय टन बराबरको गोलभेँडा हरेक वर्ष मेलापातमा उत्पादन भएर बजार पुग्छ । ५ हजार किलो भन्दाबढी अन्य तरकारी पनि यहाँबाट बिक्री वितरण हुँदै आएको छ ।

थोपा सिँचाइ, मल्चिङ प्रविधि, माटो परीक्षण, तापक्रम सन्तुलनका लागि प्लास्टिक घर जस्ता प्रविधि मेलापातमा उपयोग गरिएको छ । मेलापात फार्ममा १६ जनाले रोजगारी पाएका छन् । कामको चाप कम हुँदा ६-७ जना व्यक्तिले काम गर्छन् । मेलापात फार्ममा कामदारले मात्र पसिना बगाउँदैनन्, सञ्चालकहरू पनि उत्तिकै खट्ने गर्छन् ।

व्यवसायिक कृषि गर्ने तर यहाँको उत्पादनलाई अर्गानिक, स्वस्थ र स्वच्छ बनाउन यो समूह प्रतिबद्ध छ ।

हेर्नुहोस्, नौ जना बालसखाले सञ्चालन गरेको ‘मेलापात अर्गानिक एग्रो फार्म’को भिडियो कथा

 

भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ, सुप्रिम बिष्ट/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *