के तपाईंलाई थाहा छ, वैदेशिक रोजगार बोर्डबाट कस्ता सहयोगहरू पाउन सकिन्छ ?

जीविको २०७८ मंसिर १२ गते २०:५२

नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्दै यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण गर्ने प्रयोजनको लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ ।

वैदेशिक रोजगार नियमावली कार्यान्वयनमा आएसँगै २०६४ सालमा वैदेशिक रोजगार बोर्डको स्थापना भएको थियो । बोर्डबाट हालसम्म मुख्यरूपमा मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च, विदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, उद्धार, विदेशमा सुरक्षित गृह सञ्चालनजस्ता कार्यहरू गर्दै आएको छ । अझै पनि कतिपय वैदेशिक रोजगारीमा रहेकाहरूलाई बोर्डबाट केकस्ता सहयोग पाइन्छ भन्ने विषयमा अनभिज्ञता र दुबिधा रहेको भेटिन्छ ।

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीन वन्धु सुवेदीका अनुसार तोकिएको प्रक्रिया र आवश्यक कागजातहरू पेश गरेर बोर्डबाट प्रदान गरिने कल्याणकारी सेवा सहजै प्राप्त गर्न सकिन्छ । वैदेशिक रोजगार नियमावली, २०६४ (पाँचौ संशोधन) को नियम २८ को उपनियम ७ ले आर्थिक सहायताको निवेदन स्थानीय तहबाट पनि दिन सकिने व्यवस्था गरेको छ।
रोजगारीका लागि विदेश जाँदा कामदारहरूले १५ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म कोषमा बुझाउनु पर्ने अवस्था छ तर के वास्तवमै कामदारले तिरेको रकम उनीहरूकै हितमा प्रयोग भइरहेको छ त ? बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले विगतको जस्तो अवस्था अहिले नरहेको बताउँछन् । निर्देशक राजन भन्छन्, “३ वर्ष अगाडिको अवस्था र अहिलेको अवस्था हेर्दा धेरै भन्दा धेरै वैदेशिक रोजगारीमा रहेकाले बोर्डबाट सहयोग पाउनु भएको छ ।

बोर्डबाट प्रदान हुने सहयोगका बारेमा हामीले ब्यापक रुपमा प्रचार प्रसार गरेका छौं । हाम्रा लक्षित वर्गलाई पूर्ण रुपमा सूचना प्रदान गर्दै सहज तवरले सेवा प्रदान गर्नु हाम्रो मुख्य रणनिति नै हो ।” उनी थप्छन्,”हामीले प्रदान गर्ने सहयोगसँगै वैदेशिक रोजगारीमा जान चाहने र फर्किएकालाई लक्षित गरेर अहिले ७ वटै प्रदेशमा निशुल्क सीपमुलक तालिम सञ्चालन गरिरहेका छौं । १५० भन्दा धेरै स्थानीय तहमा रोजगार सूचना केन्द्रको स्थापना र श्रम कल सेन्टरको माध्यमबाट आवश्यक परामर्श र सहयोग प्रदान गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित पूर्ण व्यवसायिक बनाउन बोर्ड कार्यरत छ ।” निर्देशक राजनका अनुसार हाल बोर्डको कोषमा सवा ५ अर्ब रकम रहेकोमा यस आर्थिक वर्षका लागि १ अर्ब ३३ करोड छुट्याइएको छ ।

हालै मात्र वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायताका लागि सम्बन्धित पालिकाबाटै निवेदन दिन सकिने व्यवस्था सरकारले गरेको छ ।

के-कस्ता सहयोग गर्छ बोर्डले ?

वैदेशिक रोजगारीमा रहेका कामदारको उद्धार तथा खोजतलास गर्ने
कामदारको कानूनी प्रतिरक्षाका लागि प्रति व्यक्ति १५ लाख रुपैयासम्म सहयोग गर्ने
महिलाका लागि पूर्व प्रस्थान अभिमुखीकरण तालिम (PDOT) को रकम (सोधभर्ना) उपलब्ध गराउने ।
मृतकको शव नेपाल झिकाई घरसम्म पुर्‍याउने
मृतक कामदारको नजिकको हकवालालाई आर्थिक सहायता दिने
बिरामी वा अंगभंग भएमा अवस्था अनुसार आर्थिक सहायता उपलब्ध गराउने
कामदारको परिवारको सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुट सम्बन्धी रोग र पार्किन्सन रोग भएमा औषधीउपचारका लागि सहायता गर्ने
कामदारका छोराछोरीका लागि छात्रवृति (१८ वर्ष मुनिका, नर्सरी देखि १२ कक्षासम्म)

सहयोग लिन के छन् प्रकृया र आवश्यक कागजातहरू ? हेर्नुहोस् चित्र

माथि उल्लेख गरिएका सहयोग तथा सुविधा प्राप्त गर्नका लागि निवेदन दिँदै हुनुहुन्छ भने निम्न कुराहरू ध्यान दिनुहोस्;
• आर्थिक सहायताको लागि मृत्यु वा अंगभंग भएको १ वर्षभित्र निवेदन दिइसक्नुपर्नेछ ।
• पेश गरिने कागजातहरू आधिकारिक निकायबाट प्रमाणित भएको हुनु पर्नेछ ।
• सेवा प्राप्त गर्न तोकिए बमोजिमको निवेदन फारम वैदेशिक रोजगार बोर्डको वेबसाइट https://www.feb.gov.np/download#nebadan मा click गरी प्राप्त गर्न सकिनेछ ।
• उल्लेखित सेवा प्राप्त गर्न श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएको हुनु पर्नेछ ।
• स्थानीय तहबाट निवेदन पनि निवेदन दिन सकिन्छ । यसरी निवेदन दिँदा सम्बन्धित स्थानीय तहको आधिकारिक इमेल ठेगानाबाट पठाउनु पर्नेछ ।
• आर्थिक सहायका लागि बोर्डको इमेल ठेगाना; [email protected] मा पठाउनु पर्नेछ ।

थप जानकारीको लागि श्रम कल सेन्टरको पैसा नलाग्ने (नेपाल टेलिकमबाट गर्दा) ११४१ र १६६००१५०००५ नम्बरमा सम्पर्क गर्न सकिनेछ वा +९७७-९८०१८०००१३, +९७७-०१-५९०००८, ५३२०३११ सम्पर्क गरेर बुझ्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *