नबिलले नयाँ उद्यमीलाई आर्थिक पहुँचका लागि सहजिकरण गर्ने

जीविको २०७८ मंसिर २३ गते १९:५३

नबिल बैंकले सामाजिक मुद्दाहरु जस्तै; शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा तथा जलवायु परिवर्तन जस्ता विषयमा उद्यमशीलताको सम्भावना खोज्दै गरेका १८ देखि ५० वर्ष भित्रका त्रिभुवन विश्वविद्यालयको विद्यार्थी वा पास आउट भएका व्यक्तिहरुलाई उद्यमशीलताका बारेमा सिकाइमा आधारित ६ महिने आवासीय तालिम दिंदै छ । 

प्रशिक्षार्थीहरुले सामाजिक उद्यम संचालनको तरिकासंगै उद्यम संचालनका आधारभूत कुराहरु; उद्यम दर्ता, योजना तथा बजेट व्यवस्थापन, लगानीको जोहो, कानूनी पाटोहरु, लेखा तथा कर सम्बन्धी आवश्यक व्यवहारिक ज्ञान तथा सीप तालिममा पाउनेछन् । तालिममा सहभागी हुनका लागि आवेदन खुलेको छ । 

आवेदन दिने अन्तिम मिति ३१ डिसेम्बर रहेको छ भने आगामी २०२२ को सुरुवातमा तालिम संचालन हुने नबिलले बताएको छ ।

त्रिभुवन विश्वविद्यालयको सहकार्यमा नबिल बैंकले गर्न लागेको यस कार्यक्रमको नाम ‘नबिल स्कूल अफ सोशल अन्टरप्रेनरशिप – NABIL SSE-NABIL School of Social Entrepreneurship फेलोशिप कार्यक्रम’ रहेको छ । एक वर्षमा ६-६ महिने अवधीको तालिम नबिलले संचालन गर्ने छ, जसअन्तर्गत २०-२० जना गरी ४० जनाले 

सामाजिक उद्यमशीलताका बारेमा सिकाइमा आधारित तालिम लिने अवसर प्राप्त गर्ने नबिलले जनाएको छ । 

त्यस्तै, उद्यमशीलतामा प्रमाण-पत्र कार्यक्रमले सातै प्रदेशबाट वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर दिने नबिलले जनाएको छ । सामाजिक उद्यमशीलता कार्यक्रमका लागि बैंकले सातै प्रदेशका विभिन्न क्याम्पसहरुसँग सम्झौता गरेको छ । काठमाडौंमा भने त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता भएको नबिलले बताएको छ ।

६ महिनासम्म चल्ने कार्यक्रममा सृजनात्मक सोंचलाई उद्यममा परिणत गर्ने उपायको खोजिमा रहेकाहरुलाई नबिल स्कूल अफ सोशल अन्टरप्रेनरशिप मार्फत सहयोग गरिने नबिल बैंकको सीएसआर इन्चार्ज पूजा भण्डारीले बताइन् । पूजा भन्छिन्, “नबिलले यो कार्यक्रम पहिलो पटक सन्चालन गर्न लागेको हो । नबिल एसएसई अन्तर्गत ‘सामाजिक उद्यमशीलता – फेलोशिप कार्यक्रम’ र ‘सामाजिक उद्यमशीलतामा सर्टिफिकेट तहको कोर्स’ संचालन हुने छ ।” उनी थप्छिन्, “नबिल एसएसई फेलोशिपको मुख्य कार्यक्रमका रुपमा ‘सामाजिक उद्यमशीलता’ गरिदैं छ, नेपालका सबै प्रदेशमा सामाजिक उद्यमीहरुको प्रवर्द्धन र विकास गर्ने तथा त्यसका लागि उद्यमीहरूलाई आर्थिक पहुँचको सुविधा प्रदान गर्ने उद्देश्य यस कार्यक्रमको रहेको छ ।” नेतृत्व क्षमता निर्माण गर्दै स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउनका लागि कार्यक्रमले सहजिकरण गर्ने सीएसआर इन्चार्ज पूजाले बताइन् ।

सामाजिक उद्यम गर्ने सोंच बनाएका र लगानी गर्न तयार भएका इच्छुक व्यक्तिले तोकिएको मापदण्ड अनुसार कार्यक्रममा सहभागी हुन अनलाइन निवेदन दिन सक्नेछन् । छनौटमा परेका आवेदकलाई आयोजकले ६ महिनासम्म उद्यमशीलताको तालिम दिने छ ।

आयोजक नबिलले तालिमको अन्त्यमा सहभागीहरु सेवासहितको उद्यम,व्यवसाय गर्न तयार हुने अपेक्षा गरेको जनाएको छ ।

 

नबिल एसएसई फेलोशिप कार्यक्रमको लागि आवेदन दिन यहाँ क्लिक गर्न सकिन्छ। यहाँ क्लिक गरेर फारम डाउनलोड गर्न सकिन्छ र भरिएको फारम [email protected] मा इमेल गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *