चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावली संकलन हुने, आफू बसिरहेकै ठाउँमा नाम दर्ता गर्न सकिने

जीविको २०७८ मंसिर १७ गते १८:३१

मंसिर १७ गतेदेखि सुरु भएको मतदाता विवरण सङ्कलन कार्य चुनावको मिति घोषणा नहुँदासम्म संचालन हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार कानुन बमोजिम निर्वाचन घोषणा भएपछि नामावली सङ्कलन कार्य समाप्त नहुने समयसम्म ७७ जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, तोकिएका ४३ इलाका प्रशासन कार्यालयबाट नामावली सङ्कलन कार्य जारी रहन्छ ।

१६ वर्ष उमेर पुरा गरी नागरिकता प्राप्त गरेका सबै नेपाली नागरिकले नाम दर्ता गराउन सक्ने छन् तर मतदान गर्नको लागि भने १८ वर्ष पुरा भएको हुनु पर्ने प्रावधान रहेको छ ।

यस अगाडि आफ्नो नागरिकतामा कायम जिल्ला वा बसाइसराइँ गरेर आएको जिल्लाबाट मात्रै नामावली सङ्कलन गरिरहेको आयोगले सबै पालिकास्तरमा टोली पठाएर मतादाता नामावली सङ्कलन गरिरहेको छ । आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयमा गएर नाम दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।

गाउँ तथा नगरसभाको कार्यकाल ५ वर्ष हुने र कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था नेपालको संविधानमा रहेको छ । स्थानीय तहको निर्वाचन २०७४ को वैशाख ३१, असार १४ र असोज २ मा भएको थियो । यसलाई आधार मान्दा ५ चैत २०७८ भित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने हुन्छ । यसैको तयारी स्वरुप आयोगले नामावली दर्ता सुरु गरेको हो ।

हिमाली र पहाडी जिल्लाका स्थानीय तहको केन्द्रमा मंसिर १७ गतेदेखि सम्बन्धित जिल्लाको तालिका अनुसार १० दिन पहिलो चरणको रुपमा र बाँकी रहेको स्थानीय तहको केन्द्रमा अर्को १० दिनसम्म दोस्रो चरणको रुपमा संचालन हुनेछ । तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहको केन्द्रमा मंसिर १७ गतेदेखि सम्बन्धित जिल्लाको तालिका अनुसार १५ दिन पहिलो चरणको रुपमा र बाँकी रहेको स्थानीय तहको केन्द्रमा अर्को १५ दिनसम्म दोस्रो चरणको रुपमा संचालन हुनेछ । नाम दर्ता गर्नका लागि व्यक्ति स्वयं नागरिकताको सक्कल प्रमाणपत्र लिई उपस्थित हुनु पर्ने आयोगले जनाएको छ ।

२०७४ को प्रतिनिधि सभा चुनावमा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ जना मतदाता रहेकोमा, आधा मतदाता अर्थात्  ८० लाख ७१ हजार ३ सय ६९ जना मतदाता १८ देखि ४० वर्ष उमेर समुहका रहेका थिए ।

अमेरिकी सहयोग संस्था (यूएसएआईडी) र निर्वाचन सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएफइएस नेपालले गरेको एक अध्ययन अनुसार अब हुने स्थानीय निर्वाचनमा सातै प्रदेशबाट १८ देखि २४ वर्ष उमेर समुहका १७ लाख भन्दा बढि नयाँ मतदाता थपिने आँकलन गरेको छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशबाट ३ लाख भन्दा बढी र सबैभन्दा कम कर्णाली प्रदेशबाट १ लाख २८ हजार हाराहारीमा नयाँ मतदाता थपिने सो अध्ययनको प्रक्षेपण रहेको छ ।

यूएसएआईडी र आइएफइएस नेपाल अध्ययन – First-Time Youth Voters of Nepal -2022
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *