कोभिड प्रभावित अतिविपन्न परिवारले यसरी लिन सक्छन् सरकारबाट १० हजार अनुदान

वडाबाट निवेदन दिन सकिने

जीविको २०७८ कार्तिक २८ गते १६:३५

नेपाल सरकारले कोभिड-१९ को प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा असङ्गठित क्षेत्रमा रहेका अतिविपन्न गरिब ५ लाख परिवारलाई चालु आर्थिक वर्ष २०७८/७९ मा राहत स्वरूप एक पटकका लागि प्रति परिवार रू.१० हजारका दरले नगद अनुदान दिँदै छ । त्यस्तो अनुदान प्राप्त गर्नका लागि निश्चित मापदण्ड सरकारले तोकेको छ । परिवारको कुनै एक सदस्यले मंसिर १० गते भित्र आफू स्थायी वा अस्थायी (न्यूनतम विगत ६ महिनादेखि) रूपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा “कोभिड-१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८” बमोजिमको ढाँचामा निवेदन दिन सक्ने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निवेदन दिँदा समस्या भएमा वडा कार्यालयबाट सहयोग लिन सकिने छ ।
नगद राहत कसले पाउँछन् ?
(१) विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असङ्गठित क्षेत्रको मजदुर वा कामदार
(२) खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी
(३) दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्साचालक, ठेलागाडा
मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया
(४) कोभिड-१९ सङ्क्रमणको कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक
सङ्कट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवार ।

नगद राहत प्राप्त गर्न अयोग्य परिवार
(१) निवेदन दिँदाको समयमा निवेदकको एकाघरपरिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै सङ्घसंस्था
वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेको
(२) परिवारको कुनै सदस्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षा (जेष्ठ नागरिक, एकल
महिला, दलित वा अपाङ्ग) बापतको भत्ता वा नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेको
(३) सञ्चित आय वा पैत्रिक सम्पत्तिबाट तत्कालको खर्च आवश्यकता पूरा गर्न सक्ने अवस्थामा रहेको
(४) प्रधानमन्त्री रोजगार कार्यक्रम वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रम बमोजिम यस प्रयोजनका लागि एक पटक राहतको रूपमा नगद प्राप्त गरेको परिवार ।
यससँग सम्बन्धित अन्य जानकारी नेपाल सरकार अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np र सम्बन्धित स्थानीय तहको वेबसाइटमा समेत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *