कृषिमा उच्च प्रतिफलका लागि मल्चिङ प्रविधि: वरिष्ठ कृषि वैज्ञानिक श्रीमद् श्रेष्ठ तस्विर स्रोत: उच्च मूल्य कृषि वस्तु विकास आयोजना (HVAP)

जीविको २०७८ पुष २२ गते १८:२०

पछिल्लो समय कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दो क्रममा छ । प्रविधिको प्रयोग गर्नाले थोरै लगानी र मेहनतमा पनि बढी आम्दानी लिन सकिने भएपछि आधुनिक प्रविधिको प्रयोग गरी व्यवसायिक खेतीमा कृषकहरू आकर्षित भएका हुन् ।

यसै सन्दर्भमा कृषिमा उत्पादकत्व बढाउन महत्वपूर्ण भूमिका खेलेको मल्चिङ प्रविधिको प्रयोग कसरी गरिन्छ र यसका फाइदाहरू के कस्ता छन् भन्ने विषयमा जीविकोले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ कृषि वैज्ञानिक श्रीमद् श्रेष्ठसँग संवाद गरेको छ । 

प्रस्तुत छ, वरिष्ठ कृषि वैज्ञानिक श्रीमद्सँगको जिविको संवाद :

मल्चिङ भनेको के हो ? 

मल्चिङ भनेको संयुक्त रूपमा बिरुवाको आसपासको सतहलाई ढाक्ने प्रक्रिया हो । नेपालमा यसलाई छापो हाल्ने प्रविधि भनेर चिनिन्छ । यस प्रविधिको माध्यमले बिरुवाको जराको तापक्रम प्रभावकारी तरिकाले नियन्त्रण गर्न सकिन्छ । हाम्रै वरपर पाइने पराल, स्याउला, झारपात, पात पतिङ्गर आदिको प्रयोग गरेर माटोको ड्याङ्लाई छोपेर मल्चिङ  गर्न सकिन्छ । यसलाई बायोमास मल्चिङ भनिन्छ ।

बायोमास मल्चिङ प्रविधिको परापूर्व कालदेखि प्रयोग हुँदै आएपनि यसको उपलब्धता सबै ठाउँमा नहुने हुँदा पछिल्लो समयमा यसलाई आधुनिकीकरण गर्दै प्लास्टिकको प्रयोग गरेर पनि मल्चिङ गर्ने गरिएको छ । यसरी प्लास्टिकको प्रयोग गरेर गरिने मल्चिङलाई आधुनिक मल्चिङ प्रविधि भन्ने गरिन्छ ।

प्लास्टिक मल्चिङ प्रविधि भनेको के हो ?

बायोमास मल्चिङ प्रविधिमा प्रयोग गरिने सामाग्रीको सट्टा प्लास्टिकको प्रयोग गरेर मल्चिङ गरिन्छ भने त्यस किसिमको मल्चिङलाई प्लास्टिक मल्चिङ भनिन्छ । तर प्लास्टिक मल्चिङ प्रविधिको लागि सबै किसिमको प्लास्टिकको प्रयोग गरेर भने हुँदैन यसको लागि विशेष प्लास्टिक प्रयोग गर्नुपर्छ जसलाई मल्चिङ प्लास्टिक भनिन्छ । यस्तो प्लास्टिक  बजारमा सहजै उपलब्ध पनि हुन्छ ।

मल्चिङ प्लास्टिकका पनि विभिन्न प्रकारको हुन्छ जस्तै; कालो , पारदर्शी, पहेंलो-कालो , सेतो-कालो , कालो -रातो प्लास्टिकको रुपमा उपलब्ध हुन्छ । सामान्यत: कालो या सेतो-कालो रङको प्लास्टिक मल्चिङ मुख्यत: प्रयोग गरिन्छ । मल्चिङ प्लास्टिकको पनि रङ अनुसार छुट्टाछुट्टै विशेषता हुन्छन् । मुख्यतया कालो मल्चिङ प्लास्टिकलाई बढी चिसो हुने क्षेत्रमा प्रयोग गरिन्छ किनभने यसले प्रकाशलाई सजिलै संश्लेषण गर्ने गर्दछ र बिरुवालाई तातो सहजै पुग्ने गर्दछ । सेतो मल्चिङ प्लास्टिक भने बढी घाम लाग्ने तराईका क्षेत्रहरूमा प्रयोग गरिन्छ यसले सूर्यको प्रकाशलाई परावर्तन गर्ने हुँदा बिरुवालाई तापक्रम धेर भई डढुवा रोग लाग्न दिँदैन । त्यस्तै अन्य किसिमका प्लास्टिकहरु भने पहाडी क्षेत्रको हावापानी हेरेर प्रयोग गर्ने गरिन्छ। 

राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ कृषि वैज्ञानिक श्रीमद् श्रेष्ठ,
तस्विर: सुप्रिम बिष्ट/जीविको

मल्चिङ प्लास्टिकको छनोट कसरी गर्ने ?

यसको छनोट खेतीको आवश्यकता अनुसार नै गरिन्छ, जस्तै झारपात नियन्त्रण, तापक्रमलाई बढी कम गर्ने एवं रोग नियन्त्रणको लागि सामान्यत: ९०- १२० सेमी चौडा प्लास्टिकको प्रयोग गर्नु पर्दछ । 

मल्चिङ प्लास्टिकको मोटाइ कति हुनुपर्छ ? 

बाली अनुसार मल्चिङ प्लास्टिकको मोटाइ फरक पर्न सक्छ । जस्तै, मोटाइ ७ माइक्रो गफली, २०-२५  माइक्रोन वार्षिक अवधिको खेती , ४०-५० माइक्रोन बहुवार्षिक मध्यम अवधि खेती, ५०- १०० बहुवार्षिक लामो अवधि खेती लगायतका हुन्छन् ।

मल्चिङ प्लास्टिक बिछ्याउने तरिका कस्तो हुन्छ ?

मल्चिङ प्लास्टिकलाई बिरुवा लगाउनु भन्दा अगाडि नै बिछ्याइन्छ । खेतमा ड्याङ बनाउनको साथै प्लास्टिक बिछाएर किनाराबाट दबाइन्छ । यसको लागि कामदार लगाएर गर्दा समय र पैसा दुबै बढी लाग्ने हुँदा अहिलेको समयमा ट्याक्टरद्वारा प्लास्टिक बिछ्‌याउने मेसिन पनि उपलब्ध छ ।

प्लास्टिक बिछ्याउने समयमा के के कुरामा ध्यान दिनुपर्छ ?

  • प्लास्टिकमा प्वाल ठुलो पाइप हतौडा वा पंचको माध्यमबाट बनाउनुपर्छ ।
  • खेतीको लागि चाहिने मल खादहरू प्लास्टिक भुइँमा बिछ्‌याउने भन्दा पहिल्यै मिलाउन एकदम उपयुक्त हुन्छ ।
  • बीउ वा बिरुवा प्लास्टिकको प्वालको सिधा लगाउनु पर्दछ ।

मल्चिङ प्रविधिमा सिँचाइ कसरी गर्ने ?

प्लास्टिक मल्चिङ प्रयोग गरिएको खेतीमा ड्रिप(थोपा) सिँचाइ विधि उपयुक्त हुन्छ । यो विधिमा लेटरललाई प्लास्टिकको मुनि राखिन्छ जसबाट सिँचाइ राम्रोसँग र सजिलोसँग हुन्छ तथा बिरुवाको चिस्यान नियन्त्रण हुन्छ । अथवा लेटरल एवं ड्रिपरलाई प्लास्टिकको माथि राखेर पातलो पाइपको माध्यमबाट वा प्लास्टिकमा छिद्र बनाएर पानीको प्रवाह  सुनिश्चित गरिन्छ ।

प्लास्टिक मल्चिङलाई प्रयोगपछि कसरी व्यवस्थापन गर्ने ?

खेतमा हामीले प्रयोग गरेको प्लास्टिकले गर्दा प्रदूषणको समस्या हुन सक्दछ तसर्थ यसबारेमा सचेत हुनु पर्दछ । खेतीको कटाई गरिसकेपछि प्लास्टिकलाई खेतबाट हटाउने र सुरक्षित राखि पुनः प्रयोग गर्न सकिन्छ ।

 मल्चिङ प्रविधिका फाइदाहरू के के छन् ?

  • यो वातावरण मैत्री कृषि अभ्यास हो ।
  • स्थानीयस्तरमा उपलब्ध स्रोत र साधनको प्रयोग गर्न सकिन्छ ।
  • यो प्रविधिको प्रयोगले माटोको  गुणस्तर कम हुँदैन ।
  • बायोमास मल्चिङ प्रविधिमा प्रयोग गरिएको पराल, स्याउला केही समयपश्चात् त्यहीँ कुहिने हुँदा बोटबिरुवालाई प्राङ्गारिक मलको काम गर्दछ ।
  • यस प्रविधिको प्रयोग गर्दा धेरै खर्च नलाग्ने भएकाले पैसाको बचत पनि हुन्छ ।
  • बोटबिरुवाको वरपर आउने झारपात कम हुने भएकोले माटोमा प्रयोग गरिएको खाद्यतत्व बोटबिरुवाले राम्रोसँग पाउँछ ।
  • चिस्यान नियन्त्रण हुन्छ र ढुसीजन्य पदार्थमा कमी पनि आउँछ ।

प्लास्टिक मल्चिङ र बायोमास प्रविधिको अन्तर के के छन् ?

तुलनात्मक हिसाबले प्लास्टिक मल्चिङ प्रविधिभन्दा बायोमास मल्चिङ प्रविधिलाई प्रभावकारी मानिन्छ । बायोमास प्रविधिले मल्चिङ गर्दा वातावरण प्रदुषण हुनबाट जोगिने हुन्छ । प्लास्टिक मल्चिङ प्रविधि भने प्रयोग गरिसकेपछि फाल्नु पर्ने हुँदा वातावरणीय हिसाबले यस किसिमको मल्चिङ प्रविधिलाई वातावरणमैत्री मानिदैन । त्यस्तै प्लास्टिक मल्चिङभन्दा तुलनात्मक हिसाबले बायोमास मल्चिङ प्रविधि सस्तो पनि पर्ने गर्दछ तर ग्रामीण भेगमा सहजै उपलब्ध हुने बायोमास मल्चिङ प्रविधिमा चाहिने संसाधन सहरी क्षेत्रमा सहजै उपलब्ध नहुने हुँदा यस किसिमको मल्चिङ प्रविधि सहरी क्षेत्रको लागि उपयुक्त मान्ने गरिन्छ ।

त्यस्तै बायोमास मल्चिङ प्रविधिले वर्षाको पानीलाई सोस्ने गर्दछ भने प्लास्टिक मल्चिङ प्रविधिमा भने वर्षाको पानी बोटबिरुवामा नपरी बग्ने गर्दछ । जसको कारण बोटबिरुवामा पर्याप्त मात्रमा सिँचाइ नपुग्ने सम्भावना हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *