डुंगा खियाएरै जीविका धान्नेहरू वैकल्पिक पेशा खोज्दै

प्रतिक ढकाल २०७९ असार २३ गते १३:१४

“डुङ्गा नम्बर ३९…….” माइकमा यो आवाज बज्ने बित्तिकै कास्कीका राम कोइराला आफ्नो डुंगा छेउमा पुगे ।

“३ दिनको पर्खाइपछि बल्ल आज पालो आयो,” राम लामो सुस्केरा हाल्दै एक्लै भुत्भुताउँदै डुंगा सार्न लागे ।

पोखरा बेगनासमा रामजस्तै अन्य २ सय ४९ जनाले डुंगा खियाएर आफ्नो परिवारको जीविका धान्दै आएका छन् । यति धेरै डुंगालाई पालो दिँदा तीन दिनमा मात्र एउटा डुंगाको पालो आउँछ । यो रामलाई मात्र नभइ सबैलाई लाग्ने नियम हो । डुंगा समितिले यहाँ सबैको गर्जो टरोस् भनेर यस्तो नियम लागू गरेको छ ।

बेगनास तालमा पालो पर्खाइमा लामबद्ध डुंगा, तस्विर: पुष्कल श्रेष्ठ/जीविको

बेगनाससँग मितेरी लाउँदै डुंगा चलाउन सिकेका रामको बाल्यकाल डुंगा र पानीसँग खेल्दै बित्यो । डुंगा खियाउँदै लोकभाका गुनगुनाउँदै रामले यहाँ ३० वर्ष बढी बिताइसके ।

“मेरो त सानैदेखि खेल्ने साधन नै यही डुंगा थियो । बिहानदेखि बेलुकासम्म यही डुंगामा नै रुमलिरहन्थेँ । बच्चामा खेल्ने चिज अहिले जीविको धान्ने माध्यम बनेको छ,” राम भन्छन् ।

पहिले बेगनास पारी रहेको गाउँका मानिसहरूलाई यातायातको एक मात्र साधन थियो, डुंगा । बेगनास पारीको माझिकुनाका बसिन्दाले पोखरा आउजाउ गर्नका लागि डुंगा प्रयोग गर्थे । त्यसबेला राम पनि विद्यालय आउन त्यही डुंगा चढ्थे । खासै पर्यटक न आउने भएकाले डुंगालाई गतिलो आम्दानीको स्रोत मानिँदैनथ्यो ।

बेगनास तालका डुंगावाला, तस्विर: सञ्जय शर्मा

७.५ देखि १०.६ मिटर गहिराइ भएको यस तालमा बि.स. २०४४ सालमा बाँध बन्यो अनि ताल ठूलो भयो । तालको डेढ सय हेक्टर क्षेत्रफल बढेपछि ठूलो ताल देखेर पर्यटकहरू आउन सुरु गरे । वरपरका बासिन्दाले यसको लाभ उठाउन पाउने भए । २०५२ सालमा वेगनासमा डुंगा विकास समिति बन्यो ।  २४९ वटा डुंगा दर्ता भए । तालमा डुंगा चल्न थाल्यो । रामलाई भने सुरुवातमा डुंगाबाट जीविको चल्छ भन्ने लागेन र विदेशिए । साउदी र कतारको २ पटक चक्कर काटेपछि  पुनः गाँउ फर्किए र डुंगा खियाउन सुरु गरे ।

“खाडीमा हुँदा जहिले पनि बेगनासको सितल सम्झिएँ, बाल्यकालदेखि युवा अवस्थासम्म चलाएको डुंगाको साह्रै याद आउँथ्यो,” राम सम्झन्छन् ।

नेपाल फर्किएपछि डुंगा लिएर उनी बेगनास पुगे । तर बेगनासमा पहिले झैँ आफूले मन गर्दैमा डुंगा चलाइहाल्न पाउने अवस्था थिएन । डुंगा विकास समितिमा दर्ता भएपछि मात्र डुंगा चलाउन अनुमति पाइने नियम बनिसकेको थियो । रामसँग भने दर्ता भएको डुंगा थिएन । डुंगा विकास समितिमा निरन्तर प्रस्ताव गरेपछि उनले ३९ नम्बरको डुंगा पाए ।

अहिले त्यही ३९ नम्बरको डुंगा खियाएर नै रामको गर्जो टर्ने गरेको छ । ‍कोही बेला तालमा डुंगा चड्ने पर्यटक नै भेटिँदैनन् । पर्यटक आउने सिजन नहुँदा यहाँ डुंगा चलाउनेले ३ दिनसम्म पालो पर्खनुपर्छ । सिजनमा चाहिँ पर्यटक बढी हुने हुँदा पालो पनि छिटो आउँछ ।

“सिजनमा त कमाइ राम्रो हुन्छ, सिजन नहुँदा भने पालो कुरेर बस्नुपर्छ,” राम सुनाउँछन् । यसरी डुंगाबाटै जीविको धानिरहेका राम अनि अरू २३८ डुंगावलाको एउटै गुनासो छ ‘डुंगा धेरै भयो तर डुंगा चढ्ने मान्छे चाहिँ कम’ ।

बेगनास तालमा डुंगा खियाउदै महिला, तस्विर: सञ्जय शर्मा

डुंगा खियाउनेहरू दुई तीन दिनसम्म पालो पर्खनु पर्ने भएकाले जीविकोका लागि वैकल्पिक उपाय पनि गर्ने गरेका छन् । केहीले कृषि गरेका छन् भने केहीले भने रेष्टुरेन्ट चलाउँछन् । डुंगा चलाउने कतिले त बेगनास पारीको माझीकुनामा होटल खोलेका छन् । डुंगा चलाएर उनीहरू पर्यटकलाई माझीकुनासम्म पुर्‍याउँछन् । कोही भने ज्यालामजदुरी गरेरै पनि दुई चार पैसा जोड्ने गरेका छन् ।

“डुंगा चलाउने धेरैले दोहोरो कमाइ गर्ने गरेका छन् । डुंगा पनि चलाउँछन्, गाउँपारी रेष्टुरेन्ट पनि चलाउँछन्,” राम भन्छन् ।
बेगनासमा डुंगा खियाउनेहरूको दैनिक १ हजारदेखि १२ सय रूपैयाँसम्म आम्दानी  हुने गर्छ । पानी पर्दा, धेरै जाडो हुँदा र तेज हुरिवतास चल्दाभने डुंगा चढ्न पर्यटकहरू डराउने गर्छन् । पर्यटकहरु डुंगा नचढ्दा भने राम जस्ता डुंगा व्यवासायीहरूको आम्दानी घट्छ ।

“सँधै राम्रो आम्दानी हुन्छ भन्ने छैन, कुनै बेला त पाँच दिनसम्म पनि गोजी रित्तै हुन्छ । जे होस् जेनतेन जीविको चाहिँ चलेको छ,” राम भन्छन् ।

अहिले डुंगावालहरूको जीविकोपार्जन पूर्णरुपमा डुंगामा निर्भर हुन सक्ने अवस्था छैन । तैपनि आम्दानीको भरपर्दो माध्यम चाँहि यही डुंगा बनेको छ । डुंगा खियाउनेहरू पनि यसैमा सन्तुष्ट भएर तालमा सुसेल्दै डुंगा चलाइरहेका छन् ।

रामजस्ता अन्य सयौँ डुंगावालहरू बेगनास तालको सौन्दर्य कहिल्यै नघटोस् भनेर प्रथाना गर्छन् । “बेगनास ताल उस्तै रहेन भने अनि अन्नपूर्ण हिमालको छाया यो तालमा देखिन छोड्यो भने त को आउला र यहाँ,” राम चिन्ता व्यक्त गर्दै भन्छन्, “अब खाडी जान सकिदैँन । त्यसैले हामीलाई दुई चार पैसा कमाएर बाँच्न दिने ताललाई हामीले पनि बचाउनु पर्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *