बहुउपयोगी, दिगो अनि वातावरण मैत्री कृषि अभ्यास : थोपा सिँचाइ प्रविधि Seedling vegetable beds with drip irrigation system

जीविको २०७८ मंसिर १० गते ९:०४

थोपा सिँचाइ प्रविधि के हो ?

थोपा सिँचाइ प्रविधिमा प्लास्टिक पाइपबाट बिरुवाको जराजरामा पानी थोपाथोपा गरेर बिरुवाको  आवश्यकता पूरा गर्ने प्रविधि हो । जसमा पोलिटियुवको माध्यमबाट हरेक बिरुवाको जराजरामा आवश्यक मात्रामा समान रूपले पानी, जैविक तत्व तथा घुलनशील खाद्यपदार्थ पुर्‍याउने गरिन्छ भने मलखाद पनि सिँचाइको माध्यमबाट दिइन्छ । जसले गर्दा बोटविरुवाको निर्वाध रुपमा वृद्धिविकास हुन्छ । विश्वमा थोपा सिँचाइ प्रविधिको विकास सर्वप्रथम सन् १९६० मा इजरायलका सिम्का ब्लास्ट नामक कृषि वैज्ञानिकले गरेका हुन्। यसरी विश्वको कृषि क्षेत्रलाई आधुनिकीकरण तथा व्यवसायमुखी बनाउने हेतुका कारण थोपा सिँचाइको पहिलो प्रयोग इजरायलले गरेको थियो । इजरायलमा पानीको स्रोत सीमित भएता पनि यही प्रविधिको प्रयोग गरेर इजरायल अहिले कृषिमा विश्वकै उदाहरणीय देश बनेको छ । 

थोपा सिँचाइ प्रविधिको प्रयोग इजरायलबाट सुरुवात भएता पनि  २०५५ पछि भने नेपालले आफ्नै थोपा सिँचाइ प्रविधिको विकास गरेको छ । नेपाली थोपा सिँचाइ प्रविधिको विकास भएको दशक पछि अर्थात् बि.स २०६७, २०६८ मा मात्र नेपालमा विदेशी थोपा सिँचाइ प्रविधि भित्रिएको हो । खेतीको सुरुवातमा थोपा सिँचाइ महँगो पर्ने भएता पनि १० वर्ष भन्दा बढि टिक्ने भएका कारण यसले कालान्तरमा धेरै फाइदा दिने गर्दछ । थोपा सिँचाइ जडान गर्न खेती गर्ने जमिनको क्षेत्रफल हेरेर लगानी लाग्ने गर्दछ । सामान्यतया टनेल निर्माण सहित आधुनिक थोपा सिँचाइ प्रविधि जडान गर्न प्रति हेक्टर जमिनमा १५ देखि २० हजार लाग्ने आँकलन गरिएको छ भने १०० वटा विरुवालाई सिँचाइ गर्न मिल्ने साधारण प्रविधि रु १८०० मा अहिले बजारहरूमा उपलब्ध छन्। यसरी सुरुमा केही बढी लगानी लगाउनु पर्ने देखिए पनि कालान्तर रूपमा भने सस्तो पर्न जान्छ ।

थोपा सिँचाइ विशेष गरी लाइनमा रोप्न मिल्ने वा रोपिने बालीहरू जस्तै; तरकारी, फलफूल आदिका लागि उपयुक्त मानिन्छ। सुरुमा लगानी बढी पर्ने भएता पनि हाई भ्यालु क्रप्स जस्तै क्याप्सिकम, स्ट्रबेरी आदि हरूको लागि बढी प्रभावकारी हुन्छ । पछिल्लो समयमा भने तरकारी, फलफूलमा मात्र नभई जडीबुटी , तेलहन बाली, उखु तथा अन्य नगदे वालीहरूमा समेत यसको प्रयोग भएको पाइएको छ । यसरी वर्तमान समयमा आधुनिक प्रविधिको  एउटा सफल उदाहरण थोपा सिँचाइ भागको छ । 

कृषि वैज्ञानिक डा. श्रीमत श्रेष्ठ

 

थोपा सिँचाइ प्रविधिमा कस्ता सामाग्रीहरु प्रयोग हुन्छ ?

१. पम्प

२. वाटर फिल्टर

३. रेगुलेटर वा दबाब नियन्त्रण गर्ने भल्ब

४. हाइड्रोलिक वाँल्ब्स

५. पाइप फिटिंग्स र ठूलो पाइप

६. कम मोटाइ भएको पोलिटियूब

७. ब्याक वाटर रोक्ने यन्त्र

 

थोपा सिँचाइ प्रविधिको फाइदाहरू के के छन् ?

 १. थोपा सिँचाइमा पानीलाई बिरुवाको फेदसम्म थोपाको रुपमा पठाइने हुँदा थोरै पानीबाट पनि बढी क्षेत्रफलमा सिँचाइ गर्न सकिन्छ ।

२. ट्यांकीमा नै मलखाद राखेर सिँचाइ गर्न सकिने भएका कारण यसले मलखादको व्यवस्थापनलाई सहज बनाउँछ । यसमा पानी जम्मा गर्ने ट्याङ्कीमा पानीमा घुल्न सक्ने मलहरुलाई घोली पानीसँगै बिरुवाको फेदमा पठाउन सकिन्छ सोही प्रविधिलाई फर्टिगेसन भनिन्छ भने विषादीहरूलाई पनि थोपा मार्फत पठाउने गरिन्छ जसलाई केमिगेसन भनिन्छ ।

३. थोपा सिँचाइ प्रविधिबाट नै विषादीलाई बिरुवाको जरा जरासम्म पुर्याउन सकिने भएका कारण किसानले विषादी स्प्रे गरेर हाल्नु पर्दैन जसले किसानको स्वास्थ्यमा पनि सहयोग पुर्याउँछ ।

४. भाटीमा हावा र पानीको अनुपात मिलाउँछ । फलस्वरुप जराले वृद्धि विकासको लागि उपयुक्त वातावरण पाउँछ र बिरुवा पनि राम्रोसँग बढ्छ ।

५. जमिनको आधिकांश क्षेत्र सुख्खा हुने हुँदा पानीको वाष्पिकरण कम हुन्छ ।

६. रोग, कीरा तथा झारको प्रकोप कम हुन्छ ।

७. असमतल क्षेत्र, पानी कम हुने क्षेत्र, बलौटे तथा ढुङ्गान क्षेत्रमा समेत सजिलै खेती गर्न सकिन्छ ।

८. ३०-७०% सम्म पानीको बचत हुन्छ ।

९. यस प्रविधिबाट सिँचाइ गर्दा सामान्यतया १०% सम्म उत्पादकत्वमा वृद्दि हुन्छ ।

 

थोपा सिँचाइका बेफाइदाहरू 

१. अन्य सिँचाइ प्रविधिको तुलनामा थोपा सिँचाइको सुरुवाती लगानी महँगो पर्छ ।

२. छान्ने काम राम्रो सँग भएन भने यसबाट अवरोध हुन सक्छ ।

थोपा सिँचाइका लागि आवश्यक सामान कहाँबाट आउछ ?

कच्चा पदार्थहरू धेरैजसो सिंगापुर र कतारबाट आउँछ तर सबै सामग्री यहीँको उद्योगबाट उत्पादन हुन्छ । थोपा सिँचाइका लागि आवश्यक पाइप, फिटिंग्स, सकेट, वाटर ट्यांकलगायतका सबै सामग्री भने नेपालमै पनि उत्पादन हुन थालेको छ।

थोपा सिँचाइ प्रविधि कत्तिको टिकाउ हुन्छ ?

प्रयोगशाला परीक्षणले थोपा सिँचाइ प्रविधि १५ वर्षसम्म टिक्ने बताएको छ ।  सामान्यतया १० देखि १५ वर्षसम्म प्रयोग गर्न सकिन्छ । त्यसो त कतिपय स्थानमा त्योभन्दा बढी समय टिकेको पनि पाइएको छ ।

यो प्रविधिलाई व्यवस्थित गर्न सरकारले के गर्नुपर्ला ?

सरकारबाट यसको अनुगमन हुनुपर्यो, थोपा सिँचाइको मापदण्ड बनाउनुपर्यो । थोपा सिँचाइ प्रविधिलाई व्यापक बनाउनका लागि आवश्यक कृषि अनुदानको व्यवस्था पनि सरकारले गर्नुपर्छ । उत्पादकत्व पनि बढ्ने र अन्य प्रविधिको तुलनामा ८०% पानीको बचत पनि हुने कारणले स्थानीय तहबाट नै यस किसिमको प्रविधिबारे जनचेतना फैलाउने काम सरकारले गर्नुपर्छ । 

नेपालमा थोपा सिँचाइ प्रविधिको प्रयोग कत्तिको भएको छ

नेपालमा सिँचाइका लागि जलस्रोतहरु प्रशस्त भएका कारण थोपा सिँचाइ व्यापक भने बन्न सकेको छैन । विशेषत सिँचाइका लागि जलस्रोतको समस्या हुने सहर आसपासका ठाँउहरुमा यसको बढि प्रयोग भएको छ । काठमाडौं,पोखरा,सुर्खेत जस्ता क्षेत्रहरुका किसानहरुले यसको व्यापक प्रयोग गर्ने गरेका छन् ।

 

डा. श्रीमत श्रेष्ठ नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत रहेको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रमा मुख्य कृषि वैज्ञानिकको रुपमा कार्यरत छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *